Successfully Copied

लुक्सलाई एलिगेन्ट देखाउन चाहन्छन् : रश्ना श्रेष्ठ, मुसी

हामी वेस्टर्न र इस्टर्न फेसनको कपी गर्छाैं, तर हामीजस्ता डिजाइनरले जसलाई पहिरन सुहाउन गार्‍हो हुन्छ त्यस्तालाई उनीहरूको उमेर, बडी साइज हेरेर पहिरन डिजाइन गरिदिनुपर्छ । बजारमा जे चलेको छ त्यसको पछि लाग्नुभन्दा आफूलाई कस्तो सुहाउँछ र सजिलो हुन्छ त्यसलाई नै आफ्नो आउटफिट बनाउनुपर्छ

अहिलेको पुस्ता फेसनप्रति कत्तिको सचेत छ ?

अहिले हरेक व्यक्ति आफ्नो काम, जिउडाल र समयअनुसार पहिरन लगाउन चाहन्छन् । पहिलेजस्तो मेरो शरीर राम्रो छैन, यस्तो सुहाउँदैन भनेर बस्नुभन्दा डिजाइनरकहाँ पुगेर आफ्नो शरीरको बनोटअनुसार डिजाइनर पहिरन तयार पार्नेहरूको संख्या बढ्दो छ । अहिले मानिसहरू आफ्नो लुक्सलाई एलिगेन्ट नै देखाउन चाहन्छन् ।

मोडलिङबाट करियर सुरु गरी डिजाइनिङतिर आउनुको कारण ?

केही समय मोडलिङमा लागे पनि मेरो लक्ष्य फेसन डिजाइनरका रूपमा ब्रान्ड स्थापना गर्नु नै थियो ।

आफ्नो ब्रान्ड बनाउन कसरी सफल हुनुभयो ?

पहिले म हाउस अफ अल्टर्ननिभमा काम गर्थें । आफ्नै काम गर्नुपर्छ भन्ने सोचले मैले आफ्नै लेबल मुसी सुरु गरेकी हुँ । त्यसपछि म फेसन विक, ट्रेन्डसेटर आदि फेसन शोहरूमा सहभागी हुँदै गएँ । त्यहाँ मेरा डिजाइन धेरैले मन पराउनुभयो ।

धेरैजसो डिजाइनरका ठूला–ठूला शोरुम हुन्छन् तर तपाईं वसुन्धरास्थित घरबाटै काम गर्नुहुन्छ नि ?

अहिले म घरमै फेसन स्टुडियो खोलेर काम गरिरहेकी छु । म सानोतिनो भन्दा मुसीको ठूलै शोरुम खोल्ने योजनामा छु । अब यो मेरो चाहना छिट्टै पूरा हुन्छ । अहिले मेरा डिजाइनहरू घरको स्टुडियोबाहेक लबिम मलको रेड भेल्भेट, युकेको फरिया, अस्ट्रेलियाको बी ट्रेन्डमा बिक्री हुन्छन् । यस्ता सामान धेरैजसो अनलाइनमा उपलब्ध हुन्छन् । यदि राम्रो चीज छ भने मानिसहरूले जसरी पनि खोजेर किन्छन् ।

यसपटकको फेसन ट्रेन्ड कस्तो छ ?

वेस्टर्न पहिरनमा बोल्ड प्रिन्ट भएका स्कर्ट, वान पिस, टप्स, गाउनहरू यो वर्षको फेसनमा छन् । प्लेन कलर लंग ड्रेसेसका साथमा प्रिन्टेड समर ज्याकेट पनि फेसनमा छ । यस्तै जिन्समा प्लेन ह्वाइट टप्स टपिङ गरी माथिबाट प्रिन्टेड समर ज्याकेट, माइक्रो सर्ट ड्रेस, रक्की पाइन्ट, रक्की हाफ पाइन्ट तथा रक्की स्कर्ट फेसनमा भित्रिएको छ । जेब्रा प्रिन्टमा ड्रेसहरू, स्कर्ट, वान पिस पनि यसपटकको फेसनमा छन् । लाइट कलरको प्लेन, प्रिन्टेड तथा जोमेट्रिक थ्रि क्वाटर पाइन्ट पनि यो वर्षको समर फेसनमा छ । थ्रि क्वाटर पाइन्टसँग लंग आउटर लगाउने ट्रेन्ड पनि छ । जिन्समा लंग कुर्ती तथा एंकल लेन्थ पाइन्टमा कुर्ती पनि फेसनमा छ ।

फेसन ट्रेन्डमा छ भन्दैमा सबैले एउटै कुराको कपी गर्नु कत्तिको उपयुक्त हो ?

हामी वेस्टर्न र इस्टर्न फेसनको कपी गर्छाैं, तर हामीजस्ता डिजाइनरले जसलाई पहिरन सुहाउन गार्‍हो हुन्छ त्यस्तालाई उनीहरूको उमेर, बडी साइज हेरेर पहिरन डिजाइन गरिदिनुपर्छ । बजारमा जे चलेको छ त्यसको पछि लाग्नुभन्दा आफूलाई कस्तो सुहाउँछ र सजिलो हुन्छ त्यसलाई नै आफ्नो आउटफिट बनाउनुपर्छ । कतिपय ट्रेन्डलाई फलो गरे पनि त्यसलाई सुहाउने हिसाबमा क्यारी गर्न जान्नुपर्छ ।

 Image