Successfully Copied

ब्युटी थेरापी कस्तो प्रकारको पेसा हो ?

ब्युटी थेरापी शरीर तथा अनुहारमा दिइने उपचार पद्धति हो ।

ब्युटी थेरापी कस्तो प्रकारको पेसा हो ?

ब्युटी थेरापी शरीर तथा अनुहारमा दिइने उपचार पद्धति हो । यो उपचारपछि उपभोक्ताहरूले फरक प्रकारको  स्फुर्ती महसुस गर्छन् । यसले अनुहारलाई कान्तिमय बनाउँछ । यो पेसा सजिलो देखिए पनि थेरापिस्टमा आफ्ना उपभोक्ताहरूसँग डिल गर्न सक्ने क्षमता हुनुपर्छ । आफ्ना ग्राहकलाई खुसी दिने तथा आनन्दित तुल्याउने खुबी छ भने आफू राम्रो थेरापिस्ट हुनसक्छु भन्ने कुरा बुझ्नुपर्छ । राम्रो ब्युटी थेरापिस्ट बन्न पेसागत दक्षता आवश्यक छ । 

ब्युटी थेरापीमा के–के पर्छन् ?

यसअन्तर्गत वाक्सिङ, थेरापी, मेनिक्योर तथा पेडिक्योर एवं ट्यानिङ पर्छन् । ब्युटी थेरापीमा सर्वप्रथम आफूले दिने सेवाका विषयमा राम्रो विश्लेषण गर्न सक्नुपर्छ । सैलुनमा ग्राहक आउँदा हँसिलो मुहारले आदरपूर्वक नमस्कार गरी स्वागत गर्न तथा फोनमा पनि मीठो भाषामा कुराकानी गर्नसक्नुपर्छ । 

यो पेसा अपनाउनुअघि के–कस्तो तयारी गर्नुपर्छ ?

साधारण देखिए पनि यो चुनौतीपूर्ण पेसा हो । यसमा व्यक्तित्वले महत्वपूर्ण भूमिका खेल्छ । प्राविधिक रूपमा आफू उत्कृष्ट हुँदैमा राम्रो थेरापिस्ट बन्न सकिँदैन । आफूमा कुराकानी गर्ने शैली राम्रो हुनुपर्छ । यो काम गर्छु भनेर भित्रैदेखि तयार हुनुपर्छ । अरूको कुरा सुन्नुका साथै आफ्नो सेवाका बारेमा राम्रोसँग बताउने क्षमता हुनुपर्छ । अहिले नेपालमा पनि विभिन्न संस्थाले यससम्बन्धी तालिम दिन्छन् ।

विश्वव्यापी रूपमा यसको माग कस्तो छ ?

विश्वव्यापी रूपमै निकै ठूलो माग छ । अहिले यो पेसा हट केक भएको छ । के महिला के पुरुष सबै सुन्दर देखिन चाहन्छन् तसर्थ यो पेसाबाट राम्रो कमाइ हुन्छ । यो पेसाबाट नाम तथा दाम दुवै कमाउन सकिन्छ । 

ब्युटी थेरापिस्टका चुनौतीहरू के–के छन् ?

यो आफैमा चुनौतीपूर्ण पेसा हो । यसमा ग्राहकहरूसँग प्रत्यक्ष डिल गर्नुपर्छ भने उनीहरूको स्वास्थ्यमा पनि संवेदनशील हुनुपर्छ । शारीरिक संरचना तथा प्रणालीहरूका विषयमा पनि जानकारी हुनुपर्छ । सामाजिक परिवेशले पनि यो काममा बाधा उत्पन्न गर्ने हुँदा सदैव सावधान रहनुपर्छ । 

 

(क्लारा ब्युटी थेरापी कलेजकी ब्युटी थेरापिस्ट माया गुरुङसँगको कुराकानी)

 Image