सासू–बुहारीको सम्बन्धमा संवाद

लक्ष्मी भण्डारी थापा

श्रावण १५, २०७६

महिलाको प्रगतिका बाधक महिला नै हुन् भन्ने भनाइ उहिलेदेखि प्रचलित छ । विशेषतः महिला–महिलाबीचको सम्बन्ध र त्यसभित्रका बोली–व्यवहारलाई लिएर यो भनाइ सिर्जना भएको मानिन्छ । यस विषयमा मुख्यतः सासू–बुहारी सम्बन्धको चर्चा हुन्छ । यसलाई समाजले पनि त्यही रूपमा व्याख्या गर्छ र बुझ्छ । 

 

मञ्जु कार्की पाण्डे

मेकअप आर्टिस्ट

म सासू–बुहारीको सम्बन्ध नराम्रो त भन्दै भन्दिन । यद्यपि कतिपय स–साना कुरामा असमझदारी भने हुनसक्छ । सासूले त्यही कुरा छोरीलाई भन्दा सामान्य रूपमा लिइन्छ तर बुहारीलाई उही कुरा भन्यो भने अर्कै अर्थ लाग्न सक्छ जुन बुझाइमा निर्भर रहन्छ । बुहारीले पनि आमाजस्तै सोचेर अलि ठूलो स्वर गर्‍यो भने नराम्रो रूपमा लिइन्छ । अर्को मुख्य कुरा भनेको सासू–बुहारी दुवैको छोरासँगको अट्याचमेन्ट हो जस्तो लाग्छ जसका कारण भावनात्मक इस्युहरू पैदा हुन्छन् । यद्यपि अहिलेको पुस्तामा धेरै परिवर्तन आइसकेको छ । अहिलेका बुहारीहरू प्रोफेसनल हुन्छन् भने सासूले घरको काममा सघाउँछन्, बुहारीले नै गर्नुपर्छ भन्ने बाध्यता हुँदैन । मेरै आमा र बुहारीलाई हेर्दा आमा–छोरी भन्दा कम छैनन् । बुहारीले मेरी आमालाई छोरीले जस्तै माया एवं सम्मान गर्छिन् । आमाले पनि बुहारीलाई छोरीकै रूपमा माया गर्नुहुन्छ । 

महिमा सिंह

समाजशास्त्री तथा उप–प्राध्यापक त्रिचन्द्र क्याम्पस

मेरो विचारमा पहिलेका सासूहरूले आफूले भोगेका दुःख–पीडा सम्झिएर बुहारीले किन दुःख नभोग्ने भन्ने सोचका कारण यस्तो हुनसक्छ । अर्को कुरा कतिपय छोरा आमाको अधीनमा हुन्छन् । उनीहरूले आफूले भनेको भैरहेको हुन्छ । घरमा बुहारी भित्रिएपछि फरक व्यवहार पाउँदा आमामा अलिकति ईर्ष्या अनि रिस हुनसक्छ । छोरा माध्यम मात्र हुनपुग्छन् र सासू–बुहारीबीच मतभेद सिर्जना हुन्छ । बुहारी पनि नयाँ ठाउँ, नयाँ परिवेशमा धेरै कुरा खुलेर गर्न सक्दिनन् जुन श्रीमान्सँग मात्र सेयर गर्न सक्छिन् । त्यसो हुँदा सासूमा आउन नपाउँदै मेरो छोरालाई के–के न कुरा लगाई भन्ने प्रभाव पर्नसक्छ र समस्या उत्पन्न हुन्छ । अहिलेका कतिपय शिक्षित र बुझेका सासूहरू मैले त्यो दुःख भोगें मेरी बुहारीलाई यस्तो नपरोस् भन्ने पनि सोच्छन् । सासूले बुहारीलाई छोरीसरह माया गरेर पढ्नुपर्छ, काम गर्नुपर्छ भनेर उत्प्रेरित गर्छन् । यदि सासू–बुहारीबीच समस्या आइहाल्यो भने एक–आपसमा सेयरिङ नै समाधानको प्रमुख उपाय हो । बुहारीले पनि सासू भनेकी सताउने चीज मात्र हुन् भन्ने बुझाइमा परिवर्तन ल्याउनुपर्छ । दुवैले एक–आपसका समस्या पहिचान गरी संवाद र छलफलद्वारा त्यसको समाधान गर्नुपर्छ । यसले उनीहरूबीच साथी वा आमा–छोरीसरहको सम्बन्ध स्थापित गर्न सहयोग पुर्‍याउँछ र समाजमा एउटा नयाँ आयामको सुरुवात हुन्छ । 

