आरती पौडेल
उद्यमशीलता अब ठूलो पुँजी वा परम्परागत व्यवसायमा मात्र सीमित छैन । आफैंले सिर्जना गरेका सीपलाई आधार बनाएर होस् वा नयाँ सीप सिकेर होस् अहिलेका नयाँ पुस्ताका केही युवा आफ्नै व्यवसाय सिर्जना गर्दै आत्मनिर्भरताको बाटो निर्माण गरिरहेका छन् ।
प्राय: युवा विदेश जाने सपना बुनिरहेका देखिन्छन् । नेपालमा विदेश जाने युवाहरूको लर्को पनि उत्तिकै देख्न सकिन्छ । तर त्यही भीडबीच केही त्यस्ता युवा पनि छन् । जो आफ्नै देशमा बसेर उद्योग गर्न अगाडि बढिरहेका छन् । उनीहरू आगामी दिनमा आफ्नो व्यवसायलाई अझ फराकिलो बनाउने सोच बनाएर मेहनत र संघर्ष गरिरहेका छन् । आफैंले बनाउँदै आएका सामानबाट कमाइ रहेका कतिपय युवाहरूले धेरैलाई रोजगारी दिएका छन् । त्यसरी नै आफ्नो सीप र क्षमताले अवसर सिर्जना गर्नेमा महिलाहरू पनि निकै अगाडि छन् ।
कसैले परिवारको कामलाई अंगालेर ड्रिम क्याचर बनाइरहेका छन् । कसैले लकडाउनको समयलाई अवसरमा बदल्दै क्राफ्ट व्यवसाय गर्दै आएका छन् । कसैले फूलका झुम्का बनाएर बेचिरहेका छन् । कोही रिबनबाट बुकेट तयार पारी व्यवसाय गर्दै आइरहेका छन् । उक्त विषयभन्दा फरक कामबाट पनि आफ्नो छुट्टै पहिचान र परिचय बनाइरहेका छन् ।
‘अवसर खोजेर होइन, सिर्जना गरेर पनि सम्भव हुन्छ’ भन्ने सोच राखेका केही युवालाई नारीले समेट्ने प्रयास गरेको छ ।