Successfully Copied

सशक्त तोसिमा

संसदीय निर्वाचन–०७९ मा एउटा चर्चित नाम हो–डा. तोसिमा कार्की । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी ३१ हजार १३६ मत ल्याई विजय भएकी हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिई उनी राजनीतिमा आएकी हुन् ।

संसदीय निर्वाचन–०७९ मा एउटा चर्चित नाम हो–डा. तोसिमा कार्की । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी ३१ हजार १३६ मत ल्याई विजय भएकी हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिई उनी राजनीतिमा आएकी हुन् । नेपाल मेडिकल काउन्सिलको सदस्य समेत रहेकी उनले सोही पदमा रहेर उम्मेदवार बनेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो । तर, सर्वोच्च अदालतले उनको उम्मेदवारी कायमै रहने भन्दै अन्तरिम आदेश दिएपछि उनी चुनाव प्रचार–प्रसारमा लागिन् र विजय पनि भएकी छन् । 

सानैदेखि तीक्ष्ण दिमागकी उनी आमजनभन्दा पृथक् सोच र स्वभावकी छन् । उनले स्कुले र प्लस टु शिक्षा काठमाडौंबाटै पूरा गरेकी हुन् । त्यसपछि किस्ट मेडिकल कलेजबाट एमबीबीएस र धुलिखेलस्थित काठमाडौं युनिभर्सिटीबाट ‘जेनेरल सर्जरी’ मा उनले एमडी उपाधि हासिल गरिन् । चिकित्सक पेसालाई थाती राखी राजनीतिमा होमिएकी तोसिमा युवामा व्यवस्था मात्र नभई अवस्था परिवर्तन गर्न सक्ने शक्ति हुन्छ भन्नेमा विश्वास राख्छिन् । ‘डाक्टर भएर काम गर्दा केही सय बिरामीको जीवन बचाउन सकिएला वा सीमित मानिसका लागि काम गर्न सकिएला तर मुलुकको समग्र अवस्था परिवर्तनका लागि राजनीति नै त्यस्तो संयन्त्र हो जसले एकत्रित रूपमा अवस्था र व्यवस्था बनाउने शक्ति राख्छ,’ तोसिमा भन्छिन्, ‘राजनीतिमा राष्ट्र परिवर्तनको निर्णायक शक्ति हुन्छ, नीति–नियम र कानुन बनाउने अधिकार हुन्छ । समग्रमा भन्नुपर्दा मलुकभित्रका सबै बेथितिलाई सम्बोधन र समाधान गर्ने अस्त्र हो राजनीति । त्यसैले म राजनीतिमा होमिएकी हुँ ।’

 

तोसिमा तर्क : 

हुँदाखाँदाको चिकित्सक पेसा छाडेर राजनीतिमा प्रवेश गर्नुभयो, कसरी राजनीतिक रस पस्यो ?

झन्डै ११ वर्ष चिकित्सा क्षेत्रमा सक्रिय रहें । जीवन र मरणसँग जोडिएको यो संवेदनशील क्षेत्रमा पनि असाध्यै बेथिति देखें, भोगें । गाउँमा आधारभूत स्वास्थ्य सेवा छैन, सिटामोल खान नपाएर दूरदराजका नेपाली अकालमै मृत्युवरण गरिरहेका छन्, जनताले भोगिरहेका यस्ता समस्या लिएर स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मन्त्रालयलगायत अन्य सरोकारवाला संघसंस्था धाइयो, ज्ञापनपत्र त कति बुझाइयो कति ? तर कहीँकतैबाट कुनै सम्बोधन–सुनुवाइ भएन । यो सबै कुरासँग आजित भई समाधान के हो भनेर घोत्लिन थालें । अन्त्यमा मैले राजनीति मात्रै यस्तो एउटा बाटो देखें जहाँबाट यी सबैको हल सम्भव हुनसक्छ । यसरी मैले राजनीतिबाटै समाधान खोज्ने निर्णय गरें । 

के–का लागि राजनीतिमा आउनुभयो?

म बस्न लायक देश बनाउन, दक्षता हासिल गरेका हरेक नागरिकले आफ्नो देशप्रतिको कर्तव्य र जिम्मेवारी बुझून् भन्न र घर–घरमा स्वास्थ्य सेवा पुर्‍याउनका लागि अनि ‘स्वस्थ नेपाली, खुसी नेपाली’ बनाउनका लागि । 

तपाईंको विचारमा व्यवस्था परिवर्तनका लागि युवामा के–कस्ता पृथक् रणनीति हुनुपर्छ?

