संसदीय निर्वाचन ०७९ को मतपरिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चार जना, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दुई र नेपाली कांग्रेस(नेका), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक–एक जना गरी नौ महिला निर्वाचित भएका छन् । प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको १ सय ६५ स्थानमध्ये नौ (पाँच दशमलव ४५ प्रतिशत) जना महिला मात्र सांसद बन्न सफल भएका छन् । निर्वाचनमा दलहरूले बढीभन्दा बढी महिलालाई उम्मेदवार बनाउन हिच्किचाउँछन् । यस्तो अवस्थामा प्रत्यक्षबाटै चुनाव जितेका यी नौ जनालाई शाक्तिशाली महिलाको उपमा दिन सकिन्छ ।
५४ स्थानमा विजय भएको नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ एक जना मात्रै महिला निर्वाचित भएकी छन् । यो सौभाग्य पाउनेमा तेह्रथुम–१ की सीता गुरुङ हुन् । यसैगरी, ४४ स्थानमा विजय भएको एमालेबाट चारमहिला निर्वाचित भएका छन् । यो पार्टीबाट निर्वाचित भएकाहरूमा धनुषा–३ बाट जुलीकुमारी महतो, बारा–३ बाट ज्वालाकुमारी साह, कास्की–२ बाट विद्या भट्टराई र सुनसरी–३ बाट भगवती चौधरी हुन् । १७ सिट जितेको माओवादी केन्द्रबाट दाङ–२ बाट निर्वाचित रेखा शर्मामात्रै छिन् । १० स्थानमा जितेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सबै पुरुष छन् । त्यस्तै, आठ स्थानमा विजय भएको रास्वपामा काठमाडौं–२ बाट सोविता गौतम र ललितपुर–३ बाट तोसिमा कार्की छन् । यीबाहेकका पार्टीहरूबाट एकजना पनि महिला विजयी भएका छैनन् । अझ केही पार्टीले त महिलालाई प्रत्यक्ष निर्वाचनमा उम्मेदवारै बनाएनन् । विभिन्न राजनीतिक दलबाट प्रत्यक्ष निर्वाचित महिला सांसदहरू :
सोविता गौतम
काठमाडौं–२ बाट रास्वपा की सोविता गौतम निर्वाचित भएकी छन् । कानुन व्यवसायीसमेत रहेकी २७ वर्षीया सोविता कान्छी सांसद पनि बनेकी छन् । सोविताले त्रिभुवन विश्वविद्यालयको ‘नेसनल ल कलेज’ बाट कानुन विषयमा स्नातक गरेकी छन् । पत्रकारिता क्षेत्रमा समेत काम गरेको उनको अनुभव छ । उनी ०५२ मा दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी हुन् । उनले १५ हजार दुई सय २९ मत ल्याउँदा एमालेका मणिराम फुयाँल ११ हजार पाँच सय ५५, राप्रपाकी कुन्तीदेवी पोखरेलले ११ हजार १४ र माओवादीकी ओनसरी घर्तीले नौ हजार चार सय ४९ मत ल्याए । विजयी भएपछि संचार माध्यमसँग भनिन्, ‘जतिसुकै वाद, सिद्धान्तका कुरा गरे पनि नागरिकलाई चाहिएको विकास हो । त्यसमा एउटा सांसदको भूमिका समन्वयकारीको रूपमा हुन्छ । नीति–नियमभन्दा पनि समन्वयकारी भूमिका निर्वाह गर्ने कार्यलाई एकदमै चुनौतीपूर्ण देखिरहेकी छु । सदनमा हामी नीति बनाउँछौं । सबैलाई जोडेर एकीकृत माध्यमले जानुपर्ने लाइनमा म छु ।’
डा. तोसिमा कार्की
