Successfully Copied

पूर्वजन्मकै जोडीजस्तै : अशेष र डा.सावित्री मल्ल

अशेष विवाह गरे रंगमञ्च र साहित्य बिग्रन्छ भन्ने सोच राख्थे तर पहिलो भेटमै सावित्रीप्रति प्रेमको लहर उर्लियो । एक भेटमै सावित्री मन परेदेखि उनी आफूलाई पूर्वजन्मकै नाता भन्ने कुरामा विश्वास लागेको बताउँछन् । उता सावित्री पनि साथीहरूसँग नेविसंघ कार्यालय, नाटक हेर्ने नाचघर तथा

 

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि भक्तपुरका मल्लहरू भागेर धनकुटा पुगेकाले नाटककार अशेष मल्लको जन्म उतै भएको हो । बाल्यकाल उतै बिताएका मल्ल नाटक प्रदर्शन गर्ने क्रममा काठमाडौं छिरेपछि पढाइ पूरा गरेर यतै बस्न थाले । उनकी धर्मपत्नी डा. सावित्री मल्ल कक्षपती भने पाल्पामा जन्मिएकी हुन् । कीर्तिपुरको छात्रावासमा बसेर पढिरहेकी कक्षपतीको भेट अशेषसँग कीर्तिपुरमै भएको हो । अशेष मल्ल पढाइ सके पनि नाटक सिकाउने क्रममा कीर्तिपुर गैरहन्थे । त्यही क्रममा नैना नेपाल ढकालले सावित्रीसँग उनको परिचय गराएकी थिइन् । त्यो पहिलो भेटमै विवाह गर्दिन भनेर बसेका अशेषको मन सावित्रीले चोरिन् । अशेष मनमनै संकल्प गर्न थाले, उनी नै मेरो जीवनसाथी । अशेष विवाह गरे रंगमञ्च र साहित्य बिग्रन्छ भन्ने सोच राख्थे तर पहिलो भेटमै सावित्रीप्रति प्रेमको लहर उर्लियो । एक भेटमै सावित्री मन परेदेखि उनी आफूलाई पूर्वजन्मकै नाता भन्ने कुरामा विश्वास लागेको बताउँछन् । उता सावित्री पनि साथीहरूसँग नेविसंघ कार्यालय, नाटक हेर्ने नाचघर तथा सभागृहतिर पुगिरहन्थिन् । अशेषका बारेमा साथीभाइबाट धेरै कुरा सुनेकी थिइन्, राम्रो मान्छेजस्तो लाग्थ्यो । अशेष निकै व्यस्त थिए, दुई–तीन ठाउँमा नाटक सिकाउने, लेख्ने । राति जब ओछ्यानमा जान्थे, सुतेपछि बल्ल उनी एक्लो महसुस गर्थे । 

अशेषलाई सावित्री अझ विशेष मन पर्नुको पछाडि एउटा घटना रहेछ । अशेष भन्छन्–सभागृहमा सडकदेखि सडक नाटक सकेपछि दर्शकले प्रशंसा गरे तर उनी अचानक स्टेजमै आएर उनले प्रतिप्रश्न गरिन् । महिलालाई किन होच्याएर नाटक प्रदर्शन गर्नुभएको ? के नेपाली नारी यति सस्ता छन् ? यस्तो गर्ने के अधिकार ?’ घर फर्किएपछि अशेष आफ्नो सही समीक्षक, निर्देशक एवं जीवनसाथी यिनै युवती हुन सक्छिन् भन्ने कुरामा विश्वस्त भए । निन्दा गर्नु पाप हो भने अति प्रशंसा गर्नु अझ पाप हो भन्ने लाग्थ्यो उनलाई । त्यसैले पनि उनीप्रति एकदम आशक्त भएर मायामा फस्न गए । अशेष एकोहोरो प्रेममा थिए, उनले सावित्रीलाई भनेका थिएनन् । पछि सावित्री प्रतिष्ठा नामक पत्रिकाको सम्पादक भएपछि सरसल्लाह र लेख–रचनाका लागि अशेष मल्लसँग भेटघाट हुन थाल्यो र प्रेमको कुरा प्रकट भयो । केही समयपछि घरबाट स्वीकृति पाएपछि उनीहरूले काठमाडौंमै धुमधामसँग मागी विवाह गरे । विवाहपछि अशेष मल्लले एक लाइनको कविता कोरे, लथालिङ्ग थिएँ, सम्हालिएँ ।

