रमेश अंकल घरमा आउँदा केटाकेटीहरू निकै खुसी हुन्थे । केटाकेटीलाई असाध्यै माया गर्ने उनको स्वभाव थियो । उनी आँखामा कालो चस्मा ढल्काई आइरन गरेका लुगामा सजिएर हिँड्थे । हाँसेर बोल्ने उनको बानी थियो । केटाकेटीहरू चकलेट र बिस्कुट ल्याइदिँदानिकै खुसी हुन्थे ।
अंकल आएर सोफामा बस्नेबित्तिकै उनका भाइले अमेरिकाबाट पठाइदिएको लामो ‘आइफोन’ अगाडि टेबलमा राख्थे तब मेरो छोरो अंकलको अनुमतिसमेत नलिई सुटुक्क मोबाइल लिन्थ्यो र गेम खेल्न थाल्थ्यो । जब कसैले फोन गर्दा रिङटोन बज्थ्यो अनि मात्र अंकलको हातमा फोन पुग्थ्यो । आजभोलिका बच्चाहरूको मोबाइलमा ‘क्ल्यास अफ क्लेन्स’ गेम खेल्ने होडबाजी नै चलेको छ । मेरो साथी ‘अनलाइन’ आइसक्यो होला भन्दै ‘फेसबुक’को ‘अनलाइन’ झैं गेमको ‘अनलाइन’मा केटाकेटी दौडेको देख्दा हैरानीले लखतरान भएकी छु म ।
तिनै अंकल घरमा आएका थिए । सदा झैं श्रीमान् र उनी बैठककोठामा बसेर गफ गरिरहेका थिए । उनलाई कफी बनाएर बैठककोठामा पस्न मात्र के लागेकी थिएँ, केही गम्भीर कुरा सुनेजस्तो लाग्यो । ढोकामा बसेर अरुका कुरा सुन्नु बुद्धिमानी होइन भन्ने थाहा पाउँदा–पाउँदै पनि मूर्तिझैं जडवत् बन्न पुगें म ।
‘यत्रो घर भाउजूको नाममा पास गरिदिइस् है तैंले ? म भए सक्दिनथें यार ? श्रीमतीको आफ्नो कमाइ उसले जेसुकै गरोस् त्यसमा म केही हस्तक्षेप गर्दिन, तर पैत्रिक सम्पत्ति र आफूले दुःख गरी कमाएको धनले बनाएको घर राजीनामा गरेर श्रीमतीको नाममा ल्याप्चे लाउन म कुनै हालतमा पनि सक्दिनथें तर तेरो उदार मनलाई मान्नैपर्छ बा ।’ आखिर यो घरको लालपुर्जा भाउजूको नाममा बनाइस् है ?
धेरै बेर ढोकामा उभिन चाहिन । सामान्य औपचारिकता पूरा गर्दै केही पनि कुराकानी नसुनेझैं गरी म कफी लिएर भित्र पसें । लामो समयपछि भेट्न आएको आफ्नो साथीको मुखतिर हेरेर मेरा श्रीमान् मुसुमुसु हाँसिरहेका रहेछन् । कफीका कपहरू हातहातमा नै दिएँ । मगबाट कफीको बासना र बाफ हरर उडिरहेको थियो । छोरो अंकलको फोनमा झुन्डिसकेको रहेछ । उसलाई म त्यहाँ पुगेको पनि थाहा छैन कि जस्तो लाग्यो । भर्खर आफूले गरेको वार्तालाप पक्कै पनि भाउजूले सुनेकी छैनन् भन्ने अनुमान अंकलले गरे ।
‘भाउजू बस्नुस् न यतै....।’ ठिङ्ग उभिएकी मतिर हेर्दै अंकल बोले । श्रीमान्जीले आफ्नो आडैमा बसोस् भनेर अलि पर सरेर ठाउँ बनाए पनि मलाई त्यहाँ बस्न मन लागेन । भान्सामा दाल बसाएकी छु, फेरि तरकारी पनि काटकुट गर्नु छ भनी म बाहिरिएँ । म त बाहिरिएँ तर मेरो कानमा भने बारम्बार उही वाक्य ठोक्किरह्यो । ‘भाउजूका नाममा घर पास गर्न कसरी सकिस् यार तैंले ?