ललितपुर–३ बाट रास्वपाकी तोसिमा कार्की निर्वाचित भएकी छन् । उनले संसद्मा जनमुखी मुद्दाहरू उठाउने प्रतिक्रिया दिएकी छन् । चिकित्सा पेसासँग जोडिएकी ३३ वर्षीया उनी उम्मेदवार बन्नुअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिएकी थिइन् । नेपाल मेडिकल काउन्सिलको सदस्य समेत रहेकी उनले सोही पदमा रहेर उम्मेदवार बनेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो । तर, सर्वोच्च अदालतले उनको उम्मेदवारी कायमै रहने भन्दै अन्तरिम आदेश दिएपछि उनी चर्चामा आइन् । माओवादी केन्द्रकी प्रभावशाली नेतृ एवं जलस्रोत, ऊर्जा तथा सिंचाइमन्त्री पम्फा भुसाललाई उनले पराजय गर्दै सांसद बनेकी हुन् । तोसिमाले ३१ हजार एक सय ३६, एमालेका अमृत खड्काले १२ हजार नौ सय ६३ मत ल्याए भने पम्फा तेस्रो स्थानमा सीमित हुन पुगिन् । पम्फाले आठ हजार सात सय ६९ मत प्राप्त गरिन् ।
जुलीकुमारी महतो
धनुषा–३ बाट एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् । यसअघि उनी नेपालको संघीय संसद्को प्रतिनिधिसभा सदस्य थिइन् । नेपालको दोस्रो संविधानसभाको निर्वाचनमा उनी एमालेबाट धनुषा–३ बाटै उम्मेदवार बनेकी थिइन् । उक्त निर्वाचनमा उनी नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधिसँग पराजित भएकी थिइन् । एमालेको लामो समयदेखि सदस्य रहेकी उनी तीन वर्षअघि एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणबाट बनेको नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ का लागि धनुषाको ‘सह–इन्चार्ज’ मा नियुक्त भएकी थिइन् । नेपाल कम्युनिष्ट पार्टी लामो समयसम्म टिक्न नसकेर विघटन भयो । ४६ वर्षीय जुली विद्यार्थी राजनीतिबाट अगाडि बढेकी हुन् । उनी ०६४ र ०७४ मा एमाले तर्फबाट समानुपातिक सभासद/सदस्य भएकी थिइन् । केपी ओली नेतृत्वको सरकारमा ०७७ मा उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी थिइन् ।
पछिल्लो समय विजय भएपछि महतोले भनिन्, ‘देशमा रोजगारी र सिंचाइको व्यवस्था छैन । मुलुकमा भ्रष्टाचार र महँगी बढेको छ, जनता धेरै दुःखी, निराश र दिक्क छन् । यी विषयलाई सम्बोधन गर्ने मेरो योजना छ ।’ उनले मुलुकलाई समृद्धितर्फ कसरी लैजाने भन्नेमै आफू केन्द्रित रहने बताइन् । ‘शिक्षा, स्वास्थ्यमा बेथिति, महिलाका कुरीति र कुसंस्कार विदितै छन्, यी यस्ता विकृति र विसंगति हटाउनमा मेरो प्रयास रहने छ’ उनले भनिन्, ‘सरकार वा प्रतिपक्षमा बसे पनि महिला शिक्षा र आत्मनिर्भरताका विषयबारे संसद्मा म आवाज बुलन्द गर्नेछु ।’
भगवती चौधरी
सुनसरी–३ बाट एमालेकी भगवती चौधरी विजयी भएकी छन् । ५१ वर्षीया भगवतीले कांग्रेसका प्रभावशाली नेता एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदारलाई पराजित गरी सांसद भएकी हुन् । उनले ४० हजार ७ सय ८८ मत ल्याएर विजयी हुँदा गच्छदारको भागमा ३५ हजार ६ सय मत पर्यो । भगवतीले ५ हजार १ सय ८८ मतान्तरले कांग्रेसका विजय गच्छदारको ३१ वर्षको संसदीय यात्रामा पहिलोपटक ब्रेक लगाएकी छन् । समाजशास्त्र/व्यवस्थापनमा स्नातकोत्तर उनी हाल पीएचडी गर्दै छिन् । साविक औराबी गाविस (हाल गढी गाउँपालिका) मा जन्मिएकी उनी पछिल्लो समय सुनसरीको दुहवी नगरपालिका–२ मा बसोबास गर्छिन् ।