विवाहपछि जीवन सजिलो भयो, एक–अर्काको साथ, माया, सरसल्लाह र सपोर्टले जीवन रंगीन बन्दै गयो । अशेष मल्ललाई श्रीमतीले पीएचडी गरून् भन्ने ठूलै इच्छा थियो जुन सावित्रीले यसै वर्ष नाटकको रंगशिल्पीमा पीएचडी गरेर पूरा गरिन् जसबाट अशेष निकै दंग छन् । कहिल्यै लोभलालच र ठूलो चाहना नराख्ने श्रीमती पाएकैले अशेषले आफ्नो नाट्य एवं साहित्य यात्रालाई कहिल्यै पूर्णविराम लगाउनु परेन । अहिले उनीहरूको घर एउटा सानो टिमको रंगमञ्चजस्तै भएको छ । उनीहरूको झगडा पनि फिल्म, नाटककै विषयमा हुन्छ भने खुसी पनि त्यसैमा छ । जीवनभर यसरी नै नाट्य साहित्यमा जीवन बिताउने सोचका साथ एक–अर्कामा रमाइरहेका छन् उनीहरू । 

बक्स

एक–अर्कामा सपोर्ट

अहिले दुवैले पिके कलेजमा स्नातकोत्तरमा नेपाली विषय पढाउने गरेका छन् । सर्जकलाई पाठक, समीक्षकको अति आवश्यक हुन्छ ।  अशेषका हरेक सिर्जनाको पहिलो पाठक तथा समीक्षक श्रीमती सावित्री नै हुन् । श्रीमतीको लेखन, रिसर्चहरूमा पनि पहिले श्रीमान्ले नै पढेर कमी–कमजोरी देखाउँछन् । उनीहरूको जीवन एक–अर्काको सहयोगमा चलिरहेको छ । आज अशेष मल्ल जुन अवस्थामा छन्, त्यसमा शतप्रतिशत श्रीमतीकै हात भएको बताउँछन् । श्रीमतीको माग शून्य भएकाले गलत बाटोमा लाग्नु नपरेको बताउँछन् उनी । ठूलो पदमा पुर्‍याउने रहर श्रीमतीको नभएको तर नाटक राम्रो होस् भन्ने चाहना मात्र भएकाले यसमा निरन्तरता दिन सकेको अशेष बताउँछन् ।  

एक–अर्काका मन पर्ने र नपर्ने कुरा

सावित्री : उहाँ सरल, सबैलाई गरौं भन्ने पक्ष राम्रो छ भने असाध्यै हडबड गर्ने बानी नराम्रो लाग्छ । 

अशेष : उनी हरेक क्षेत्रमा राम्रो व्यवस्थापक हुन्, सर्वनाम थिएटरको व्यवस्थापन पनि उनैले हेर्छिन् । उनी अलि मुडमा चल्छिन्, त्यो भने उनको नकारात्मक पक्ष हो । 

एक–अर्काका मिल्ने कुरा

समान विचार, सिद्धान्त एवं चिन्तन छ । दुवै बौद्धिक भएकाले विचार एउटै प्वाइन्टमा आइपुग्छ । सरल जीवन, खानपान जे भए पनि हुने, परालमा पनि सुत्न सक्ने भएकाले कुनै चिन्ता छैन । 

अविस्मरणीय क्षण

अशेष भन्छन्–कीर्तिपुरको छात्रावासमा प्रेम प्रस्ताव राख्न जाँदा गार्डलाई सावित्रीलाई बोलाइदिनुहोस् भन्दा अर्की सावित्री थापा आएर मसँग बसिरहिन्, जाऊ भन्न पनि सकिन । धेरै पछि मात्र तपाईंलाई बोलाएको होइन, सावित्री कक्षपती भन्दाको त्यो क्षण र सावित्री आएपछि एकै सासमा प्रेम प्रस्ताव राखेको क्षण मेरा लागि अविस्मरणीय छ । 

दु:खद् क्षण 

बीचमा अशेष मल्ल धेरै बिरामी परे । छोराछोरी साना थिए, डाक्टरहरूले गम्भीर रोगको आशंका गरे तर सावित्रीले मलाई निकै साथ दिएर सपोर्ट गरिन् । ती दिनहरू सम्झदा निकै दु:ख लाग्छ ।

