Successfully Copied

सुत्केरी महिला तथा शिशुमा विशेष ध्यान

महिलाहरू धेरै आत्तिएका, डराएका, भागदौड तथा तनावका कारण शरीरको सन्तुलन बिग्रिएकाले शिशुको जन्म छिटो भएको छ।

सुत्केरी महिला तथा शिशुमा विशेष ध्यान

डा. रश्मि श्रीश, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, आशीर्वाद टेस्टट्युब बेबी केन्द्र, वयोधा हस्पिटल

भूकम्पका कारण धेरै शिशुको जन्म समयअघि नै भएको छ ? के कारणले यस्तो भएको हो ?

महिलाहरू धेरै आत्तिएका, डराएका, भागदौड तथा तनावका कारण शरीरको सन्तुलन बिग्रिएकाले शिशुको जन्म छिटो भएको छ। कतिपय मृत शिशु पनि जन्मिएका छन् तर सबैको हकमा यस्तो भएको छैन। कतिपयले यस्तो बेला जन्मिएका शिशु मानसिक तथा शारीरिक विकलाङ्ग हुन्छ भनेका छन् तर यो गलत हो।

शिशु जन्मने मिति पुगिसकेका महिलाको टेन्टमै डेलिभरी गराउँदा असर पर्छ कि पर्दैन ?

धेरै गर्भवतीलाई टेन्टमै डेलिभरी गराइएको छ। कतिपय महिलाको अप्रेसन गरेर समेत शिशु निकालिएको छ। अस्पतालको भवनमा क्षति पुगेका कारण यस्तो गर्नुपरेको हो। सरसफाइमा पर्याप्त ध्यान राखिने हुँदा यसले स्वास्थ्यमा असर पार्दैन।

घरबारविहीन हुनुपरेका कतिपय सुत्केरीले टेन्टमै बास बस्नुपरेको छ ? यस्तो अवस्थामा के–कस्ता कुरामा ध्यान पुर्‍याउनुपर्छ ?

यस्तो अवस्थामा सुत्केरी तथा शिशुलाई विशेष स्याहार चाहिन्छ। टेन्टमा चिसो हुने भएकाले न्यानो बनाएर बस्नुपर्छ। टेन्टमै जन्मिएका शिशुलाई चिसोका कारण हाइपोथरमेटिक हुने भएकाले न्यानो राख्नुपर्छ। सफासुग्घर बस्नुपर्छ। शिशुको जन्मपछि महिलाको योनिबाट फोहोर निस्कने भएकाले बेला–बेलामा सेनिटरी प्याड परिवर्तन गरिरहनुपर्छ अन्यथा संक्रमण भएर पाठेघरमा समेत असर पर्नसक्छ। त्यसैगरी शिशुलाई पनि सफा राख्नुपर्छ। शिशुको नाभि पाक्न दिनुहुँदैन । बेलाबेलामा सफा गरिदिनुपर्छ। चिकित्सकले दिएको मल्हम (औषधि) लगाइदिनुपर्छ।

यस्तो बेलामा खानपानमा कत्तिको ध्यान दिनुपर्छ ?

अरू बेलाभन्दा सुत्केरी अवस्थामा शरीरलाई बढी खानेकुरा आवश्यक हुन्छ। त्यसैले पौष्टिक आहार खानुपर्छ। डाइटमा प्रोटिन पाउडर समावेश गर्नुपर्छ। झोल खानेकुरा खानुपर्छ। यो प्राकृतिक विपत्तिमा परिवारले पनि सुत्केरी महिला तथा शिशुप्रति विशेष ध्यान पुर्‍याउनु जरुरी छ।

—————————————————————————-

प्रशस्त पानी पिउनुपर्छ

डा. सिर्जना श्रेष्ठ, बाल विशेषज्ञ

यस्तो दैवीप्रकोप अनि विपद्पछि बालबालिकामा कस्ता किसिमका स्वास्थ्य समस्या देखिन सक्छन् ?

मुख्यत: बाहिर जताततै फोहोर र दुर्गन्ध फैलने हुँदा बालबालिकामा डायरिया, रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने, नाक, कान तथा घाँटीसम्बन्धी समस्या देखिन सक्छ।

यसबाट सावधानी अपनाउन सकिने उपाय के–के हुनसक्छन् ?

