Successfully Copied

कलाकार जोडी सविता र ईशान

सविताको परिवारमा ईशानको जातका कारण समाजले केही भन्छ कि भन्ने डर थियो । जन्मजात लिएर आउने जातभन्दा कर्मलाई मान्नुपर्छ भन्ने मान्यता बुझाउन सकेकाले उनीहरूको विवाह घरपरिवारकै सहमतिमा भयो ।

हरेक व्यक्तिसँग कुनै न कुनै क्षमता हुन्छ तर त्यो क्षमतालाई प्रस्फुटन गराउन वातावरणका साथमा आफ्नो भित्री क्षमता चिन्न सक्नुपर्छ । सानैदेखि स्केच कोर्न सिपालु सविताले आफू कलाकार बन्छु भन्ने कहिल्यै सोचिनन् । एसएलसीपछि ललितकलामा गायन पढ्न गएकी सविता साथीहरूको लहैलहैमा आर्ट पढ्न थालिन् । जहाँ उनको भेट ईशान परियारसँग भयो । पोखराका ईशानले भने सानैदेखि आर्टिस्ट बन्छु भन्ने सपना बुनेका थिए । एसएलसीपछि आर्थिक अवस्थाका कारण पोखराकै आर्ट ग्यालरीमा काम गर्न पुगेका ईशान आफ्नो सपना पूरा गर्न अध्ययन पनि आवश्यक हुने महसुस गरी काठमाडौं आएका थिए । सवितालाई आर्टको त्यति ज्ञान थिएन । त्यसैले उनी आर्टमा अनुभवी ईशानसँग नजिकिइन् ।

ईशानको आर्टप्रतिको रुचिकै कारण सवितामा म पनि कलामा केही गर्छु भन्ने आँट बढ्न थाल्यो । ईशान भने सवितासँग पहिलो पल्ट भेट्दा नै उनमा केही छ, यदि राम्रो गाइड वा गुरु पाइन् भने पक्कै राम्रो कलाकार बन्न सक्छिन् भन्ने विश्वासमा थिए । उनीहरू सकेसम्म कसैको कला प्रदर्शनी हेर्न छुटाउँदैनन् र साना–ठूला प्रतियोगिताहरूमा भाग लिइरहन्छन् । सविताको परिवारले ईशानलाई सविताको मिल्ने साथीका रूपमा चिनेका थिए र उनीहरू ईशानसँग भनेपछि ढुक्क पनि हुन्थे । ईशान र सविता फुर्सद भयो कि पाटन दरबार स्क्वायर, वसन्तपुरतिर ल्यान्डस्केप गर्न पुगिहाल्थे ।

ब्याचलर सकेपछि अब सँगै बसेर आर्टमा लाग्नुपर्छ भन्ने ईशानको कुरामा सविताको स्वीकृति नहुने कुरै थिएन । सविताको परिवारमा ईशानको जातका कारण समाजले केही भन्छ कि भन्ने डर थियो । जन्मजात लिएर आउने जातभन्दा कर्मलाई मान्नुपर्छ भन्ने मान्यता बुझाउन सकेकाले नै उनीहरूको विवाह घरपरिवारकै सहमतिमा भयो । विवाहपछि कला क्षेत्रमा अझ निखारिएर अघि बढ्न सकेकोमा एक–अर्कालाई श्रेय दिन्छ, यो दम्पती । आफ्नो कामको कन्सेप्ट बनाउँदा नै उनीहरू आपसी सल्लाह गर्छन् । उनीहरूको आर्ट गर्ने समय पनि धेरैजसो एउटै हुन्छ । छुट्टाछुट्टै कर्नरमा बसेर आ–आफ्नो सिर्जना गर्ने यो दम्पतीमध्ये सविताको आर्ट कांग्यो बेस हुन्छ भने ईशानको ढुंगा ।

 गत वर्ष उनीहरूले डबल सोलो (दुईजनाको) कला प्रदर्शनी गरेका थिए । आ–आफ्नो सोलो कला प्रदर्शनीमा उनीहरू एकअर्कालाई सहयोग गर्छन् । दुवैले अहिले पर्फमेन्स आर्टलाई पनि सँगसँगै लगिरहेका छन् । सविताले पर्फमेन्स आर्टमै मास्टर गरेकी छिन् । पर्फमेन्स आर्ट लिएर यो जोडी विभिन्न देशमा पनि पुगिसकेको छ । आर्टमै व्यस्त उनीहरू घरका हरेक काम मिलेर गर्छन् ।

एकजना अर्काे क्षेत्रको भए यसरी सबै काममा सहयोग पुग्दैन भन्ने सविता ईशान श्रीमान् नभएको भए आफ्नो कला यात्रा पक्कै यसरी अघि नबढ्ने बताउँछिन् । यो दम्पतीको एउटै सपना छ–‘एउटै क्यानभासमा दुवैले आर्ट गर्ने ।’ एउटै पेसा र घरमै बेस्ट फ्रेन्ड हुने हुँदा काम गर्न अझ सजिलो र उपयुक्त वातावरण बन्ने सविता र ईशान बताउँछन् ।

बेफाइदा : एउटै क्षेत्रमा हुँदा राम्रो मूल्यांकन गर्दागर्दै पनि श्रीमान्–श्रीमती दुवैलाई हुँदैन भनेर पुरस्कार, सम्मान तथा विदेशका कार्यक्रममा एक जना मात्र छानिनु ।

सविताको नजरमा ईशान

कलाप्रति निकै संवेदनशील, सारै मेहनती र काम गरेर कहिल्यै नथाक्ने ।

ईशानको नजरमा सविता

राम्रो काम गरियो भने पक्कै मूल्यांकन हुन्छ भनेर काममै फोकस हुने उनको बानी छ । मिलेर काम गर्नुपर्छ, कलालाई बेसिकदेखि बुझ्नुपर्छ भनेर सिक्नेहरूलाई पनि मेहनतका साथ सिकाउँछिन् । कुनै कुरामा गुनासो गर्दिनन् ।

 Image