Successfully Copied

बच्चा बच्चा बच्चा !!!

मागी विवाह गरेको चार महिना पुग्दा नपुग्दै गर्भवती भएकी उसको कुराले ऊजस्ता धेरैका तीता अनुभव मेरो मानसपटलमा फेरि ताजा भए । बच्चा जन्माउने कुरालाई लिएर फेसबुकका केही गोप्य ग्रुप, जहाँ महिलाहरू मात्रै आबद्ध छन्, त्यस्ता ग्रुपमा व्यक्त गरिएका ‘एनोनिमस कन्फेसन’ र त्यस्ता पोस्टमा


करुणा देवकोटा
दुई वर्षअघि मेरी मिल्ने साथीले आफू गर्भवती भएको कुरा फोनबाट सुनाई । मनको साथी आमा बन्ने कुराले पनि छुट्टै खुसी दिने रहेछ । ‘ल बधाई छ, घर आएका बेला सबैभन्दा पहिले तँलाई भेट्न आउँछु’, फोनबाटै खुसी साटें । ‘म त कत्ति खुसी छैन यार, के सोच्या थें, के भो भो’, उसको मलिन बोलीले यता मलाई एकाएक बिझायो ।
‘किन ? के भयो भन् त ? प्लान्ड प्रेग्नेन्सी होइन र ?’
‘यति छिटो केको प्लान्ड...’ ऊ उल्टै मसँग रिसाई ।
‘उहाँलाई अब छिट्टै आउन पनि नमिल्ने । म उतै जान पनि भनेजस्तो सजिलो छैन । घरकाले विवाह भाको केही हप्तादेखि टन्ट मार्न थालिहाले हेर्, अनि त उहाँले पनि बच्चा पाऊँ भन्नुभयो । अनप्लान्ड भनौं भने उहाँले सोध्नुभा त हो, प्लान्ड भनौं भने मलाई यति छिट्टै बच्चा पाउन मनै थिएन ।’
‘अलिपछि प्लान गरौं भन्नुपर्छ नि, फेरि यस्तो बेला भिनाजु साथमा नहुँदा तँलाई नै गाह्रो हुन्छ त ?’
‘हुन त हो । तर दुःख पाउन लेखेपछि के बोलें भन्ने पत्तै नहुने रछ । अरू सबै मख्ख छन्, मलाई भने यिनीहरूको टन्टले गर्दा यो सबै भाको हो भनेर घरका मान्छे देख्दा नि भाउन्न हुन्छ । बूढो राम्ररी नचिन्दै बूढोको बच्चा चिन्ने भएँ,’ अन्तिमको वाक्य हाँसोमा उन्दै उसले आफूलाई अलिक सहज बनाउने प्रयास गरी ।
मागी विवाह गरेको चार महिना पुग्दा नपुग्दै गर्भवती भएकी उसको कुराले ऊजस्ता धेरैका तीता अनुभव मेरो मानसपटलमा फेरि ताजा भए । बच्चा जन्माउने कुरालाई लिएर फेसबुकका केही गोप्य ग्रुप, जहाँ महिलाहरू मात्रै आबद्ध छन्, त्यस्ता ग्रुपमा व्यक्त गरिएका ‘एनोनिमस कन्फेसन’ र त्यस्ता पोस्टमा सहमति जनाउँदै समानुभूतिका भावसहित कमेन्टबक्समा दिइएका सुझाव र प्रतिक्रिया सम्झनामा आए ।
ती पोस्टहरूमा अक्सर अरूले बच्चा जन्माइहाल्न वा अर्को बच्चा जन्माउन दिने दबाबले आफूलाई कति गाह्रो भइरहेको छ भनेर महिला दिदीबहिनीले आफ्ना कुराहरू लेखिरहेका हुन्छन् । उसो त अरूले भन्यो भन्दैमा बच्चा जन्माउनुपर्ने, मन दुखाउनुपर्ने होइन । तर मनले पनि त नमान्दो रहेछ, र त अरूका कुराले मनमा पीडाको पहाड बन्दोरहेछ । सायद धेरैलाई यस्तै पहाडले थिचेको हुँदो हो, सामाजिक सञ्जालका भित्तादेखि, साथीसँगको अन्तरङ्ग कुराकानीमा, अफिसका संगीसँगको कानेखुसीदेखि, पार्लरका कुनाकाप्चा अनि अन्त–अन्त, त्यस्ता पहाडले दबाएका पीडा फुकाएको पाएकी छु ।