रमा कार्की

यसमा पहिलेदेखि दिमागमा जरो गाडेर बसेको सोच तथा दृष्टिकोणले भूमिका खेलेको हुन्छ । सासू–बुहारीमा ओपन कम्युनिकेसन कम हुनुका साथै संवादमा धक मान्ने, संकोच मान्ने परम्परा अझै छ । समाजमा त्यस्ता परिवार पनि छन् जुन उदाहरणीय मानिएका छन् । हामी अहिले परिवर्तनको संघारमा भएकाले पारिवारिक पृष्ठभूमि पनि आफ्नै तवरले परिवर्तन भैरहेको छ । छोरासँगको अट्याचमेन्टका कारण छोराले मैले भनेको मानोस् भन्ने आमाको चाहना हुन्छ यो पनि अन्तर्द्वन्द्वको एउटा कारण हुनसक्छ । बुहारीको मनोविज्ञान श्रीमान्का लागि जन्मदिने आमाबाबुसमेत छाडेर आएँ भन्ने किसिमको हुन्छ । त्यसैले पनि सम्बन्धमा चिसोपन सिर्जना हुनसक्छ । विदेशतिर पारिवारिक परामर्श सेवा सहजै उपलब्ध हुन्छन् तर नेपालमा यो भर्खरै मात्र सुरु हुँदैछ । सासू–बुहारीको सम्बन्ध सुमधुर बनाउने उपाय भनेको अन्तरसंवाद एवं पारिवारिक परामर्श नै हो । मैले समस्या परेर आएकाहरूसँग मात्र नभएर समस्या दिनेहरूसँग पनि छुट्टाछुट्टै परामर्श गरी मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेकी छु । नेपालमा अहिले पारिवारिक परामर्श निकै बढेको छ । विवाहअघि सम्बन्धमा रहेका युवायुवतीहरू पनि परामर्शमा निकै रुचि राख्न थालेका छन् । म अहिले मानसिक सुस्वास्थ्यको राष्ट्रिय अभियानको संयोजकका रूपमा यही विषयमा सक्रिय छु । कतिपय मानिस घरभित्रका समस्यालाई लिएर कुल बिग्रियो, घर बिग्रियो भन्दै ग्रहशान्तिका लागि ज्योतिषीकहाँ मात्र नभएर मठ–मन्दिर धाउँछन् तर परिणाम शून्य हुन्छ र अन्त्यमा आफ्नै भाग्यलाई दोष दिएर बस्छन् । त्यसको साटो साइकोसोसियल काउन्सलर, मनोविद्, मनोचिकित्सक आदि प्रोफेसनलहरूकहाँ गएर मनोवैज्ञानिक तवरले तिनको समाधान खोज्नुपर्छ ।

शिला शाक्य

सिईओ, मिडिया टु मिडिया

सासू–बुहारीको सम्बन्धका विषयमा धेरै कुराले भूमिका खेल्छ भन्ने मेरो बुझाइ छ । सासू–बुहारीबीच कम अन्तर्क्रिया, बुहारीले सासूसँग धक मान्ने प्रवृत्ति, दुवैको छोरासँग जोडिएको भावनात्मक सम्बन्ध र त्यागप्रतिको मनोभावका कारण सासू–बुहारीबीचको सम्बन्धलाई समाज र स्वयंले पनि फरक ढंगले हेरिएको–बुझिएको जस्तो लाग्छ । मुख्यतः यो विषयप्रति हाम्रो दिमागमा सेट भएर रहेको परम्परागत व्याख्या एवं विश्लेषणले पनि हामीमा ठूलो प्रभाव पारेको छ । यद्यपि अहिलेको समाज निकै बदलिइसकेको छ । मेरी बुहारीले गर्ने केयर, इच्छा लागेका कुराहरू सोध्नेलगायत हरेक व्यवहार आमालाई गर्ने भन्दा कम छैन । मैले पनि उनलाई स्वतन्त्र रूपमा पढ्न, काम गर्न सहयोग गरिरहेकी छु । त्यसैले उनी छोरासँग अमेरिकामा आफ्नो करियरको उचाइ थप्दैछिन् । हामीबीच प्रशस्त संचार–संवाद भैरहन्छ । हामी एक–अर्कामा सुख–दुःखलगायत घर–व्यवहारका कुरा साटासाट गर्छौं । कतिपय कुरामा उनको निर्णय मान्य हुन्छ भने कतिपयमा मेरो । आपसी समझदारीमै सम्बन्ध सुमधुर र बलियो हुने हो भन्ने कुरा हामीले बुझेका छौं । हरेकले यसरी नै बुझिदिने हो भने सासू–बुहारीको सम्बन्धको परिभाषा फेरिन लामो समय लाग्दैन । 

डा. रचना शर्मा बस्नेत

मनोचिकित्सक

सासू–बुहारीको सम्बन्धमा यही नै भन्ने ठोस कारण (स्पेसिफिक रिजन) हुँदैन । नेपाल, भारतलगायतका मुलुकका हामीमा इन्डिपेन्डेन्ट हिसाबमा बाहिर गएर बस्नु हुँदैन भन्ने धारणा प्रबल छ । आमाले पनि मेरो छोरा नै हो भन्ने हिसाबले हेरेका हुन्छन् र बाहिरबाट आउने बुहारीको पनि अट्याजमेन्ट उस्तै हुन्छ । मूलतः इन्सेक्युरिटी नै यसको मुख्य कारण हो भन्ने मलाई लाग्छ । मलाई छोराले माया गर्दैन कि भन्ने त्रास आमामा हुनसक्छ । यद्यपि अहिले पहिलेको तुलनामा धेरै परिवर्तन आएको छ । अहिलेका सासू–बुहारीहरू मिलेर सँगै काम गरिरहेका हुन्छन् । परिवारमा अहिले यस्ता समस्या बिस्तारै कम हुँदै गएको पाइन्छ । बुहारीको हकमा पनि नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ मानिसहरूमाझ आइपुग्दा सुरु–सुरुमा जसलाई पनि केही समस्या हुन्छ । यस्ता समस्या आइहाले मनोचिकित्सक, मनोविद्, सामाजिक–पारिवारिक परामर्शदाता आदि कहाँ पुगेर परामर्शमार्फत समस्या समाधान गर्न सकिन्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्