टिनएर्जसको तीज

प्रकृति दाहाल

भाद्र ७, २०७६

जब तीजको चहलपहल सुरु हुन्छ तब कपनकी श्रीना मास्के आफ्नो बाल्यकाल सम्झन्छिन् । बाल्यकालमा तीजका दिन उनी गुडियाजस्तै सजिन्थिन् । मास्के रातो साडी, चुरा एवं टीका लगाएर छमछम नाच्थिन् । उनी आफ्नो बाल्यकालको तीज सम्झदै भन्छिन्–‘गुडियाजस्तै भएर नाच्न पाउँदा एकदमै रमाइलो लाग्थ्यो, तीज सधै आइरहे हुन्थ्यो जस्तो लाग्थ्यो ।’ तर समय सधै कहाँ एकनास हुन्छ र उनी ठूली हुँदै गइन् र फरक तरिकाले तीज मनाउन थालिन् । घरमा आमाहरूले व्रत लिएपछि उनी पनि त्यसको सिको गर्दै व्रत बस्न थालिन्, मन्दिर जान थालिन् । यस क्रममा अहिले तीजको संस्कारमा धेरै परिवर्तन आएको श्रीना बताउँछिन् । मास्के भन्छिन्–पहिलेको दर एकदिन परिवारभित्र मात्र खाने चलन थियो अहिले भने तीजको दरको दायरा बढ्दै गएको छ । श्रीनाका अनुसार‘अहिले महिलाहरू घरबाहिर निस्कने भएकाले तथा घर–कार्यालय सबैतिर दर ख्वाउने चलनका कारण पनि दर लामो समयसम्म चल्ने गरेको हो ।’ श्रीनाले यसलाई समयले ल्याएको सामान्य परिवर्तनका रूपमा लिएकी छिन् । ‘यद्यपि अहिलेको तीज एकदमै खर्चिलो बन्दै गएको छ ।’ उनी भन्छिन् ।

बूढानीलकण्ठकी प्रेक्षा खत्रीको घरमा सबैलाई तीजले छुन्छ । सामान्यतया तीज पुरुषले व्रत नबस्ने चाड भए पनि प्रेक्षाको घरमा भने यो संस्कार अपवादका रूपमा पर्छ । उनका बुवा उनकी आमाजस्तै व्रत बस्छन् । यसलाई प्रेक्षाले खुसीयालीका रूपमा लिन्छिन् । खत्री भन्छिन्–‘महिलाहरू मात्र पुरुषप्रति समर्पित भएर हुँदैन पुरुषहरू पनि महिलाहरूप्रति त्यत्तिकै उदार हुनुपर्छ । यसले गर्दा घरमा समानता आउँछ ।’ तीजमा उनी आमाबुवाजस्तै व्रत बस्छिन्, मेहन्दी लगाउँछिन् अनि मन्दिर पुगेर पूजा गर्छिन् । धर्मकर्मले मानिसको जीवनमा सकारात्मक प्रभाव पार्ने उनको अनुभव छ । 

अहिले पहिलेको समयजस्तो व्रत बस्ने चलन भने हट्दै गएको खत्री बताउँछिन् । ‘पार्वतीले शिवजीका लागि पानी नपिई कठोर व्रत बसेजस्तो कठोरता भने अहिले छैन । समयअनुसार स्वास्थ्यले साथ दिएसम्म व्रत बस्नुपर्छ ।’ तीजको दरले पारिवारिक भेटघाट तथा आत्मीयता वृद्धिमा समेत सहयोग पुग्ने प्रेक्षाले बताइन् । 

बूढानीलकण्ठकी अनुश्रेया डाँगी आधुनिक समयमा पनि तीजको मौलिकता भने नहराएको बताउँछिन् । चेलीबेटी भेटघाट तथा नाचगानको पर्व तीज आज पनि उस्तै लाग्छ उनलाई । ‘समय र परिस्थितिअनुसार दर खाने चलनदेखि लिएर तीज मनाउने शैलीमा केही परिवर्तन आएको हो तर मौलिकता भने हराएको छैन ।’ अनुश्रेयाले भनिन् । 

उनी पनि तीजमा व्रत बस्छिन् । हजुरआमाले मनाएको तीज देखेकी अनुश्रेयाले पनि त्यो समयको भन्दा अहिले व्रत बस्ने शैली परिवर्तन हुँदै गएको अनुभव गरेकी छिन् । ‘पहिले दिनभर पानीसम्म नखाई कठोर व्रत बस्थे भने अहिले आफ्नो स्वास्थ्यको ख्याल गर्दै व्रत बसिन्छ तर व्रत त व्रत नै हो नि ।’ डाँगीले भनिन्–तीजमा मेहन्दी लगाउने चलन पुरानै हो । पहिले तिउरीको पात घोटेर हातमा मेहन्दी लगाइन्थ्यो तर अहिले बजारबाट किनेर ल्याएर घरमै वा ब्युटिपार्लरमा पुगेर लगाउने चलन छ । 

तीज महिनौंदेखि तडक–भडक गरेर दर ख्वाउने तथा महिलाहरूले गहना प्रदर्शन गर्ने पर्वका रूपमा स्थापित हुँदै गएजस्तो लाग्छ कपनकी प्रदक्षिणा लुइँटेललाई । तीजको राम्रो पक्ष त छँदैछ तर यसमा विकृतिसमेत बढ्दै गएको लुइँटेलको दाबी छ । उनलाई अहिलेको तीज धनी र गरिबबीचको विभेद छुट्याउने पर्वजस्तो पनि लाग्छ । अहिले घरघरमा दरका रूपमा खीर, ढकनी, पुरी, तरकारी एवं अचार खाने परम्परा बिस्तारै हट्दै गएको लुइँटेलले बताइन् । तीजमा निस्कने गीतहरूप्रति पनि आफ्नो गुनासो रहेको प्रदक्षिणा बताउँछिन् । अहिले तीजमाथि लेखिएका वास्तविक गीत भेटिँदैनन् लुइँटेलले भनिन्–‘तीजका गीत पनि परिवारसँगै बसेर हेर्न–सुन्न नसकिने खालका छन् ।’ तीजमा महिलाहरू मात्र व्रत बस्ने चलनमा पनि परिवर्तन गर्दै लानुपर्ने उनको जिकिर छ । 

रिलायन्स इन्टरनेसनलमा अध्ययनरत छिरिङ ल्हामु लामाको घरमा तीज नभित्रिए पनि उनलाई भने तीज मनाउन रहर लाग्छ । तीजमा उनको घरमा चेलीबेटीहरूको जमघट भने हुन्छ । लामा आफू व्रत नबसे पनि तीजमा नयाँ चुरा भने लगाउँछिन् । तीजलाई पराई घर गएका चेलीबेटीहरू एक ठाउँमा भेला भएर सुख–दुःख साट्ने पर्वका रूपमा लिन्छिन् उनी । ‘तीजले एक–अर्काबीच आत्मीयता वृद्धि गर्ने अवसरसमेत जुराउँछ ।’ लामाले भनिन् । 

        

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्