व्यवस्थाका कुरा पुराना भए अब अवस्था परिवर्तन गर्ने बेला आएको छ । यो अहिलेको युगको डिमान्ड हो । युवा इमान बेच्दैनन् । अहिलेका युवाहरू पेसागत दक्षता र सक्षमता बोकेका मानव हुन् । यी युवाहरू समस्या निवारणका लागि पूर्वाधार निर्माण र त्यसको विकासका लागि अग्रसर छन् । अबको हाम्रो रणनीति आफ्नो दक्षतालाई सक्दो प्रयोग गरी जनसेवा र देश निर्माणमा खर्चिने हो । 

राजनीतिमा अनुभव, उमेर र लामो योगदानको बढी चर्चा–व्याख्या र गणना हुन्छ । तपाईं राजनीतिमा नयाँ त्यसमाथि पनि युवा हुनुहुन्छ, कसरी सबै विषय व्यवस्थापन गर्ने सोचमा हुनुहुन्छ ?

अनुभवको परिभाषालाई पुनः परिभाषित गर्न जरुरी छ । राजनीतिको परिभाषालाई समेत पुनः परिभाषित गर्नु आवश्यक छ । राजनीति फोहोरी खेल होइन । मुलुकको समग्र विकास र सशक्तीकरणको आधारभूत संयन्त्र हो, राजनीति । मुलुकभित्रका साधनस्रोत, अग्रजका अनुभव र विज्ञता अनि आफूमा भएको दक्षतालाई अंगीकार गर्दै जितेर गएका युवाहरू मुलुकको समृद्धिका लागि अगाडि बढ्नुपर्छ । अब धारको होइन पूर्वाधारको लडाइँ हुनुपर्छ । 

अब तपाईंको चिकित्सा पेसा के हुन्छ ? मूलधारको राजनीति मात्रै गर्ने कि अरु केही गर्ने सोचमा हुनुहुन्छ ?

चिकित्सा पेसा गर्दै गर्दा समस्या बुझें, समाधानको बाटो पहिल्याएँ । जनताको सेवा गर्न चिकित्सा पेसा चटक्कै छाड्नुपर्ने म देख्दिन । संसद्भित्र नीतिगत प्रयास र योगदान दिनेबाहेक चिकित्सा पेसालाई सँगै लिएर अगाडि बढ्छु । महिनाको एकपटक मेरो निर्वाचन क्षेत्र ललितपुर–३ मा निःशुल्क स्वास्थ्य सेवा लिएर घर–घर पुग्ने घोषणा नै गरिसकेकी छु । 

युवा आए, अब देशमा कस्तो परिवर्तन देख्न पाइएला त ?

‘युवा आए, अब देश बचाए ।’

तपाईंले उठान गर्न चाहेका प्रमुख तीन मुद्दा के–के हुन् ?

धराशायी बन्दै गएको स्वास्थ्य बीमालाई आधुनिक रूपमा प्रभावकारी बनाउने, महिलासशक्तीकरणका लागि काम गर्ने र घरघरमा प्राविधिक शिक्षा तथा युवा रोजगारी सिर्जनामा काम गर्ने । 

महिला विकास र सशक्तीकरणका लागि के आवश्यक ठान्नुहुन्छ ?

शिक्षा, स्वास्थ्य, रोजगारी, आत्मनिर्भरता महिला सशक्तीकरणका मूल सर्त हुन् । महिला सशक्त नभएसम्म देश विकास असम्भव छ । 

तपाईंका रुचि र रहर के–के छन् ?

पेन्टिङ गर्न, कविता लेख्न मनपर्छ । साथीभाइ भेटघाट गर्न, गाउँटोल चहार्दै उनीहरूका कुरा सुन्न, नयाँ–नयाँ ठाउँ गएर अन्तरक्रिया गर्न, वृद्ध–वृद्धा र फरक क्षमता भएकाहरूसँग उनीहरूका कुरा सुन्दै समय बिताउन असाध्यै रमाइलो लाग्छ । 

अबको मुख्य योजना के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीलाई संगठित बनाउँदै परिवर्तनको संवाहक बनाउने । सम्पूर्ण युवालाई राजनीतिमा चासो दिन र लाग्न प्रेरित गर्ने साथै विदेशमा भएका युवालाई स्वदेशमै रोजगारको वातावरण सिर्जना गरी स्वदेश फर्काउने । 

पाठकका लागि केही सन्देश छ कि ?

हामी निरन्तर जनतासँग काम गरिरहनेछौं । यसमा सम्पूर्ण नेपालीले खबरदारी र पहरेदारको भूमिका निर्वाह गरिदिनुहुन अनुरोध गर्न चाहन्छु । आफ्नो भूमिका आफैंले खोज्ने हो । सबै मिलेर देशलाई स्वस्थ, समृद्ध र बस्न लायक बनाऔं । 

 Image