नर्भिक इन्टरनेसनल हस्पिटलले यो वर्षको विश्व बाथरोग दिवस विविध जनचेतनामूलक कार्यक्रम तथा मोटरसाइकल र्यालीको आयोजना गरेर मनाएको छ । बाथरोग दिवस हरेक वर्ष अक्टोबर १२ तारिखका दिन विश्वव्यापी रूपमा मनाइन्छ ।
नर्भिकको उक्त कार्यक्रममा बाथरोगीहरूका अतिरिक्त सर्वसाधारण, चिकित्सकसहित करिब १ सय ५० जना संलग्न थिए । बाथरोगले अन्य रोगको दाँजोमा बढीभन्दा बढी नेपालीलाई ग्रसित तुल्याउँदै आएको छ । भनिन्छ, सबै उमेर समूहका मानिस जीवनको कुनै न कुनै समयमा कुनै न कुनै किसिमको बाथरोगबाट ग्रसित हुँदै आएका छन् ।
पुरुषको दाँजोमा महिलाहरू यो रोगको अझ बढी सिकार हुने तथ्याङ्कले देखाएको छ । चिकित्सकहरूका अनुसार बाथरोगलाई समयमै नियन्त्रणमा नलिने हो भने त्यसले रोगीको आयुसमेत घटाउँछ ।