Successfully Copied

नर्स   

नर्सले बिरामीको सेवा गरिरहेका हुन्छन् । बिरामी निको हुँदा नसैलाई लक्की पर्सनका रुपमा स्याबासी दिन्छन् । झन्डै १५ वर्षको अनुभवमा धेरै क्यान्सर तथा अन्य रोगका बिरामीको सेवा गरिसकेको छु । धेरै पीडामा भएका बिरामी र कुरुवाहरु खुसी हुँदै धन्यवाद दिदा नर्स भएकोमा गर्व

स्वास्थ्य क्षेत्रमा नर्सको भूमिका अग्रपंक्तिमा आउँछ । उपचारको क्रममा बिरामीलाई आवश्यक  सेवासँगै विभिन्न सेवासँग सम्बन्धित पेशाकर्मीहरुसँग समन्वय राख्छ । बिरामीको हरेक पलको जानकारी राख्छ र डाक्टरलाई सुचना दिने, उपचारको क्रममा आवश्यक जाँच र रिपोर्टको लागि सबै विभागसँग कुरा गरेर बिरामी , कुरुवा तथा डाक्टरलाई सुचना प्रदान गरिरहेको हुन्छ । साथै आवश्यकता अनुसार बिरामीलाई स्याहारसुसार पनि गरिरहेको हुन्छ । यसरी उपचारको मुख्य कार्यकारी भूमिका निर्वाह गर्ने नर्सले २४ सै घण्टा सेवा दिइरहेको  हुन्छ । 

नर्सले बिरामीको सेवा गरिरहेका हुन्छन् । बिरामी निको हुँदा नसैलाई लक्की पर्सनका रुपमा स्याबासी दिन्छन् । झन्डै १५ वर्षको अनुभवमा धेरै क्यान्सर तथा अन्य रोगका बिरामीको सेवा गरिसकेको छु । धेरै पीडामा भएका बिरामी र कुरुवाहरु खुसी हुँदै धन्यवाद दिदा नर्स भएकोमा गर्व लाग्छ । 

केही अपवादलाई छोडेर शिक्षित बिरामी तथा कुरुवाले नर्सलाई गर्ने व्यवहार भने सन्तोषजनक छैन । बिरामी र कुरुवा डाक्टरको नाम सुनेर आएको सिस्टरले जतिसुकै राम्रो केयर गरेपनि हामीलाई त्यो मतलब छैन समेत भन्छन् । उपचारका क्रममा उनीहरुको गुनासो डाक्टर, अस्पताल, नर्स तथा अन्य कर्मचारीसँग हुनसक्छ तर डाक्टर र अस्पतालको बारेमा  मुख खोलेर नभनेपनि नर्सको बारेमा गुनासो भने गरिरहन्छन् । 

मेडिकल टिमभित्र नर्सले निर्णय लिन मिल्दैन हरेक कुरामा सम्बन्धित डाक्टरको अनुमति लिनुपर्छ । कुनै दिन डाक्टर राउन्डमा बिरामीको स्याहार गर्न भ्याएन र नगरेको भेटिनासाथ खै सिस्टर? भनेर सोधपुछ हुन्छ । बिरामी र कुरुवाको अगाडि अनि कोहि डाक्टरहरुलाई त नर्सिङ पेसा के हो भन्ने समेत थाहा हुँदैन उनीहरुको पछि–पछि फाइल लिएर सँगसँगै नर्सिङ स्टेशन र बिरामीको छेउ, अनि फेरि नर्सिङ स्टेशनसम्म पछि लाग्नुपर्छ । काम सकिएर फर्किने क्रममा सँगैको बिरामीले बोलाएर जाँदा पनि फेरि स्टेशनमा पुगेर सिस्टरले डाक्टरको राउण्ड छोडेर गयो भन्दै गुनासो गर्छन् । नर्स त सानो मान्छे बोल्न पनि भएन । निजी अस्पतालमा नर्स सबैले प्रहार गर्ने केन्द्रविन्दु नै भयो । 

किन नर्समाथि गुनासो गर्छन् बिरामी र बिरामीका आफन्त ?