०४८ मा एमालेको पार्टी सदस्य प्राप्त गर्दै उनी राजनीतिमा आबद्ध भएकी हुन् । उनी ०५८ मा सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा प्रवेश गरिन् । ०६४ मा एमाले सुनसरी जिल्ला कमिटी सदस्य, ०७० मा अञ्चल समन्वय कमिटी सदस्य र पार्टीको नवौं र ०७८ को चितवनमा सम्पन्न १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य तथा श्रम तथा स्वरोगार केन्द्रीय विभागको उपप्रमुखको भूमिकासमेत उनले निर्वाह गरिसकेकी छन् । यसैगरी, अखिल महिला संघको केन्द्रीय सचिवालय सदस्य तथा गरिबी निवारण विभागको सचिव र हाल सुनसरी सह–इन्चार्ज हुन् । ०७० को दोस्रो संविधानसभामा सुनसरी क्षेत्र–३ बाट र प्रतिनिधिसभा सदस्य निर्वाचन ०७४ मा त्यही क्षेत्रबाट पराजित भएकी थिइन् । नवनिर्वाचित भगवती ०६४ मा संविधान सभा सदस्यमा मनोनीत भएकी थिइन् । उनले ०६८ मा करिब ६ महिना वन तथा भू–संरक्षण राज्यमन्त्रीको भूमिकासमेत निर्वाह गर्न सफल भइसकेकी छन् ।
रेखा शर्मा
दाङ–२ मा माओवादीकी रेखा शर्मा विजयी भएकी छन् । उनले एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी छन् । रेखाले २६ हजार ८ सय ७७ मत प्राप्त गर्दा शंकरले २६ हजार ६ सय ८१ मत ल्याए । उनी ०७० को संविधान सभा निर्वाचन र ०७४ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद्/सांसद निर्वाचित भएकी थिइन् । संसदीय समितिमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने सांसदका रूपमा उनी परिचित छिन् । निर्वाचित भएपछि उनले प्रतिक्रिया दिँदै भनिन्, ‘सामान्यतया प्रतिनिधि सभाका सदस्यको क्षेत्राधिकार भित्र रहेर गर्ने काम नै मुख्य हुन् । कानुन बनाउने र विकास निर्माणका विषयमा मेरो प्राथमिकता रहने छ । यसलाई महिलामैत्री बनाउने कुरामा पनि म आफ्नो ध्यान केन्द्रित गर्नेछु ।’ रेखाले आफ्नो क्षेत्रमा विकास निर्माण गर्ने, मतदानका मागलाईसम्बोधन गर्दै त्यसैका आधारमा अगाडि बढ्ने समेत बताइन् । ‘हामी महिलाले राजनीतिक रूपमा केही अधिकार प्राप्त गरिसकेका छौं । हामी पाएका अधिकारलाई उपभोग गर्न आर्थिक रूपमा महिलालाई सशक्त पार्ने कार्यमा केन्द्रित रहनेछौं’ उनले भनिन्, ‘महिलालाई आत्मनिर्भर बनाउन नीतिगत रूपमा के–कस्ता सुधार गर्न र कानुन बनाउन सकिन्छ भन्नेमा बढी केन्द्रित हुनेछु । अलि विशेष ढंगले महिलाका मुद्दा अगाडि लिएर बढ्नेछु ।’
विद्या भट्टराई
कास्की–२ बाट एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छन् । उनीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल पराजित भएका हुन् । विद्याले १६ हजार ९ सय ९८ मत ल्याउँदा माधवले १२ हजार ४ सय ९५ मत ल्याए । उनी प्रतिनिधि सभाकी निवर्तमान सदस्य पनि हुन् । ०७६ मंसिरमा भएको उपनिर्वाचनमा कास्की–२ बाट उनी निर्वाचित भएकी थिइन् । श्रीमान् रवीन्द्र अधिकारीको निधन भएपछि उनी संसदीय प्रतिस्पर्धामा होमिएकी हुन् । ‘प्रत्यक्ष निर्वाचित सांसद बनेपछि म आफ्नो निर्वाचित क्षेत्रका समस्याहरू पहिचान गरी परिवर्तन, विकास र रूपान्तरणका आयामहरूसँग त्यहाँका विषयहरूलाई कसरी सम्बोधन गर्ने भन्नेबारे भिजन तयार गरी क्रियाशील रहनेछु’ उनले भनिन्, ‘लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि राजनीतिक दलहरूभित्र संसद् सञ्चालनको खाकासहितको स्पष्ट कार्ययोजना हुनु अनिवार्य छ। संसदीय दलको भूमिकालाई प्रभावकारी र नेतृत्वदायी बनाई दल र संसद्बीचको पारस्परिक सम्बन्ध बनाउने मुख्य कार्यथलोका रूपमा विकास गर्न सकियो भने संसदीय मर्यादाका आधारमा लोकतान्त्रिक संस्कृति निर्माण गर्न सहज हुन्छ । मेरो पहल यसैतर्फ पनि रहने छ ।’
