Successfully Copied

परिपक्व सम्बन्ध 

खुल्ला प्रतिस्पर्धाबाट पहिलो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा प्रमुख कार्यकारी निर्देशक बनेका मोहनप्रकाश चन्दको दाम्पत्य जीवन बडो रसिलो र कसिलो छ ।

खुल्ला प्रतिस्पर्धाबाट पहिलो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा प्रमुख कार्यकारी निर्देशक बनेका मोहनप्रकाश चन्दको दाम्पत्य जीवन बडो रसिलो र कसिलो छ । खाद्य संस्थानमै ३१ वर्ष सेवा गरेका उनी करियरको उचाइमा पुग्नुलाई जीवन संगिनी सरिता चन्दको साथ, सहयोग, धैर्य, प्रेम र प्रेरणाको उपज ठान्छन् । सरितासँगको उनको विवाह प्रसंग पनि रोचक छ ।

मोहन भन्छन्, ‘मेरी मुमा धनगढीबाट मेरा लागि केटी हेर्न बर्दियाको गुलरिया पुग्नुभयो । उहाँले हेरेर चित्त बुझेपछि मात्रै केटी हेर्ने मेरो पालो आयो । मुमाले पहिल्यै यस्तो बान्कीकी केटी छ भन्नुभएको थियो । सोही आधारमा म केटी पछ्याउँदै गुलरियाको क्याम्पससम्म पुगेको थिएँ । केटीहरूको भीडमा पछ्याउँदै जाँदा सबैले पछि फर्किएर हेरे सरिताले हेरिनन् । त्यति भएपछि यो केटी ठीक छ भन्ने लाग्यो र विवाहको टुँगोमा पुगियो ।’ सरिताले भने आमाबुवाले हेरिदिएको केटा राम्रै होला भन्ने लागेकाले विवाहका लागि राजी भएको बताइन् । उनले भनिन्, ‘दुवै परिवारको सहमतिपछि इन्गेजमेन्ट गरियो । बीचको ७–८ महिना ग्यापमा खुबै फोन गर्नुहुन्थ्यो । पीसीओमा फोन आउँदा त्यहाँका मान्छे मेरो घरमा मलाई बोलाउन आउँथे, म लाजले रातोपिरो हुन्थें । टेलिफोन बुथसम्म पुग्थें तर बोली फुट्दैनथ्यो ।’ उतिबेला कर्णालीमा पुल नहुँदा विवाहको जन्ती बोकेको गाडी फेरीमा हालेर कर्णाली तर्दै, राष्ट्रिय निकुञ्जमा ठकुरी राजाहरूको चलनअनुसार बन्दुक पड्काएर हर्ष–बडाईं गर्दै दुलही लिन बर्दिया पुगेको मोहनलाई हिजो जस्तो लाग्छ । दुलही लिएर घर फर्केपछि उनलाई आफूमा जिम्मेवारी बढेको महसुस हुन थाल्यो । भन्छन्, ‘सानो संख्या भएको परिवारबाट मेरो जस्तो धेरै सदस्य भएको संयुक्त परिवारमा पनि सरिताले सहजै एडजस्ट गर्न सफल भइन् । सबैलाई समान व्यवहार गर्ने, सकारात्मक सोच र सबैलाई खुसी पार्न सक्ने क्षमता भएकी उनको परिवार मिलाउन सक्ने कुशलताप्रति म नतमस्तक छु ।×’ सरितालाई विवाहपछिका केही दिन नरमाइला लागे पनि पछि बानी पर्दै गएको बताइन् । विवाहको साढे तीन दशक बितिसक्दा पनि यो जोडीमा एक–अर्काप्रतिको सम्मान, विश्वास र आत्मीयता उस्तै छ । 

