Successfully Copied

जाडोका सौन्दर्य जिज्ञासा

जाडो महिनामा धेरैजसोका ओठ फुट्छन् ।

डा. राज्यश्री श्रेष्ठ, ग्ल्यामर इन्टरनेसनल हेयर एण्ड ब्युटिपार्लर एण्ड ट्ेरनिङ सेन्टर, बागबजार

जाडो महिनामा मेरा ओठ फुट्छन् । ओठ फुटेर हाँस्न पनि गाह्रो हुन्छ । चिपिस्टिक लगाउँदा पनि ठीक हुँदैन । ओठ फुट्नबाट जोगाउन के लगाउनु पर्ला ?

कविता

उत्तर: जाडो महिनामा धेरैजसोका ओठ फुट्छन् । यसको समाधानका लागि बजारमा पाइने लिप गार्ड, लिप बाम तथा लिप जेल लगाउनुपर्छ । यसले ओठ नरम बनाउँछ । घरेलु उपायबाट पनि ओठ फुट्नबाट जोगाउन सकिन्छ । भेडीको घिउमा थोरै नुन मिसाएर ओठमा दल्दा पनि ओठ नरम हुन्छ ।

मेरो अनुहार एकदम फुस्रो छ । जाडो महिनामा सेतो दागजस्तो धब्बा देखिन्छ । यसका लागि कुन क्रिम उपयुक्त हुन्छ ?

उमा

उत्तर: चिसोले गर्दा अनुहार फुस्रो र सेतो दागजस्तो देखिएको हो । यसलाई हटाउन रिच मोस्चराइजिङ क्रिम दिनमा दुईपटक लगाए समस्या समाधान हुन्छ ।

म ३० वर्षकी भएँ । जाडो महिनामा मेरो केशमा असाध्यै चायाँ पर्छ र झर्छ । कहिलेकाहीँ त  केश झरेर खुइलिन्छ कि भनेर चिन्ता पनि लाग्छ । केश झर्न तथा चायाँ पर्नबाट कसरी जोगाउने ?

नीलम

उत्तर:जाडो महिनामा यस्तो समस्या धेरैमा देखिन्छ । चायाँ तथा केश झर्नबाट रोक्न घरेलु उपाय अपनाउन सकिन्छ । यसका लागि कालो तिलको तेल हप्तामा तीन पटक लगाउने र एक रात त्यत्तिकै छोडी भोलिपल्ट सफा गर्ने । हप्तामा एकपटक मालभोग केरामा आधा चिया चम्चा शुद्ध मह मिसाइएको पेस्ट पूरा टाउकोमा लगाएर ४०–५० मिनेटपछि सादा पानीले पखाल्ने । यो उपाय नियमित रूपमा अवलम्बन गरे समस्या समाधान हुन्छ ।

मेरो विवाह भएको केही समय भयो । विवाहपछि म नातेदारको पार्टीमा जाँदैछु । विवाहपछि घरतिरको यो मेरो पहिलो पार्टी हो । पार्टीको दिन नवविवाहित दुलहीले कस्तो मेकअप गर्नु उपयुक्त हुन्छ ?

प्रमिला

उत्तर:नव दुलहीले अरूभन्दा विशेष प्रकारले मेकअप गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले मेकअप प्राइम लगाउने । छालाको प्रकारअनुसार प्यान स्टिक वा प्यान केक लगाउनुपर्छ । छालाको रंगसँग मेल खाने किसिमको पाउडर प्रयोग गर्ने । नवविवाहितले आँखाको मेकअप गर्दा रातोमाथि गोल्डेन आइस्याडो लगाउनु उपयुक्त हुन्छ । आइलाइनर पनि लगाउनुपर्छ । आँखा सानो छ भने आँखाको बाहिर लाइनर लगाउनुपर्छ । फल्स आइल्यास लगाउँदा आँखा आकर्षक देखिन्छ । अन्त्यमा ब्लसन गरिसकेपछि सिमर लगाउने र सुहाउँदो रातो रंगको लिपिस्टिक दल्ने । लिपलाइनरले लिपको सेप बनाउँदा पनि राम्रो देखिन्छ । यसमा टल्कने टीका लगाउँदा सुनमा सुगन्ध थपिन्छ ।

म गोरी छु र हाल प्राइभेट अफिसमा पनि कार्यरत छु । मेकअप गर्न असाध्यै मन पराउँछु  । अफिसका लागि मेरो वर्णअनुसार कस्तो मेकअप उपयुक्त होला  ?