रञ्जिता श्रेष्ठ चौधरी
कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी निर्वाचित भएकी छन् । २०४८, ०५१, ०५६ र ०७० मा यही क्षेत्रबाट चुनाव जितेका र पटक–पटक मन्त्रीसमेत बनेका नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरिन् । रञ्जिताले ३० हजार चार सय चार मत प्राप्त गर्दा उनका जेठाजु पर्ने रामजनमले १८ हजार ८१ मत प्राप्त गरे । योसँगै उनी सुदूरपश्चिमकै एक्ली महिला प्रत्यक्ष निर्वाचित सांसद बनेकी छन् । उनले ११ हजार तीन सय २३ भारी मतान्तरमा जित निकाल्न सफल भएकी हुन् । नवनिर्वाचित रञ्जिता ‘टीकापुर घटना’ मा मुछिएर फरार रहेकै अवस्थामा ०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजय भएका रेशम चौधरीकी श्रीमती हुन् । रेशम टीकापुर घटनामा दोषी ठहर भई आजीवन कारावास सजाय काटिरहेकै अवस्थामा श्रीमान्को साख जोगाउन भन्दै रञ्जिताले नाउपाको नेतृत्व गर्दै उम्मेदवार बनिन् र चुनाव पनि जितिन् । जातीय उत्पीडनको मुद्दासँगै रेशमको प्रतिनिधिका रूपमा अघि बढेकी उनको पार्टीले गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकामा जितेको थियो । रञ्जिताले आफ्नो पार्टीको घोषणापत्रमा आरक्षित निर्वाचन क्षेत्रदेखि नमूना देशका अवधारणाहरू समेत समावेश गरेको बताइन् । यसबारे उनले भनिन्, ‘नेपालले आफूलाई कसैको सिको नगरीकन नमूना बनाउन सक्छ । हामीले पहिचान, सुशासन र समृद्धि भनेका छौं । यी विषयहरू नै हाम्रो केन्द्रमा रहनेछन् । हामीले ठूला देशका उदाहरण दिनुभन्दा हामीसँग जे छन्, ती स्रोत र साधनहरूको सही उपयोग गर्नुपर्छ । यदि यसो भयो भने मात्रै पनि नेपाल आफैंमा नमूना हुनसक्छ । हामीले निर्वाचन क्षेत्र पनि आरक्षित हुनुपर्ने भनेका छौं । यदि आरक्षित निर्वाचन क्षेत्र भयो भने संसद्मा सबैको उपस्थिति हुने भयो । यसो हुनेबित्तिकै पनि मुलुक नमूना बनिहाल्छ ।’
सीता गुरुङ
तेह्रथुम–१ बाट नेपाली कांग्रेसकी सीता गुरुङ विजयी भएकी छन् । उनी १९ हजार ७ सय २ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय सुब्बाले १८ हजार ६ सय २३ मत प्राप्त गरे । ०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका भवानीप्रसाद खापुङबाट सीता पराजित भएकी थिइन् । उनी संविधानसभा सदस्यमा कांग्रेसबाट पहाडी जनजाति महिलाको प्रतिनिधित्व गरिसकेकी छन् । १८ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय उनी महिला सशक्तीकरण र महिलालाई संगठित गरेकै कारण आफूलाई पार्टीले संविधान सभाको सदस्य र अहिले सांसदमा उम्मेदवार बनाएर जिताएको बताइन् । साहित्यमा पनि रुचि राख्ने उनी ०६२/६३ को जनआन्दोलनमा १८ दिन हिरासतमा परेकी थिइन् । कांग्रेसको भातृ संगठन नेपाल महिला संघकी जिल्ला सचिवसमेत रहिसकेकी सीताले उच्च माध्यमिक तहसम्मको अध्ययन गरेकी छन् । उनले महिलाहरूको प्रजनन अधिकारको सवाललाई विशेष प्राथमिकताका साथ उठाउँदै आएकी छन् ।