रोग लाग्नुभन्दा लाग्नै नदिनु राम्रो हुन्छ। विपत्तिका बेला आमाहरू आफ्ना छोराछोरीको स्वास्थ्यप्रति सजग हुनुपर्छ। पानी उमालेर ख्वाउनुपर्छ भने वरिपरिको वातावरण सफा राख्नुपर्छ। बालबालिकालाई ख्वाउनुअघि साबुनपानीले हात धुनुपर्छ। उनीहरूले लगाउने कपडालाई डिटोल पानीमा भिजाएर राम्रोसँग धुनुपर्छ।

रोग लागिहाले गर्न सकिने प्राथमिक उपचार केही छ कि ?

साना बालबालिकालाई खासगरी चिसो र संक्रमणले छिट्टै आक्रमण गर्छ। यस्तो अवस्थामा बालबालिकालाई न्यानो राख्नु जरुरी छ। त्यसो त यो गर्मी महिना भएकाले बासी र झिंगा भन्किएका खानेकुरा नष्ट गरिहाल्नुपर्छ। यदि समस्या आइहाले घरमै उपलब्ध ज्वानो पानी, घोरताप्रे वा तीतेपातीको झोल प्रयोग गर्न सकिन्छ। डायरियाका लागि प्रशस्त जीवनजल तथा पानी ख्वाइरहनुपर्छ। यस्तो बेला प्रशस्त पानी पिउनुपर्छ।

घरेलु उपचारले पनि निको नभए कस्तो उपचारमा जोड दिनुपर्ला ?

घरमा बालबालिका छन् भने प्यासिमोल, कोल्डिन आदि साधारण औषधि संधै आफूसँग राख्नुपर्छ। ६–६ घन्टाको फरकमा शिशुको उमेर हेरी मात्रा मिलाएर औषधि खान दिनुपर्छ। त्यति गर्दा पनि नभए बालविशेषज्ञसँग परामर्श लिनुपर्छ।

बालबालिकालाई गार्‍हो भएको कसरी थाहा पाउने ?

साधारण समयमा जस्तो शिशु सक्रिय देखिएन भने, खान मन गरेन भने, अल्छी महसुस गर्‍यो भने अनि रातमा पटक–पटक उठिरह्यो अनि निद्रा परेन भने शिशुलाई केही न केही स्वास्थ्य समस्या

भएको बुझ्नुपर्छ।

—————————————————————————-

वृद्धवृद्धाको मानसिक तथा शारीरिक व्यवस्थापन

रञ्जना गुरुङ, सञ्चालक, द होप हर्मिटेज, लाजिम्पाट

भूकम्पले वृद्धवृद्धाहरूमा कस्तो किसिमको असर पुर्‍याएको छ ?

हामीकहाँ बस्ने आमाबुवाहरू मानसिक रूपमा त्रसित छन् भने उनीहरूले आफूलाई निक्कै कमजोर महसुस गरेको पाएकी छु। कतिपय आमाबुवामा आफूभन्दा कम उमेरका नेपालीको भूकम्पका कारण

मृत्यु भएको थाहा पाएपछि हामीलाई नलगेर दैवले किन यसो गरेको होला भनिरहेका छन्।

अब उनीहरूसँग कस्तो किसिमको व्यवहार गर्नुपर्ला ?

विशेषत: उनीहरूलाई सँगै बसेर कुराकानी गरिदिने मानिसको खाँचो हुन्छ र हामीले पनि सोहीअनुसार उनीहरूका कुरा सुनिदिने र आफूले थाहा पाएका सकारात्मक सूचनाहरू दिनुपर्छ। महाप्रलयमा पनि साना नानी, सुत्केरी एवं गर्भवतीहरूको उद्धार गरिएको, राहतका लागि संसार एकजुट भएको सकारात्मक एवं प्रेरणा दिने कुराले उहाँहरूमा केही खुसी थप्छ।

वृद्धवृद्धाको शारीरिक अवस्थामा थप असर पर्न नदिन के गर्नुपर्ला ?

