Successfully Copied

रमाइला असार र साउन

सोच्छु, धानको बीउ रोप्न प्रतिस्पर्धा गरेका गाउँका ती दिदी–बहिनी र दौंतरीहरू कहाँ होलान् ?


सीताकुमारी न्यौपाने धिताल
नेपाली जनजीवनमा असार महिनालाई मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा लिइन्छ । अचेल सामाजिक सञ्जाल र सञ्चारमाध्यममा हालिएका रोपाइँका दृश्य र तस्बिर हेर्दा करिब दुई दशकअघिसम्मका सम्झना ताजा भएर आउँछन् । पहाडी जनजीवन ढुंगा–माटो, उकालो–ओह्रालो दु:खमय हुन्छ । तर त्यो दु:खमा पनि एक किसिमको सुखको अनुभूति हुन्थ्यो । ती दिन सम्झेर अहिले म बेलाबेला ‘नोस्टाल्जिक’ हुने गर्छु ।
जन्मथलो र हुर्केको सिन्धुपाल्चोकको ठोकर्पा । विद्यालय पढ्दै गर्दाताका काठमाडौंजस्तो मीन पचासमा (हिउँद) मा नभई बर्खामा लामो बिदा हुन्थ्यो । असार र साउन पूरै दुई महिना । खेतीपातीलक्षित बिदा थियो, त्यो । के बालबालिका, के वृद्धवृद्धा, अशक्तबाहेक काम गर्नसक्ने कोही घरमा बस्न पाउँदेनथे । ‘वर्षभरि खाने अन्न उब्जाउने बेलामा पनि कोही बस्छ ’ भन्दै खेतमा लगिहाल्थे । असारको बेला घरमा कसैको मृत्यु भयो भने पनि ‘शवलाई कपडाले छोपेर खेतमा निस्किनुपर्छ’ भन्ने भनाइ नेपाली जनजीवनमा चलेकै छ ।
सबेरै हँसिया, कोदालो र घुम (बाँसका चोयामा भोर्लाको पात छापेर बनाइएको ओढ्ने) लिएर निस्कने र साँझ घाँसको भारी लिएर फर्किने चलन हुन्थ्यो । बिहान उज्यालो नहुँदैदेखि साँझमा आँखाले भ्याउने उज्यालो हुँदासम्म काम गर्नुपथ्र्यो । अरु कुरा त छाडौं, यी दुई महिना त आफ्नै जिउको स्याहारसम्भार गर्न समेत नपाइने । नुवाइधुवाइ गर्ने फुर्सद पनि हुँदैनथ्यो ।
‘आफ्नो त रोपाइँ सकियो, अब फुर्सद भयो’ भनेर बस्न नपाइने । छिमेकी र गाउँका अरुकोमा पनि सघाउन जानुपथ्र्यो । सहरमा जन्मिएका र नयाँ पुस्तालाई ‘पर्म’ शब्द नौलो लाग्ला । ग्रामीण जीवनमा आफ्नोमा सघाउन आउने र तिनैकोमा आफू सघाउन जानेलाई पर्म गएको भनिन्छ । धेरै ठाउँका खेतीपाती यसरी चलेका हुन्छन् । कहिले आफ्नोमा, कहिले छिमेकीकोमा, कहिले अरु गाउँलेकोमा । यसो गर्दा सबैको धान रोपिने र काममा आएकालाई ज्याला दिनु पर्दैन । एक हिसाबले साटोमा काम गरेको । तिनलाई खाना र खाजाको व्यवस्था गर्नुपर्छ । गाउँछिमेकका तिनै परिचित व्यक्तिहरू दु:खसुखका कुरा गर्दै आफूलाई दिएको जिम्मेवारी पूरा गर्छन् । कोहीकोही त आँखा छलेर ढिलो काम गर्ने पनि हुन्छन् ।
पहाडमा खेती गर्दा खेत जोत्ने हलगोरु । गोरु जोत्ने हली । कोदाली चलाउने लाठे । धान वा कोदो रोप्ने रोपाहार । विशेषत: हली र लाठेको जिम्मेवारी पुरुषले बोक्छन् । महिला रोपाहार । मानिसहरू लाठे रोपाहार खोज्दै हिँड्थे । ‘लौन भोलि मेरोमा आइदेऊ न ।’ जवाफ हुन्थ्यो–‘हप्ता दिनसम्म त अरुकोमा भनिसकेको छु ।’ पर्मबाहिरका मानिसलाई ज्याला दिएरै पनि काममा लगाउनुपर्ने अवस्था आउँथ्यो । गोरु र हली खोज्यो, रोपाहार नपुग्ने । रोपाहार खोज्यो लाठे नपुग्ने । खेतीपाती गर्नेका समस्या त कति हो कति ?
