Successfully Copied

रंगहरूको पर्व : होली

होली पर्व प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको प्रमुख चाड हो । होली रंगहरूको पर्व हो । असत्यमाथि सत्यको विजय भएको खुसीमा उल्लासका साथ एक–आपसमा अबिर एवं रंग लगाई यो पर्व मनाइन्छ ।

होली पर्व प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको प्रमुख चाड हो । होली रंगहरूको पर्व हो । असत्यमाथि सत्यको विजय भएको खुसीमा उल्लासका साथ एक–आपसमा अबिर एवं रंग लगाई यो पर्व मनाइन्छ । यसले वसन्त ऋतुको आगमनको शंखघोष पनि गर्छ ।

होलीबारे पौराणिक भनाइअनुसार प्राचीन समय (त्रेता युग) मा नास्तिक हिरण्यकश्यपको जन्म भएको थियो । हिरण्यकश्यपलाई भगवान् विष्णुले नृसिंह अवतार लिएर वध गरेका थिए । उनका छोरा प्रल्हाद विष्णुका परम भक्त थिए । प्रल्हादले विष्णुको आराधना गरेको हिरण्यकश्यपलाई मन परेको थिएन । त्यसैले उसले प्रल्हादको वध गर्न धेरै योजना बनाएको थियो । एक योजनानुसार हिरण्यकश्यपले छोरालाई अग्निकुण्डमा हालेर वध गर्न बहिनी होलिकालाई जिम्मा दिएको थियो । होलिकाले अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन् । दाजुको आदेशानुसार होलिका प्रल्हादलाई काखमा लिएर अग्निमा बस्दा होलिका जलेर नष्ट भइन्, तर प्रल्हादलाई केही भएन । होलिका दहनकै खुसियालीमा आपसमा रंग र अबिर दलेर होली पर्व मनाइन्छ । 

एक अर्को प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णको वध गर्ने उद्देश्यले दूध चुसाउन गएकी पुतनालाई उल्टै कृष्णले वध गरिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रंग र अबिर छरी खुसियाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्पराको सुरुवात भएको जनविश्वास छ ।

होली खेल्ने दिनभन्दा एकदिन पहिले राति होलिका दहन गरिन्छ । होलिका दहन गरिसकेपछि बिहान पानीमा रंग घोलेर एक–अर्कामाथि फाल्ने चलन छ । स–साना बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा–युवतीहरू गीत गाएर नाच्दै होली खेल्छन् । त्यसैले यसलाई सद्भावको पर्व पनि भनिन्छ । यो पर्व फागुनपूर्णिमाका दिनमा मनाउने भएकाले यसलाई ‘फगुआ’ पनि भनिन्छ । 

फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको वसन्तपुर दरबारअगाडि विधिपूर्वक चीर ठड्याएसँगै मुलुकभर फागु अर्थात् होली पर्व सुरु हुन्छ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई विशेष पूजा गरी ठड्याइन्छ । रंगीचंगी कपडाहरू झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगो बाँधिएको अग्लो बाँसको चीर ठडाइन्छ । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एक–आपसमा अबिर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु हुन्छ । उक्त अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिन्छ । 

असत्यमाथि सत्यको विजय हुने मान्यताका साथ प्रतीकात्मक रूपमा चीर उठाउने र एकसातापछि फागुपूर्णिमाका दिन उक्त चीर ढलाएर टुँडिखेलमा पुर्‍याई दहन गर्ने परम्परा छ । चीर बीचमै ढलेको खण्डमा पुनः ठड्याई शान्ति–स्वस्ति र क्षमा पूजा गर्ने चलन छ । त्यसरी अचानक चीर ढलेका कारण देशमा कुनै संकट नपरोस् र अनिष्ट नहोस् भनी स्वस्ति–शान्ति, होम र क्षमा पूजा गराइने चलन छ । त्यसै अवसरमा हनुमानढोका दरबार परिसर तथा हनुमानढोका दरबारभित्रको मोहनकाली चोक र दाखचोकमा पनि रंगीबिरंगी कपडाका टुक्राहरू झुन्ड्याइएको मयलको रुखको हाँगा गाढेर पूजा पनि गरिने परम्परा छ । साथै, मोहनकाली चोकमा काठ निर्मित हातमा मुरली लिएका श्रीकृष्णको मूर्ति र नौवटा विभिन्न मुद्रामा गोपीका मूर्तिहरू सजाई अबिर छर्केर पूजा गरिँदै आएको छ ।

फागुन शुक्ल पूर्णिमाको शुभसाइतमा चीरलाई ढाल्ने र त्यो तानेर टुँडिखेलको मध्यभागमा पुर्‍याई दाह गरी यो पर्व समापन हुन्छ । त्यसको भोलिपल्टदेखि वसन्त ऋतु प्रारम्भ हुन्छ । टुँडिखेलमा दाह गर्नुअघि चीरको अन्तिममा दर्शन र पूजा गर्न मारवाडी समुदायका श्रद्धालुहरूको निकै घुइँचो लाग्छ । चीर दाहपछि त्यसको खरानी प्रसादका रूपमा घर–घरमा लैजाने चलन छ । 