सकेसम्म उनीहरूलाई समय मिलाएर पोषिलो खाना दिने, यदि कोही बिरामी छन् भने लापरबाही नगरी समयमै औषधि दिने, उनीहरूलाई मन लागे थप खानेकुराको व्यवस्था गर्ने अनि विशेष स्याहारका लागि सक्दो प्रयासरत रहने।

ज्येष्ठ नागरिकहरूको आत्मबल बढाउने केही उपाय छ कि ?

जतिबेला पनि भूकम्पको कुरा नगर्ने। उनीहरूलाई अब भूकम्प आउँदैन भनेर प्रमाणित भएका कुराहरूलाई सत्य–तथ्यका आधारमा प्राप्त आधिकारिक सूचना दिने, सुरक्षित स्थानको व्यवस्था गरिदिने तथा टेलिभिजन, पत्रपत्रिकाका सकारात्मक प्रभाव पर्ने सूचना पढेर वा देखाएर ढुक्क हुने वातावरण सिर्जना गर्ने।

वृद्धवृद्धाबाट युवापुस्ताले सिक्ने केही कुरा छन् कि ?

हाम्रा आमावुबासँग यति धेरै अनुभव र भोगाइ छन् जसको तुलनामा अहिले हामी पढेर वा देखेर मात्र एकछेउ पनि उभिन सक्दैनौं। कतिपय आमाबुवा ९० सालको भूकम्पको अनुभव भएका पनि छन्। उनीहरूबाट हामीले धेरै कुरा सिक्न सक्छौं भने कतिपयलाई यस्ता प्रलयका बेला कसरी आफ्नो व्यवस्थापन गर्ने, कसरी जोगिने भन्ने कुरा थाहा छ जसबाट हामीले कहिल्यै नपाउने ज्ञान आर्जन गर्न सक्छौं।

—————————————————————————-

आपत्कालीन खाद्य व्यवस्था

प्रा.डा.सुरेन्द्र बहादुर कटुवाल, खाद्य प्राविधिक, सेन्टरल क्याम्पस अफ टेक्नोलोजि,धरान

आपत्कालीन अवस्थाको खाद्य व्यवस्था कस्तो हुनुपर्छ ?

घरमा सधैं कुनै आपत्कालीन अवस्था आउन सक्छ भन्ने मानेर महिना दिनकै खाद्य सामग्री स्टोरमा भण्डारण गर्नुपर्छ। अन्न, गेडागुढी, ड्राइ फ्रुट, तेल, मसला, बालबालिकाहरूको खानेकुरा (लिटो, मुस्ली, चिउरा, चकोज आदि) स्टोर गरेर राख्नुपर्छ। कम्तीमा दुईवटा ग्यास सिलिन्डर भरेर राख्नुपर्छ। यसले आपत्कालीन अवस्थामा ठूलो सहयोग गर्छ।

यस्तो अवस्थामा बालबालिकाहरूलाई कस्तो खाना ख्वाउनु उत्तम हुन्छ ?

बालबालिकाहरूलाई अलि बढी नै ध्यान दिनु जरुरी हुन्छ। बजारिया बिस्कुट, चाउचाउहरू ख्वाउनु भन्दा सर्वाेत्तम पिठो, बाल आहार, घरमै बनाइएको लिटो, सुप आदि ख्वाउनुपर्छ। पानी तताएर मात्र ख्वाउनुपर्छ।

वृद्धवृद्धाहरूका लागि खानाको व्यवस्था कस्तो गर्नुपर्छ ?

वृद्धवृद्धाहरूलाई विभिन्न प्रकारको रोग लागेको हुन सक्छ। डाइविटिज, प्रेसर, मिर्गौला, बाथजस्ता रोगका कारण वृद्धवृद्धाहरूले साधारण व्यक्तिले जे खान्छन्, त्यो खान र पचाउन सक्दैनन्। बजारमा सुगर फ्रि, साल्ट फ्रि खानाहरू आए पनि यस्तो बेला उनीहरूलाई नुन हालेको जाउलो तथा सुप दिनु उपयुक्त हुन्छ।

यस्तो बेला जंक फुड बढी खाइन्छ, के यो सही हो ?

