उल्लासमा रमाएको साँझ । पुलिस क्लबको हल सयौं दर्शकले खचाखच थियो । रंगीन बत्तीको चमकले अनुहार चिन्नै मुस्किल ।
त्यही घुर्मैलो प्रकाशबीच मिसेस नेपाल वल्र्ड–२०२५ का लागि प्रतिस्पर्धा गरिरहेकी रक्षा पन्तले स्टेजबाट एक आकृति देखिन्–परिचित, अत्यन्तै आत्मीय ।
‘उनी नै त हुन्, सुरज पन्त,’ उनले ठम्याइन् ।
क्षणभर अचम्मित भइन् । अमेरिकामा बस्ने मानिस यो भीडबीच अचानक कसरी ?
रक्षा सम्झिन्छिन्, ‘उनी त एयरपोर्टबाट सिधै कार्यक्रम हल आइपुगेछन् । म झन् उत्साहित भएँ, तर धैर्य र सौम्यता गुमाइनँ । श्रीमान्, परिवार र सबैको साथले म मिसेस नेपाल वल्र्ड–२०२५ बन्न सफल भएँ ।’
पहिलो भेट
पब्लिक हेल्थ रिसर्चर सुरज र फुडमान्डुकी म्यानेजर रक्षा । विवाह भएको धेरै समय भएको छैन, तर उनीहरूको जीवनमा भरपूर सम्झनाहरू सञ्चित भइसकेका छन् ।
अमेरिकाको वासिङ्टन डिसीमा काम गर्ने सुरज तीन महिनाको छुट्टीमा नेपाल आएका थिए । रक्षा त्यतिबेला भारतमा मोडलिङसहितका काममा व्यस्त थिइन् । दुवै नेपाल आएपछि दरबारमार्गको हिमालयन जाभामा भेट्ने तय भयो ।
पहिलो भेटमै सहजता, आत्मीयता अनि प्रेमिल ‘भाइब’ ।
सुरज भन्छन्, ‘अन्तर्वार्ता सकेर रक्षा मलाई भेट्न आइन् । तनावपूर्ण परिस्थितिमा पनि उनी अत्यन्तै शालीन र सम्हालिएको देखें । यो केटीमा केही त छ भन्ने लागेको थियो । पछि कुरा गर्दै जाँदा उनको असाध्यै मेहनती, कर्मशील र धैर्य स्वभावले मलाई आकर्षित गर्यो ।’
उता रक्षा पहिलो भेटकै दिन दुई प्रकारको दबाबमा थिइन्–जागिरको अन्तर्वार्ता र सुरजसँगको पहिलो भेट । ‘तर परिस्थिति सम्हालेर धैर्यपूर्वक अगाडि बढें,’ उनी भन्छिन् ।
पछिपछि उनीहरू अन्य ठाउँ घुम्न निस्किए, धेरै कुरा गरे, अझ नजिक भए । भेटघाट बाक्लिँदै गयो । र, दुवै परिवारले पनि यसलाई खुलेर स्वीकार गरे ।
एक वर्षको प्रेमपछि सन् २०२३ मा उनीहरूको विवाह भयो ।
दाम्पत्य–जिम्मेवारी
विवाहपछि थपिएका जिम्मेवारीलाई सुरज बोझ नभई ‘आनन्द’ ठान्छन् । ‘कर्तव्य सजिलो हुँदैन भनिन्छ, तर म यसैमा खुसी छु । यसले मलाई थप परिपक्व बनाएको छ । अब जीवनमा कहिल्यै नछुट्ने साथी पाएको महसुस हुन्छ,’ सुरज भन्छन् ।
रक्षा भने विवाहपछि कुनै परिवर्तनको आभास नभएको बताउँछिन् । ‘म विवाहअघि जस्ती थिएँ, उस्तै छु । समझदार श्रीमान् र साथ दिने परिवार भएकाले कुनै कठिनाइ आएन । सासू आमाले पनि ‘बुहारीले अतिरिक्त गतिविधिमा सक्रिय भएको राम्रो’ भन्ने भावना राख्नुहुन्छ । त्यही हौसला नै मिसेस नेपाल जित्न प्रेरणा हुन सक्छ ।’
दूरी फरक, एउटै मन
अमेरिका बस्ने सुरज समय मिलाउनासाथ नेपाल आउने गर्छन् । दूरी टाढा भए पनि मन नजिकै बाँधिएको छ–प्रेम र विश्वासले ।
रक्षा भन्छिन्, ‘हरेक दिन उहाँको अभाव त महसुस हुन्छ । तर भविष्यका लागि अहिले कस्तो मेहनत गरिरहेछौं भन्ने सोच्दा मन ठीक हुन्छ । डिजिटल युग भएकाले अडियो–भिडियो कलले दूरी कम गराइदिन्छ ।’
नेपालमा भेट हुँदा उनीहरू घुम्न निस्कने, फिल्म हेर्ने, विभिन्न रेस्टुरेन्ट जाने गर्छन् । सम्बन्धलाई ताजा राख्ने उनको सूत्र यही हो ।
रक्षाको झनक्क रिसाउने बानीलाई सम्हाल्न सुरज माहिर छन् । बीचबीचमा ‘ठाकठुक’ भए पनि लामो समय टिक्दैन ।
सुरज भन्छन्, ‘संवाद, विश्वास र सम्मान नै दाम्पत्य सम्बन्धको मेरुदण्ड हो ।’ रक्षा पनि यही मान्छिन् । अहिलेको सम्बन्ध छिट्टै टुक्रिनुमा यी दुवैको एकैखाले विचार छ । दुवै भन्छन्, ‘सम्बन्धमा खुसी र सम्मान छैन भने सँगै बस्नुभन्दा छुट्टिएकै राम्रो ।’
सन् २०२६ जनवरी २९ मा अमेरिकामा हुने ‘मिसेस वल्र्ड २०२५’ मा प्रतिस्पर्धा गर्न रक्षा जाँदैछिन् । सुरजको विश्वास अटल छ, ‘मिसेस नेपाल घोषणा भएको दिनै मलाई ‘यही हुनु थियो’ जस्तो लागेको थियो । अहिले पनि मनले भन्छ, रक्षा कुनै न कुनै टाइटल अवश्य जितेर आउँछिन् ।’
रक्षाको नजरमा सुरज
बलियो पक्ष : शान्त र सौम्य ।
कमजोरी : एकपटकमा एउटै कुरामा मात्रै ध्यान दिने ।
आकर्षक पक्ष : म जस्तोसुकै अवस्थामा भए पनि मलाई बुझ्ने ।
लत : पुस्तक पढिरहने ।
सुधार्नुपर्ने : स–साना कुरामा पनि ध्यान दिन सके राम्रो ।
मनपर्ने स्वास्थ्यकर्मी : डा. सन्दुक रुइत ।
कस्ता श्रीमान् : अत्यन्तै केयर, माया गर्ने ।
के भएको हेर्ने रहर : आफ्नै क्षेत्रमा अब्बल भएको ।
सुरजको नजरमा रक्षा
बलियो पक्ष : दृढता ।
कमजोरी : झनक्कै रिसाउने ।
आकर्षक पक्ष : आत्मविश्वास ।
लत : इन्स्टाग्राम ।
सुधार्नुपर्ने : सर्ट टेम्पर कम गरे राम्रो ।
मनपर्ने सेलिब्रेटी : सुरक्षा पन्त ।
कस्ती श्रीमती : आत्मनिर्भर ।
के भएको हेर्ने रहर : मिसेस वल्र्ड ।
तस्बिरहरु: महेश प्रधान