अनु अनमोल क्षेत्री
बाल्यावस्थादेखि नै म राम्रो नृत्य गर्थें, अभिनयमा पनि रुचि थियो । यो मेरो ‘प्यासन’ नै थियो । म त्यही कला र शक्ति लिएरै हुर्किएँ । रुचिकै कारण म यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।

साँखुकी एक थकाली नंकी (ज्येष्ठ महिला) को जीवनको चौथो जङ्क्व (दिव्य रथारोहण) सम्पन्न भएको छ । नेवारी परम्पराअनुसार दुर्लभ मानिने उक्त संस्कार मनाउने भाग्यमानी थिइन्, शंखरापुर नगरपालिका–७ चलाखु टोलकी राजामती डंगोल । उनी जंक्वका बेला ९९ वर्ष ९ महिना ९ दिन ९ घडी ९ पला पुगेकी थिइन् । सेताम्मे केश तथा गोरो अनुहारमा उनको मुस्कान आकर्षक देखिन्थ्यो । आशीर्वाद लिन आउनेहरूले दिनभरि भेटीसहित ढोग्दै राजामतीसँग आशीष मागे र उनको दीर्घायुको कामना गरे । नेवारी परम्परामा यो संस्कार गरेकाहरूलाई साक्षात् भगवान् मानिन्छ ।
दुई छोरा तथा चार छोरीकी आमा राजामतीका १ सयभन्दा बढी नाति–पनाति तथा बुहारी छन् । उनका ज्वाईं शम्भुराम श्रेष्ठ भन्छन्–‘दिव्यरथारोहण गर्ने योजना ५ वर्षअघिकै हो । केही तलमाथि होला भन्ने डर थियो । भगवान्ले ग्रहदशा पन्छाएर सफल बनाइदिए ।’ उनले थपे–‘परिवारका सबै सदस्यको साथ र सहयोगबाट यो संस्कार सम्भव भयो ।’ नेवारी परम्पराअनुसार पहिलो जंक्व (भीमरथारोहण) ७७ वर्ष, ७ महिना, ७ दिन, ७ घडी, ७ पला उमेर पुगेपछि गरिन्छ । दोस्रो चन्द्ररथारोहण जन्म भएर १ हजार पटक पूर्णिमा दर्शन हुने बेलाको साइतमा ८२ वर्षको उमेरमा लाख बत्ती बालेर गरिन्छ । त्यतिबेला वसुन्धरा मण्डल दर्शन गराएर अष्टसिद्धिको कामना गर्ने चलन छ ।
तेस्रो (देवरथारोहण) ८८ वर्ष, ८ महिना, ८ दिन, ८ घडी, ८ पलामा गरिन्छ जसमा रथलाई झ्यालबाट भित्र्याइन्छ । यसलाई महारथारोहण पनि भनिन्छ । चौथोमा दिव्यरथारोहण गरिन्छ । यो उमेरसम्म बाँचिरहने बूढाबूढीलाई नयाँ घ्याम्पोमा राखिन्छ जसलाई गर्भमा बसेको मानिन्छ । त्यसपछि गुरुजुद्वारा तान्त्रिक विधिपूर्वक उक्त घ्याम्पोको पूजा गरिन्छ । त्यसपछि बच्चा जन्मिएको भावअनुरूप घ्याम्पो फुटालेर अगाडिपट्टिबाट वृद्धवृद्धालाई निकालिन्छ । यसलाई पुनर्जन्मका रूपमा लिइन्छ । यो परम्पराअनुसार वृद्धवृद्धालाई पांग्रा भएको रथमा राखेर नगर परिक्रमासमेत गराइन्छ ।
गुरुजु आनन्दराज राजोपाध्याय भन्छन्–‘दिव्यरथमा चढेर नगर परिक्रमा गर्नु ३३ कोटी देवताको दर्शन गर्नुसरह हो ।’ ‘जंक्वमा अग्नि साक्षी राखी होम–जप गरेर सूर्यको किरणमार्फत ग्रहदशा शान्त गरिन्छ,’ राजोपाध्यायले भने–‘वैज्ञानिकहरूले सूर्यलाई ग्रह मान्दैनन् । हामी ग्रहका राजा स्वामी गुरु वृहस्पतिलाई मान्छौं ।’ ‘पृथ्वी वायुमा अडेको गुरुत्वाकर्षणले गर्दा हो,’ उनले भने, ‘गुरुत्वाकर्षण चुम्बकीय दिशालाई आधार मानेर सही समयमा गरिने पूजाले बूढाबूढीको आत्मबल बढाउँछ ।’
चाबहिल गणेश मन्दिर प्राङ्गणमा गरिएको रथारोहणमा ११ महादेवलाई साक्षी राखेर पूजा गरिएको थियो भने २७ वटा कलशमा देवी–देवताको साधना गरिएको थियो । सुरुमा डंगोलको नङ काट्न लगाई पञ्चामृतले अष्टनाग कलशबाट स्नान गराएपछि यमरी र चटामरीले अभिषेक गराइयो । त्यसपछि आरोग्यताको कामना गर्दै दूबोलाई तेल र पिठोमा डुबाएर टाउको, हात र खुट्टामा छुवाएर पूजा गरिएको थियो । ‘पाँचांैपल्ट हुने रथारोहण भने अहिलेसम्म कसैले गरेको थाहा छैन,’ गुरुजु राजोपाध्यायले भने । पाँचौंपल्ट गरिने महादिव्य रथारोहण १०८ वर्ष, ८ महिना, ८ दिन, ८ घडी, ८ पलामा गरिन्छ ।