नूरजा राजभण्डारी
समाजका दूरदराजमा महिलालाई हेप्ने प्रवृत्ति अझै यथावत् छ । परिवर्तनसँगै सुधारका प्रयास त भएका छन् । तर कतिपय घरमा बुहारीलाई नोकर्नी जसरी कामकाजमा लगाउने गरिन्छ । मनोरञ्जन लिन वा आराम गर्नबाट निषेध गरिएको पाइन्छ । यथार्थमा महिलालाई सासू, भाउजू, आमाजू र नन्दरूपी महिलाले नै शोषण र अवहेलना गरिराखेका हुन्छन् । सासू–बुहारीबीचको सम्बन्ध अपरिहार्य छ । तर, असहज र सधै खटपट परिरहने सम्बन्धलाई नाटक ‘मिसामी’ ले उजागर गरेको छ ।
२०२५ सालदेखि साहित्य साधनारत प्रा.डा. श्याम जोशीले २०३० सालमा लेखेको नाटक हो ‘मिसामी’ । सोही सालको बडादसैंमा दोलखा सहरको मुख्य बजार शिम्भुथानमा मञ्चनसमेत गरिएको थियो । यही नाटक ‘मिसामी’ पुस्तकाकार रूपमा हालै बजारमा आएको छ । असार १ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा लोकार्पण भएको थियो । दोलखा भाषामा ‘मिसामी’ भनेको महिला हो । नाटकको मूलसार महिलाको शत्रु महिला नै हुन्छन् भन्ने चित्रण गरिएको छ ।
महिलाको उत्थान भए मात्र देशको पनि प्रगति हुन्छ । त्यसैले समाजमा यस्तो स्थिति सधैका लागि बन्द हुनुपर्छ भन्ने सन्देश नाटकमा छ । यो नाटकको अर्को महत्वपूर्ण उद्देश्य वर्तमान पुस्ताबाट बिस्तारै लोप हुँदै गएको आफ्नो मातृभाषा ‘दोलखा भाषा’ को संरक्षण गर्ने रहेको देखिन्छ । नाटकले हाल महिलावादी भएर एकोहोरो पुरुषविरुद्ध खनिने महिलालाई पनि केही सोच्न बाध्य पार्न सक्छ ।
नाटकको संक्षिप्त कथा यस्तो छ–नायक किरणले नायिका लक्ष्मीसँग प्रेम विवाह गर्छ । तर लक्ष्मी केही वर्षसम्म सन्तान जन्माउन असमर्थ हुन्छे । समाजले सन्तान अत्यावश्यक ठान्छ र महिलाहरू नै ‘निःसन्तानको अनुहार पनि हेर्न हुन्न’ भनेर कुरा काट्छन् । यही कुरामा किरणकी आमा सुलोचना बुहारीसँग बेला–बेलामा झगडा गर्ने र अनेक लान्छना लगाउने गर्छिन् । माइतीबाट दाइजो ल्याएकी छैन भनेर पनि बारम्बार पिरोलिरहन्छिन् । छोरालाई अर्की श्रीमती विवाह गर भनी कर गरिरहन्छिन् तर छोरा मान्दैन । अन्त्यमा सुलोचनाले चोर्नी दोष लगाएर बुहारीलाई घरबाट निकाल्छिन् । आमाको डरले किरण केही बोल्न सक्दैन । लक्ष्मी बाध्य भएर माइत जान्छिन् । त्यसबेला लक्ष्मी गर्भवती हुन्छिन् र माइतमै छोरालाई जन्म दिन्छिन् । सुलोचनाले करकाप गरे पनि किरणले अर्की पत्नी विवाह गर्दैन तर लक्ष्मीका सम्झनामा रक्सी पिएर विक्षिप्त भएर हिँड्छ । सुलोचना पनि रोग र शोकले गर्दा अशक्त बन्छिन् र घरको बेहाल हुन्छ । करिब पाँच वर्षपछि सुलोचनाले लक्ष्मीको गुण सम्झन्छिन् । दुःख दिएकामा प्रायश्चित्त गर्छिन् र छोरालाई लिन जाऊ भनी सम्झाउँछिन् । अर्कातिर माइतमा लक्ष्मीकी भाउजूले हामीले सधैं पाल्न सक्दैनौं आमा–छोरालाई घर फर्क भनी कचकच गर्न थाल्छिन् । लक्ष्मीको मनमा द्वन्द्व चलिरहन्छ । एउटा मनले छोराका लागि भए पनि घर फर्कनुपर्छ भन्छ, अर्को मनले त्यस्तो बेइज्जत गरेर निकालेको घरमा कसरी लुरुलुरु फर्कने भन्छ । तामाकोशीमा हाम फालेर आत्महत्या गरुँ भने पनि छोराको के हुन्छ भन्ने पिर पर्छ । यस्तै द्वन्द्वको बीचमा मर्नका लागि तामाकोशीतिर जान थाल्छिन् । बाटोमा उनलाई फर्काउन आएका किरण र सुलोचनासँग जम्काभेट हुन्छ । ‘तिमीलाई फर्काउन आएको, हामीले प्रायश्चित्त गरिसक्यौं । हामीलाई माफ देऊ’ भनी अनुनय–विनय गरेपछि लक्ष्मी घर फर्कन राजी हुन्छिन् । कथा यत्तिकैमा समाप्त हुन्छ ।
ऐतिहासिक सहर दोलखाका अधिकांश बासिन्दा नेवार जातिका छन् र यहाँ उपत्यकामा बोलिने नेपाल भाषाभन्दा फरक नेवारी भाषा बोलिन्छ । दोलखा भाषामा विदेशी तथा स्वदेशी दुई जनाले अनुसन्धान गरिसके पनि हालसम्म यो भाषाको फाटफुट रचनाबाहेक लिखित दस्ताबेज थिएन । ‘मिसामी’ नाटकले यो अभाव पूरा गरेको छ र यो कृति दोलखा भाषा र साहित्यको प्रारम्भ बिन्दु हुन पुगेको छ । पात्रहरूको सम्वादमा दोलखा सहरमा बोलिने ठेट शब्द र उखान टुक्का प्रयुक्त छन् । नाटकको कथावस्तु आजकै समाजको विभिन्न परिदृश्यमा पुनः मञ्चन भइरहेको छ । दोलखा भाषा नबुझ्नेलाई लक्षित गरेर पुस्तकमा नेपाली अनुहार पनि राख्नुभएको छ, जुन प्रशंसनीय छ ।
नाटक ऐतिहासिक सहर दोलखामा बोलिने ‘दोलखा भाषाको’ पहिलो प्रकाशित कृति हुन पुगेको छ । नाटक लेखिएको ५१ वर्षपछि प्राडा हरि दर्शन श्रेष्ठको आफ्नो भाषाको संरक्षण र सम्बर्द्धन र लिपिबद्ध गर्ने अभिप्रायले प्रकाशित गर्नुभएको हो । आर्थिक साहित्यका ५४ पाठ्यपुस्तक प्रकाशित गरिसकेका जोशीको साहित्यतर्फको यो पुस्ताकाकारमा पहिलो कृति हो । उहाँले केवल २२ वर्षको उमेरमा सिर्जना गर्नुभएको यो कृतिले हाम्रो समाजको आँखा खोलिदिएको छ भने आफ्नो भाषा संरक्षणमा समेत टेवा पुर्याएको छ ।