Successfully Copied

सम्बन्धमा अविश्वास किन ?

तँ भन्दा म के कम भन्ने अहंले गर्दा सम्झौतामा आउन नसक्दा सम्बन्धमा वैमनस्यता बढ्दै गएको छ । एक–अर्कामा विश्वासको कमी देखिन्छ । हामी अरूलाई विश्वासले भन्दा शंकाको नजरले हेर्छौं । परिवारमा एक–अर्कामाथि अविश्वास गर्नेबित्तिकै सम्बन्धमा नकारात्मक असर पर्नु नौलो कुरा होइन ।

तँ भन्दा म के कम भन्ने अहंले गर्दा सम्झौतामा आउन नसक्दा सम्बन्धमा वैमनस्यता बढ्दै गएको छ । एक–अर्कामा विश्वासको कमी देखिन्छ । हामी अरूलाई विश्वासले भन्दा शंकाको नजरले हेर्छौं । परिवारमा एक–अर्कामाथि अविश्वास गर्नेबित्तिकै सम्बन्धमा नकारात्मक असर पर्नु नौलो कुरा होइन ।

आधुनिक समयमा सम्बन्धहरूले स्थायी रूपमा निरन्तरता पाउन कठिन हुन थालेको छ । लभ अफेयर्स, विवाह, अभिभावक–सन्तान वा साथीसंगी यी सबैबीचका सम्बन्धहरू भौतिकवादका कारण धराशायी हुने क्रम सुरु भैसकेको छ । डिभोर्सका केसहरू बढ्दै दृश्यमै आइरहेका छन् । अफेयर्समा ब्रेकअप त कुरै नगरौं । सन्तानहरू वृद्धावस्थामा अभिभावक छाडेर विदेश पलायन हुँदैछन् । यसरी कमजोर बन्दै गएका सम्बन्धहरूका बारेमा यसपटकको बहस : 

स्मृति ढुंगाना 

चलचित्र समीक्षक, संचारकर्मी

कुनै पनि सम्बन्ध बलियो हुन एक–अर्काप्रति सम्मान एवं समझदारी जरुरी छ । त्यो चाहे परिवार, अभिभावक, छोराछोरी, साथीसंगी वा प्रेमीप्रेमिका नै किन नहून् । व्यक्तिगत सम्बन्ध समुदायहरूमा सहभागी हुन महत्वपूर्ण हुन्छ । हाम्रो मानसिक स्वास्थ्य र खुसी व्यक्तिगत सम्बन्धको गुणस्तरसँग बाँधिएको छ, । सबैभन्दा नजिक हामी माया गर्नेसँग रहन चाहन्छौं, प्रगाढ सम्बन्धले व्यक्तिगत सन्तुष्टि दिन्छ भने ईष्र्याले तनाव दिन्छ जसले हाम्रो जीवनको आयुसमेत घटाउँदै लान्छ । महत्वपूर्ण सम्बन्ध केवल परिवार र साथीहरूबीच मात्र हुन्छ भन्ने होइन । यसले हामीसँग सम्बन्धित समूह र समुदायमा पनि प्रभाव पारेको हुन्छ । मानवीय स्वभाव उस्तै विचार मिल्ने मानिससँग संगत गर्न रुचाउने खालको हुन्छ, लामो पत्रकारिताका दौरान मैले समाचारका स्रोतदेखि पत्रकार, अभियानकर्ता तथा फरक सोचका सेलिब्रेटी आदिसँग संगत गरें । यो अवधिमा मसँग विचार मिल्नेहरू अझैसम्म संगतमै छन् । सबैको विचार एउटै हुँदैन तर समानता भन्ने कुरा भेटिन्छ । एक हातले ताली बज्दैन भनेझैं कुनै पनि सम्बन्ध एकतर्फी हुन सक्दैन । त्यसका लागि निरन्तर संवाद जरुरी हुन्छ । सबै कुरामा सबैको विचार एउटै नहोला, यसको अर्थ कसैसँग कुरा गर्नु हुँदैन भन्ने सोच त्याग्न सक्नुपर्छ ।

