लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट ‘मिस युनिभर्स नेपाल’ को ‘टप टेन’ मा पहिलो पटक पुग्न सफल व्यक्तित्व हुन्–अनु अनमोल क्षेत्री । चार वर्षअघि मोडलिङमा प्रवेश गरेकी उनी ‘ट्रान्स जेन्डर’ महिला हुन् । ३० वटाभन्दा बढी ‘र्याम्प शो’मा ‘क्याट वाक’कला प्रस्तुत गरिसकेकी उनी प्रदेश ५ मा सम्पन्न ‘नेपाल्स शोज मोडल २०१९’ को ‘सेकेन्ड’की ‘रनरअप’ पनि हुन् । ‘मिस युनिभर्स’लाई ‘ड्रिम डेस्टिनेसन’ ठानेकी उनी यो प्रतियोगिताको ‘टप टेन’ सम्म पुग्नुलाई विजयसरह ठानेकी छन् ।
‘ग्ल्यामर’ क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
बाल्यावस्थादेखि नै म राम्रो नृत्य गर्थें, अभिनयमा पनि रुचि थियो । यो मेरो ‘प्यासन’ नै थियो । म त्यही कला र शक्ति लिएरै हुर्किएँ । रुचिकै कारण म यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि यो क्षेत्रमा काम गर्न कत्तिको चुनौती छ ?
चुनौती धेरै छन् । हामीजस्ता लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू कुनै सभा, समारोह, कार्यक्रममा जाँदा फरक व्यवहारको सामना गर्नुपर्छ । हामीकाममा जति पोख्त भए पनि विश्वास गरिँदैन । यौनकर्म गर्ने, बधाइ उठाएर खाने, नाचेर वा मागेर खाने मानिसका रूपमा मात्र हामीलाई बुझ्ने मानसिकता छ । हामी आफ्नो क्षमता प्रस्तुत गर्न, भाषण गर्न कुनै कार्यक्रममा पुग्दा नाच्न आएको ? भन्ने प्रश्न सुन्नुपर्छ । त्यति मात्र नभएर अझ डरलाग्दो कुरा त व्यावसायिक कामका सिलसिलामा हामीलाई ‘सेक्स अब्जेक्ट्स’ का रूपमा मात्रै हेरेर हामीसँग ‘सेक्स डिमान्ड’ गरिन्छ, जुन अत्यन्तै दुःखलाग्दो कुरा हो ।
आफ्नो समुदायको हकहित र अधिकारका लागि तपाईंले गरेको योगदानबारे बताइदिनुस् न लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका पक्षमा हरेक ‘प्लेटफर्म’ मा सधै आवाज उठाउँदै आएकी छु । यो समुदायका लागि मैले मेरो अमूल्य समय खर्च गरेकी छु । ‘मिस युनिभर्स’को ‘टप टेन’मा पर्नुलाई पनि मैले आफ्नो समुदायप्रतिको सानो योगदान ठानेकी छु ।
जीवनमा आफूले प्राप्त गरेको उपलब्धि केलाई मान्नुहुन्छ ?
‘मिस युनिभर्स’को ‘टप टेन’मा पर्नु नै मेरा लागि एउटा उपलब्धि हो । यत्तिमै पनि मलाई ‘विनर भाइब्स’ आइरहेको छ । बाहिरी संसारसँग लड्न सक्ने शक्ति प्राप्त गरेको अनुभूति भइरहेको छ ।
यो समुदायका व्यक्तिहरूलाई जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न के आवश्यक ठान्नुहुन्छ ?
सबैभन्दा ठूलो त पारिवारिक सहयोग हो । त्यसबाहेक समाजको सोच परिवर्तन हुनुपर्छ । सामाजिक सहयोग आवश्यक छ हामीलाई । मूल विषय हाम्रा लागि राज्यले समान कानुन बनाइदियोस् ।
जीवन के रहेछ?
जीवन बगेको खोलाजस्तै हो । कहिले खडेरीले सुकाउँछ, कहिले वर्षाले भेल ल्याउँछ । कुनै गहिरो त कुनै समतल ।
तपाईंको समुदायको प्रतिनिधित्व गर्ने ‘रेन्बो फ्ल्याग’ र तिहारका सात रंगमा के समानता तथा भिन्नता पाउनुहुन्छ ?
संसारका सबै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू रंगजस्तै उज्याला, निश्छल, निष्कपट छन् । आफू सुहाउँदो परिभाषा बोकेर आफूलाई चिनाउने र स्थापित गर्ने क्रममा छन् । यो इन्द्रेणी झण्डा त्यसैको प्रतीकहो । त्यसैगरी तिहारको रंगको आफ्नै विधिविधान छ । यो दाजुबहिनी एवं दिदीभाइको सुरक्षाको प्रतीक हो । जसरी व्याख्या गरे पनि रंग त रंग नै हो ।
तिहारको सबैभन्दा मन पर्ने पक्ष के हो ?
देउसी–भैलो निकै मन पर्छ । परिवार एकत्रित भएर रमाइलो गर्न पाउनु नै यो चाडको विशेषता हो जस्तो लाग्छ ।
नेपालमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले प्राप्त गर्न चाहेको विषय के हो ?
समानता, एकता र आत्मीयता ।
पाठकका लागि केही सन्देश छ कि ?
समाजमा भएका सम्पूर्ण व्यक्ति मानव हुन् । परिवारभित्रका हरेक मानवलाई डाक्टर, इन्जिनियर, वकिल, पाइलट बन भन्नु अघि तिमी असल मानव बन र मानवतालाई चिन भनेर सिकाउनुपर्छ जस्तो लाग्छ । हामीले यति गर्न सकियो भने पनि विश्व शान्त र प्रेममय बन्न सहयोग पुग्छ ।