श्रीमान्जीका साथी सोच्दा हुन् कि, श्रीमतीका नाममा आफ्नो सम्पत्ति कानुनी रूपमा राख्नु सबैभन्दा ठूलो मूर्खता हो । भोलि दाम्पत्य जीवनमा समझदारी नभएर श्रीमतीसँग छुट्टिनुपर्यो भने अथवा आफ्नो सम्पत्ति लिएर अरू कसैसँग श्रीमतीले अवैध सम्बन्ध गाँसी भने के होला स्थिति ? पक्कै पनि यही सोच्दा होलान् उनी । नत्र यति धेरै आश्चर्य मानेर कुरा गर्नुपर्ने जस्तो त लागेको थिएन मलाई । आखिर अचल सम्पत्ति न हो, नाम त श्रीमान् र श्रीमतीको नाममध्ये जसको नाममा राखे पनि त के नै फरक पर्ने थियो र ? सबैभन्दा ठूलो कुरा त सोचको कुरा हो । श्रीमान्को नाममा सम्पत्ति भएका सबै श्रीमतीले यस्तै सोचिदिने हो भने विश्वासको वातावरण कहीँ पनि हुने थिएन होला । अनि जीवनको रथ पनि त कसरी अघि बढ्थ्यो होला र ?
हात तरकारी काट्न व्यस्त भए पनि मनमा भने अघिकै घटनाक्रम नाँचिरहेको थियो जति गर्दा पनि मन स्थिर बन्न सकेको थिएन । श्रीमतीका नाममा सम्पत्ति हुनेबित्तिकै यति धेरै मन अमिल्याउनुपर्ने आखिर त्यस्तो के छ र उनले त्यसो भने । जति देश–विदेश घुमे पनि उनको महिलालाई हेर्ने दृष्टिकोण भनेसंकीर्ण लाग्यो । यति नजिकबाट उनलाई चिनेकै रहेनछु मैले । चरम दरिद्र मानसिकताका लागे उनी । आइरन गरेर टलक्क टल्किएका लुगा लगाउने, महँगा जुत्ता र चस्मा लगाएर आफूलाई ‘ह्यान्डसम’ देखाउने अंकलको भित्री सौन्दर्य यति कुरूप होला भनेर मैले कहिल्यै सोचिन । ‘इनर’ र ‘आउटर ब्युटी’को तालमेल कहाँ मिल्ने रहेछ र जीवनमा जस्तो लाग्यो । आँखाभरि सुकरात, अब्राहम र झमक घिमिरे नाचिरहे ।
आकाश र पातालका कुरा गर्न खप्पिस उनले श्रीमतीका नाममा साथीले घर पास गरिदिएको कुरालाई शंकाको दृष्टिले हेरेको देख्दा म उनमा रहेको ज्ञानको तह देखेर चकित परें । सिंगो जीवनमा महिलाको भूमिकालाई बुझ्ने मान्छेको त विचार नै फराकिलो हुन्छ । आफू जन्मिएको घर, खेलेको आँगन, जन्म दिने बाबुआमा र सारा साथीसंगी छाडेर एउटी छोरी बिहेपछि कर्मघर जान्छिन् । वास्तवमा भन्ने हो भने बिहे नामको रीत एउटा चिट्ठाजस्तै बन्न पुग्छ । परिवारका सदस्य र श्रीमान् असल छन् भने त छोरीको जीवन सुखमय बन्ला अन्यथा जीवन दुर्घटित पनि बनेका कयौं उदाहरण हामी समाजमा देख्न सक्छौं ।