आपत् पर्दा र अरू केही नहुँदा जंक फुडले पनि केही राहत दिन्छ तर यस्ता कुरा लामो समय खानु हानिकारक हुन्छ।

खानेकुरालाई कसरी प्रभावकारी बनाउने ?

काँचो खानेकुरा नखाने, काँचो खानाले कीटाणुले आक्रमण गरी पखालाका साथै बान्ता हुन्छ। हरेक खानेकुरा मज्जाले पकाएर मात्र खानुपर्छ। उमालेर प्रशोधन गरेको पानी पिउने, सरसफाइमा बढी ध्यान दिने। सुरक्षित खानेकुरा मात्र खाने र ख्वाउने।

अहिले यस्तो समयमा मासु नखानु भनिन्छ नि ?

मासु नखाने भन्ने होइन तर आपत्कालीन अवस्थामा बिजुली बत्ती नहुँदा फ्रिजमा राख्न नपाउँदा मासु बिग्रन्छ। बेच्न राखिएका र बाहिर पकाइएको मासु मरेका जनावरको हुन सक्ने भएकाले सुरक्षाको दृष्टिले मासु नखाए हुन्छ भनिएको हो। आफैले काटेर, पकाएर सुरक्षित तरिकाले खाँदा फरक पर्दैन।

—————————————————————————-

बालबालिकाहरूमा भूकम्पको त्रास

न्हुच्छे मैंया डंगोल, शिक्षिका वेवीजोन प्री स्कुल

बालबालिकाहरूमा भूकम्पसम्बन्धी सचेतना कसरी जगाउन सकिन्छ ?

शनिबार नै ठूलो भूकम्प आएकाले स्कुले बालबालिकाहरूलाई त्यति ठूलो असर पुगेन। उनीहरू आ–आफ्नो घरमा अभिभावकहरूको संरक्षणमा रहे। स्कुल चलेको दिनमा त्यो भूकम्प आएको थियो भने दृश्य निकै भयावह हुनसक्थ्यो। त्यसैले बालबालिकाहरूलाई भूकम्पका बारेमा कक्षा र घरमा जानकारी दिनुपर्छ। उनीहरूलाई भूकम्प के हो र यो आउँदा के कुरामा ध्यान पुर्‍याउनुपर्छ अवगत गराउनुपर्छ।

उनीहरूलाई कसरी सचेत गराउन सकिन्छ ?

साधारण भूकम्प आउँदा पनि आत्मविश्वास बढाउनुपर्छ। धेरै डराउनु हुँदैन। आफ्नो सुरक्षाका लागि बेन्चमुनि लुक्नुपर्छ। सबैभन्दा बढी टाउको जोगाउन सल्लाह दिनुपर्छ।     

अहिले भूकम्पका कारणले बालबालिकाहरूमा कस्तो असर परेको होला ?

बालबालिकाहरू डराएका छन्। कतिपय बालबालिका त यो भूकम्पको  शारीरिक सिकार नै भएका छन् भने यसलाई महसुस गर्नेहरू मानसिक रूपमा विचलित भएका छन्। उनीहरू एक्लै बस्न डराउनुका साथै प्लेनको आवाजले पनि डराउने भएका छन्। कतिपय बालबालिका भूकम्प आएपछि ज्वरो तथा वान्ताले आकुल–व्याकुल भए।

बालबालिकामा परेको यस्तो प्रभाव कसरी हटाउन सकिन्छ ?

सकेसम्म उनीहरूलाई आफू वरिपरि राख्नुपर्छ। अब त्यति ठूलो भूकम्प आउँदैन भनेर सम्झाउनुपर्छ। यो प्राकृतिक प्रक्रिया भएको अवगत गराउनुपर्छ। विभिन्न अरू रमाइला कार्यक्रमहरूमा व्यस्त बनाउनुपर्छ। निकै डराएका छन् भने केही समय बाहिरी वातावरणमा घुमाउन लानुपर्छ। सकेसम्म समूहमा बस्न दिनुपर्छ। उनीहरूले सामान्य बदमासी गरे भने पनि धेरै गाली गर्नु हुँदैन।

अब विद्यालय खुलेपछि शिक्षक–शिक्षिकाको दायित्व के होला ?