साथीको सम्बन्ध नभए पनि जीवन चल्छ तर त्यो नभएर पनि हुँदैन, कारण यसले कसैलाई पनि एक्लो महसुस गर्न दिँदैन । हरेक साथीमा हामी आफूलाई खोजिरहेका हुन्छौं । हाम्रो सम्बन्धले हामी कति स्वस्थ र खुसी छौं भनेर मापन गर्छ । लामो समय मनोरञ्जन पत्रकारिताका क्रममा मैले ‘मै ठूलो हुँ भन्ने अहंकार र क्षणिक सन्तुष्टि’ ले गर्दा मनोरञ्जन क्षेत्रमा आबद्ध धेरैको सम्बन्ध बिग्रिएको देखें । आफैंलाई दु:ख दिएर सुख खोज्दा कहिल्यै राम्रो भएको छैन । कुनै पनि सम्बन्ध सुमधुर बनाउने प्रयत्न गर्नुपर्छ । यसका लागि आफैंले पहल गर्नु बुद्धिमानी ठहरिन्छ । हरेक सम्बन्धमा प्रेम, सद्भाव एवं सम्मान अत्यावश्यक छ । कुनै पनि सामाजिक सम्बन्धको चरित्रले हामीलाई खुसी वा दु:खी तुल्याउँछ । त्यसैले असल सामाजिक सम्बन्धले हामीलाई सुख दिन्छ । सामाजिक सम्बन्ध फितलो भएका मानिसहरू दु:खी हुन्छन् । सुमधुर सम्बन्धका लागि एक–अर्काको विचार सुन्नुका साथै नकारात्मक विचारलाई सकारात्मक बनाई एक–अर्काको सम्मान गर्न सक्नुपर्छ । 

सुजिता बनियाँ

चिकित्सा मनोविद् 

जति पनि सम्बन्धहरू छन् ती सबैमा विश्वासको महत्वपूर्ण भूमिका हुन्छ । त्यो विश्वास कायम राख्न आफूभन्दा अघिको व्यक्तिको अवधारणा बुझ्नु जरुरी हुन्छ । यद्यपि अहिलेको जीवन व्यस्त भएका कारण यी सबै काममा समय दिन कठिन हुन्छ । हामीले भनेको कुरा अरुले सुनिदिए हुन्थ्यो जस्तो लाग्छ तर हामी स्वयं अरूको कुरा सुन्न तयार हँुदैनौं । जसको प्रभाव सम्बन्धमा समेत पनि पर्छ । सम्बन्धमा कुराकानीको अभावले गर्दा पनि टाढिँदै जाने अवस्था सिर्जना हुन सक्छ जसले आपसमा असमझदारी बढाउँदै लान्छ र कालान्तरमा सम्बन्धकै अन्त्य हुन बेर लाग्दैन । यस्ता समस्या समाधानको 

ठ्याक्कै कुनै निश्चित उपाय नभए पनि सुरुवात कुराकानीबाटै हुन्छ । सकारात्मक सोच राखेर अरुको अवधारणा बुझ्न प्रयास गर्ने र संयम पालना गर्नु नै यो समस्या समाधानको उपाय हुनसक्छ । 

