महिला मुद्दामा केन्द्रित ‘बोजु बजै’ पडकास्टकी संस्थापक इतिशा गिरीले हालै अंग्रेजी भाषामा ‘एन अर्काइभ’ कविता संग्रह प्रकाशित गरेकी छन् । उनीसँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंशः
लेखनका लागि तपाईंले अंग्रेजी भाषा नै किन रोज्नुभयो ?
मेरा लागि अंग्रेजी भाषा सहज र सरल अनि निकट छ । प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि म पढाइका लागि बाहिर गएँ । हङकङको ‘आइबी’ पढाइ सिध्याएपछि लन्डनबाट ब्याचलर गरें । सानैदेखि कविता लेख्थें, ती सबै अंग्रेजीमै थिए । अंग्रेजीमै मेरा भावना, विचार र ज्ञान राम्ररी व्यक्त गर्न सक्छु भन्ने लागेरै यो भाषा रोजें ।
‘एन अर्काइभ’ कविता संग्रहको मूल सार के हो ?
भन्न गाह्रो छ । किनभने यसमा एउटा सार मात्रै छैन । यसमा ठाउँ, भाषा, सामाजिक तथा राजनीतिक विषय मिसिएका छन् । यो एउटा नितान्त व्यक्तिगत संग्रह भएकाले मैले भोगेका र देखेका अनि अनुभव गरेका विषयहरू यसमा समेटिएका छन् । यो समाजसँग प्रत्यक्ष सरोकार राख्ने खालको पनि भएकाले यसलाई एक प्रकारको विद्रोह पनि भन्न सकिन्छ ।
नेपालमा अंग्रेजी लेखनका चुनौतीहरू के–कस्ता छन् ?
यसका पाठकहरू कम छन् । भाषाकै कारण नेपालबारे नेपालीले नै लेखेका विषयवस्तु हरेक नेपालीसम्म नपुग्न सक्छन् । हो, यी र यस्तै चुनौती हुन् ।
नेपाली समाजमा अंग्रेजी भाषाका पुस्तकलाई कसरी हेरिन्छ ?
नेपाली लेखकका अंग्रेजी पुस्तकहरूको व्याख्या, विश्लेषण राम्रै भएको पाएकी छु । त्यस अर्थमा यसलाई सकारात्मक नै भन्नुपर्छ ।
यसका पाठकहरू कुन तहका छन् ?
यसका पाठकहरू गुणस्तरीय र बौद्धिक तहका छन् ।
तपाईंका पुस्तकले समाजलाई पार्ने प्रभावबारे बताइदिनुहोस् न ।
मेरो बुझाइमा कविता दुई प्रकारका हुन्छन् । एउटा समाजलाई हेर्ने दृष्टिकोण र अर्को आफूभित्रै छामेर हेर्ने आँट समेटिएका कविताहरू । सामाजिक मुद्दामा उठाइएका आवाजहरूले समाजलाई झक्झक्याउने काम गर्छन् । ‘अ सर्भाइभर गाइड फर टिनएज गर्ल’ शीर्षकको मेरो कविता निर्मला पन्त, अंगिरा पार्सीहरूमा केन्द्रित छन् । यिनले समाजमा एक किसिमको तरङ्ग ल्याउने अपेक्षा छ ।
तपाईं पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
अनुवादको काममा व्यस्त छु । आगामी दुई वर्षभित्र नेपाली महिला कवयित्रीहरूका कवितालाई अंग्रेजीमा अनुवाद गरी एउटा संग्रह प्रकाशित गर्ने चाहना छ ।