चीनबाट हेपाटोबिलिटी सर्जरीमा विद्यावारिधि गरेर फर्किएका डा. एकानन्द सिंहले नेपालमा आफ्नो अनुभवको काम खोज्दै सयौं इमेल पठाए, तर कतैबाट जवाफ आएन । काम नपाएर बिदेसिएका साथीहरू देख्दा उनी पनि निराश थिए । तर हार मानेनन् ।
आज उनै नेपालमा कलेजो प्रत्यारोपण सेवाको विस्तारमा अग्रपंक्तिमा उभिएका छन् । झन्डै ८ सय प्रत्यारोपण शल्यक्रियाको अनुभव उनीसँग छ । नेपालमा भएका सीमित हेपाटोबिलिटी सर्जनमध्ये औंलामा गन्न सकिनेमा उनी पनि एक हुन् ।
किस्ट मेडिकल कलेजका सह–प्राध्यापक तथा कलेजो प्रत्यारोपण सर्जन डा. सिंहले त्यस्तो विषय रोजे, जुन नेपालमा निकै चुनौतीपूर्ण थियो ।
जानकी बोर्डिङ् स्कुल जनकपुरबाट प्लस टु सकेर उच्च शिक्षाका लागि काठमाडौं आएकाले उनले तुरुन्तै चीनको एमबीबीएसको छात्रवृत्ति पाए । त्यहाँको चङचाउ विश्वविद्यालयबाट एमबीबीएस, छोङछिङ मेडिकल युनिभर्सिटीबाट जनरल सर्जरीमा एमएस र सोही विश्वविद्यालयबाटै हेपाटोबिलिटी सर्जरीमा विद्यावारिधि गरे ।
‘नेपाल त फर्किएँ, आफूले विशेषज्ञता हासिल गरेको काम यहाँ पाइएन । उता उत्कृष्ट नम्बर ल्याएर अनि रिसर्चमा टप भएर पिएचडीको छात्रवृत्ति प्राप्त गरेको मान्छे यहाँ आएर केही काम नपाउँदा दिक्क लाग्यो,’ उनले सुरुवाती दिन सम्झिए, ‘मसँगै पढेर फर्किएका एकजना साथी यहाँ काम नपाएर जापान गए ।’
उतिबेला नेपालमा हेपाटोबिलिटी पढेका छँदै थिएनन् भन्दा पनि हुन्छ । वीर अस्पतालमा त्यहाँका एचओडीलाई भनेर तीन महिना स्वयंसेवकका रूपमा एकानन्दले काम गरे । तलब पाइँदैनथ्यो । त्यत्तिका समय धेरै पैसा खर्च गरी पढेर आएको यसरी त भएन भनेर कामका लागि सयौं ठाउँमा इमेल गरें । कतैबाट उत्तर आएन ।
यत्तिकैमा आफ्नो अनुभवको सारा वृत्तान्त लेखेर दिल्लीस्थित एपोलो अस्पतालमा केही समयअघि गरेको इमेलको रिप्लाइ आयो । त्यसले उनलाई दिल्ली पुर्यायो । ‘फेलोसिप वर्क भनिने उक्त अवसर मेरा लागि अत्यन्तै लाभदायक रह्यो,’ उनले भने ।
एपोलोको दुई वर्षे कामले उनको क्षमता अझै धारिलो बनेको थियो । उनी दिल्ली हुँदै सन् २०१६ मा नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपणको खबर उनले सुने । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कोरियन र नेपाली चिकित्सकसहित १६ जनाको टिमले कलेजो प्रत्यारोणमा सफलता हासिल गरेको समाचारले एकानन्दमा आशा जाग्यो । यसैबीच दिल्लीकै एक मेडिकल कन्फरेन्समा चितवन मेडिकल कलेजका डा. हरीश न्यौपाने र उनको टिमसँग डा सिंहको भेट भयो ।
डा. हरीशले सिएमसीमा कलेजो प्रत्यारोपणको काम गर्नुपर्छ भनेर उनलाई चितवन बोलाए । भारतीय टिमसहित उनी चितवन मेडिकल कलेज पुगे र त्यहीँबाट काम सुरु गरे । चुनौतीमा रमाउने एकानन्द चितवनमा एक वर्ष काम गरेर टोखाको ग्रान्डी अस्पताल आइपुगे, त्यहाँ काम गर्दागर्दै सन् २०२१ ताका किस्ट अस्पतालसँग कुराकानी भयो । सन् २०२२ मा किस्टले मानव अंग प्रत्यारोपणको लाइसेन्स प्राप्त गरेयता डा. एकानन्द त्यहीँ सक्रिय छन् ।
‘काम त कति गरियो कति तर नेपालमा अझै पनि यससम्बन्धी स्पष्ट ऐन–कानुन नभएकाले धेरै जटिलता छन् । मैले हालसम्म किस्टमा १६ वटा, चितवन मेडिकल कलेजमा ६ वटा, चीन, भारत, कोरिया, अमेरिकामा झन्डै साढे ७ सय गरी लगभग ८ सय जति कलेजो प्रत्यारोपण गरिसकेको छु तर नेपालमा भने यसमा थुप्रै अप्ठ्यारा छन्,’ मानव अंग प्रत्यारोपणको विषयलाई नेपालको ऐनले व्यवधान खडा गरेको बताउँदै उनी भन्छन्, ‘अहिले कलेजो बिग्रिएर नेपालमा ज्यानै जाने अवस्था त छैन तर यसलाई सरकारले गम्भीरतापूर्वक लिएजस्तो लाग्दैन । किनभने मानव अंग प्रत्यारोपण ऐनले दाताका लागि र विदेशी नागरिकका लागि सहजीकरण गरेको देखिँदैन । यसमा दाता र विदेशीलाई पनि सहजीकरण गरिदिनुपर्छ र प्रत्यारोपण चाहिले बिरामीलाई आर्थिक सहयोग गरिदिनुपर्छ ।’