उनीहरूमा भूकम्पप्रति रहेको भय हटाउने प्रयास गर्नुपर्छ। जसका लागि केही समय लाग्छ। उनीहरूलाई धेरै दबाब दिनुहँुदैन। हामी जिम्मेवार भयौं भने उनीहरूले यसलाई बिस्तारै बिर्संदै जान्छन्।

—————————————————————————-

ज्योतिष शास्त्रअनुसार भूकम्प

ज्योतिष शालिग्राम ढकाल

ज्योतिष शास्त्रअनुसार २०७२ साल प्राकृतिक प्रकोपको हिसाबले कस्तो रहला ?

नववर्ष २०७२ दैवी तथा प्राकृतिक प्रकोपको हिसाबले सचेत हुनुपर्ने वर्ष हो। ज्योतिष विज्ञानअनुसार वैशाखदेखि असार १५ गतेसम्म केही दैवीप्रकोपको सम्भावना देखिएको थियो तर यस्तो महाप्रलय हुन्छ भनेर आँकलन गरिएको थिएन। यद्यपि यो वर्ष हरेक हिसाबले सावधानी अपनाउनुपर्छ किनभने भूकम्पको खतरा टरे पनि बाढी–पहिरोजस्ता प्राकृतिक विपत्ति आउने सम्भावना छ।

भूकम्प आउँदा ग्रहहरूको स्थान के–कस्तो थियो ?

भूकम्प आउँदा ग्रहहरू कुनै न कुनै भवितव्य हुने स्थानमा थिए। जमिन कारक ग्रहमा थियो। मंगल मन्त्री तथा शनि राजा भएको यस्तो बेलामा कुनै न कुनै प्राकृतिक विपत्ति आउँछ नै तर यही विपत्ति आउँछ भनेर किटान गर्न सकिँदैन।

भूकम्पबाट जोगिन घर निर्माण गर्नुपूर्व के–कस्ता कुरामा ध्यान पुर्‍याउनुपर्छ ?

घर निर्माण गर्नुपूर्व वास्तुमा ध्यान दिनुपर्छ। त्यसपछि माटो परीक्षण गराउनुपर्छ। उक्त जमिनमा घर टिक्छ–टिक्दैन पत्ता लगाउनुपर्छ। त्यो जमिनमा अकालमा कसैको मृत्यु भएको छ कि छैन भन्ने कुरा पनि जाँच्नुपर्छ। माटो विभिन्न प्रकारको हुन्छ। कालो माटोभन्दा सेतो वासनादार माटो घर निर्माणका लागि बढी लाभदायक मानिन्छ।

जगको पूजा गर्दा प्राकृतिक प्रकोपहरूबाट जोगिन के गरिन्छ ?

जग बनाउँदा विधिपूर्वक पूजा गर्नुपर्छ। जग पूजामा प्रयोग गरिने पारो, कोइलाजस्ता वस्तुले चट्याङ तथा भूकम्पबाट घरलाई जोगाउँछन् भन्ने विश्वास छ। त्यसैगरी सुनको प्रतिमा, कछुवा, नाग चढाउने कारण पनि त्यही हो।

जमिन भासिनबाट जोगिने कुनै धार्मिक उपाय छ ?

आफू बस्ने घरलाई सदैव सफा राखी, सकेसम्म सात्विक बन्ने प्रयास गर्नुपर्छ, जसले जमिनलाई रिझाएर बस्न सक्छ उक्त जमिनले त्यहाँ बस्ने मानिसलाई सुरक्षा दिन्छ।

घर खरिद गर्दा राम्रो–नराम्रो कसरी थाहा पाउन सकिन्छ ?

निर्माण गरिएको घर खरिद गर्न सजिलो छ। कुनै घर प्रवेश गर्दा तन–मन हलुका भयो र आनन्द लाग्यो भने त्यो घर खरिद गर्न लायक छ भन्ने बुझ्नुपर्छ। यदि घरभित्र पस्दा आफूलाई घर अँध्यारो लाग्यो वा घरले आफूलाई थिचेजस्तो महसुस भए त्यस्तो घर खरिद गर्नु हुदैँन। घरभित्र पस्दा आफ्नो शरीरमा भएका देवता र घरका देवताको ग्रह मिलेको खण्डमा मात्र उक्त घर पस्दा आनन्द महसुस हुन्छ।

—————————————————————————-

भूकम्प आएपछिको कदम

सुषमा खत्री, इलेक्ट्रिक इन्जिनियर

भूकम्प आउँदा के गर्नुपर्छ ?

