Successfully Copied

फर्किएको खुसी

हिजोसम्म त खुसी नै थिए छोरीहरू । तर, आज अचानक पूर्णचन्द्रजस्ता छोरीहरूको मुहारमा औंसीको कालिमाले छपक्क किन छोप्यो ?

हिजोसम्म त खुसी नै थिए छोरीहरू । तर, आज अचानक पूर्णचन्द्रजस्ता छोरीहरूको मुहारमा औंसीको कालिमाले छपक्क किन छोप्यो ?

तिहारको बिदा सुरू भएदेखि निकै उत्साहित भएका थिए, छोरीहरू । हरेक दिनलाई सार्थक बनाउन योजना बुन्दै थिए । तर किन आज उदास छन् ती चञ्चल आँखाहरू ?

घरको सरसफाइ गर्दा पनि छोरीहरू सहयोगी हात भएका थिए । अझ लक्ष्मीपूजाका दिन त छोरीहरूका बा, हजुरबा, हजुरआमा सबैले काममा हात बटाउँदा मेरो कम्मर पनि सड्किएन । 

हिजो पूनमले खुसी हुँदै फूलको माला गाँस्दै सोधेकी थिई–

‘मामु, कतिवटा माला चाहिन्छ ? चारवटा मात्र बनाएँ, कि अरू चाहिन्छ ?’ नजिकै मालाको साइज मिलाउँदै फूल जसरी नै मुस्कुराएकी थिई पूजा । हजुरआमा पूजा भाँडा टल्काउन व्यस्त थिइन् । कौसीमा हजुरबुवा पनि झिलिमिली बत्ती मिलाउँदै थिए । पूनमका बाबा बजारबाट सामान ओसार्ने र झ्यालढोका सफा गर्नमै व्यस्त थिए । 

चाडपर्वमा छोरीहरू व्यावहारिक भएको देखेर भित्रभित्र खुसीले म फुर्किएकी थिएँ । म खुसी भएको मेरो बोलीबाटै छर्लङ्ग देखिन्थ्यो–‘चारवटा भए पुग्छ नानी बरू अलिकति फूल नै राख, पूजा गर्न पनि चाहिन्छ।’

म सेलरोटी पकाउन भान्सामा छिरें । कान्छी छोरी दियोहरू जम्मा पारेर दुईवटा 

नाङ्लोमा मिलाएर राख्दै थिइन् । हजुरआमा फूल बत्ती नपुग्ला भन्दै हतार–हतार थप फूल बत्ती बनाउन थालिन् । सबैजना ताउर्माउर गरेको देख्दा मलाई पनि साँच्चै चाडपर्व बोझिलो लागेन बरू सबैले मिलेर काम गर्दा छुट्टै ऊर्जा महसुस गरेकी थिएँ । सन्तुष्टिको गुलाफ मुहारभरि फुलाएर सेलरोटीको पीठो मस्काउँदै थिएँ । छोरीले बोलाउँदा पो झसङ्ग भएँ । 

‘मामु यो सेलरोटी त मीठै लाग्दैन, हामीलाई बर्गर हाउसबाट पिज्जा मगाइदिस्यो है बरू भेज नै भए पनि हुन्छ क्या ।’ मुख खुम्च्याउँदै कान्छी छोरी भान्साबाट बाहिरिइन् ।

तेलमा फूल बत्ती भिजाउँदै गर्दा पनि गनगन गर्न छोडेकी थिइनन् । गुलियो मात्र पकाएको छ जहिले ।

पूजाको कुरा सुने/नसुनेझैं गरी म पनि स्वाईं–स्वाईं सेलरोटी पकाउन थालें । तिहारको दिन पनि पिज्जा र बर्गर खाँचो लागिराछ। खाए खाओ, नखाए नखाओ,आज त मरिगए पनि बाहिरको खान ल्याउँदिन मनमनै अठोट गरें । 

पपरा, पत्रे, अनरसा, अर्सा, खजुरी, निक्की र खीर के छैन घरमा । हिजोअस्ति नै सबै परिकार बनाइसकेकी थिएँ, त्यसैले आज सेल मात्र हालें ।

पूनमले आएर मूल ढोकामा राख्ने मालाको लम्बाइ र डिजाइन देखाउँदै भनिन्–‘कस्तो भयो मामु बिच्चबिच्चमा चाँगे र मखमलीको मिश्रणले माला विशेष भएन त ? यति लामो भए त पुग्छ होला है मामु π आहा π घिउमै पकाएको सेल ?बासना त बेजोडको आयो । साँच्चै मामु सेल रोटीको बासना आउँदा बल्ल तिहार आएझैं लाग्छ मलाई । तर थोरै पकाइस्यो है चिल्लो, गुलियोले हजुरहरूलाई पनि फाइदा गर्दैन ।’