म आफैं पनि गत वर्ष आमा बनें । विवाह भएको झन्डै ६ वर्षपछि म र मेरा श्रीमान्ले बच्चा जन्माउने निर्णय गर्‍यौं । तर त्यो अवधिमा बच्चा जन्माउनका लागि हामीले विभिन्न व्यक्तिबाट बारम्बार प्रत्यक्ष अप्रत्यक्ष दबाब पाइरह्यौं । जब म आमा बनें, त्यतिबेला लाग्यो, अब बल्ल त्यस्ता दबाबको पिछा छुट्यो । तर मेरो बुझाइ गलत साबित भइदियो । बच्चा पाउनका लागि मात्रै होइन, कतिवटा पाउने, कहिले पाउने, किन पाउने हरेक प्रकारका सुझावको वर्षा त कलिलो सुत्केरी अवस्थाबाटै सुरु हुने रहेछ ।
आमा–बाबा बन्ने इच्छा हामीलाई पनि नभएको होइन । हामीलाई कुनै दिन सन्तान जन्माउनु थियो, कसैको दबाबमा नभई, नितान्त हामी दुईको समझदारीमा । यो हामीमा मात्रै नभई बच्चा जन्माउन चाहने र नचाहने हरेकको हकमा उत्तिकै आवश्यक समझदारीपूर्ण निर्णय हो । तर विडम्बना, हाम्रा पारिवारिक, सामाजिक, केही ‘कथित’ सांस्कृतिक संरचना व्यक्तिका अति सामान्य अधिकार र स्वतन्त्रताको पनि यसरी बाधक बनिदिने रहेछन् कि, त्यसको चोट गहिरो र परिणाम घातक हुनपुग्छ ।
मेरी एकजना आफन्ती दिदी हुनुहुन्छ । उहाँको विवाह भएको आउँदो असारमा १३ वर्ष पूरा हुन्छ । धेरै प्रयास गर्दा पनि उहाँका अहिलेसम्म सन्तान भएका छैनन् । ती दिदी र उहाँका श्रीमान् बच्चा नभएकै कारण आफूहरूलाई अपूर्ण महसुस गर्नुहुन्छ । तर त्योभन्दा चोटिलो अपूर्णताले उहाँहरूलाई त्यतिबेला गाल्यो, जतिबेला बच्चा नजन्माएको, जन्माउन नसकेको भन्दै परिवारका सदस्यले नै व्यंग्य गर्न थाले । बचनको तीर यति तिखो भइदियो, उहाँहरूलाई आफ्नै परिवारबाट अलग्याएर एक्लो संसारमा हुत्याइदियो ।
‘बच्चा पाइहाल है’, ‘बच्चा त पाउनैपर्छ’, ‘बच्चा कहिले पाउने ?’, ‘अझै बच्चा पाएको छैन ?’, ‘बच्चा त नभई हुन्न’, ‘अर्को बच्चा कहिले ?’,
‘अर्को बच्चा नपाउने ?’, ‘एउटा छोरा त चाहिन्छ चाहिन्छ’, ‘एउटी छोरी त नभई हुन्न’, ‘केरे केरे बच्चै नपाउने रे ?’, यस्ता टिप्पणी र प्रश्न नेपाली समाजमा विवाहित दम्पती, त्यसमा पनि विवाहित महिलाले अक्सर सुनेका हुन्छन् ।
धेरैमा अझै पनि महिलाले मात्रै बच्चा जन्माउने हो भन्ने सामाजिक बुझाइ, श्रीमान् वा श्रीमती जसका कारणले बच्चा नभए पनि श्रीमतीकै जैविक तथा प्रजनन क्षमतामा प्रश्न उठाउने प्रवृत्ति कायमै छ । अझ अविवाहित महिलाले बच्चा जन्माइन् वा कुनै महिलाले विवाह नगरी बच्चा मात्रै जन्माउँछु भनिन् भने त ती महिलाप्रतिको दृष्टिकोण यति निच भइदिन्छ, त्यसको परिमाण भोग्नेलाई नै थाहा होला ।
