Successfully Copied

रंगमञ्चमा समाज रूपान्तरणको सपना

मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।

मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् । यसरी रुमलिएको समाजलाई बुझाउन सक्ने सशक्त माध्यम भनेकै नाटक हुन सक्ने रंगकर्मी विष्णुमाया परियारको बुझाइ छ । त्यसैले त उनले नाटकमार्फत नै बाल विवाह, जातीय तथा वर्गीय विभेदसँगै संस्कृति र प्रकृति संरक्षणको आवाज बुलन्द रूपमा कर्णालीदेखि काठमाडौंसम्म नाटकमै उठाउँदै आएकी छन् । 

कर्णाली मुगुकी परियार रंगमञ्चमा झन्डै १२ वर्षदेखि सक्रिय छिन् । काठमाडौंमा भएको ‘अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५’ मा कर्णाली प्रदेशबाट छनोट भएर मञ्चन गरिएको नाटक ‘गर्भछिटा’ र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय नाटक महोत्सव–२०७६’ अन्तर्गत कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन गरिएको नाटक ‘पम्फाफूल’ ले परियारलाई रंगमञ्च, नाट्य क्षेत्र र नाट्यप्रेमीबीच नजिक बनायो । बितेका एक दशकमा कति नाटक गरे भन्ने उनीसँग एकिन विवरण नभए पनि उनका लागि यी दुई नाटक नै विशेष छन् । भन्छिन्, ‘स्कुल पढ्दादेखि नै बाल तथा युवा क्लबमा सहभागी भएर नाटकहरू त गर्थें । पछि विवाह भएपछि नाटकहरू सिकेरै गर्न थालें । गर्भछिटा र पम्फाफूलले नै मलाई रंगमञ्चमा चिनाए ।’ 

मुगुकै रंगकर्मी हीरा बिजुली नेपालीसँग २०६८ सालमा विवाह भएपछि श्रीमान्सँगै उनी नाट्य क्षेत्रतिर लागिन् । उनका श्रीमान् नेपाली कर्णालीको समुन्नत संस्कृतिलाई कलामार्फत नै बाहिर ल्याएर कर्णालीलाई राज्यसत्ताले हेर्ने नजर र गरिने भाष्यलाई परिवर्तन गर्नुपर्छ भन्ने दौडमा निरन्तर लागिपरेका छन् । यसमा परियार पनि श्रीमान् सँगसँगै जीवन र रंगमञ्चको यात्रामा सहकार्य गर्दैछिन् । 

विवाहअघि नाटक भन्ने विधा उनलाई थाहा भए पनि रंगमञ्चको माहोल उनले श्रीमान्बाट नै बुझिन् । ‘हीराजीसँग विवाह भएपछि लगत्तै नाटक गरियो । उहाँले तिमीले नाटक गर्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो तर मलाई लाज लाग्थ्यो । उहाँबाट नै रंगमञ्च भनेको यस्तो हुँदो रहेछ भन्ने अझै धेरै थाहा भयो’, उनी सुनाउँछिन् । श्रीमान्सँगै उनले सुरुमै जलवायु परिवर्तनसम्बन्धी नाटक गरिन् । नाम भने ठ्याक्कै बिर्सिइन् । त्यसपछि लगातार उनी रंगकर्ममै अभ्यस्त छिन् । श्रीमान्सँगैको रंगमञ्चको यात्रा र केही दिनको नाट्य कार्यशालाबाहेक उनले औपचारिक ज्ञान लिएकी थिइनन् । श्रीमान्सँग नाटकसम्बन्धी सिकाइ भइरहे पनि उनलाई भने जिस्केको जस्तो हुन्थ्यो । उनी बाहिर अर्कै गुरुसँग गएर रंगमञ्चको ज्ञान लिने सोचमा थिइन् । 

ठ्याक्कै त्यही समयमा झन्डै दुई वर्षअघि मण्डला थिएटरले सञ्चालन गरेको मण्डला ड्रामा स्कुलमा उनले १८ महिना नाट्य प्रशिक्षण लिने अवसर पाइन् । मण्डलामा पढ्न थालेपछि उनलाई साँच्चिकै नाटक सिकेजस्तो भान भयो । उनी हाँस्दै भन्छिन्, ‘यता डरले पनि सिक्नुपर्छ भन्ने भयो । मैले मण्डलामा गुरुहरूसँग सिकेको र हीराजीले सिकाउनुभएको एकै खालेजस्तै थियो । धेरै नजिक र माया गर्ने भएर मैले नटेरेको मात्र हो ।’ श्रीमान् हीरालाई उनी रंगमञ्चको आफ्नो गुरुकै रूपमा लिन्छिन् । श्रीमान्को रंगमञ्चप्रतिको प्रेम, लगाव र प्रेरणाले आफू यतातिर दत्तचित्त भएर लागेको उनको भनाइ छ । श्रीमान्ले स्थापना गरेको ‘कर्णाली आर्ट सेन्टर’ उनलाई अहिले आफ्नै लाग्छ । यसलाई आफैं लिड गर्न सक्छु भन्ने आँट उनलाई मण्डलाको क्लासले दिएको छ । ‘मलाई मण्डलाको कोर्सले आत्मबल दियो । द्वन्द्व नगरी समाज रूपान्तरण नाटकबाटै गर्न सकिन्छ भन्ने सिकें’, उनी थप्छिन् । नाटकमा मनोरञ्जन हुन्छ । यसबाट समाजलाई छिट्टै बुझाउन सकिने भएकाले यसैबाट समाज बदल्ने अठोट उनले लिएकी छन् । श्रीमान्–श्रीमती दुवै एउटै क्षेत्रमा भएकाले उनीहरूले गर्ने काममा परिवारको समर्थन छ । ९ र ३ वर्षका छोराहरू हुर्कदैछन्, उनी अहिले ढुक्क छिन् । रंगमञ्चमा आफूभन्दा फरक हुनुपर्छ भन्ने उनकाश्रीमान्को सपना छ । उनमा पनि रंगमञ्चको यात्रामा निकै टाढासम्म पुगेर यसैमा आफ्नो दरिलो उपस्थिति देखाउने दृढ विश्वास जागेको छ । 

 Image