Successfully Copied

जाडो मौसममा खानपान

शरीरको आवश्यकता र तापक्रमअनुसार उचित खाद्यवस्तु छनोट गर्नुपर्छ । मौसम परिवर्तन भएसँगै दैनिक खानपान र जीवनशैलीमा पनि परिवर्तन ल्याउन जरुरी छ ।

हाम्रो दैनिक खानपानमा मौसम, भूगोल, पर्व तथा संस्कृतिअनुरूप भिन्नता छ । शरीरको आवश्यकता र तापक्रमअनुसार उचित खाद्यवस्तु छनोट गर्नुपर्छ । मौसम परिवर्तन भएसँगै दैनिक खानपान र जीवनशैलीमा पनि परिवर्तन ल्याउन जरुरी छ । उचित खाद्यवस्तुको छनोट गर्न नसक्दा विभिन्न रोगको संक्रमण जोखिम उच्च हुन्छ । जाडो याममा शरीरलाई फुर्ती दिने र न्यानो बनाउने खानेकुरामा विशेष सावधानी अपनाउनुपर्छ । झोलिलो सुप, क्वाँटी, गेडागुडीको रस, हड्डीको सुप, तातो दूध दैनिक थालीमा समावेश गर्दा उपयुक्त हुन्छ । यसबाट शरीरलाई आवश्यक पर्ने पोषणतत्व पाइने हुनाले रोगप्रतिरोधात्मक क्षमतालाई थप मजबुत बनाउँछ । 

उमेर र रोगअनुसार खानपान 

शरीरको तौल, उमेर समूह र स्वास्थ्यस्थितिअनुसार पोषणतत्वको आवश्यकता फरक हुन्छ । मुटुरोग, उच्च रक्तचाप, मोटोपन, मधुमेहका बिरामीहरूले सकेसम्म सिट्रस फल (सुन्तला, कागती, अनार, जुनार, भोगटे), गेडागुडी (राजमा, चना, काबुली चना, केराउ, मुङको दाल), अन्न (फापर, कोदो, मकै, जौ, चामल, ओट्स) मौसमी तरकारी (काउली, ब्रोकाउली, बोडी, सिमी, गाजर, मुला, परबल, स्कुस) उच्च फाइबर पाइने फलफूल तथा हरियो सागपात प्रयोग गर्दा उपयुक्त हुन्छ । जाडो याममा हाडजोर्नी दुख्ने अस्टियोपोरोसिसका बिरामीहरूले क्याल्सियमका मुख्य स्रोत हुने खानेकुरा जस्तै दूध, अण्डा, सालमोन, भटमास, चीज, तोफु खानु उपयुक्त हुन्छ । श्वासप्रश्वास, निमोनियाँ तथा दमका बिरामीले सकेसम्म न्यानो हुने झोलिला प्रोटिनका प्रमुख स्रोत भएका खानेकुरा अण्डा, माछा, मासु, गेडागुडी आदि खानु उपयुक्त हुन्छ ।

जाडो याममा निम्न खाद्यवस्तुलाई आफ्नो दैनिक मेनुमा समावेश गर्न सके शरीरको तापक्रममा सन्तुलन,जोश एवं ऊर्जा प्रदान गर्न मद्दत पुग्छ । 

- तुलसी आयुर्वेदिक र प्राकृतिक औषधि भएकाले चिसोबाट निम्तिने संक्रमण, रुघाखोकी, लु, ज्वरो, पिनास, मधुमेह, उच्च रक्तचाप एवं कोलस्टेरोललाई नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ । तुलसी पानी, अदुवा, मरिच चिया वा पानीका रूपमा बिहान–बेलुका सेवन गर्दा राम्रो हुन्छ । 