प्राप्ति थापा

प्राध्यापक 

छिट्टै टुट्ने सम्बन्ध तथा बढ्दै गएको सम्बन्धविच्छेदका अनेकौं कारण देखिन्छन् । अहिलेका मानिसमा संहिताको अभाव देखिन्छ । एक–अर्काको कुरा सुन्ने क्षमतामा र्‍हास आएको छ । ‘म’ लाई प्राथमिकता दिँदै आफूभन्दा अरु ठीक हुनै नसक्ने सोचको अभिवृद्धि सँगै परिवारमा हुनुपर्ने समझदारीमा समेत कमी आएको छ । माया र प्रेमको स्थान अहं र घमण्डले लिएको छ । ‘तँ भन्दा म के कम’ भन्ने अहंले गर्दा सम्झौतामा आउन नसक्दा सम्बन्धमा वैमनस्यता बढ्दै गएको छ । एक–अर्कामा विश्वासको कमी देखिन्छ । हामी अरूलाई विश्वासले भन्दा शंकाको नजरले हेर्छौं । परिवारमा एक–अर्कामाथि अविश्वास गर्नेबित्तिकै सम्बन्धमा नकारात्मक असर पर्नु नौलो कुरा होइन । अहिलेको हाम्रो समाज व्यक्तिपरक र भौतिकवादी हुँदैछ । यहाँ आफ्नोबाहेक अरुका बारेमा सोचिँदैन, आफ्नो स्वार्थसँग मात्र सम्बन्ध छ । यस्तो स्थितिमा सम्बन्ध बिग्रदै जानु स्वाभाविक हो । जिम्मेवारी बहनभन्दा पनि त्यसबाट कसरी उम्किने भन्ने छ अहिलेका मानिसमा । नयाँपुस्ता स्वतन्त्र रूपले बाँच्न लालायित छ । 

एक–अर्काको भावना बुझ्न नसक्नु र त्यसको आदर गर्न नसक्नुले पनि कतिपय सम्बन्ध बिग्रिएका छन् । महिला सशक्तीकरणले महिलाहरूलाई रुढिवादी भूमिकाबाट माथि उठाएको छ, महिलाहरूलाई आर्थिक समृद्धिका साथै कानुनी रूपमा पनि बलियो बनाएको छ तर पुरुष प्रभुत्व भएको समाजमा यो कुरा पनि स्वीकारयोग्य नभएकाले सम्बन्ध टुट्नुको कारक बन्न पुगेको छ । महिलाहरू पनि पहिले जसरी सम्झौता गर्न नचाहने कारणले घरायसी कलह र कालान्तरमा सम्बन्ध टुट्नेसम्मको स्थिति सिर्जना भएको छ । नेपालमा बेरोजगारीको समस्याले गर्दा दिनहुँ ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीका लागि विदेश जान बाध्य छन् । यसको असर पारिवारिक सम्बन्धमा समेत परेको छ ।

मृगेन्द्रबहादुर कार्की

समाजशास्त्रका सह–प्राध्यापक तथा कार्यकारी–निर्देशक नेपाल र एसियाली अनुसन्धान केन्द्र त्रि.वि. 

सम्बन्ध भनेको सापेक्षिक हुन्छ । सम्बन्धलाई निर्माण गर्ने तत्वहरू समय सापेक्ष हुन्छन् । यही सैद्धान्तिक अवधारणाका आधारमा व्याख्या गर्दा इतिहासमा हामीसँग गुरुकुल, तक्षशिला, नालन्दा विश्वविद्यालयहरू थिए । उतिबेलाको ज्ञानप्रणालीले सम्बन्धलाई स्प्रिच्युअल आधारमा मूल्यांकन एवं व्याख्या गरेको थियो । जुन आधारमा परिवारभित्रका सम्बन्धहरूमा समर्पणको भावना थियो । 