पराइघर आइसकेपछि छोरी, श्रीमती, बुहारी र आमा बन्दा भोग्नुपर्ने अथाह कष्ट र पीडाको लेखाजोखा गर्ने तराजु संसारमा अहिलेसम्म बनेको देखिँदैन । श्रीमती, बुहारी, पत्नी, काकी, माइजू र भाउजूको भूमिकामा आफूलाई सक्षम बनाउन एउटी छोरीले अपरिचित वातावरणमा शारीरिक श्रमका साथै कति मानसिक लगानी गर्छे भन्ने कुरा भोग्नेलाई मात्र थाहा हुन्छ । अनेकौं साइनोमा बाँधिएर श्रीमान्को घर सजाउन श्रीमतीले खेलेको पीडाको कुनै लेखाजोखा हुँदैन । बिहान उठेदेखि राति नसुतेसम्म गरिने क्रियाकलापको पनि कुनै तलब हुँदैन । गर्भावस्था र सन्तान जन्माउँदाको पीडालाई व्यक्त गर्ने शब्द नै छैन । यसरी आफूलाई बलि दिएर सुन्दर घर निर्माण गर्ने नारीलाई यो समाजमा बुझ्ने मानिस कम भएजस्तो लाग्यो ।
श्रीमान्जीका यी साथी महिलाको भूमिकालाई हलुका रूपले लिनेमध्येमा पर्ने रहेछन् भन्ने कुरामा अब कुनै शंका रहेन । बरु मौका मिले कुनै दिन उनकी श्रीमतीलाई भेट्ने योजना मनमनै बनाएँ । आफ्नीश्रीमतीलाई कत्तिको कदर गर्दा रहेछन् बुझ्ने मन लाग्यो ।
श्रीमान्जीको यी साथीको व्यवहारजस्तै एउटा अर्को घटनाले पनि मलाई उत्तिकै रन्थनाएको छ । फुर्सद भएसम्म साहित्यिक गतिविधिमा भाग लिन मन पराउने मेरो स्वभावसँग मेरी एउटी साथी साक्षात्कार थिइन् । लेखनको क्षेत्रमा उनले पहिचान बनाउन बाँकी नै छ यद्यपि साहित्यलाई माया गर्ने साहित्यानुरागी र साहित्यिक कृतिकी सशक्त पाठक थिइन्–उनी ।
‘घरमा मात्र कति बस्नु, मिलेसम्म म पनि तिमीसँग साहित्यिक कार्यक्रममा सहभागी हुन्छु मलाई पनि तिमी जाने कार्यक्रममा लैजाऊ है ?’ उनले एकदिन भनिन् । यो त एकदम राम्रो कुरा हो नि भनेर आफू जाने कार्यक्रममा निमन्त्रणा गर्न थालें । फेसबुकको इनबक्समा मैले उनलाई सूचना दिन्थें । तर सूचनाको कुनै रेस्पोन्स भने मैले पाउँदिनथें ।
साहित्यिक कार्यक्रममा सहभागी भएका मेरा तस्बिरलाई उनले चुपचाप ‘लाइक’ गरेको देखिरहन्थें म । मैले पठाएको निमन्त्रणालाई किन वास्ता नगरेको होला भनेर मैले नमज्जा मानिरहेकी थिएँ । एकदिन उनले फोन गरेर आफूलाई किन नडाकेको भनेपछि भने म आश्चर्यचकित भएँ । मैले पठाएकी छु त सूचना भन्दा उनी नपत्याएजस्तो गरिन् ।
मकहाँ आऊ तिमीले ‘म्यासेज सिन’ गरेको ‘रेकर्ड’ छ भनेपछि बल्ल उनले पत्याइन् । एकछिनपछि उनले सम्झेजस्तो गरेर भनिन् । पक्कै पनि श्रीमान्ले हेर्नुभयो होला । म बाहिर निस्केको उहाँलाई पटक्कै मन पर्दैन । आफू अफिसबाट फर्कदा र छोराछोरी स्कुलबाट आउँदा मीठो खाजा बनाएर घरको ढोका खुलै राख्नू भन्ने उहाँको आदेश छ । त्यसैले म बाहिर जाउँला भनेर उहाँले मलाई यस सम्बन्धमा थाहै दिनु भएनछ ।
‘अनि आफ्नो फेसबुकको ‘पासवर्ड’ किन श्रीमान्लाई भन्छेस् त ?’ मैले झौक्किँदै भनें, आम्मै, के भनेकी तैंले मेरो त पूरै चेक हुन्छ नि ?