‘तेरी बहिनी पिज्जा खाने भनेर ठुस्केर उत्पात छ । के गर्नु बाहिरको खान पल्केपछि घरको स्वाद खल्लो लाग्ने रहेछ । तिमीले सम्झाए । रंगोली बनाउन रंग किन्नुपर्‍यो भनेर पैसा पनि लगेकी छ तिमी पनि जाऊ है पसल । पटका पड्काएर उधुमै छ, त्यो डराउँछे ।’

‘धेरै पुलपुल्याउनु पर्दैन, हजुरकी कान्छी छोरीलाई, तिहारको दिन कसैले पिज्जा खान्छ त ? आफ्नो परम्परा र संस्कृतिको सम्मान गर्न पनि जान्नुपर्छ । अघिपछि खाकै त छ नि, अनि फेरि किन लक्ष्मीपूजाकै दिन घिच्नुपर्‍यो रे ? म सम्झाउँछु चिन्ता नलिस्यो। 

बरू चाँडो पकाएर हजुर पनि रंगोली बनाएको हेर्न आइस्यो । चाँडो गरिस्यो है हामी पसल गएर आइहाल्छौं ।’ दुबै छोरी पसलतिर गए । भान्सामा पकाउनुपर्ने परिकारहरू सबै तयार भएपछि म पनि तल झरें ।

दिदीबहिनी कुरा गर्दै रंगोली बनाउन थाले । उनीहरूको कुरा सुन्दै म पनि नजिकैको कोठामा बसेर तिहारका मसलाहरू पोको पार्दै थिएँ । मेरा कान चनाखा हुँदै गए– 

‘दिदी मलाई त तिहारभन्दा दसैं रमाइलो लाग्छ ।’ कान्छी छोरी दिक्क मानेर ओठ खोल्दै थिई । 

‘किन तिमीलाई तिहार रमाइलो लाग्दैन ?’

लक्ष्मीपूजाको दिन त ठीकै लाग्छ तर तिहारका अरू दिन त्यति राम्रा लाग्दैनन् । हाम्रो घरमा मैचाको घरमा जस्तो म्ह पूजा पनि कसैले गर्दैनन्। पोहोर मैचाको घरमा म्ह पूजा गरेको हेर्न बोलाएकी थिई । कस्तो रमाइलो पूजा हुँदोरहेछ । मैचाकीआमाले सुकुलमाथि घरका सबै सदस्यलाई लहरै राखेर भव्य पूजाआजा गर्नुभएको थियो । सबैको अगाडि भोगटे राख्दै केकेहो केके थुप्रो सामग्री तयार पारेर पूजा गर्दै आत्माको पूजा गरेको रे । त्यति राम्रो संस्कृति अवलम्बन गर्न कस्तो मन लाग्यो । कस्तो राम्रो संस्कार र संस्कृति ‘आत्म देवो भवः’ को मर्म त यो संस्कृतिमा पो रहेछ । हाम्रो घरमा त्यस्तो चलन छैन अनि मलाई नरमाइलो लाग्छ । भाइटीका त झनै मन पर्दैन । हामी कसको भाइलाई टीका लगाउन जानु । भाइ र दाइलाई मात्र टीका लगाउनुपर्ने रे । तैंले र मैले किन टीका लगाउन नहुने ?

भर्खर चौध वर्ष पार गरेकी बहिनीका कुरा सुनेर मक्ख पर्दै सयपत्रीको फूल च्यातेर पूनमले रंगोली सजाउन थाली ।

 ‘पूजा त यस्तो बुझ्ने मान्छे अनि मामुलाई चाहिँ पिज्जा मगाइदिनू भन्थिस् रे त ? आज विशेष दिन हो लक्ष्मीलाई चढाएको प्रसादी मीठो मानेर खाने । खाने बेलामा धेरै नाटक नगर ।’

‘त्यो त मामुलाई दङ्ल्याको नि । साँच्चै सेल चाहिँ मीठै लाग्दैन पुरी र खीर खान्छु। बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भनेर एसो झटारो हानेको ।’ दुवै दिदीबहिनी मूर्छा पर्ने गरी हाँस्न थाले ।

