Successfully Copied

रंगमञ्चदेखि रंगीन जीवनसम्म

‘प्रेम, सम्मान, विश्वास, आपसी समझदारी, एक–अर्काको अस्तित्व स्वीकारले दाम्पत्य जीवन सफल मात्रै होइन सुन्दर र खुसीयाली हुन्छ ।’

 
हेटौंडामा जन्मेका जीवन भट्टराई कलाकार बन्ने हुटहुटीले राजधानी छिरे । ललितपुरकी लक्ष्मी बर्देवामा पनि सानैदेखि कलाको रस परेको थियो । सायद जीवनको एकै लक्ष्यले यी दुईको भेट भयो–एन्टेना फाउन्डेसनको रेडियो नाटकमा । ‘अँध्यारो–उज्यालो नाटक गर्दा देखादेख भयो । तर खासै कुराकानी भएन,’ लक्ष्मी ती क्षण स्मरण गर्छिन्, ‘म नाटकको मूल पात्र थिएँ, मेरा जोडी थिए सुशीलराज पाण्डे, जीवन उनैसँग आएका थिए, सोही नाटकको एक पात्रका रूपमा ।’ सुशीलको भाइ भनेपछि उमेरले जेठो भए पनि लक्ष्मीले जीवनलाई ‘भाइ’ नै भनेर बोलाउँथिन् ।
२०७० सालमा जीवन मण्डला थिएटरमा अप्रत्यासित रूपमा क्लास लिन आइपुगे । लक्ष्मी थिइन्, त्यहीँकै पासआउट प्रडक्ट । उनी मण्डलामा अभिनय गर्नेमध्येकी मुख्य कलाकार थिइन्, जीवन सिकारु । रंगमञ्चमा उनी लक्ष्मीभन्दा जुनियर हुन्, तर उमेरले ४ वर्ष जेठो ।
एक दिन साँझ परिसकेको थियो । जीवन सम्झन्छन्, ‘उनी कालोपुलस्थित वासस्थानतिर लम्किँदै थिइन्, मैले पुर्‍याइदिन अनुरोध गर्दा बाइक छ भनेर सोधिन्, होइन म हिँड्दै पुर्‍याउँछु भनेँ । त्यसपछि धेरैजसो सँगै हिँड्ने सिलसिला सुरु भयो ।’ ती यात्रामा जीवनका मर्मस्पर्शी कविताले लक्ष्मीको हृदय तरंगित बनाउँथ्यो । निकै बोल्नुपर्ने स्वभावकी थिइन्, लक्ष्मी । जब जीवन उनको जीवनमा आइपुगे, बोली बन्द भएर सुन्न थालेकी थिइन् । हत्तपत्त जहाँ जे कुरा भयो, त्यसलाई त्यहीँ बिर्सने बानी भएकी उनी ती सम्झनाहरू राति सुत्नुअघि स्मरण गर्न थालिसकेकी थिइन् । ‘त्यसअघि जहाँ जे घटना भयो, फेरि सम्झिराख्ने गर्दिनथेँ तर जीवनसँगको यात्रालाई बिर्सेर अगाडि बढ्न सकिनँ,’ लक्ष्मी फेरि उही प्रेमका कोपिलाउँदा सम्बन्धतिर फर्किइन्, ‘भोलिपल्ट पनि कुरेर बसेछन्, मलाई कालोपुल पुर्‍याउनका लागि । तर, म अगाडि नै हिँडिसकेकी थिएँ । केहीबेरपछि कुरेर बसिरहेको थिएँ भन्दै फोन आयो । फर्केर जानै त सकिनँ तर कस्तो–कस्तो लागिरह्यो ।’ त्यसपछि त पुर्‍याउन जाने क्रम बाक्लिँदै गयो ।
त्यसबेला मण्डला अनामनगरमा थियो । त्यहाँका गल्ली, बाग्मती करिडोर, कालोपुलका सडकहरु नै थिए, जीवन–लक्ष्मीका प्रेमका साक्षी । मण्डलाभित्र अरुले थाहा पाउलान् भनेर बाहिर क्याफेतिर भेटघाट गर्न थाले । दुवै एक–अर्काप्रति प्रतिबद्ध थिए तर डर थियो–परिवारले के प्रतिक्रिया दिने हो ? प्रेम भएको दुई वर्षपछि त उनीहरू सँगै बस्न थाले ।
यता जीवनले लक्ष्मीसँग विवाह गर्नेबारे आफ्ना दाइलाई सुनाए तर यो त गाह्रै छ भन्ने प्रतिक्रिया पाएपछि पारिवारिक आश मारेर विवाह गरे । अन्तरजातीय कारण नभएपछि सबै कुरा थाती राखेर ०५७ मा उनीहरूको विवाह भयो । त्यसपछि करिअरमा निकै सहयोग पुगेको र अझै अघि बढ्न प्रेरणा मिलिरहेको जीवनको अनुभव छ । ‘विवाहपछि काम फाप्यो । म्युजिक भिडियो र विज्ञापनमा काम पाउन थालियो, यसले हाम्रो आर्थिक स्थिति पनि सुधार हुँदै गयो,’ उनी भन्छन् ।
उनले घामपानी, माला, बुलबुल, सेल्फी किङलगायत १५ वटा चलचित्र, ८० वटाभन्दा बढी म्युजिक भिडियो, दर्जनभन्दा बढी नाटक र आधा दर्जन विज्ञापनमा अभिनय गरिसकेकी छन् । जीवनले भने डेढ दर्जन फिल्म, एक दर्जन नाटक, ५० वटा भिडियो तथा एक दर्जन विज्ञापनमा आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।