कलेजो प्रत्यारोपणमा नेपाल संसारमै सबैभन्दा सस्तो देश भएकाले यसलाई मेडिकल टुरिजमका रूपमा प्रवद्र्धन गर्नुपर्नेमा उनको जोड छ । मानव अंग प्रत्यारोपण ऐन २०५५ विदेशी नागरिकका लागि मानव अंग प्रत्यारोपणमा स्पष्ट छैन । यसै ऐनमा मानव अंग प्रत्यारोपण विशेषज्ञलाई विद्यावारिधिपछि पनि एक वर्ष पोस्ट–डक्टरेटको फेलोसिप पूरा गरेको हुनुपर्ने तर अन्य विषयका ब्याचलर सरहको आठौं तहको सेवा–सुविधा मात्रै प्रदान गरिने कुरामा उनको आपत्ति छ । ‘हाम्रो भ्यालु खोइ त ? म जस्ता मेरा साथीहरूलाई अमेरिका, युरोपले स्किल्ड मेनपावरका ह्यान्डसम अमाउन्ट दिएर ग्रिन कार्डसहित स्वागत गरेको छ,’ उनी भन्छन्, ‘आफूजस्तै विषयगत दक्षता हासिल गरेका मान्छेहरू विदेश पलायन नभएकै कारण आज मानव अंग प्रत्यारोपणमा विकास भइरहेको हो ।’
आफू पढेर फर्किने बेला नेपालमा यो काम सुरुवातै नभएको तर अहिले आएर वार्षिक रूपमा १५ वटा भए पनि कलेजो प्रत्यारोपण हुनुलाई उनी सकारात्मक लिन्छन् । उनी स्वयं तथा संस्थागत रूपमा पनि विभिन्न एनजीओ–आइएनजीओलाई गुहारेर पैसा तिर्न नसक्नेहरूलाई समेत उपचार गरिदिएको सम्झिन्छन् ।
सन् २०२३ मा १९ घण्टा समय लगाएर एउटै व्यक्तिमा कलेजो र मृगौला प्रत्यारोपण गर्दा त्यसमा सफल भएको क्षण उनका लागि जीवनकै अविस्मरणीय छ । अहिले पनि एउटा कलेजो प्रत्यारोपण गर्दा आठ–दश–बाह्र घण्टा लाग्छ, आराम गर्ने समय उनी मुश्किलले पाउँछन् । त्यसमाथि घरमा श्रीमती र छोरीले समय नदिएकोमा गुनासो गर्छन् ।
डा. सिंह बाहिरबाट अरुले हेर्दा आफ्नो जीवन खुब ‘फेसिनिटिङ’ लागे पनि व्यावसायिक रूपमा अत्यन्तै गाह्रो र चुनौतीपूर्ण भएको बताउँछन् । ‘त्यसैले आजकल त म बिरामी देखाउन श्रीमतीलाई राति अस्पताल लिएर जाने गरेको छु, त्यो देखेपछि उनलाई पनि महसुस हुन्छ कि, मेरा श्रीमान् कसैको ज्यान बचाउने काममा समय र परिश्रम खर्चिरहेका छन् । यस्तो देख्दा आजकल उनी निक्कै बुझ्ने भएकी छिन्,’ आफ्नी श्रीमतीबारे डा. सिंह भन्छन्, ‘मेरो जीवनमा उनको विशेष भूमिका छ । कत्ति दबाबमा हुँदा पनि घरको काम पूर्णतया व्यवस्थित रूपले सम्हाल्न सक्ने, ममताले बाँधेर राख्न सक्ने अनि सामाजिक जीवनलाई सन्तुलित बनाउने कला महिलामा हुँदो रहेछ । महिलाहरू सहनशील भएर पनि चौतर्फी काममा खरो उत्रिएका छन्, उत्तम परणाम दिइरहेकै छन्, यो उनीहरूमा भएको खुबी हो ।’
उनको जन्म सिरहाको मध्यमवर्गीय परिवारमा भयो । बुवा नेतेन्द्रकुमार सरकारी जागिरे भएकाले देशैभरि डुलिरहन्थे । आमा प्रमिलादेवीको सामीप्यमा हुर्किएका डा. सिंह साधारण साक्षर मात्रै आमाका तीन भाइ छोरा पढाएर ठूलो मान्छे बनाउनुपर्ने धारणा व्यक्त गर्दै अहिले भन्छन्, ‘उतिबेला यो कुरा साधारण लाग्थ्यो, आमा भनेको के हो ? अहिले बल्ल बुझ्दैछु । छोरी अमायरा जन्मिएपछि त पकाउने, खुवाउने, भाँडा माझ्ने सारा काम आफैं गरें । स्त्री शक्तिका कारण कसरी सोच र जीवन बदलिँदो रहेछ भन्ने कुरा थाहा भयो ।’
डा. सिंहकी श्रीमती निशा महतो पेसाले डेन्टिस्ट हुन् । व्यस्त समयका बाबजुद पनि उनले श्रीमान्को जीवन व्यवस्थित बनाइदिएकी छिन्, यसैमा डा. सिंह नतमस्तक छन् ।
हजुरआमा : दयालु
आमा : ममतामयी
श्रीमती : मेरो बल
बहिनी : माया
छोरी : खुसी
प्रभावशाली नारी : मारिया क्युरी
वोल्ड र आकर्षक नारी : पूर्वप्रधानमन्त्री सुशीला कार्की
नारीले सुधार्नुपर्ने : सहनशील मात्रै होइन अलि भोकल हुनुपर्छ ।