तेह्रथुमको आठराईमा जन्मिएकी सीतासँग नेविसंघको जिल्ला तहको नेतृत्वमा रहेर काम गरेको अनुभव छ । उनले नेपाल महिला संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय महासचिव भएर काम गरेकी थिइन् । कांग्रेसको केन्द्रीय आदिवासी जनजाति विभागको प्रमुखसमेत रहेर काम गरेकी उनी पार्टीको १२औं र १३औं महाधिवेशन पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । दुवै संविधानसभामा सदस्य रहेकी उनी ०७४ मा कांग्रेस नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री भएकी थिइन् ।
निर्वाचित भएपछि प्रतिक्रिया दिँदै भनिन्, ‘चुनाव जितेकोमा खुसी त भएकै हो । मैले जित्न पक्कै सहज थिएन । सबै कुरा भन्न नमिल्ने पनि हुँदा रहेछन् । तेह्रथुमे जनताले मलाई जिम्मेवारी सुम्पिनुभएको छ । म उहाँहरूको सपना पूरा गर्नेछु ।’तर जनताले दिएको जिम्मेवारीलाई पूरा गर्न थुप्रै चुनौती रहेको पनि उनले बताइन् । ‘जनताले मप्रति भरोसा गरेर दिएको अभिमतलाई जोगाएर काम गर्न मेरो ध्यान गएको छ । मैले जितेको भन्दा पनि जिम्मेवारी लिएको हो’ उनले भनिन्, ‘अब मेरो ध्यान जिल्लाको विकास निर्माण, स्वास्थ्य, शिक्षाको गुणस्तर वृद्धि र जनताको मर्मअनुसार काम गर्नेमा जाने छ । तेह्रथुम जिल्ला दुर्गम जिल्ला भएकाले यहाँको सडकलाई समेत प्राथमिकतामा राखेर काम गर्नु मेरो पहिलो कर्तव्य हुने छ । यसका साथै महिला सहभागिता वृद्धि गर्ने कुरा त छँदैछ । समग्रमा तेह्रथुम जिल्लालाई सुन्दर बनाउने कल्पना छ ।’
ज्वालाकुमारी शाह
बारा–३ बाट एमालेकी पोलिटब्युरो सदस्यसमेत रहेकी ज्वालाकुमारी साह निर्वाचित भएकी छन् । उनले जसपाका नेता रामबाबुकुमार यादवलाई पराजित गरेकी हुन् । जसपासँग यो क्षेत्रमा एमालेको गठबन्धन थिएन । गठबन्धन नहुँदा पनि ज्वालाकुमारी विजयी भइन् । उनले २० हजार २ सय ५१ मत ल्याएकी छन् । निकटतम प्रतिस्पर्धी रामबाबुले १७ हजार २ सय ७९ मत ल्याए । सत्तारूढ गठबन्धनका उम्मेदवार लोसपाका लालबाबुसिंह भइहार तेस्रो भए ।
माओवादी पृष्ठभूमिकी ४० वर्षीया उनी ०७४ को प्रदेश सभा सदस्यमा बारा–३ को प्रदेश सभा १ बाट नेकपा (माओवादी केन्द्र) बाट विजयी भएकी थिइन् । एमाले र माओवादी केन्द्रको एकता भई गठन भएको नेकपामा विभाजन आएपछि उनी एमाले प्रवेश गरेकी हुन् । लगत्तै माओवादी केन्द्रले उनलाई प्रदेश सांसदबाट पदमुक्त गरेको थियो । माओवादीबाट एमाले प्रवेश गरेकी उनलाई तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय सरकारको कृषि तथा पशुपंक्षी विकासमन्त्री बनाएका थिए । ज्वालाकुमारी २०६४ को संविधानसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट समानुपातिकतर्फबाट संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् ।
ज्वालाकुमारी मधेसका चेलीबेटीहरू घुम्टोभित्र रहँदै गर्दा समाज परिवर्तनका लागि घुम्टो खोलेर अगाडि बढेकी थिइन् । बाराको जितपुर सिमरा–१६ की उनी विद्यालय पढ्दापढ्दै माओवादी सशस्त्र विद्रोहमा लागेकी थिइन् ।
किन घट्यो महिला संख्या ?
