Successfully Copied

कलामा बिम्बित महिला अधिकारका मुद्दा

दक्षिण एसियाका १० चर्चित कलाकारका सिर्जनाले महिला अधिकारका मुद्दालाई गहिरो विश्लेषण र संवेदनशील दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । सामाजिक संरचनामा भएको असमानता र महिलाको प्रतिरोधको महत्व पनि कलामा उजागर भएको छ ।

सीमा तामाङ

तारागाउँ म्युजियममा ‘फेमिनिस्ट फ्युचर्सः आर्ट, एक्टिभिजम्, एन्ड साउथ एसियन वुमनहुड कला प्रदर्शनी’ जारी छ । दक्षिण एसियाका १० चर्चित कलाकारका सिर्जनाले महिला अधिकारका मुद्दालाई गहिरो विश्लेषण र संवेदनशील दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । सामाजिक संरचनामा भएको असमानता र महिलाको प्रतिरोधको महत्व पनि कलामा उजागर  भएको छ ।
नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्सका कलाकारका सिर्जना समेटिएको प्रदर्शनी विशेष गरी नारीवादी दृष्टिकोणबाट प्रस्तुत गरिएको छ। प्रत्येक कृतिमा महिलाको सामाजिक अवस्थिति, लैंगिक विभेद, हिंसा, उत्पीडन र स्वतन्त्रताको मुद्दालाई रचनात्मक रूपमा उतारिएको छ ।कलाकारले आफ्ना विचारलाई क्रिएटिभ फोटोग्राफी, इन्स्टलेसन आर्ट, डकुमेन्ट्री एवं भिडियो आर्ट, क्राफ्ट, स्क्लप्चरलगायतका विविध माध्यमबाट व्यक्त गरेका छन् ।
प्रदर्शनीमा सहभागी कलाकारले आ–आफ्नो देशमा मात्र नभई विश्वव्यापी रूपमा समेत परिचय बनाएको तारागाउँ नेक्स्टका निर्देशक रोशन मिश्रले बताए । ‘दश जना कलाकार आ–आफ्नो देशमा छुट्टै परिचय बनाइसकेका कलाकार हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरू विश्वव्यापी रूपमा पनि परिचित हुनुहुन्छ। प्रदर्शनीमा यी कलाकारका कला नारीवादी दृष्टिकोणबाट प्रेरित छन् ।’


नेपाली फोटोग्राफर उमा विष्टले ‘स्टेज होम सिस्टर्स’, ‘आई’ अनि ‘डिभोसन’ शीर्षकमा तीनवटा प्रदर्शनी गरिरहेकी छन्। महिनावारी हुँदा महिलाघरबाहिर (छाउ गोठमा) बस्नुपर्ने, काठमाडौंमा आफैले भोगेको विभेद देखी ‘कुमारी प्रथा’ सम्मलाई प्रदर्शनीमा समेटिएको छ । बंगलादेशकी कलाकार तायबा बेगम लिपीले ‘आई वेड माइसेल्फ’ शीर्षकमा घरेलु हिंसाको विषयलाई समेटेकी छिन् । भारतकी कलाकार अनिता दुबेले ‘ईश्वर के नेत्र’ अर्थात् ‘देवताको आँखा’ भारतीय संस्कृतिमा देवीदेवताको पूजा विधिमा प्रयोग हुने सामग्रीलाई प्रदर्शनीमा राखेकी छिन् ।
‘फेमिनिस्ट फ्युचर्स’ प्रदर्शनी महिला अधिकारका मुद्दालाई केवल चित्रकलामा सीमित नराखी, दक्षिण एसियामा महिलाहरूको उत्पीडन, विद्रोह र सशक्तीकरणका विविध पक्षलाई चुनौती दिने माध्यमका रूपमा प्रस्तुत गरिएको छ । सराफ फाउन्डेसन र तारागाउँ नेक्स्टका संस्थापक निर्देशक नमिता सराफका अनुसार प्रदर्शनीले नेपालका महिला अधिकारका मुद्दासँगै दक्षिण एसियाका विभिन्न मुलुकका महिला संघर्षलाई पनि जोड्ने काम गरेको छ ।
चित्रकला, इन्स्टलेसन, फोटोग्राफी र भिडियो कलासहित मिश्रित माध्यममा प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा प्रस्तुत कलाले महिलाहरूको जीवनका विविध पाटोउजागर गर्ने प्रयास गरेका छन् । कतिपय कलाले समाजका परम्परागत संरचना र लैंगिक विभेदका समस्या उभ्याएको छ, जसले नारीवादको विचारलाई चुनौती दिने उद्देश्य राखेको छ ।
भारतका कलाकारहरू अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला एन, नेपालका अश्मिना रञ्जित, विधाता केसी र उमा विष्ट, श्रीलंकाकी अनोली परेरा, पाकिस्तानकी नाइजा खान तथा बंगलादेशकी तायबा बेगम लिपिले आफ्ना विचारहरूलाई विभिन्न माध्यमबाट साझा गरेका छन् । माघ १२ देखि सुरु भएको प्रदर्शनी मार्च अन्तिमसम्म जारी रहनेछ ।

 Image