धेरै पानी परे घुम ओढ््यो । सिमसिम पानी पर्दा त रुझेरै पनि काम गर्नुपथ्र्याे । ‘तिमीहरूको उमेर त ढुंगा खाए पनि पचाउने उमेर हो, सानोतिनो पानीले भिजेर केही हुँदैन’ भन्थे ठूलाबडा । उत्साह थप्थे । दिनभर काम गर्दा पनि कत्ति झर्को नलाग्ने । थकाइ लागेको अनुभूति नहुने । तर कुनैकुनै ठाउँमा त जुकाले हैरान पार्ने । काम गर्दागर्दै गोडा र पिँडुलामा पुगेर मोटाइसकेका हुने । कतैकतै अघिल्लो दिन नै ‘त्यहाँ त जुका लाग्छन् नुन बोकेर जानुपर्छ’ भन्थे । रगत चुस्न थालेको थाहा पाएपछि नुन छरिदिँदा धमाधम झर्थे ।
सिंचाइको सुविधा भएकाका लागि अलि सहज हुन्थ्यो रोपाइँ । उनीहरू आफूले चाहेको बेला खेत रोप्थे । आकाशको पानीकै भरमा खेती गर्नेहरू मारमा पर्थे । सबैको खेतलाई पायक पर्ने गरी एउटा ठूलो आहाल बनाइएको थियो । त्यहीँबाट पानी ल्याएर रोपाइँ गरिन्थ्यो । एउटाले रोपाइँ गर्‍यो, अर्कोकोमा पानी नपुग्ने । पानीको पालो आयो भनेर भोलिका लागि हली, लाठे र रोपाहारको व्यवस्था गर्‍यो । बेलुकी पानी लगाएर घर फक्र्यो । राति नै अर्कोले आफ्नोमा लगिसकेको हुने । भोलिपल्ट बिहान खेत पुग्दा हेरेको हेर्‍यै । तयार पारेका जनशक्ति फर्काउनुपथ्र्यो । यसरी फर्काउँदा उनीहरू रिसाउँथे । अर्को दिन बोलाउँदा अर्कैकोमा पक्का भइसकेको हुन्थ्यो । उनीहरूले हप्ता, १० दिनसम्म्मको मेला बोलिसकेका हुन्थे, ‘भोलि फलानोकोमा, पर्सि फलानोकामा, १५ गते फलानोकोमा ।’ रोपाइँ गर्न नपाएकै निहुँमा कति छिमेकीबीच मनमुटाव हुन्थ्यो, झगडा पथ्र्यो ।
बिहानैदेखि खेतमा रहनुपर्ने भएपछि बिहानको खाना र दिउँसोको खाजा पनि खेतमै हुने भयो । जसको रोपाइँ हो, उसले चामल, तरकारीलगायत भान्साका लागि आवश्यक सामग्री बोकेर गएको हुन्थ्यो । खानकै लागि काम गरेको भएकाले पेट पनि भर्नैपर्‍यो । खाली पेटले काम त हुँदैन ।
जताततै पानी र हिलो । कहाँ बनाउने चुल्हो ? कहाँ पकाउने भात ? एउटा कुनामा ढुंगा अड्याएर चुल्हो बनाइन्थ्यो । चिसोले भिजेका दाउरा नबलेर भान्से हैरान हुन्थ्यो । चामलसँगै छिटो तयार हुने तरकारी लगिएको हुन्थ्यो, गुन्द्रक–आलु र गेडागुडी । कतै आलु मिसाएर फर्सीका मुन्टा पकाइन्थ्यो । पाकेपछि भान्सेले खबर गर्थे । नजिकै रहेका पानीका मुहानमा गएर हात धोयो, टपरीमा पस्किएको भात लियो, खेतका आली कान्लामा बस्यो । शरीर पूरै चिसो भएका बेला पाक्दापाक्दैको भात र गुन्द्रक भकाभक खायो । त्यो खाना धेरै स्वादिलो हुन्थ्यो । दिउँसोको खाजा हुन्थ्यो दही–चिउरा, आलु–चिउरा वा अचार–चिउरा । कसैले गहुँको रोटी बनाएर लगेका हुन्थे । अचार वा दहीसँग खाइन्थ्यो । कतैकतै उसिनेको गहुँ गेडागुडीसँग मिसाएको पनि हुन्थ्यो । पोलेका मकै पनि हुन्थे कहिलेकाहीँ । पोलेका मकै सामान्यतया साउनमा नागपञ्चमीका दिन नाग र कुलदेवतालाई अर्पण गरेर खाने चलन छ । तर खेतमा भने चाँडै पाक्ने मकै लगाइएको हुन्थ्यो । त्यो काटेर धान रोपाइँ गरिन्थ्यो । त्यसैले रोपाइँका बेला हरिया मकै पनि आक्कलझुक्कल खाजा बन्थे ।