‘अनि तँलाई श्रीमान्को पासवर्ड थाहा छ त ?’ ‘त्यो त मैले चासो राखेकी छैन ।’ ‘अनि श्रीमान्लाई तेरो किन चासो चाहियो त ?’ मैले भनें । मेरो फोटोमा आएका कमेन्ट त कसले के लेखेको छ भनेर चेक गर्नुहुन्छ । नचिनेको मान्छे देखे त को हो भनेर सोध्नुहुन्छ । ‘तेरो घरमा छैन यस्तो ?’ उसले भनी ।
‘अहँ छैन मेरोमा त’ मैले भनें ।
बिहानश्रीमान्लाई भेट्न आउने मानिस र मेरा साथीका श्रीमान् पालैपालो आँखामा नाच्न थाले । पढेलेखेका मानिसमा पनि किन यति संकीर्ण मानसिकता होला भनेर म सोचमग्न भएँ । मैले मेरो साथीलाई पठाएका ‘म्यासेज’ उसकाश्रीमान्ले पढ्दै ‘डिलिट’ गर्दै गर्दा रहेछन् । श्रीमतीको भन्दा बढी ‘इन्टरनेट’माश्रीमान्को पहुँच थियो । फुर्सद पनि थियो र सबैभन्दा ठूलो कुरा त श्रीमतीको ‘पासवर्ड’ नै उनीसँग थियो । हरेक मानिसको आफ्नै ‘प्राइभेट’ जीवन हुन्छ । त्यहाँ लोग्ने होस् वा श्रीमती दुवैले आ–आफ्नो जीवन स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्छ । आज यो कुरा श्रीमान्–श्रीमतीले नबुझिदिँदा उनीहरूको दाम्पत्यजीवनमा असमझदारी बढ्दै गएको छ र सुन्दर परिवार भताभुङ्ग हुन थालेको छ । आफूले प्रयोग गर्ने ‘इन्टरनेट’का विभिन्न विद्युतीय खाताको ‘पासवर्ड’श्रीमान्–श्रीमतीलाई एक–अर्कालाई भन्नलाई दबाब पारिनुहुन्न भन्ने लाग्छ ।
सम्बन्धको सबैभन्दा ठूलो हतियार विश्वास हो । यदि एक–अर्कामा विश्वास, माया र समझदारी भएन भने ‘इमेल’, ‘फेसबुक’ र ‘ट्वीटर’का ‘पासवर्ड’ थाहा पाएर पनि केही हुँदैन । घर र जग्गाका लालपुर्जाश्रीमतीकै नाममा भएर पनि केही हुँदैन । सबैभन्दा ठूलो कुरा त समझदारी हो शंका–उपशंका होइन । यो कुरा बुझेर आफ्ना दिदी, बहिनी र श्रीमतीको भावनामा चोट नपुर्याए कसैले कसैको चित्त पनि दुखाउनुपर्ने थिएन । सानै कुराले पनि घरको वातावरण मायालु र स्वर्गजस्तै बन्ने थियो । तर यो कुरा महिलाले मात्रै चाहेर पनि भएन । पुरुषले चाहेर मात्र पनि भएन । दुवैको समझदारी भए यी कुराले कसैको जीवनमा प्रवेश नै पाउँदैनन् । जसरी आजसम्म मेरो घरमा यस कुराले टाउको उठाउन पाएको छैन । तर के सधै यसो भइरहला ? रमेश अंकलजस्ता मानिसहरू कुनै दिन तपाईं हाम्रो ‘माइन्डवास’ गर्न कम्मर कसेका त छैनन् । कुरा बुझेर पनि बुझपचाउनेहरूसँग बरु परै बस्नु उचित होला । कामना गरौं विश्वासको मझेरीमा जोडिएको सम्बन्धको लालपुर्जा च्यात्न कोही पनि अग्रसर नहोस् र नतम्सियोस् पनि ।
उठाउन पाएको छैन । तर के सधै यसो भइरहला ? रमेश अंकलजस्ता मानिसहरू कुनै दिन तपाईं हाम्रो ‘माइन्डवास’ गर्न कम्मर कसेका त छैनन् ?