Successfully Copied

संघर्षशील जोडी : जितु र मुना

दर्शकहरूलाई पेट मिचीमिची हँसाउने जितु नेपाल वास्तविक जीवनमा भने केही हदसम्म सेन्टिमेन्टल छन् । संघर्षबाटै आजको स्थानसम्म पुगेका जितुले २८ वर्षको उमेरमा विवाह गरेका हुन् ।

तस्बिर : श्रृती श्रेष्ठ

सिन्धुपाल्चोक जिल्लामा जन्मिएका कलाकार जितु नेपाल तथा फर्पिङमा जन्मिएकी मुना राउत वैवाहिक जीवनमा बाँधिएको १२ वर्ष पूरा भैसकेको छ । दर्शकहरूलाई पेट मिचीमिची हँसाउने जितु नेपाल वास्तविक जीवनमा भने केही हदसम्म सेन्टिमेन्टल छन् । संघर्षबाटै आजको स्थानसम्म पुगेका जितुले २८ वर्षको उमेरमा विवाह गरेका हुन् । आधा दर्जनजति केटी हेरेर पनि चित्त नबुझेका जितु मुनालाई पनि यसो हेरिदिऊँ न भनी महाराजगञ्जस्थित आफन्तको घर गएका थिए । गोरी, हँसिली, हाँस्दा डिम्पल पर्ने तर सिम्पल तथा मीठो बोलीबचन भएकी मुनालाई देख्नेबित्तिकै जितुको मनमा प्रेमको घन्टी बजिहाल्यो । त्यसमा पनि फर्पिङदेखि पिके कलेज पढ्न आउने मुनाको मेहनत देखेर जितुलाई उनको साथ पाए जीवन सहज हुन्छजस्तो लाग्यो । उता मुना भने गीताञ्जली कार्यक्रम चलाउने जितुको कुरा आएपछि बुबाको उत्साह देखेर उनीसँग भेट्न पुगेकी हुन् । झ्वाट्ट हेर्दा आफूभन्दा होचोजस्तो लागेर मन खिन्न पारेकी मुना उनको कुरा गर्ने शैलीबाट भने प्रभावित भइन् । कुराकानी सकेर फर्कने बेला जितु आफ्नो हेल्मेट लिन मुना बसेको ठाउँनजिक आउँदा उचाइ नाप्नकै लागि मुना जुरुक्क उठिन् अनि होचो देखिए पनि आफूभन्दा हल्का अग्लो रहेछ भनेर मन बुझाइन् । त्यति नै बेला मुनालाई हेरेर हास्य शैलीमा मसँग विवाह गर्ने होइन त हजुर भन्दा मुनाले मीठो मुस्कानका साथ नगर्ने भए किन हेर्न आउँथें भनेको क्षण जीवनकै रमाइलो क्षण भएको जितु बताउँछन् । दुवैले घरमा कुरा अघि बढाउने स्वीकृति दिएपछि उनीहरूको इंगेजमेन्ट भयो ।  जितु र मुनासँग इंगेजमेन्टपछि मात्र एक्लै भेटेको अनुभव छ त्यो पनि इंगेजमेन्टका तस्बिर हेर्न मात्र । तथापि त्यो पहिलो डेटिङको अनुभव पनि त्यत्तिकै रोचक छ । मुनालाई कलंकी चोकमा बोलाइएको थियो । त्यतिबेला डबल हेल्मेट लगाउनुपथ्र्याे त्यसैले जितुले अरुसँग हेल्मेट  मागेर लगेका थिए  । मुनालाई लिएर जितु सिधै कालीमाटीको बेकरीमा पुगे । मुनाले हेल्मेट फुकाल्न सकिनन्, जितुले धेरैबेरको प्रयासमा हेल्मेट फुकालिदिए । अनि जितुले भनिहाले, ‘म धेरै अग्लो भएको भए हेल्मेट फुकाल्दा ढाडै दुख्थ्यो । जोडी त भगवान्ले नै बनाएका रहेछन् ।’ जितुको कुरा सुनेर मुना मरीमरी हाँसेकी थिइन् ।