रजनी

उत्तर:अफिस जाँदा हलुका नेचुरल मेकअप गर्नुपर्छ । ह्वाइटनिङ क्रिम लगाएर दुई–तीन मिनेटजति त्यत्तिकै छोड्नुपर्छ । हल्का रंगको सौन्दर्य प्रसाधन प्रयोग गर्नुपर्छ । यसो गर्दा मेकअप पूरा भएपछि पनि मेकअप नै नगरेजस्तो देखिन्छ ।

म विदेशबाट हालै नेपाल आएकी हुँ । मेरो छिट्टै विवाह हुँदैछ । विवाहका लागि मैले फेसियल तथा अन्य सौन्दर्यसम्बन्धी कुराहरू कति दिनअघि गर्नु उचित हुन्छ ?

दीपा

उत्तर:वैवाहिक बन्धनमा बाँधिन लाग्नुभएकोमा बधाई छ । विवाहभन्दा दुई दिनअघि तपाईंले ब्राइडल फेसियल गर्नु राम्रो हुन्छ । केशमा पनि रंग लगाउनु राम्रो हुन्छ । यसका साथै मेनिक्योर, पेडिक्योर, नेल आर्ट, मेहन्दी आर्ट विवाहभन्दा दुई दिनअघि गराउनु उपयुक्त हुन्छ ।

म गोरी छु । मेरो अनुहार लाम्चो आकारको र  केश कर्ली छ । मलाई केश स्ट्ेरट गर्न मन लागेको छ । केश स्ट्रेट गराउँदा मलाई सुहाउँछ कि सुहाउँदैन ? केश स्ट्ेरट गर्न खर्च कति लाग्छ ?

सजना

उत्तर:कर्ली केश बाक्लो तथा स्ट्रेट गर्दा पातलो देखिन्छ । अनुहार धेरै नै लाम्चो छ भने स्ट्रेट गरेको राम्रो देखिँदैन । स्ट्रेट गराउँदा सुहाउँछ कि सुहाउँदैन भनेर हेर्न पहिले अस्थायी स्ट्ेरट गराउनुपर्छ । सुहाए मात्र स्ट्ेरट गराउनुहोला । स्थायी स्ट्रेट गर्न पार्लर हेरेर २ हजारदेखि २ हजार ७ सय रुपैयाँ पर्छ ।

म गर्भवती महिला हुँ । मेरो अनुहारमा कालो चायाँ आएको छ । यसलाई हटाउने उपाय बताइदिनुहोला।

वन्दना

उत्तर:गर्भवती महिलाले रसायनयुक्त सौन्दर्य प्रसाधन प्रयोग गर्नु हानिकारक हुन्छ । अनुहारमा आएको चायाँ हटाउन गाईको दूधमा आधा चिम्टी बेसार र तीन थोपा कागतीको रस मिसाएर अनुहार धुनुपर्छ । गर्भावस्थापछि आफ्नो दूधले दिनको दुईपटक अनुहार सफा गर्दा पनि चायाँ हट्छ ।  

मेरो नाकको टुप्पामा कोठी छ । म गहुँगोरो वर्णकी छु । कहिलेकाहीँ यो कोठीले अनुहार नराम्रो देखिन्छ । अनुहारको कोठी हटाउन कस्तो मेकअप गर्नुपर्ला ?

कामना

उत्तर:गहुँगोरो कम्प्लेक्सन भएकाले स्किन ह्वाइटनिङ क्रिम नियमित रूपमा लगाउनुपर्छ । यसले अनुहार केही हदसम्म गोरो देखिन्छ । नाकको कोठी छोप्न स्किन कलरको कन्सिलर लगाएर मेकअप गर्नुपर्छ ।

म ३२ वर्षकी भएँ । मलाई केश कर्ली गर्न मन लागेको छ । केश कर्ली गर्न कति समय लाग्छ ?  एकपटक कर्ली गरेपछि कति समयसम्म रहन्छ ?

दीप्ति

उत्तर:स्थायी रूपमा केश कर्ली गर्दा दुईदेखि साढे दुई घन्टा लाग्छ । केश कर्ली गराउँदा जति लामो केशमा गर्‍यो त्यति नै स्थायी रूपमा घुम्रिरहन्छ । नयाँ उम्रिएको केश भने नेचुरल हुन्छ । स्ट्रङ पर्म गर्दा केश नकाटेसम्म पर्म बसिरहन्छ । 

 Image