झन्डै ७ वर्षको कर्पोरेट अस्पतालको अनुभवले के भन्छ भने, बिरामी र बिरामीको आफन्तको वास्तविक गुनासो उनीहरुको उपचारमा संलग्न डाक्टर, नर्स र अस्पताल प्रशासनसँग हुन्छ ।  पछि गुनासो लेख्ने बेलामा उनीहरुलाई  छोडेर नर्समाथिको गुनासो लेखेरै जान्छ ।  किन त भन्दा उसले उपचारको दौरानमा नर्सलाई भनेको कराएको सबै देख्छ । नर्स भनेको डाक्टर जस्तो एक जना मात्रै हुँदैन समूहमा संलग्न हुन्छ । त्यो नर्सलाई डाक्टरलाई जस्तो ओ.पि डिमा घरिघरि भेट्न पर्दैन अनि अस्पताल पनि पछि कम आउँछ । नर्स महिला, पेसागत रुपमा पनि डाक्टर भन्दा सानो, कमजोर अनि जस्तोसुकै गुनासो भए पनि नर्स माथि नै थोपरेर जान्छन् ।  

नर्स पेशा गाह्रो र अप्ठ्यारो छ 

एउटा नर्सले रोग र जीवनसँग भिड्नुपर्छ । जन्म र मृत्युसँग खेल्नुपर्छ । धेरै समय बिरामीसँग रहनु पर्छ । हरेक पल सतर्क रहनु पर्छ । फोहोरलाई छ्या भन्न पाउँदैन त्यही फोहोर सोरेर सफा गर्नु पर्छ । दिनरात खट्नुपर्छ । एउटा निश्चित समय भन्ने हुँदैन । चाडपर्व र घाम पानी भन्न पाइदैन । आफ्नो डिउटी अवधिमा पानी र खाना खान सम्म भ्याउदैन । ब्रेक समय  हुँदैन । नर्सको पढाईमा धेरै लगन र मेहेनतको साथै लगानी पनि धेरै नै चाहिन्छ । स्वास्थ्यसम्बन्धी हरेक प्रणालीको पढाई हुन्छ तर त्यो सब अरुको ख्याल गर्न मात्रै हो । आफूले व्यवहारमा लागू गर्न पाउँदैन ।

जस्तो सुत्केरी पछि ६ महिना सम्म आमाको मात्रै दुध खुवाउनु पर्छ भनी अरुलाई शिक्षा दिन्छौ तर आफ्नै बच्चा जन्मिएको २,३ महिना मै बिरामीको उपचारमा लाग्नुपर्छ । आफ्नो बच्चा बिरामी हुँदा नि अरुको बच्चालाई स्याहार्नुपर्छ । यस्तो पीडादायक पेशा हो, नर्स । यसलाई जो कोहीले अपनाउन सक्दैन र अपनाउनेलाई पनि राज्यले उचित कदर र सम्मान गर्नुपर्छ ।

नर्सको आम्दानी अति कम छ त्यसैले हजारौं नर्सहरु बिदेशिन बाध्य छन् । नर्स भनेको स्वास्थ्य क्षेत्रको मेरुदण्ड हो । त्यसकारण नेपालमा उचित गुणस्तर स्वास्थ्य सेवालाई निरन्तरता दिनका लागि नर्स पेशालाई संरक्षण गर्नु जरुरी छ । सम्बन्धित निकायले पनि नर्सको हकहितका पक्षमा पहल गर्न आवश्यक देखिन्छ । 

(डंगोल ग्रान्डी इन्टरनेशनल हस्पिटलकी सिनियर नर्सिङ इन्चार्ज हुन् । )  

 

 Image