पदचापमा छोराछोरी

यो जोडीका १ छोरा र १ छोरी छन् । दुवैजना आमाबुबाकै पदचापमा हिँड्न थालेका छन् । छोरी सम्पदा भारतमा फिल्म स्टडी पढेर उतै चलचित्र बनाउने तयारीमा छिन् भने छोरा पनि नेपाली चलचित्रमा अभिनय गरिरहेका छन् । सम्पदाले फिल्म र कम्युनिकेसनमा डबल एम.ए. गरेकी छिन् ।  

हिजोआज सम्बन्ध नटिक्नुको कारण

अशेष मल्ल

एक–अर्काको कमजोरी एक–अर्काले महसुस नगर्दाको परिणाम हो । सानो दु:ख पनि सहन नसक्ने, धैर्य पटक्कै छैन, एक–अर्कासँग धेरै आशा गरेका हुन्छन्, जुन पूरा हुँदैन ।

डा. शारदा मल्ल कक्षपती

सम्बन्धविच्छेद गर्न अहिले केटीहरू नै अघि बढिरहेका छन्, यो जेनरेसनका केटीहरूलाई घरमा छोराछोरी बराबरीको शिक्षा दिइएको हुन्छ, धेरैले एक वा दुई जनासम्म सन्तान जन्माउँछन् । त्यसैले उनीहरू नारी–पुरुषको भेदभाव सहन सक्दैनन् । विवाह गरेर गएपछि किचेन, लुगा मिलाउने, मोजा खोज्नेजस्ता कुरामा खटर–पटर सुरु हुन्छ । म पनि काम गर्ने तिमी पनि काम गर्ने किन मैले मात्र घरको काम गर्ने भन्ने कुराबाट झगडा सुरु हुन्छ । डिभोर्समा पुरुषको भन्दा नारीको संस्कारको बढी दोष छ । नयाँपुस्ताका युवतीहरूप्रति सम्मानजनक व्यवहार भएन भने वैवाहिक सम्बन्ध एकदिन पनि टिक्दैन । 

अशेष मल्ल श्रीमतीका बारेमा

श्रीमतीको मन पर्ने रंग ?

अशेष : गुलाबी ।

सावित्री : अनार रंग, हल्का रंग ।

मन पर्ने खाना ?

अशेष : रोटी र आलुको तरकारी, दूधबरी ।

सावित्री : सबै कुरा  मन पर्छ ।

घुम्न मन पर्ने ठाउँ ?

अशेष : घुम्न जहाँ पनि मन पराउँछिन् ।

सावित्री : नयाँ–नयाँ ठाउँ ।

कसका गीतहरू सुन्न रुचाउनुहुन्छ ?

अशेष : लता मंगेशकर, अरुणा लामा ।

सावित्री : अरुणा लामा, नारायण गोपाल ।

मन पर्ने नाटक ?

अशेष : रक्तवीज ।

सावित्री : प्रेमपिण्ड, सकुनी पासा, रक्तवीज

मन पर्ने पुस्तक ?

अशेष : धेरै छन् ।

सावित्री : सुम्निमा, मानवीय संवेदनामा आधारित पुस्तकहरू । 

कति बेला चित्त दुखाउँछिन् ?

अशेष : सही कुरा सही ठाउँमा भएन भने चित्त दुखाउँछिन् ।

सावित्री : धोका दिइयो भने  ।

मन पर्ने पात्रहरू ?

अशेष : भन्नै सकिँदैन ।

सावित्री : सौगात मल्ल, दिया मास्के, निशा शर्मा ।

सावित्री मल्ल कक्षपती श्रीमान्का बारेमा

मन पर्ने रंग ?

सावित्री : सेतो, क्रिम ।

अशेष : नीलो ।

खाना ?

सावित्री : दाल, भात, तरकारी ।

अशेष : भुजिया र चिउरा ।

मन पर्ने ठाउँ ?

डा.सावित्री : गाउँघर ।

अशेष : काठमाडौं ।

पुस्तक ?

डा. सावित्री : सन्तहरूका पुस्तक ।

अशेष : मोदी आइन ।

मन पर्ने गायक ?

सावित्री : नारायण गोपाल ।

अशेष : नारायण गोपाल, गुलाम अली, गोपाल योञ्जन ।

मन पर्ने साहित्यकार ?

सावित्री : बिपी कोइराला, हरिभक्त कटुवाल ।

अशेष : बिपी कोइराला ।

मन पर्ने नाटक ?

सावित्री : अनि देउराली रुन्छ ।

अशेष : मन छुने छैन । 

तस्बिर : श्रृती श्रेष्ठ

 Image