Successfully Copied

स्टाइलिस्ट पहिरनमा बालबालिका

एक वर्षसम्मका बालबालिकालाई भेल्भेटका कपडामा ग्याडर चोली वाला फ्रक वा बटन राखिएका फ्रक आकर्षक देखिन्छन् ।

बालबालिकाहरूका पहिरन आकर्षक देखिनुका साथै लगाउँदा सहज हुनुपर्छ । चाडपर्वका लागि उनीहरूको पहिरन हेर्दा आकर्षक अनि लगाउँदा हल्का तर फेस्टिभ लुक्स दिने खालको हुनुपर्छ । यतिबेला बालकहरूलाई दौरा–सुरुवाल, पटियाला कुर्ता तथा बालिकाहरूलाई लेहेंगा, कुर्ता, प्रिन्सेस ड्रेस, गाउन एवं साडी स्टाइलका पहिरन लगाइदिन सकिन्छ ।

एक वर्षसम्मका बालबालिकालाई भेल्भेटका कपडामा ग्याडर चोली वाला फ्रक वा बटन राखिएका फ्रक आकर्षक देखिन्छन् । त्यसमा मोती, गोल्डेन स्प्रिङ, विड्स तथा स्टोन प्रयोग गर्न सकिन्छ । त्यसमा भेल्भेटकै फ्लावर एट्याच हेडबेन्ड तथा क्लिपहरू लगाइदिँदा अझ राम्रो देखिन्छ । साना बालकहरूका लागि भेल्भेटको वेस्ट कोट, ट्राउजर वा टिसर्ट छ भने वेस्ट कोटमा मोती वा हल्का गोल्डेन स्प्रिङ वर्क आकर्षक देखिन्छ ।

दुई वर्षपछिका नानीहरूलाई जस्तो पहिरन पनि आकर्षक देखिन्छ । उनीहरूका लागि सेल्फ प्रिन्ट भेल्भेट, जर्जेट, नेटको वान पिस, गाउन वा फ्रक आदि विकल्प उपलब्ध छन् । साना बालकहरूका लागि सर्ट तथा पाइन्टमा ब्रोकेटको वेस्ट कोट आकर्षक देखिन्छ । दौरा–सुरुवालमा ढाका वा भेल्भेटको वेस्ट कोट पनि आकर्षक देखिन्छ ।

६–७ वर्षका नानीहरूलाई डबल लेयरर्सको वान पिस फ्रक, अनारकल्ली कुर्ता, म्याक्सी फ्रकहरू उपयुक्त हुन्छन् । यो उमेरकाहरूले फेसन ट्रेन्ड अर्थात् आमाहरूको नक्कल गर्ने भएकाले आफूले बनाएजस्तै कुर्ता, लेहेंगा, वान पिस वा साडी सजिलो हुने गरी डिजाइन गराउन सकिन्छ । स्कर्ट, पेन्सिल स्कर्ट, डिभाइडेट स्कर्ट सारै राम्रो देखिन्छ । साना बालकहरूका लागि सफारी सेट पनि खुल्छ जसमा हाफ बाहुला, एट्याच बेल्ट चल्तीमा छ । यो साधारण सफारी सुटभन्दा फरक देखिन्छ भने वेस्ट कोट र पाइन्ट पनि राम्रै देखिन्छ । यो उमेरका बालकहरूलाई मास ग्रिन, ब्ल्याक तथा क्रिम कलर सुहाउँछ । ८ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरू अहिलेको ट्रेन्डअनुसार स्मार्ट लुक्स रचाउँछन् ।

टिनएजको सुरुवाती उमेर पनि भएर होला उनीहरू टाइट स्कर्ट, वान पिस, फ्लेयर स्कर्टहरूमा अझ राम्रा देखिन्छन् । यदि ट्रेडिसनल पहिरनतिर जाने हो भने जिन्समा लङ ब्रोकेट कुर्ता वा सेल्फ इम्ब्रोइडरी कुर्ता पनि उपयुक्त हुन्छ । यो उमेरमा अलि फरक देखिने चाहना हुन्छ । त्यसैले मिक्समाक्स कलर तथा फेब्रिकले फ्युजन लुक्स दिन्छ । यो उमेरका बालबालिकाहरूले आफ्नो च्वाइस आफैले भन्न सक्ने हुँदा उनीहरूकै रुचिअनुसारको पहिरन बनाइदिनु उत्तम हुन्छ ।

                                                                               फेशन डिजाइनर

 Image