‘दिदी तँलाई थाहा छ ? पोहोर पल्लो घरकी सानीहजुरआमाले सबैका अगाडि के भनेकी थिई– 

‘हेर नानी भाग्यमा लिएर आउनुपर्छसप्तरङ्गी टीकाले दाजुभाइको निधार सजाउन त । पूर्वजन्ममा राखेको हुनुपर्छ । माइतीको आँगनमा दाजुभाइको चहलपहल हेर्न त ठूलो तक्दिर चाहिन्छ । सानैमा हेरेकी थिएँ तिमी दुवैको नाइटो पनि बहिनीनै बोलाउने खालको थियो । तेरी आमाले अर्को सन्तान पाए पनि छोरीनै पाउँथी ।’

हाम्रो भाग्य गतिलो नभएर हो रे दाजुभाइ नभाको अझ भन्दै थिई–‘तेरो बालाई तेरा फुपूहरूले टीका लगाएको हेरेर चित्त बुझाओ नभाका दाजुभाइ खोजेर हुन्छ । खोजीखोजी तिहारको टीको थाप्नु पर्दैन। खुसी भएका दिन लाउँछन् । कुन दिन रिस उठ्छ फेरि लगाउँदैनन् ।’ सानीहजुरआमाका कुरा सुनेर कम्ता रिस उठेको होइन मलाई । 

‘मेरी बुने लु जे पर्ला पर्ला यो वर्षदेखि तँ र म टीका लगाउने । मामुलाई भन्नुपर्छ हामीलाई पनि भाग ठीक पार्नु भनेर। म कमाउन थालेपछि तँलाई भाइटीकाका दिन धेरै सामान दिन्छु । अब त खुसी हो ।’ खुसी अनुहारमा पोखिन नपाउँदै पूजाको अनुहार मलिन भयो, ‘बाबा मानिसिन्न होला, हजुरबाले के भनिसिन्छ ।’

 ‘बाबा र मामुलाई मनाउने जिम्मा मेरो भयो । हजुरआमालाई मनाउने जिम्मा बाबालाई दिनुपर्छ ।’ दुवै छोरी नाच्दै भित्र पसेका थिए । देउसी र भैलीको संगीतले घर संगीतमय भयो भने मेरो मन बिरानो जंगलझैं भयो ।

मलाई रातभरि निद्रा परेन । ओल्टेकोल्टे फेर्दै राति सोच्न थालें । निकै नरमाइलो लाग्यो साँच्चै त भन्दै थिई कान्छी छोरीले । घरभरिका ठूला मान्छेले तिहारमा सप्तरङ्गी टीको लगाएर हिँड्दा तिनीहरूको मनमा कस्तो असर परेको रहेछ । 

म आफैलाई धिक्कारी रहेकी थिएँ । किन छोरीहरूको खुसी हेर्न सकिन ? किन मैले यत्रा वर्ष भौतारिँदै दगुरें आखिर प्रेम, माया र विश्वास भन्ने कुरो टीकै मात्र लगाएर हुने त होइन । दिदीबहिनी मात्र हुनेले किन तिहारै नआए पनि हुन्थ्यो भन्ने हीन भावनाबाट ग्रसित हुनुपर्‍यो ? आखिर खुसी नै त संस्कृतिको सार हो । म्ह पूजाको दिन पनि साँझ पूजा गर्दै आधा घन्टा ध्यानको अभ्यास गरेर आत्मबोधको मार्गमा सक्रिय भए हुन्छ नि। राम्रो संस्कृतिलाई अपनाउनु त निकै राम्रो कुरा हो । छोरीहरूको दुःखको कारण त हामी नै रहेछौं । घरभरि जान्ने–बुझ्ने हुँदा पनि बच्चाहरूको मनोविज्ञान किन बुझ्न सक्दैनौं ।

छोरीहरूको माया लाग्यो । तिहारको भाइभाग दुईबहिनीलाई ठिक्क पारेर उनीहरूको कोठामा चिट लेखेर छोडिदिएँ । दुई बहिनी आपसमा सप्तरङ्गी टीका लगाएर राति अबेरसम्म जागेका थिए । म जानेबेला उठेका थिएनन् अनि नभनी माइत गएँ । दिउँसो पो इन्स्ट्राग्राममा देख्छु । खुसी भएर हाँस्दै सप्तरङ्गी टीका, माला लगाएर थालभरि तिहारको भाग एक–अर्कालाई दिएर फोटो खिचेछन् । किन–किन मेरो हृदय पनि मुस्कुरायो । अनौठो छटपटी शान्त भयो ।

 Image