जन्म र पुनर्जन्ममाथि विश्वास थियो । एक–अर्काप्रतिको व्यवहार सोही ज्ञानप्रणालीको सिद्धान्तका आधारमा निर्देशित थिए तर अहिलेको पश्चिमा ज्ञानप्रणालीले हाम्रो ऐतिहासिक ज्ञानप्रणालीलाई अस्वीकार गर्छ । यो अवस्थामा नवीन प्रविधिहरूको आविष्कार हुँदै गयो । यो परिप्रेक्ष्यमा परिवारका सदस्यहरूलाई कसरी हेर्ने ? हिजो अमेरिका थियो–थिएन हामी अनभिज्ञ थियौं आज हामी १८–२० घण्टामा अमेरिका पुग्छौं । अहिलेका मानिसका लागि इहलोक र परलोक भन्ने नै छैन, सत्य अहिलेको जीवनको बुझाइ, भोगाइ र अनुभव मात्र हो भन्ने भयो । यसले गर्दा हिजोका हाम्रा परिवार र समाजलाई बाँध्ने जुइनाहरू फुस्किँदै जान थाले अनि भौतिकवादी सोचका आधारमा सम्बन्धहरू पुनर्भाषित हुन थाले । यसमा अभिभावकले बालबालिकालाई जे सुविधा दिन्छन् त्यसका आधारमा सम्बन्ध तय हुन थाल्यो । हामीले आफ्ना अभिभावकलाई वृद्धाश्रममा छोड्न थाल्यौं । श्रीमान्–श्रीमतीको सम्बन्ध पनि भौतिक आवश्यकता र उपभोग्य वस्तुका आधारमा तय हुन थाल्यो । यो समस्या कम गर्न अहिलेको ज्ञानशिक्षा प्रणाली र पुरानो ज्ञान प्रणालीबीच फ्युजन आवश्यक देखिन्छ जसले गर्दा हाम्रा पुराना मूल्य–मान्यताले पनि निरन्तता पाऊन् भने हाम्रो मौलिक समाजको प्रतिबिम्ब आधुनिक समाजमा पनि आओस् । 

स्मृति श्रेष्ठ, टिनएजर्स 

दुई व्यक्तिका बीच हुने प्रेम, सद्भाव, समझदारी, विश्वास र भरोसाको बलियो आधार नै सम्बन्ध हो । यिनै तत्वहरू मिलेर दुई व्यक्तिबीच सम्बन्ध बनेको हुन्छ । आजको एक्काइसौं शताब्दीका प्राय: सम्बन्धमा यी कुराहरू फितला देखिन्छन्, चाहे प्रेमी–प्रेमिका, श्रीमान्–श्रीमती हुन् वा सन्तान–अभिभावक र साथीसंगीबीचमा नै किन नहोस् । यसो हुनुको एउटा कारण सामाजिक सञ्जाल पनि हो कि भन्ने मेरो बुझाइ छ । सोसल नेटवर्कले हरेक व्यक्तिको शारीरिक एवं भावनात्मक दुरीलाई बढाइदिएको छ ।

आफ्नाहरूको छेउछाउ–वरिपरि बसेर गफिँदै, भावना साटासाट गर्ने, रमाइलो गर्ने कुरा एकादेशको कथाझैं भैसकेको छ । आफूलाई सो–कल्ड सोसल देखाउन मानिसहरू सामाजिक सञ्जालका भित्तामा सीमित हुन पुगेका छन् भने कतिपय सम्बन्ध त्यहीँबाट सुरु भएर त्यसैमा अन्त्यसमेत हुन्छ । एउटै छानामुनि बस्ने हामीहरू कोशौं टाढा जस्तो हुन पुगेका छौं जसले प्रेमलाई हल्का, विश्वासलाई फिक्का र अर्थहीन तथा भावनालाई इगोमा परिणत गरिदिएको छ । स–साना इगोका कारण बलिया सम्बन्धहरू टुटेका छन् । एक–अर्काप्रतिको बेवास्ता, झूट, अपरिपक्वता, संवादको कमी आदि कारणले पनि अहिलेका सम्बन्ध स्थिर छैनन् । हामी अहिले कल्पनासम्म पनि गर्न सक्दैनौं कि यी र यस्ता कारणले हामी हाम्रा आफन्तहरू, शुभचिन्तक, साथीभाइ एवं परिवारबाट कति टाढा धकेलिरहेका छौं ? 

 Image