Successfully Copied

दानवीर बलिउडकर्मी 

२१ दिन लकडाउन गरिएको भारतमा बलिउड कलाकारले सरकारी कोषमा उल्लेख्य सहयोग गरिरहेका छन् ।

कोरोना नामक विषाणुका कारण अहिले विश्व नै आतंकित छ । चीनबाट सुरु भएको उक्त विषाणु विश्वका करिव दुई सय मुलुकमा फैलिसकेको छ । ३३ हजार भन्दा बढीको मृत्यु भएको छ भने लाखौं ब्यक्ति संक्रमित अवस्थामा रहेका छन् । अहिले विश्व नै कोरोनाविरुद्धको लडाईंमा लागेको छ । 

कोरोनाको डिफेन्समा उत्रिएका विभिन्न देशमा लकडाउन गरिएको छ । र नागरिकलाई खाद्य एवम् स्वास्थ्य सुरक्षा दिन सरकारले प्रायः देशमा राहत कोषको स्थापना गरेको छ । २१ दिन लकडाउन गरिएको भारतमा बलिउड कलाकारले सरकारी कोषमा उल्लेख्य सहयोग गरिरहेका छन् ।

अक्षयकुमारले दिए २५ करोड

बलिउड अभिनेता अक्षयकुमारले कोरोनाविरुद्ध लड्नकालागि सरकारले खडा गरेको कोषमा २५ करोड भारतिय रुपैयाँ योगदान गरेका छन् । सामाजिक सञ्जाल ट्विटर मार्फत् अक्षयले उक्त सहयोग रकम घोषणा गरेका हुन् । कोरोना संकटका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थापना गरेको ‘पीएम केयर्स फण्ड’लाई अक्षयले उक्त रकम सहयोग स्वरुप दिने बताएका छन् ।

प्रधानमन्त्री मोदीले कोरोना महामारीको चपेटामा परेकाहरूलाई सहयोग गर्ने उदेश्यले उक्त कोष स्थापना गरेको बताएका थिए । कोष स्थापनापछि मोदीले सक्दो सहयोग गर्न सार्वजनिक अपील गरेका थिए । मोदीले अपिल गरेको २० मिनेट नपुग्दै अभिनेता अक्षयले दिल खोलेर सहयोगको हात अघि बढाएका हुन् । अक्षयले ट्विटमा भनेका छन्, ‘यो समय हाम्रा मानिसको जीवन सबैभन्दा महत्वपूर्ण छ । यो घडीमा हामीले सम्भव भएसम्म सबै किसिमको सहयोग गर्नुपर्छ । म मेरो खाताबाट पीएम केयर कोषलाई २५ करोड दिने बाचा गर्दछु र यसमा मलाई ज्यादै खुशी लागेको छ । जीवन छ त संसार छ ।’

धवनको ५५ लाख सहयोग

बलिउड कलाकार वरुण धवनले पीएम केयर फण्डमा ३० लाख र ‘महाराष्ट्र सिएम रिलिफ फण्ड’मा २५ लाख गरी कुल ५५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । ‘देश छ त हामी छौं । हामी तपाईको साथमा छौं ।’ भन्दै उनले उक्त सहयोग घोषणा गरेका हुन् ।

सलमानले मजदुरलाई सहयोग गर्ने

मानव सेवामा रुचि राख्ने सलमान खानले यसअघि पनि विपदको घडीमा विभिन्न सहयोग गर्दै आएका छन् । 

कहिले ११ बर्षिया बालिकाकालागि बोनम्यारो दिएर त कहिले विइग ह्युमेन नामक संस्था मार्फत च्यारिटी गरेर उनले आफू भित्रको मानवता पस्किइ रहन्छन् । यसपटक पनि उनले सबैको मन जितेका छन् । उनले अहिले दैनिक ज्याला–मजदुरी गर्ने कामदारलाई आर्थिक सहयोग गर्दै बलिउडमा सक्रिय सम्पूर्ण संघसंस्थालाई थप सहयोग गर्न अपील गरेका छन् । उनले विशेषत बलिउडमा कामगर्ने कामदारलाई सहयोग गरेका हुन् । 

कपिलले दिए ५० लाख, ऋतिकले २० लाखसँगै सुरक्षा सामग्री

भारतको चर्चित टेलिभिजन शो कमेडी च्याम्पियनका कपिल शर्माले ‘पीएम कयेर फण्ड’मा ५० लाख र अभिनेता ऋतिक रोशनले २० लाख रुपैयाँका साथै मास्क र अन्य सुरक्षा सामग्री सहयोग गर्ने बताएका छन् । रोशनले भनेका छन्, ‘लकडाउनको घडीमा यी सामग्री ज्यादा उपयोगी हुन सक्ला ।’

अरु कलाकार र खेलाडीले कति–कति दिए ?

अभिनेत्री हेमा मालिनीले एक करोड र सनी देवलले ५० लाख रुपैयाँ सहयोग दिने भएका छन् । क्रिकेटर शुरेस रैनाले पनि ५२ लाख रुपैंया जम्मा गर्ने घोषण गरेका छन् । उनको यो सन्देश लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले रिट्वीटमा भनेका थिए, ‘ग्रेट फिफ्टी ।’

दक्षिण भारतीय कलाकार पनि सहयोगमा जुट्दै

दक्षिण भारतीय कलाकारले पनि सरकारी कोषमा सहयोगको घोषणा गरेका छन् । कलाकार पवन कल्यानले भारत सरकारको ‘पीएम कयेर फण्ड’ मा एक करोड र तेलंगना सिएम रिलिफ फण्डलाई ५० लाख रुपैयाँ दिने बताएका छन् । त्यस्तै बाहुबली नायक प्रभासले केन्द्र सरकारको कोषमा ३ करोड र विभिन्न राज्य सरकारलाई १ करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।

कलाकार राम चरणले ७० लाख सहयोग गर्ने बताएका छन् भने महेश बाबुले १ करोड रुपैयाँ दक्षिण भारतका विभिन्न राज्य सरकारलाई दिने भएका छन् । अल्लु अर्जुनले सरकारलाई १ करोड ५० लाख सहयोग गर्ने भएका छन् । साउथका सुपर स्टार कहलिएका रजनीकान्तले दैनिक ज्यालामा कामगर्ने चलचित्रकर्मीहरुको सहयोगको लागि अग्रसर भएका छन् । उनीहरुको हित र सुरक्षाको निम्ति उनले ५० लाख रुपैयाँ सहयोग गर्ने बताएका छन् ।

हरेक देशमा लकडाउन पछि उच्चवर्ग र मध्यमवर्गका मानिस आफ्नो घरमा समय बिताइरहेका छन् भने गरिब तथा निम्नवर्गीय मानिस सडक संघर्षमै छन् ।

 Image