इन्द्र अधिकारी, राजनीतिक विश्लेषक
हामीले विश्लेषण गर्दा दुई/तीन वटा तथ्य केलाउनुपर्छ । जिते वा थोरै जिते भन्ने सन्दर्भमा कसले जिते भन्ने पनि हेर्नुपर्छ, यसमा पनि कति नयाँ अनुहार भेटिन्छन् त्यो पनि विचार गर्नुपर्छ । पराजयभन्दा कति र कस्ता पुराना अनुहार त्यसमा परे भन्ने विषयको पनि विश्लेषण गर्नुपर्छ । अझ यो विषय पार्टीमा हुने जिम्मेवार मान्छे र राजनीति गर्ने महिला स्वयंले पनि बुझ्नु जरुरी छ । यसपटक स्वतन्त्रमा महिला आएका छन् । ठूला पार्टीमा जित हात पार्ने महिलाको संख्या कम छ । पहिलो कुरा, पार्टीहरूले चुनावमा प्रतिस्पर्धाका लागि टिकट नै दिएनन्, जहाँ–जहाँ दिए हार्ने ठाउँमा दिए । तुलनात्मक रूपमा ३३ प्रतिशत पनि टिकट दिएनन्, जहाँ दिए कमजोर ठाउँमा दिएर महिलालाई जिताउने प्रयास पनि गरिदिएनन् । अर्को बिर्सिन नहुने कुरा, महिला आफैं पनि पुरुषजत्तिको राजनीतिमा नखटिने, पुरुष चौबीसै घण्टा सदन र संसद्मा खट्छन् तर महिलाहरूबाट यो खटाइ कम हुने र इन्गेजमेन्ट पनि न्यून हुने कारणले महिला कम हुँदै जान्छन् । जयपुरी घर्तीलाई काठमाडौंमा संसद् दिएर कसरी लड्ने ? आफ्नो थातथलोमा लड्न दिए पो सम्भावना रहन्छ, गठबन्धन हुनेबित्तिकै अर्को ठाउँमा परिन्छ । गठबन्धनबाट लड्दा महिलालाई धेरै नोक्सान भएको छ जबकि एकल लड्दा बढी सम्भावना रहन्थ्यो । गठबन्धन गर्दै गर्दा कुनै पनि हालतमा
आफ्नो शक्तिको प्रतिनिधित्व बढी नै बनाउने भन्नुको मतलव जिताएरै ल्याउने भन्ने अर्थ लाग्छ, यसमा महिलालाई टिकट दिने कुरामा पछि पारिन्छ । पैसा, शक्ति, पुलिस, प्रशासन परिचालन गर्नमा पनि महिला पछि पर्छन् । गुटबन्दी मिलाउनेबाहेक आफ्नै पहल र प्रयासमा टिकट पाएका महिलाहरूएकदमै कम छन् । पाउने कुरा पनि कठिन र जित्न पनि कठिन हुँदोरहेछ ।
गठबन्धनको गलत प्रभाव
मीरा ढुंगाना, वरिष्ठ अधिवक्ता
यसपटक जित्ने ठाउँमा पनि महिला पराजित भए, जुन गठबन्धनको गलत प्रभाव हो । लामो समयदेखि राजनीति गरी पार्टीलाई जीवन अपर्ण गरेका अब्बल महिलाहरू पनि यसपटक पछि परेका छन् । जनताहरू राजनीतिक पार्टीसँग निराश भए, यसैक्रममा मकैमा घुन पिसिएझैं महिलाहरू पनि परे । प्रत्यक्षमा महिलालाई उल्लेख्य टिकट दिइएन । पितृसत्तात्मक सोच र मान्यताले काम गर्यो, टिकट दिए पनि महिलाले जित्दैनन् भन्ने अनुमान गरेको देखियो । महिला अगाडि ल्याउन जतिसक्दो धेरै टिकट दिनुपर्थ्यो । गठबन्धन नै अभिशाप बन्यो । नयाँ पार्टी बढी ‘हाइलाइटेड’ हुन्छ, उहीले सुरुमा माओवादी आउँदा त्यस्तै ‘चार्म’ थियो, त्यही पनि राम्रो काम गरिहाल्छन् कि भन्ने आशाले जनताले भोट दिए तर अहिले क्रमशः त्यही पार्टी पछाडि पर्दै गयो । त्यस्तै अहिले स्वतन्त्रको लहड छ ।