अत्यन्तै नजिकको साथी बनिसकेकाले होला विवाहपछि पनि निकै सहज भएको लक्ष्मीको धारणा छ । उनका अनुसार जीवन असाध्यै सहज र सरल व्यक्ति हुन् । आजसम्म कुनै कुरा जीवनलाई सोधेर गर्नुपर्छ भन्ने लागेको छैन । उनी अहिलेसम्म स्वनिर्णयले नै अगाडि बढिरहेकी छिन् । भान्सामा जीवनको समय बढी बित्छ । उनी लक्ष्मीलाई मन पर्ने परिकार पकाएर खुवाउनुमा आनन्द मान्छन् । अहिले त अझ दुई महिने सुत्केरी श्रीमती र छोराको स्याहारमै व्यस्त छन् । त्यसैले लक्ष्मीले उनको नाम नै ‘सेफ जीवन’ राखिदिएकी छिन् । खर्चमा दुवैको दुवैसँग लिने–दिने भइरहेकै हुन्छ । आजसम्म ठाकठुकसम्म नपरेको लक्ष्मी सुनाउँछिन् । ‘बच्चा आमासँग पछि लागेजस्तो गर्छन् जीवन,’ भन्छिन्, ‘म भान्सामा पसेँ भने उतै, बेडरुमतिर गएँ भने बेडरुममै, लिभिङमा बसिरहेकी छु भने त्यहीँ । यस्तै हो हाम्रो पारा ।’ सम्बन्धलाई तरोताजा राख्न उनीहरू बढीभन्दा बढी समय सँगै बिताउँछन् । बच्चा नजन्मिँदै कहिलेकाहीँ घुमघाम, मुभी, लन्च–डिनर जाने गरेका थिए ।
जीवनलाई लाग्छ, एकपटक गरिसकेको गल्ती नदोहोर्‍याइदिँदा सहज हुँदो रहेछ । अत्यन्तै माया र केयर गर्ने अनि समझदार श्रीमान् पाएर लक्ष्मीको जीवन खुसी छ भने जीवनलाई जति वर्षसँगै बसे पनि यो प्रेम एक इन्च घट्दैन भन्ने लाग्छ । लक्ष्मीको बुझाइमा सम्बन्धलाई ‘टेकन फर ग्रान्टेड’ का रूपमा लिनु हुँदैन । ‘मेरी बूढी भएर आइहाली जे–जसो गरे पनि भइहाल्छ भन्ने सोच्नु नै सम्बन्ध धमिल्याउन खोज्नु हो । हरेक व्यक्तिको आ–आफ्नै अस्तित्व हुन्छ र उसलाई सोहीअनुसारको स्पेस पनि चाहिन्छ,’ लक्ष्मीको दर्शन छ, ‘प्रेम, सम्मान, विश्वास, आपसी समझदारी, एक–अर्काको अस्तित्व स्वीकार गर्न सकियो भने दाम्पत्य जीवन सफल मात्रै होइन सुन्दर र खुसीयाली हुन्छ ।’
सम्बन्धलाई बलियो पार्ने सूत्र यो जोडीसँग छ । श्रीमान्–श्रीमतीमा चाहिने भनेको प्रेम, केयर, एक–अर्कालाई बुझिदिने क्षमता र विश्वास नै हो । सम्मानले पनि ठूलो भूमिका खेलेको हुन्छ । एक–अर्कालाई बुझेरै उनीहरू जो काममा व्यस्त छ, फोन गरेर डिस्टर्ब गर्दैनन् । लक्ष्मी भन्छिन्, ‘फुर्सद भएकाले फोन कुरेर बस्ने, काममा व्यस्त भएकाले समय निकालेर फोन गर्ने गरेका छौं ।’
आमा बनिसकेपछि लक्ष्मी अहिले छोराको स्याहारसुसारमा व्यस्त छिन् भने जीवन कामलाई प्राथमिकता दिइरहेका छन् । नयाँ फिल्म गर्ने योजनामा रहेका जीवनले छोराको आगमनपछि अझ जिम्मेवार बन्दै गएको महसुस गरेका छन्् ।

जीवनको नजरमा लक्ष्मी
बलियो पक्ष: निर्णायक क्षमता ।
कमजोरी: अत्यन्तै कोमल हृदय ।
लत: पकाउँदा एक्सपेरिमेन्ट गरिराख्नुपर्ने ।
मन परेको मुभी र पात्र: थ्रिलर फिल्म तथा लुटको हाकु काले ।
रुचि: फिल्म मेकिङ र स्टोरी राइटिङ ।
कस्ती श्रीमती: जिम्मेवार ।
के भएको हेर्ने इच्छा छ ?: राम्रो मुभी बनाउँदै यही क्षेत्रमा अब्बल ।

लक्ष्मीको नजरमा जीवन

बलियो पक्ष: सुन्न सक्ने क्षमता ।
कमजोरी : प्रतिवाद नगर्ने ।
खुसी लाग्ने कुरा: मनको कुरा व्यक्त नगर्दै बुझिदिँदा ।
मन परेको नाटक र कलाकार: पशुपति राई र द रेड सुटकेस ।
कस्तो श्रीमान् : समझदार ।
के भएको हेर्ने रहर छ ?: सुपरस्टार ।

 Image