Successfully Copied

दशैंमा युवा

दसैंलाई सबै जातजातिले आ–आफ्नै तरिकाले मनाउँछन्। दसैंको आगमनसँगै हरेक नेपालीको घरमा खुसीको लहर छाउँछ। दसंैको महत्व विविध भएकाले नै यो ठूलो चाड भएको हो।

दशैंमा युवा

दशैंको विविध अर्थ छ। दशैंलाई सबै जातजातिले आ–आफ्नै तरिकाले मनाउँछन्। दशैंको आगमनसँगै हरेक नेपालीको घरमा खुसीको लहर छाउँछ । दशैंको महत्व विविध भएकाले नै यो ठूलो चाड भएको हो। परम्परागत रूपमा मनाइँदै आएको दशैंले असत्यमाथि सत्यको विजय भएको दिनको उद्घोष गर्छ। युवाहरूका लागि यो रमाइलो पर्व हो । लामो छुट्टी हुने भएकाले उनीहरू साथीभाइसँग घुम्ने योजना बनाउँछन्। संस्कृतिको जगेर्ना गर्दै यसको मर्मलाई जीवन्त राख्नुपर्ने युवाहरूको जोड छ। दसंैको रमाइलोले सबैमा उमंग ल्याउँछ । ग्याजेट तथा प्रविधिको नजिक रहन चाहने युवाहरू त्यसको माध्यमबाट संस्कृति जोगाउन पनि पछि छैनन् । उनीहरू आफ्नो परिवारले मनाएको दसैंलाई आफ्नै अर्थले प्राथमिकतामा राख्छन् । सबैको दशैंलाई नियाल्ने दृष्टिकोण फरक भए पनि सबैले यसको साध्यलाई आत्मसात् गरेका छन् । दशैंमा हरेक युवाको निधारमा टीका तथा जमराले पनि यही कुराको संकेत गर्छ ।  युवाका लागि दशैं छुट, सेल तथा नयाँ पहिरन प्रयोग गर्ने अवसर पनि हो। दशैंमा विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गर्छन् जहाँ युवाहरूको उल्लेख्य सहभागिता हुन्छ ।

दिलाशा श्रेष्ठ

म सानैदेखि दसैंमा रमाउँछु । दसैं भन्नासाथ टीका लगाएपछि पाइने दक्षिणाको सम्झना आउँछ । यो साथीहरूसँग घुम्ने, फिल्म हेर्न जाने, सपिङ गर्ने, आफूलाई मेन्टेन गर्ने समय पनि हो । अष्टमीका दिन घरमा गरिने कुमारी पूजा पनि मलाई निकै मन पर्छ । यतिबेला दिमागमा दबाब हुँदैन, न पढाइको प्रेसर, न घरमा पढ–पढ, छिटो उठ भन्ने दबाब ? आफ्नै तालमा उठ्यो, साथीहरूसँग मिलेर विभिन्न देवी मन्दिरहरूमा गएर दर्शन गर्ने,  मामाघरमा गएर मामा–माइजू, भाइ–बहिनीसँग चंगा, भिडियो गेम तथा तास खेल्ने मौका पनि यही हो । दसैं घरको इन्टेरियर चेन्ज गर्ने राम्रो समय पनि भएकाले म ममीसँग मिलेर केही न केही नयाँ गरिरहन्छु । म दसैंको लामो छुट्टीमा रिल्याक्स गर्छु । म यो समयलाई आफ्नो सौन्दर्य एवं फिटनेसका लागि पनि प्रयोग गर्छु । दसैंको लुगा अलि विशेष होस् भन्ने लाग्छ । दसैं पारिवारिक सम्बन्ध सुमधुर बनाउने चाड हो भने टाढाटाढाका आफन्तहरूबाट आशीर्वाद लिन पाउनु यसको अर्को राम्रो पक्ष हो ।   

