हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
साहित्यकार एवं लेखक मोतीशोभा श्रेष्ठले नेपाल भाषाका लघु उपन्यास संग्रह र नेपालमा घरेलु उद्योगको विकास पुस्तक बजारमा ल्याएकी छन् । नेपाल भाषा एकेडेमीका कुलपति यज्ञरत्न धाख्वाले मोतीशोभाका दुई पुस्तक हालै काठमाडौंमा लोकार्पण गरेका हुन् । लेखिकाले आफ्नो पुस्तकमा नेपाली समाजमा महिलाको जीवनसँग गाँसिएका केही महत्वपूर्ण पक्षलाई सरल भाषामा प्रस्तुत गरेकी छन् ।
त्यस्तै, कुलपति यज्ञरत्नले डा. सिर्जना श्रेष्ठ र डा. सविना श्रेष्ठको नेपाल भाषाका दुई कवितासंग्रह समेत लोकार्पण गरेका छन् । कवि सिर्जनाले आफ्नो कवितासंग्रहमा मान्छे, मन र मानव जीवनका भावनात्मक यात्रा अनि त्यसभित्रका आरोह–अवरोह बीच अलमलिएका मानिसको परिचय, माया र सम्बन्धका आभाष भेटिन्छ । यसैगरी, कवि सविनाका कवितासंग्रहमा प्रकृति, सौन्दर्य, जीवन र समयका विभिन्न अध्यायहरु कोरिएको भेटिने छ । यसअघि यी पुस्तकहरु नेपाली भाषामा पनि प्रकाशित भइसकेका छन् ।