यसैगरी ठमेलस्थित विक्रमशील महाविहारमा रहेको चका द्य–चक्रमणशीलको मूर्तिलाई राति त्यसै महाविहारसँगैको टुँ (इनार) चोकमा नौ पटक ओहोरदोहोर गराउने परम्परा छ । त्यसो गर्नुअघि मूर्तिलाई बाजागाजाका साथ होली खेल्दै जात्रा गरेर ठमेल नगर परिक्रमा गराइन्छ । सिंहसार्थ बाह भनिने त्यस मानवाकृत रातो ‘चका द्य’ को मूर्तिलाई बाजागाजासहित जात्रा गर्दै ठमेलबाट ज्याठा, असन, इन्द्रचोक हुँदै हनुमानढोका पुर्‍याई त्यहाँबाट मरुसत्तल, प्याफल, नरदेवी, टेंगल, बाँगेमुढा, थहिटी, क्वबहाल र विक्रमशील महाविहार पुर्‍याउने परम्परा छ । ‘चका द्य’ जात्राका क्रममा बोधिसत्व महामञ्जुश्री यहाँ आई विक्रमशील महाविहारमा बस्दा आफैले लेखेको भनिने ‘प्रज्ञापारमिता’ नामका ठूल्ठूला चार ठेली ग्रन्थ पनि सँगै बोकेर नगर परिक्रमा गराउने परम्परा थियो । तर केही वर्षयता ‘ठ्यासफु’ का रूपमा रहेको प्रत्येक पाना कालो पृष्ठभूमिमा सुन र चाँदीको मसीले रञ्जना लिपिमा लेखिएको ग्रन्थका पृष्ठहरू च्यातिने र हराउने डरले परिक्रमा गराउन छाडिएको छ ।

यो पर्वमा चीर ठड्याउने परम्पराका सम्बन्धमा एक लोककथनअनुसार एकपटक यमुना नदीमा एक समूह गोपिनीहरू निर्वस्त्र नुहाइरहेका थिए । त्यसैबेला भगवान् श्रीकृष्णले ती गोपिनीहरूका सबै लुगा नदीको किनारमा एउटा रुखको हाँगामा झुन्ड्याई आफू अर्को हाँगामा बसी बाँसुरी बजाउन थालेका थिए । गोपिनीहरूले आ–आफ्ना लुगा पाउन धेरै बिन्ती गर्दा पनि कृष्णले लुगा झारिदिएनन् । बरु कृष्णले ‘निर्वस्त्र नुहाएकोमा प्रायश्चित्त गरेमात्र लुगा दिन्छु’ भनेका थिए । त्यसअनुसार गोपिनीहरूले श्रीकृष्णलाई अर्घ्य–जल चढाएर प्रायश्चित्त गरेका थिए । त्यसपछि कृष्णले रुखको हाँगाबाट लुगा झारिदिएका थिए । श्रीकृष्णको त्यही रासलीलाको स्मरणमा गोपिनीहरूका लुगाको प्रतीकमा रंगीचंगी कपडाका टुक्राहरू झुन्ड्याई चीर ठड्याउने प्रचलन छ । 

काठमाडौंलगायतका पहाडी भेगमा फागुपूर्णिमाका दिन होली खेलिन्छ र उक्त दिन त्यहाँ सार्वजनिक बिदा हुन्छ । त्यस्तै तराईमा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइन्छ र उक्त दिन त्यहाँ सार्वजनिक बिदा हुन्छ । तराईतिर होली मनाउने परम्परा पहाड र अन्यत्रको भन्दा अलिक फरक छ । त्यहाँ होलीका अवसरमा रंग–अबिरसँगै मौलिक होली गीत र जोगिरा गाउने चलन छ । तराईमा आफूभन्दा ठूलाको चरणमा रंग–अबिर राख्ने, ठूलाबडाले आफूभन्दा सानालाई रंग–अबिरले टीका लगाइदिने चलन छ । रंग–अबिरको छ्यापाछाप भने दौंतरी, समकक्षी र साथीभाइहरूसँग गर्ने परम्परागत चलन हो । भाउजू–देवर, भिनाजु–सालीबीच रंग–अबिर खेल्ने परम्परा परापूर्वकालदेखि चल्दै आएको छ । होलीका दिन घर–घरमा तयार पारिएको विशेष परिकार रंग–अबिर खेल्न आउनेलाई खुवाउने चलन छ । 

अन्त्यमा अहिले होलीले विभिन्न खालका सामाजिक विकृति र विसंगतिहरू पनि भित्र्याएको छ । आजका युवाहरू अर्काको इच्छाविपरीत रंग दलिदिने, स्वास्थ्य र छालालाई हानिकारक रंगको प्रयोग गर्ने, बेलुन र प्लास्टिकका थैलीमा फोहोर पानी भरेर हान्दै मादकपदार्थ सेवन गरी आपसमा झगडा गर्छन् । रंग लगाउने बहानामा पनि महिलालाई दुर्व्यवहार गर्ने गरेको पाइन्छ । त्यसैले संयम भई साथीहरू र परिवारसँग मात्र होली खेलौं । 

अच्युतमानसिंह प्रधान ‘उत्सुक’

 Image