- जाडो याममा तिलका विभिन्न परिकार जस्तै तिलको लड्डु, सलादमा ड्रेसिङ, स्मुथी (तिल, सुन्तला, केरा) अचारमा छोप आदिमा प्रयोग गर्न सकिन्छ । तिलमा क्याल्यिसम, आइरन, जिंक, म्याग्नेसियम, भिटामिन ‘बी ६’, प्रोटिन, फाइबरजस्ता पोषण तत्वको पदपूर्ति धेरै हदसम्म हुन्छ । गहतको दाल प्रयोग गरी बनाइने परिकार बगिया तराई–मधेशमा निकै प्रयोगमा आएको देखिन्छ । गहत दैनिक रूपमा प्रयोग गर्दा मिर्गौलाको पत्थरी, रक्तचाप तथा इन्सुलिन नियन्त्रणमा टेवा पुर्‍याउँछ । शाकाहारीले विभिन्न कन्दमूल, सुठुनी, तरुल, स्कुस, फर्सी, सखरखण्ड जाडोमा खान सक्छन् । 

- जाडो मौसममा बिहानीपखको घाम ताप्दै सुन्तला, अंगुर, अनार, भोगटेजस्ता भिटामिन ‘सी’युक्त (सीट्रस) फलफूलको प्रयोग गर्नुपर्छ । यिनले शरीरमा नयाँ ऊर्जा उत्पन्न गरी छालालाई चम्किलो बनाउनुका साथै रेटिनाको कार्यक्षमता बढाउँछन् । सीट्रस फलफूलमा पाइने ‘हेस्पेरेडिन’ तत्वले शरीरका खराब कोलेस्टेरोललाई कम गराई रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । 

- यो मौसममा विशेषगरी मेथी, बेथु, पालक र तोरीको साग, ब्रोकाउली एवं धनियाँ आदि खानु उपयोगी मानिन्छ । 

- भिटामिन ‘डी’ र ‘ई’ को प्रमुख स्रोत अण्डा पूरक प्रोटिन भएको खाद्यवस्तु हो । अण्डाको पहेंलो भागमा प्रशस्त भिटामिन ‘डी’ प्राप्त हुनाले यसले जाडो मौसममा लाग्ने खोकी र छातीको संक्रमणबाट जोगाउँछ । यो मौसममा तरकारीको तातो सुप, मसरुम सुप, चिकेन ब्रोथ सुप, गेडागुडीको झोल आदि उपयुक्त हुन्छ । 

- जाडो मौसममा अदुवा, लसुन, दालचिनी, बेसार, ल्वाङ आदि स्पाइसी चीजको प्रयोग गर्दा शरीरलाई तातो राख्नुका साथै सर्दी एवं रुघालाई टाढा राख्न मद्दत पुर्‍याउँछ । ज्वानोको रस, अदुवाको चिया, बेसार, दालचिनी, मह र ल्वाङ मनतातो पानीमा दैनिक बिहान–बेलुका जाडोमा प्रयोग गर्दा टन्सिल, रुघा, फ्लू, ज्वरो, निमोनियाँ आदिबाट छुटकारा पाउन सकिन्छ । 

- कार्बोहाइड्रेट र प्रोटिनयुक्त मकै, भटमास, बाजरालाई भुटेर जाडोमा प्रयोग गर्दा शरीरलाई न्यानो महसुस हुन्छ । राजमा, चना, मटर एवं क्वाँटीले जाडो मौसमलाई थप विशेष बनाउँछ । 

- बेलुकीपख एक गिलास मनतातो दूध, ३–४ दाना काजु–बदाम एवं एक चम्चा मह मिसाएर पिउँदा राम्रोसँग निद्रा लाग्छ । यसले शरीरलाई न्यानो बनाउनुका साथै जाडोको लामो रातमा रगतमा पोषणतत्वको कमी हुन दिँदैन । हाडजोर्नीका बिरामीले जाडोमा खुट्टा एवं घुँडा दुख्ने समस्याबाट बढी जुध्नुपर्ने भएकाले क्याल्सियमले भरिपूर्ण दूध, चीज, सालमोन, प्राउन एवं अण्डा आदि खानुपर्छ ।

(विपिन डाइटिसियन हुन्)

 Image