दराजमा महिला
नेपालको ‘अनलाइन’ बजारमा ‘दराज’ कम्पनी चार वर्षयता सञ्चालनमा छ । ‘अनलाइन सपिङ’ गर्नेहरूका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनेको छ । ग्राहकहरूको आवश्यकतानुसार कम्पनीले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।

१०९ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर चित्रकला तथा कविता वाचन कार्यक्रम सम्पन्न गरिएको छ । मूलबाटो प्रतिष्ठानले काठमाडौंको खुला मञ्चमा कार्यक्रम गरेको हो । सो अवसरमा कलाकार रसिकराज र इपिएस स्कुलका विद्यार्थीहरुको तयार गरेका महिला हिंसाको अवस्था झल्किने चित्रकला प्रर्दशन गरिएको थियो ।
कार्यक्रममा कविहरु अस्मिता राई, प्रज्वल अधिकारी, स्मृती रानाभाट, सुरज पराजुली, राजु झल्लुप्रसाद र अन्शु खनालले लैंगिक हिंसा विरुद्धका कविता वाचन गरेका थिए । मूलबाटो प्रतिष्ठान नेपालले हरेक वर्ष फागुन महिनाभर लैंगिक हिंसा विरुद्ध विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।
शनिबार भएको कार्यक्रममा प्रमुख अतिथि रहेकी अभियान्ता एवं लेखक राधा पौडेलले लैंगिक हिंसा अन्त्य गर्नका लागि फरक कोणबाट बहस गर्नुपर्नेमा जोड दिईन् । उनले भनिन् ‘हिंसा हुने मुख्य थलो भनेको घर र विद्यालय हो । त्यसैले हामीले लैंगिक हिंसा न्यूनिकरण गर्नको लागि घर र विद्यालय केन्द्रित रहेर बहस शुरु गर्न जरुरी छ ।’
ललितकला प्रतिष्ठानकी प्राज्ञ अरुणा हिङमाङ आफुले महिला हिंसा बिरुद्ध विम्बात्मक चित्र बनाएकै कारण नारीको चित्र कोर्ने चित्रकार भनेर चिनिएको बताउँछिन् । भनिन् ‘मैले बनाएको चित्रले धेरै सन्देश दिएको छ त्यसले गर्दा मलाई आपत्ति छैन, तर यो नारीको मात्रै समस्या हैन साझा समस्या हो भनेर बुझाउन गाह्रो छ अझै पनि ।’
सबै किसिमको लैंगिक हिंसा न्यूनिकरण गर्नको लागि मूलबाटो प्रतिष्ठान नेपालले कार्यक्रमको आयोजना गरेको अध्यक्ष प्रगती राईले जानकारी दिईन् ।