Successfully Copied

आत्मविश्वासी सोफिया

सानैदेखि हक्की र साहसी सोफिया भुजेल सन् २०२२ की ‘मिस युनिभर्स नेपाल’ विजेता हुन् । आगामी जनवरी १४ मा अमेरिकाको न्यू ओर्लिन्समा हुने ‘मिस युनिभर्स’ मा उनी नेपालको तर्फबाट प्रतिनिधित्व गर्दैछिन् ।

सानैदेखि हक्की र साहसी सोफिया भुजेल सन् २०२२ की ‘मिस युनिभर्स नेपाल’ विजेता हुन् । आगामी जनवरी १४ मा अमेरिकाको न्यू ओर्लिन्समा हुने ‘मिस युनिभर्स’ मा उनी नेपालको तर्फबाट प्रतिनिधित्व गर्दैछिन् । यसअघि ‘ब्रान्ड मोडलिङ’ र व्यवसायमा व्यस्त उनले ‘मिस युनिभर्स’ को तयारीमा केन्द्रित भएको बताइन् । 

टेन्ट–मेनिफ्याक्चर व्यवसायी श्यामकुमार र मञ्जु भुजेलका दुई छोरीमध्ये सोफिया कान्छी हुन् । दार्जीलिङबाट प्रारम्भिक शिक्षा पूरा गरी बैंग्लोरबाट ‘बिजनेस म्यानेजमेन्ट’ मा स्नातक गरेकी उनी सन् २०१९ को ‘मिस नेपाल’ स्पर्धामा ‘टप–सेभेन’ मा परेकी थिइन् । ‘त्यतिबेलादेखि नै मैले एकदिन मिस युनिभर्स जित्छु भन्ने प्रतिज्ञा गरेकी थिएँ । २०१९ मै फिलिपिन्समा सम्पन्न ग्लोबल एसियन मोडलको टप–टेनमा पर्न सफल भएँ,’ उनले भनिन्, ‘त्यसले ममा हौसला र जाँगर थप्यो । अनि म मिस युनिभर्स नेपालका लागिदृढताका साथ तयारीमा लागें । अहिलेको सफलता त्यसैको परिणाम हो ।’ सन् २०२२ मा इजिप्टमा भएको ‘मिस इको इन्टरनेसनल’ मा ७० देशका प्रतिस्पर्धीलाई उछिन्दै उनी ‘टप–ट्वान्टी’ मा पर्न सफल भइन् । मिलनसार र सबैसँग घुलमिल भइहाल्ने सोफियाले सुरु गरेको ‘प्रोजेक्ट–रेड’ चर्चामा छ । जस अन्तर्गत महिनावारीमा‘स्यानिटरी प्याड’, ‘कप’ प्रयोग गर्न नपर्ने रातो र कालो रंगको भित्री वस्त्र तयार पारिन्छ । महिनावारीका बेला आफूले भोगेको तीतो घटनाले ‘प्रोजेक्ट–रेड’ को अवधारणा आएको उनले बताइन् । ‘यही प्रोजेक्टलाई म मिस युनिभर्सको प्लेटफर्ममा पनि लिएर जाँदैछु । यो आम युवती र महिलासँग जोडिएको विषय हो,’ उनले भनिन् । 

सोफियाका कुरा

‘मिस युनिभर्स नेपाल’ को ताज पहिरिँदै गर्दा तपाईंको मनमस्तिष्कमा के विषय आयो ?

नेपाल र नेपालीले ममाथि गरेको विश्वास र त्यसलाई पूरा गर्नुपर्ने जिम्मेवारी झट्ट दिमागमा आयो, म निकै भावुक भएँ किनभने मैले यो ताजका लागि सन् २०१९ देखि कडा मेहनत र संघर्ष गरेकी थिएँ । 

‘मिस युनिभर्स नेपाल’ को ‘टाइटल’ जितेपछि केमा व्यस्त हुनुहुन्छ ? कत्तिको जिम्मेवारी महसुस भइरहेको छ ?

जिम्मेवारी त हरक्षण दिमागमा बोकेर हिँडिरहेकी हुन्छु । त्यसैले त ‘मिस युनिभर्स’ को तयारीमा दिलोज्यानले लागेकी छु । 

‘मिस युनिभर्स’ को विदेशी ‘प्लेटफर्म’ मा यहाँको विशेष प्रस्तुति के रहनेछ ?

नेपाली कस्ता हुन्छन् भन्ने कुरा देखाउने मन छ । हाम्रो मन निश्चल, निष्कपट र सफा छ त्यसैगरी हाम्रो व्यवहार पनि उस्तै । साथै मेरो ‘प्रोजेक्ट–रेड’ पनि प्रस्तुत गर्नेछु । 

‘मिस युनिभर्स नेपाल’ जस्तो ‘प्लेटफर्म’ ले तपाईंजस्ता युवालाई के दिँदो रहेछ ?

पहिचान, आत्मविश्वास र बलियो अनि फराकिलो ‘प्लेटफर्म’ । 

तपाईंमा भएको के कुराले ताज दिलाउन सफल भएको ठान्नुहुन्छ ?

म ‘ग्राउन्डेड’ छु । मेरा लागि सबै बराबर । मेरो यही स्वभावले हुनसक्छ म सफल भएँ । 

प्रेम र विवाहलाई कसरी परिभाषित गर्नुहुन्छ ?

प्रेम भनेको सम्मान हो । विवाह भनेको दुई व्यक्तिबीचको ‘पार्टनरसीप’ हो जस्तो लाग्छ । 

केसँग डर लाग्छ, किन ?

मेरा आफन्तहरू, मलाई प्रेम गर्नेहरू गुमाउँछु कि भन्ने कुरामा डर लाग्छ किनभने म पनि उनीहरूलाई औधी प्रेम गर्छु । 

केले तपाईंलाई बढी उत्प्रेरित गर्छ ?

कहिल्यै नथाक्ने र कहिल्यै हरेस नखाने मेरो आफ्नै स्वभावले मलाई बढी प्रेरणा दिन्छ । 

जीवन सफल बनाउन अब के गर्ने विचारमा हुनुहुन्छ ?

मेरा बुवा–आमालाई खुसी बनाएर आफ्नो जीवन सार्थक बनाउन चाहन्छु । 

आगामी योजना के–कस्ता छन् ?

तत्कालको योजना त ‘मिस युनिभर्स’ जित्ने नै हो । त्यसैका लागि हरसम्भव प्रयास गरिरहेकी छु । 

पाठकलाई केही सन्देश छ कि ?

अहिलेसम्म नेपाल र नेपालीबाट जुन माया र साथ पाएँ ‘मिस युनिभर्स’ का लागि मात्रै नभएर सधैका लागि यो प्राप्त होस् । ‘मिस युनिभर्स’ मा म एक्लो व्यक्तिले प्रतिनिधित्व गरे पनि यो यात्रा हामी सबैको हो, हामी नेपालीको यात्रा हो । 

 Image