५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् । हालै उनले पाटनस्थित क्लासिक ग्यालरीमा ‘ब्युटी विथ नेचर’ शीर्षकमा आफ्नो एकल चित्रकला प्रदर्शनी गरेकी छन् । उनले १७ थरीका चराका चित्ताकर्षक १७ वटै चित्र प्रदर्शनीमा राखेकी थिइन् । दुई महिना लगाएर तयार पारिएका १४ वटा चित्र पानी रंगमा छन् भने अरू तीन वटा ‘एक्रेलिक’ मा छन् । उनले प्रदर्शनीमा राखिएका चित्रहरू बिक्री गरेर प्राप्त भएको पैसा नेपालका सामुदायिक तथा सरकारी विद्यालयका बालबालिकालाई निःशुल्क कला सिकाउन खर्चिने बताइन् । ‘चरा नै किन रोज्नुभयो ?’ भन्ने प्रश्नको उत्तरमा उनले भनिन्, ‘चरा प्रकृतिको सुन्दर र कलात्मक रचना हो । चरा हेर्दा राम्रो मात्र हुँदैन यसले स्वतन्त्रताको उद्घोष पनि गर्छ । स्वतन्त्रताको प्रतीक मानिने चरालाई मैले मानव जीवन र विशेषगरी महिलाको जीवनसँग जोडेर चित्रमा उतार्ने प्रयास गरेकी छु ।’


बाल्यकालमा खाली पाना देख्यो कि चित्र कोर्न थाल्ने उनी प्रवेशिका परीक्षापछि ललितकला क्याम्पसमा भर्ना भइन् । त्यहाँबाट ब्याचलर इन फाइन आर्ट (बीएफए) पूरा गरिन् । चार वर्षअघि उनीद्वारा संचालित ‘आर्टबिट’ नामक संस्थाले तीन वर्षयता मधेसी समुदाय, चेपाङ बस्ती र मुलुकका अन्य भागका बालबालिकालाई निःशुल्क चित्रकला सिकाइरहेको छ । पहुँच नभएका बालबालिकालाई कलाको रंगमा घोल्न पाउँदा आफू निकै खुसी र उत्साहित भएको उनको भनाइ छ । ‘सामुदायिक तथा
सरकारी विद्यालयका तीन सयभन्दा बढीलाई निःशुल्क आर्ट सिकाइसकें’ प्रमिलाले भनिन्, ‘पहिला म स्टोन कार्भिङ, वाल आर्ट गर्थें । त्यहाँबाट पैसा त आउँथ्यो तर मन खुसी थिएन । जब म यसरी निःशुल्क रूपमा बालबालिकालाई सिकाउन थालें आत्मसन्तुष्टि पाएँ ।’ उनले स्वयम्भूमा बालबालिकालाई रंग र माटोसँग खेल्ने ‘थेरापी सेन्टर’ खोलेकी छन् । त्यहाँ बालबालिका माटोका भाँडा तथा विभिन्न रंग पोतेर चित्र कोर्दै रमाउन सक्छन् ।