श्रीमान्ले प्रायःजसो नेपाल सरकारका तर्फबाट पश्चिमी दुर्गम क्षेत्रमा सेवा गरेकाले विवाहपछि सरिता पनि श्रीमान्सँगै विभिन्न ठाउँ पुगिन् र त्यहाँका दुःख–पीडा नजिकबाट नियाल्ने मौका पाइन् । उनी भन्छिन््, ‘अर्काको दुःख देख्ने मात्रै होइन आफ्नै जीवनकालमा पनि धेरै संघर्ष र चुनौती सामना गरियो । साना बालबच्चा, ठाउँ फेरिरहनुपर्ने, सधै भनेको जस्तो नहुने, त्यस्तो अवस्थामा पनि हामीले एक–अर्काप्रतिको विश्वासलाई टुट्न दिएनौं । काठमाडौं आएपछि पनि संघर्ष गरेरै त्रिचन्द्र कलेजबाट स्नातकोत्तर गरें, एनआइडिसीमा काम गरें, स्कुल पनि पढाएँ । सबैभन्दा कठिन क्षण त काठमाडौंमा घर बनाउँदाको थियो ।’ 

‘०७२ मा भारतले नाकाबन्दी गर्दा नेपाली जनतालाई भोकै पर्न नदिन उहाँ रातदिन खट्नुभयो । कहिलेदेखि थन्किएका पुराना सरकारी गाडीको मर्मत–सम्भार गरेर खाद्यान्न घुम्ती सेवा चलाउनुभयो । यसमा म पनि धेरै खटेकी छु’ सरिता भन्छिन्, ‘त्यतिबेला अशक्त, रोगी, गर्भवती, सुत्केरी तथा महिला र फरक क्षमता भएका व्यक्ति जहाँ छन् उनीहरूको दैलोमै खाद्यान्न पुर्‍याइदिने व्यवस्था गर्नुभयो । उहाँले गरेका यस्ता कामप्रति मलाई सधै गर्व छ ।’ जस्तोसुकै परिवेश र परिस्थितिमा पनि आफूहरूबीचको अटल विश्वास, माया र आपसी समझदारीमा कुनै कमी नआएको यो दम्पतीको भनाइ छ । विवाह सामाजिक सम्झौता हो भन्ने बुझेका मोहन पछिल्ला दिनमा आफूहरूबीचको प्रेम झनै प्रगाढ बन्दै गएको बताउँछन् । भन्छन्–‘बलियो विश्वास र आपसी समझदारी दाम्पत्य जीवनलाई बलियो बनाउने सूत्र हुन् ।’ सरिताले यो सम्बन्धमा अझ मिठास थप्न कहिलेकाहीँ सरप्राइज गिफ्ट दिने गरेकी छन् । मोहन पनि फुर्सद हुनेबित्तिकै सरितालाई सघाउन भान्सामा छिरिहाल्छन् । यो जोडीसँग दशकौं लामा तीतामीठा अनुभव र कथा छन् । स–साना कुरामा कहिलेकाहीँ ठाकठुक परे पनि लामो समयसम्म नरहने बताउँदै सरिता भन्छिन्–‘पहिला–पहिला उहाँले फकाउनुहुन्थ्यो अहिले त उल्टो भएको छ मैले नै फकाउनुपर्छ । प्रेम र सम्बन्ध जति पुरानो उति मीठो र गाढा । हामीमा पनि यही लागू भएको छ । त्यसैले होला मैले जे निर्णय गरे पनि उहाँलाई पूर्णरूपमा विश्वास हुन्छ । मेरो निर्णयमा कहिल्यै हस्तक्षेप गर्नुहुन्न ।’ 

सरिताबारे मोहन प्रकाश

बलियो पक्ष : सबैलाई खुसी पार्न सक्ने र समेटेर लैजान सक्ने क्षमता ।

कमजोरी : छिट्टै आत्तिने ।

योगदान : मेरो सांसारिक सृष्टि धानिदिने योद्धा ।

सुधार्नुपर्ने : अलि धैर्य भइदिए हुन्थ्यो ।

कस्ती श्रीमती : असल र विश्वासयोग्य ।

मनपर्ने बानी : सकारात्मक सोचले भरिपूर्ण ।

मोहन प्रकाशबारे सरिता 

बलियो पक्ष : काममा अत्यन्तै दृढ ।

कमजोरी : झनक्क रिसाइहाल्ने ।

आकर्षक पक्ष : चार्मिङ पर्सनालिटी ।

सुधार्नुपर्ने : कामको तनाव कम लिने गरे राम्रो ।

उहाँलाई कस्तो भएको देख्ने मन छ ? : स्वस्थ र खुसी भएको देख्ने मन छ ।

 Image