भूकम्प आउनासाथ दगुर्नु हुँदैन, ढोकामुनि टाउको जोगाएर बस्नुपर्छ। भूकम्प रोकिएपछि ग्यास र बिजुली बन्द गरेर मात्र बाहिर निस्कनुपर्छ अन्यथा आगलागी हुनसक्छ। पछि खुल्ला ठाउँ खोजेर परिवारका सबै सदस्य सँगै बस्नुपर्छ।

भूकम्पको धक्कापछि के–कस्ता सावधानी अपनाउन आवश्यक हुन्छ ?

भूकम्पको मूल धक्का गएपछि पनि सहायक धक्काहरू गैरहन्छन्। त्यसैले नआत्तिई धैर्यपूर्वक भुइँतल्लाका सुरक्षित ठाउँ वा खुल्ला ठाउँमा पाल आदिको व्यवस्था मिलाउनुपर्छ, जहाँ भुइँको चिसो, हावा तथा घामबाट जोगिन सकियोस्।

यस्तो आपत्कालीन अवस्थामा खानपिनको व्यवस्था कसरी मिलाउने ?

यस्तो आपत्कालीन अवस्थाका लागि नबिग्रने, सुख्खा, त्यत्तिकै खान मिल्ने चिउरा, भुजिया, दालमोठ, चाउचाउ आदिको व्यवस्था गर्नुपर्छ। मिनरल वाटर वा उमालेको पानी मात्र पिउनुपर्छ। यस्तो बेलामा महामारी तथा सरुवा रोगहरू फैलन सक्छन्। त्यसैले खाना र पानीको कमी पूरा गर्ने जुस अथवा जीवनजल (नुन, चिनी, पानी) प्रयोग गर्नुपर्छ।

अरू के–कस्ता कुरा साथमा राख्नुपर्छ ?

यस्तो आपत्कालीन समयमा आफूसँग साधारण औषधिहरू साथमा हुनु आवश्यक छ। सानातिना  चोटपटक लागे आफै मिलेर उपचार गर्न डिटोल, कपास, ब्यान्डेज (सल, कपडाका टुक्रा) आदि साथमा राख्ने। त्यस्तै सिटामोल, ब्रुफिन तथा बालबालिकाका लागि निको, सिटिजेट, जीवनजलजस्ता औषधिहरू जोहो गर्नुपर्छ।

यस्तो समयमा प्रदूषण पनि बढ्छ। यस्तोमा सर्वसाधारणले के गर्ने ?

लामो समय धेरैजना सँगै बाहिर बस्ने हुँदा मुख्यत: चर्पीको व्यवस्थाका लागि कुनै खाल्टो खनेर बारले छेक्ने र त्यसलाई पछि पुर्ने व्यवस्था मिलाउने। फोहोर एवं दिसापिसाबबाट संक्रमण फैलन नदिन सचेत हुने। कुनै आफन्त वा छिमेकीहरूको मृत्यु भए चाँडै जलाउने वा गाड्ने व्यवस्था मिलाउने अन्यथा शव गन्हाएर संक्रमण फैलन सक्छ। फोहोरलाई जलाउने वा गाड्ने व्यवस्था मिलाउनुपर्छ।

भूकम्पपछि के कुरामा ध्यान दिनुपर्छ ?

भूकम्पपछि भत्किएका, चर्किएका घरहरूमा बस्नु हुँदैन। पछि आउने स–साना भूकम्प वा वर्षाले पनि घर ढल्ने सम्भावना हुन्छ। छिमेकीका नभत्किएका घरहरू छन् भने त्यसमा मिलेर बस्ने व्यवस्था मिलाउने। सकेसम्म सञ्चार माध्यमको पहुँचमा रहने। कसैको हल्लाको पछि नलाग्ने। यतिबेला चोरीको पनि सम्भावना हुने भएकाले सुरक्षाको ख्याल राख्ने।

 Image