विभा शाक्य

दसैं आउनासाथ मनैदेखि उत्साह बढेर आउँछ । नियमित स्कूल, गृहकार्य आदिबाट थकित भैरहेका बेला लामो समय बिदा हुने दसैं रिल्याक्सको चाडजस्तो पनि लाग्छ । दसैंमा रमाइलो मौसम, फूलहरूको मीठो वासना एवं मठ–मन्दिरमा पूजापाठ हुने भएकाले यो अरू पर्वभन्दा महत्वपूर्ण लाग्छ । म बौद्ध धर्मावलम्वी भए पनि दसैंमा खुबै रमाउँछु । बिदा भएपछि होमवर्क सकेर दसैंको रमाइलोमा सरिक हुन्छु । इखाछेंका साथीहरूसँग मिलेर बंगलामुखी, महालक्ष्मीथानमा भगवतीको दर्शन गर्न पुग्छु । साथीहरूसँग पिङ खेल्न जान्छु । बुबासँग अंकलहरूको घरमा गएर चंगा उडाउँछु र घरमा मीठा–मीठा परिकारहरू बनाएर खान्छु । बुबाले दसैंमा बहिनी र मलाई नयाँ लुगा किनिदिनुहुन्छ । अरु बेला किनेको भन्दा दसैंमा किनेको लुगाको महत्व बढी हुन्छ । वर्ष दिनमा दसैं नै एउटा यस्तो समय हो जहाँ मन फुकाएर घुम्न, खान तथा खेल्न पाइन्छ ।

अहिंसा श्रेष्ठ, विद्यार्थी

दसंैमा मौसमले पनि  साथ दिन्छ । बाहिर हिँड्दा अर्कै प्रकारको रमाइलो अनुभव हुन्छ । पारिजातले यो मौसमलाई सुवासित बनाउँछ । टाढा रहेका आफन्त पनि दसैंमा घर फर्कन्छन् । परिवारका सबै सदस्य एक ठाउँ भेला भएर आफ्नो सुख–दु:ख साटासाट गर्छन् । दसैंले सबैमा अपनत्वको भावना उत्पन्न गराउँछ । सानाले ठूलाबाट आशीर्वाद पाउने ठूलाले सानाबाट आदर पाउने सद्भावको चाड पनि हो दसंै ।  मलाई दसंैमा नयाँ लुगा तथा घुमघाम राम्रो लाग्छ । नौरथा लागेपछि  म आमासँग पूजाआजामा सरिक हुन्छु । दसंैका मीठा परिकारले मलाई लोभ्याउँछन् । बाल्यकालदेखि नै आकाशमा चंगा उडेको देखेपछि मन निकै रमाउँथ्यो । दसंैमा पिङमा मच्चिन पनि निकै रमाइलो लाग्छ । समग्रमा भन्नुपर्दा दसंै हामी नेपालीहरूलाई एक सूत्रमा बाँध्ने चाड हो । यसले हरेकको मनमा उमंग तथा उत्साह पैदा गराउँछ । वर्षभरि कामले थाकेकाहरूले एक हप्ता रमाइलो गरी आफूलाई रिचार्ज गर्छन् । वर्ष दिनमा आउने दसंैले हामीलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिन्छ ।

परिसी कारञ्जित, कलंकी

दसंै असत्यमाथि सत्यको विजय भएको दिन हो । दसंै हरेक पक्षले रमणीय पर्व हो । यतिबेला सबैजना आफ्ना दु:ख–वेदना भुलेर केवल रमाइलो गर्नेतर्फ आकर्षित हुन्छन् । केही दिन भए पनि सबैले आफ्ना दु:ख भुल्छन् । दसंैका सबै दिनको आ–आफ्नै महत्व छ । दसंैले विविध विशेषता लिएर आउँछ । दसंै मेरा लागि परिवारका सबै सदस्य एकसाथ बसेर रमाइलो गरी मनाइने पर्व भएकाले पनि महत्वपूर्ण छ । दसंैका बेला म घर वरिपरि सरसफाइ गर्छु, नयाँ बिरुवा रोप्छु । यतिबेला काम पनि गर्न मनलाग्छ । दसंैको पहेंलो जमरा तथा रातो टीका मलाई निकै मनपर्छ । दसंै सकिँदै जाँदा नरमाइलो अनुभव हुन्छ । फेरि एक वर्ष यो महान् पर्वले छोडेर बिदा भएकोमा मलाई निकै खल्लो लाग्छ । 

 Image