प्रशस्त खेतीपाती भएका वा समाजका धनीमानीले तामझामसहित रोपाइँ गर्न लगाउँथे । खेतमा धानको बीउ (बेर्ना) पूजा गर्न लगाई सबैलाई टीका लगाएर सुरु गर्थे । पञ्चेबाजाले वरिपरिका गाउँ थर्किन्थे । उनीहरूको रोपाइँमा विभिन्न परिकार बनाएका हुन्थे । गाउँका मानिसका लागि एक किसिमको उत्सव नै हुन्थ्यो त्यो ।
रोपाइँलाई गतिशील बनाउन असारे भाका गुञ्जाइन्थ्यो । असारे गीतमा घर–व्यवहारका दु:खदेखि मायाप्रेमका प्रसङ्ग पनि आउँथे–
पानी है पर्‍यो रिमी र झिमी खोलाले गर्‍यो है दुम,
बर्खाको चिनो पठाइदेऊ है बाबा माछी है काँडे घुम ।
माथि है बाट चरी है झर्‍यो पहेली पखेटी,
ए आमा ! भन्दै म भित्र पसें सानीआमाले लखेटी ।
बाह्रैमा हाते पटुकी मेरो धोएर सुकाइदेऊ,
झन् पर जान्छु झन् माया लाग्छ मोहनी फुकाइदेऊ ।
यी गीतसँगै हिलो छ्यापाछ्याप गरेर मेला नै रनन्न पाथ्र्याैं । दिनभरिको मेलो सकेपछि घरमा रहेका वस्तुभाउलाई पनि सम्झिनै पर्‍यो । जताजतै हरियाली भएकाले घाँसपातको दु:ख त हुँदैनथ्यो । नाम्लो–डोको भिरी हातमा हँसिया लिएर भिरपाखा र खेतका कान्ला पुग्थ्यौं । घाँस काट्ने क्रममा कतिपटक सर्प समातेकी छु । थाहा पाएर हँसिया, डोको र नाम्लो फालेर तीन कान्लामुनि पुगेपछि मात्र मुटु ठीक ठाउँमा आउँथ्यो ।
धान रोपेको केही दिनमै टन्न झार उम्रिन्थ्यो । धान र सामा (धानजस्तै देखिने झार) छुट्याउनै मुस्किल । छत्रे झार धानलाई छाता ओढाएर अग्लो भएर बस्थ्यो । सुइरे झारले पनि सताउँथ्यो । गोड्ने, मल हाल्ने आदि काम हुन्थ्यो । धान बढ्दै गर्दा मकैबारीमा कोदो रोप्ने चटारो हुन्थ्यो । धान रोपेजस्तो निर्वाधरूपमा कोदो रोप्न कहाँ पाउनु ? मकैबारीमा रोपिने भएकाले मकैका बोट जोगाउँदै रोप्नुपथ्र्यो । गोडमेल गर्न पनि त्यत्तिकै गाह्रो । गन्धे, रत्नौलो र अभिजाल झारले हैरान पार्थे । मकै भाँच्ने बेलामा कोदो जोगाउन गाह्रो ।
बिहान र दिनभरि खेतमा बिताएर साँझ घरमा घाँसको भारी बिसाएपछि ‘ड्युटी’ सकिन्थ्यो । यसरी दिनभरि व्यस्त र थकित भएर फर्किइन्थ्यो । वर्षभरिको खाने अन्न उब्जाउने बहानामा भविष्य बिगार्न पनि त भएन । खानापछि बेलुकी टुकीको उज्यालोमा एकाध घण्टा किताब पल्टाइन्थ्यो । भोलिपल्ट सबेरै उठेर त्यही दैनिकी सुरु हुन्थ्यो । यसरी बित्थे लामा महिना असार र साउन ।
भदौ १ मा विद्यालय खुल्थे । खेतीपातीको चटारो सकिएकै हुँदैनथ्यो । मकै पाकेर भित्र्याउने बेला हुन्थ्यो । कोही मकै भाँच्ने कोही डोकामा हालेर धमाधम ओसार्ने, घाम लागेका बेला फिँजाउने । झुत्ता पारेर झुन्ड्याइन्थ्यो । राम्ररी सुकेपछि भकारी बनाएर राख्ने चलन पनि छ । आवश्यक परेका बेला नंग्याउँदै छोडाएर पिस्न लगिन्छ ।
यसरी असार र साउन मात्र नभई भदौमा समेत खेतीपातीको कामले गाँजेकै हुन्थ्यो । पढाइको चिन्ता छँदै थियो । मनसुन भित्रिएर रोपाइँ सुरु भएको समाचारसँगै अहिले पनि ती दिनको झझल्को आउँछ । बिउका मुठा बोकेर खेतमा ओर्लिन पाए हुन्थ्योजस्तो लाग्छ । ती असारे भाकाले वनै रन्काइदिऊँ झंै लाग्छ । वर्षौं सँगै खेतमा रोपाइँ गरेका धेरै छिमेकी हजुरआमा, आमा र फुपूहरू त हुनुहुन्न होला अहिले । सोच्छु, धानको बीउ रोप्न प्रतिस्पर्धा गरेका गाउँका ती दिदीबहिनी र दौंतरीहरू कहाँ होलान् ? 

 Image