मुनालाई जितुको साँचो कुरा बोल्ने बानी सारै मनपर्छ । विवाहअघि नै रक्सी खानुहुन्छ भनि सोध्दा जितुले किन नखानु भनेका थिए । हास्यकलाकारहरूलाई जन्ती लिएर गएका जितुले सामान्य रूपमा  विवाह गरे । चाहेर पनि धुमधामसँग विवाह गर्न गारो थियो । उनीहरूको विवाह भएको दुई महिनामै जितुका बुबा बिते । यसकारण मुनालाई कतै घुमाउन लान नपाएको कुराले जितुलाई अहिले पनि नमज्जा लाग्छ । विवाहपछि आफ्नो कलाकारिता, आम्दानी तथा जीवनशैली राम्रो हुँदै गएको जितुको अनुभव छ । आफ्ना साथीहरूमाझ श्रीमतीसँग डराउने छवि भए पनि उनी श्रीमतीसँग भन्दा आफैसँग डराएको तथा आफूले आफैंलाई तह लाएको भन्न रुचाउँछन् । मेष र वृष राशिका यी जोडी राशिअनुसार एकदमै नमिल्ने, निहुँ खोज्ने हुनुपर्ने भनिए पनि आजसम्म त्यस्तो समय कहिल्यै नआएको बताउँछन् । उनीहरूका एक छोरी तथा एक छोरा छन् । ६ एकान ६ मा जितुको गम्भीर भूमिका देखेर रोएका छोराछोरी बुबाले हँसाएकै मन पर्ने बताउँछन् । त्यसमा पनि मुन्द्रेकै भूमिका सुहाएको उनीहरूको राय छ । चार कक्षामा पढ्ने उनका छोरा पनि अभिनय गर्न, अरूलाई हँसाउन तथा क्यारिकेचर गर्न अघि सर्छन् । मुनालाई जितुको कमेडी सन्देशमूलक तथा समसामयिक विषयवस्तुमा केन्द्रित होस् भन्ने लाग्छ । मुना पनि जितुसँग ३–४ वटा विज्ञापनमा देखिइसकेकी छिन् । उनलाई समय मिल्यो भने हास्य शृंखलामा अभिनय गर्न सकिन्छ भन्ने विश्वास छ । धेरै महत्वाकांक्षी भइयो भने घरपरिवार बिग्रनसक्ने उनीहरूको सोच छ । जितु फुर्सदमा छोराछोरीलाई ब्रेकफास्ट तयार गर्ने आदि सबै काम आफैं गर्छन् । मुना अहिले महानगरपालिकाको १० नम्बर वडा कार्यालयमा कार्यरत छिन् र साँझको समय स्नातकोत्तर अध्ययनलाई दिन्छिन् । श्रीमान्ले कामको जिम्मेवारी लिएका हुँदा आफूले पढ्न पाएको उनी बताउँछिन् । उनीहरू त्यति घुम्न गएका छैनन्, घुम्न गएर खर्च गर्नुभन्दा कसरी सेटल हुने, छोराछोरीको भविष्य र घर कसरी बनाउने सोचमै लागेको मुनाले बताइन् । वर्ष दिनपछि मुनाको पढाइ सकेपछि चारैजना कतै घुम्न गएर रमाइलो गर्ने उनीहरूको योजना छ । आफूसँग जे छ त्यसमै रमाउनुपर्छ भन्ने यो जोडी अहिलेसम्म आदर्श जीवन बिताउन सफल छ । 

जितुका बारेमा मुनाको धारणा

उहाँ कस्तो व्यक्ति हुनुहुन्छ ?

अनुशासित ।

उहाँका राम्रा पक्षहरू ?

परिवारलाई महत्व दिने, क्षणिक रिस, गल्ती महसुस गर्ने, किचेनको काममा सघाउने, बलियो लेखन शैली, स्क्रिप्ट सर्वप्रथम मलाई नै सुनाउने । 

नराम्रा पक्षहरू नि ?

कुरै नबुझी कराउने, छिट्टै अरूलाई विश्वास गर्ने र पछि पछुताउने, तुरुन्तै रियाक्ट गरिहाल्ने, धैर्य गर्न नसक्ने ।

जीवनको सबैभन्दा रमाइलो क्षण ?

हाम्रो जीवन संघर्षमै चलिरहेको छ । तैपनि गत वर्ष मलाई सिड्नी लानुभयो, रमाइलो लाग्यो । विवाह गरेको १२ वर्षपछि हनिमुन गएको महसुस  भयो । 

जितु नेपालकी श्रीमती हुँदाका फाइदा के–कस्ता छन् ?

कतै गयो भने जितुकी श्रीमती भनेर चिनिने, छिट्टै काम हुने आदि धेरै छन् ।

मुनाका बारेमा जितुको धारणा

श्रीमतीका बारेमा केही भनिदिनुहोस् न ?

मनमा कुरा नलुकाउने, जस्तोसुकै अवस्थामा पनि मुस्कुराउन सक्ने, परिवारलाई राम्रोसँग केयर गर्ने, सफा भएर हिँड्न चाहने तथा कामप्रति इमान्दार ।

उनको नराम्रो बानी  ?

कुनै कुरा चित्त बुझेन भने जति गरे पनि बुझाउन नसकिने, रिस पनि एकदमै कडा ।

कत्तिको रोकटोक लगाउनुहुन्छ ?

मलाई कुनै पनि कुरामा रोकटोक छैन । त्यसैले जहाँ जाँदा पनि भनेरै गएको हुन्छु । उनलाई झूटो बोलेको मन पर्दैन । समयकी पक्का छिन् । 

तपाईं उहाँसँग डराउनुहुन्छ भन्ने हल्ला छ नि ?

उनलाई अनुशासन मन पर्छ, मैले त्यही अनुशासन पालन गरी काम गर्दा डराउँछ भन्छन् भने मेरो भन्नु केही छैन । 

उहाँसँगको कुनै अविस्मरणीय क्षण ?

म मज्जाले स्टेज तताउँथें तर एउटा कार्यक्रममा उनी अगाडि बसेर हेरिरहेकी थिइन् । म नर्भस भएर के–के भनें, के–के ? त्यो क्षण म कहिल्यै भुल्न सक्दिन । 

 Image