कहिले आफ्नोपनको ढाढस देखाउँदै त कहिले गफको लय बुन्ने धुनमा, कहिले जिम्मेवारीबोध गराउने नाममा त कहिले व्यंग्यको बहानामा, कहिले माया जताउँदै त कहिले भावनात्मक वाणले घोचेर, जानाजान वा अनायासै यी कुरा प्रायःजसो भनिन्छ अनि सोधिन्छ । त्यस्ता प्रश्न, टिप्पणी, सुझाव र दबाबका लागि चाडपर्वका आशीर्वाददेखि, पारिवारिक तथा सामाजिक भेटघाट र उत्सव सायदै बाँकी रहन्छन् ।
तर, भन्दा/सुन्दा धेरैलाई सामान्य र स्वाभाविक लाग्ने यस्ता वाक्यांश तथा प्रश्नले दिने मानसिक एवं भावनात्मक दबाब र चोटको गहिराइ बुझ्ने प्रयत्न हामी बिरलै गर्छौं । यहाँसम्म कि, सन्तान जन्माउने कि नजन्माउने, कहिले जन्माउने, कतिवटा जन्माउने निर्णय व्यक्तिको ‘निजी निर्णय’ हो, त्यसमा कसैको दबाब र हस्तक्षेप हुनहुँदैन भन्ने कुरा बिर्सिदिन्छौं । उल्टै अनावश्यक र अस्वाभाविक अग्रसरता देखाउँदै व्यक्तिको स्वतन्त्रता र निर्णयलाई नै निमोठ्ने र मन कुँडाइदिने प्रवृत्ति व्याप्त छ ।
कसैसँग यस्ता कुरा गर्नुअघि कहिल्यै सोचेका छौं, बच्चा जन्माउने/नजन्माउने, कतिवटा/कहिले/किन जन्माउने, लगायतका निर्णय लिनुका कारण के होलान् ? त्यो व्यक्ति वा दम्पती कस्तो शारीरिक, मानसिक, भावनात्मक, आर्थिक, पारिवारिक अवस्थाबाट गुज्रिरहेको छ ? गत फागुन ११ गते थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डभित्रैबाट २६ दिनको बच्चा चोरी गर्न विवश २४ वर्षीया युवतीको बाध्यता एउटा दरिलो प्रतिनिधि उदाहरण हो । विवाह गरेको केही वर्षभित्र उनको सात महिनाको शिशु खेर गयो, मानसिक रूपमा विक्षिप्त भइन् । बच्चाकै चाहना गर्दागर्दै ‘झारफुक’ मा विश्वास गर्न थालिन् र अन्त्यमा बच्चा चोरीसम्मको अपराधमा संलग्न भइन् । दाम्पत्य जीवनका अनुभवहरूको उत्कर्षतर्फ उचाइ लिने यात्रा थालनी मात्र गरेकी उनलाई एक सामान्य महिलाबाट अपराधीमा परिणत हुन के–कस्ता पक्ष कारक भए, त्यो हामीले सायदै विचार गरेका छौं ।
कुनै महिलाको धेरै पटक गर्भ तुहिइरहेको हुन्छ । कुनै महिला वा पुरूष शारीरिक अवस्थाले नै बच्चा जन्माउन असमर्थ हुन्छन् । कोही अनेकौं मानसिक आघातले गर्दा अर्को नयाँ जीवन संसारमा ल्याउने विषयमा सोच्नु त परको कुरा, आफ्नै जीवन सिध्याउँछु भनेर रित्तोपन महसुस गरिरहेका हुन्छन् । कोही आर्थिक चपेटामा यसरी साँघुरिएका हुन्छन् कि, पेट पाल्नकै लागि कठिन अवस्थामा आफूलाई बाचाइरहेका हुन्छन् । कोही बच्चा जन्माउने प्रयास असफल भएपछि अरूले जन्माइसकेका बच्चा स्वीकार गर्न आफू र आफ्नालाई मनाइरहेका हुन्छन् । सोचौं त, यस्ता परिस्थिति र मनस्थितिबाट गुज्रिरहेकालाई हामीले मजाकमा होस् वा जानाजान ‘अहिलेसम्म के बच्चा नपाई बसेका’ भन्ने आशयका अभिव्यक्ति दिँदा, कस्तो पीडा हुन्छ होला ?
