Successfully Copied

सशक्तीकरण समयको माग

मानव बेचबिखनको समस्या विश्वभर छ जसबाट नेपाल पनि अछूतो छैन । अझ यो कुरामा बढी पीडित त महिलाहरू नै छन् ।

मानव बेचबिखनको समस्या विश्वभर छ जसबाट नेपाल पनि अछूतो छैन । अझ यो कुरामा बढी पीडित त महिलाहरू नै छन् । बेचविखनसम्बन्धी समस्या महिलाहरूको प्रमुख समस्या नै हो भन्दा फरक पर्दैन । सदियौंदेखि पछाडि पर्दै आएका नेपाली महिला अनेकौं बहाना एवं प्रलोभनमा परेर दलालहरूको सिकार भैरहेका छन् । यो समस्याको प्रमुख कारक चेतनाको अभाव नै हो । चेतनाको स्तर उच्च भएर समाज सभ्य एवं नैतिक नहुन्जेल यस्ता समस्या घट्दैनन् तथापि बलियो कानुन बनाई त्यसको प्रभावकारी कार्यान्वयन गर्ने हो भने यस्ता समस्या धेरै हदसम्म निराकरण गर्न सकिन्छ । यो कुरामा मुख्यत: आम महिलाले पनि परवर्तित समयअनुरूप आफूलाई शिक्षित गराउँदै लानुपर्छ ।

आफ्ना लागि अरूले केही गरिदिँदैनन् । जे पर्छ आफैंले बेहोर्नुपर्छ । त्यसका लागि महिलाहरूबीच तथा पुरुषहरूसँग पनि आफ्नो सशक्तीकरणका लागि ऐक्यबद्धता आवश्यक छ । कतिपय घटनामा महिला–महिलाबीच नै एकता हुन नसक्दा यस्ता समस्या देखिएका छन् र महिलाका शत्रु महिला नै बनेका उदाहरण छन् । त्यसैले आफ्नो चौतर्फी विकासका लागि महिला स्वयं पनि अध्ययनशील, लगनशील, सहनशील, संघर्षशील एवं मेहनती भै सशक्तीकरणको बाटोमा अघि बढ्नु आवश्यक छ । आफूलाई आर्थिक क्रियाकलापमा अग्रसर गराउनुपर्छ । राज्यसत्ताको निर्णायक भूमिकामा पुग्न अग्रसर हुनुपर्छ र सबैभन्दा ठूलो कुरा त आफ्ना लागि आफैंले प्रयास गर्नुपर्छ । 

रश्मि कार्की, हेटौंडा 

 Image