हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
चाँदनी बज्राचार्यलाई घरमा चित्रको कीरा भनिन्थ्यो । एकछिन फुर्सद भयो कि पानामा विभिन्न चित्र कोरिहाल्थिन् । स्केचप्रति उनको लगावले नै एसलसीपछि ललितकलामा भर्ना भइन् । तर पेन्टिङमा धेरै विद्यार्थी भएकाले उनलाई मूर्ति विधामा सारियो ।
एकजनामात्रै महिला भएकाले सुरु–सुरुमा सारै दिक्क लाग्थ्यो । तर माटोबाट विभिन्न आकारहरू बनाउन थालेपछि भने उनी रमाउन थालिन् । कलेजका साथमा गोपाल कलाप्रेमीसँग पनि घरमै मूर्तिकलाका कक्षा लिन सुरु गरिन् ।
उनले गुरु कलाप्रेमीसँग ओशो तपोवनको मूर्ति प्रोजेक्टमा काम गर्न पाइन् । कलेजपछि उनले विभिन्न विद्यालयमा मूर्तिका कक्षाहरू लिन थालिन् । २२ वर्षमा थुप्रै विद्यार्थीलाई मूर्तिकलाको ज्ञान दिएकी चाँदनीले
आफ्नो सिर्जनालाई भने बाहिर ल्याउन सकेकी थिइनन् । त्यसैले साथीहरूसँग मिलेर केही समयअघि गणेश सिरिजका मूर्तिहरू प्रदर्शनीमा राखेकी छिन् । अब उनी आफ्नो सिर्जनालाई सक्रिय बनाउन घरमै वर्कसप बनाउने सोचमा छिन् ।