समाजसेवी यमु
काठमाडौंस्थित बागबजारमा जन्मिएकी यमु सुब्बा समाजसेवामा रुचि राख्छिन् । अमेरिकामा बालबालिकाको मानसिक र शारीरिक विकाससम्बन्धी कार्यक्रममा उनले धेरै काम गरिन् ।

भगवती खत्री (अविवाहित, ६६ वर्ष)
विवाह के हो ?
विवाह बन्धन हो, माया–मोहमा जेलिने मेसो ।
विवाह नगरी बस्नुको फाइदा ?
कसैको बन्धनमा बाँधिएर बस्नु पर्दैन । स्वनिर्णयमा चल्न पाइन्छ । कसैलाई खुसी तुल्याउनुपर्ने बाध्यता हुँदैन । आफूलाई सही र उपयुक्त लागेका कुरा गर्न कसैबाट बाध्यता सिर्जना हँुदैन ।
कहिल्यै विवाह गरौं जस्तो लागेन ? यदाकदा आफू एक्लो भएको महसुस हँुदैन ?
ममा त्यस्तो चाहना वा रहर कहिल्यै जागेन । विवाह गरेर सन्तान जन्माउनेहरू पनि कालान्तरमा एक्लै भएको देख्दा यो संसारमा एक्लै आउने, एक्लै जाने रहेछ जस्तो लाग्छ । आखिर एक्लै नै भइने रहेछ भन्ने लाग्छ । म आफ्नो निर्णयमा अडिग र आत्मविश्वासी भएकीले पनि कहिल्यै डगमगाइन ।
अरूका श्रीमान्, सन्तान, परिवार देख्दा कस्तो लाग्छ ?
खुसी लाग्छ । मेरो आफ्नै किसिमको खुसी छ । सबैजना सबैकुरामा खुसी हुँदैनन् र हुन पनि सक्दैनन् । खुसी हुने माध्यम सबैको एउटै हुन्छ भन्ने पनि लाग्छ । यद्यपि म जे छु त्यसैमा सन्तुष्ट छु ।
विवाह नगर्दा सामाजिक अड्चन, टीका–टिप्पणी आदि कत्तिको झेल्नुपर्यो ?
त्यो बेलाको समाज, जतिबेला छोरीको विवाह सानै उमेरमा गर्ने चलन थियो । त्यस्तो बेला एक्लै बस्छु भन्नु परिवार अनि समाजका लागि निकै ठूलो चुनौती थियो । म यो कुरामा खुसी छु कि मेरा जन्मदाता (आमाबुवा) लाई आफैंसँग राखेर अलिकति भए पनि सन्तान धर्म निर्वाह गर्नसकें । शुद्ध मन, बचन एवं कर्मले आफ्नो कर्तव्य निर्वाह गर्दै गइयो भने पारिवारिक तथा सामाजिक टीकाटिप्पणी पनि गौण हुँदै जाँदा रहेछन् ।