हामीमा अर्को एउटा गलत बुझाइ छ । विवाहलगत्तै वा विवाहको एकाध वर्षभित्रै बच्चा जन्माउने योजना नभएका, सबै परिस्थिति अनुकूल हुँदाहुँदै बच्चा जन्माउनै नचाहने, एउटाभन्दा धेरै बच्चाको योजना नबनाउने वा एउटै यौनिक तथा लैंगिक पहिचान भएका दुई सन्तानमै पूर्ण महसुस गर्नेका लागि त्यस्ता प्रश्न र सुझाव स्वाभाविक ठानिदिन्छौं । चाहे प्रेम विवाह होस् वा मागी विवाह, वैवाहिक जीवनलाई सुमधुर बनाउन एक–अर्कालाई राम्ररी बुझ्न, एक–अर्काप्रति निःस्वार्स्थ प्रेम, सम्मान र समझदारीको भाव जाग्न आवश्यक हुन्छ । अझ बच्चा जन्माउने निर्णयमा त दुवैको समान सम्झौता र सहकार्यले ठूलो अर्थ राख्छ । यस्ता अर्थपूर्ण व्यवहारमा उनीहरूका आ–आफ्ना सपना र योजनासँगै व्यक्तिगत, शैक्षिक तथा व्यावसायिक उन्नति पनि जोडिएर आउँछन् ।
बच्चा जन्माउने क्षमता छ वा वैवाहिक सम्बन्धमा बाँधिएको छ भन्दैमा पनि, त्यो व्यक्ति वा दम्पतीले बच्चा जन्माउनैपर्छ भन्ने हुँदैन । बच्चा नजन्माइकन पनि विवाहित दम्पतीले पूर्ण सहयात्राको अनुभव गर्न सक्छन् । सन् १९८० को दशकदेखि सुरु भएको ‘डुअल इनकम, नो किड (डिन्क)’ अर्थात् ‘दुवैले कमाउने तर बच्चा नजन्माउने’ अवधारणा यसैको एउटा उदाहरण हो । अहिले यो अवधारणाले पश्चिमा देशसँगै हाम्रै छिमेकी देशहरूमा पनि व्यापकता पाएको छ । नेपालमा पनि थुप्रै ‘डिन्क कपल’ छन्, जो बच्चा नजन्माउने आफ्नो निर्णयमा खुसीसाथ अडिग देखिएका छन् ।
यस्तै, कसैले एउटा मात्रै सन्तान जन्माउँछु भन्छ भने ‘दुई सन्तान, ईश्वरका वरदान’ भन्दै उक्साउनु आवश्यक छैन । कसैको सन्तान छोरा मात्रै छ वा छोरी मात्रै छन् भने छोरा वा छोरी पाउनैपर्छ भन्ने गणितलाई पनि कतै ठाउँ दिनुहुँदैन । त्यस्ता कुनै पनि सुझाव वा दबाबलाई इन्कार गर्दा व्यक्ति अपूर्ण हुने होइन । ‘गिटनक्स मार्केट डेटा रिपोर्ट २०२४’ का अनुसार संसारभर औसतमा २० प्रतिशतको एउटा मात्रै सन्तान छन् र एउटा मात्रै सन्तान जन्माउने प्रवृत्ति अहिले संसारभर मौलाइरहेको छ । बढ्दो व्यस्तता र महँगीको मारमा एउटा मात्रै सन्तान जन्माउँछु, बरु उसको शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकता र अधिकारमा कमी राख्दिन भनेर रोज्न पाउनु अभिभावकको अधिकार र दायित्व दुवै हो ।
बच्चा जन्माउनु एउटा जैविक प्रक्रिया हो । तर यो प्रक्रियासँग प्रत्यक्ष अप्रत्यक्ष थुप्रै सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक, आर्थिक कारणहरू जोडिएका हुन्छन् । ती कारणका आधारमा यो जैविक प्रक्रियालाई रोज्ने कि नरोज्ने, कसरी आत्मसात् गर्ने लगायतका निर्णय लिने अधिकार भने नितान्त बच्चा जन्माउने जोडी (या एकल आमासमेत) मा सीमित हुन्छ । त्यसैले व्यक्तिको त्यस्तो निजी पाटोमा स्वयंको अनुमति र सहमतिबेगर कुनै प्रकारको प्रश्न, टिप्पणी, सुझाव र दबाबको तुक रहँदैन ।

 Image