सामाजिक सञ्जाल
सोसियल नेटवर्किङले संसार गर्माएको छ जसबाट नेपाल पनि अछुतो छैन । सामाजिक सञ्जालले विश्वलाई एकत्रित बनाई वान स्मल भिलेजका रूपमा विकसित गर्ने क्रममा नेपाल पनि आधा दशकदेखि यससँग घनिष्ट सम्बन्ध स्थापित गर्न सफल भएको छ । पछिल्लो समयमा व्यापार, व्यवसाय, पेसा, कन्फरेन्स, सेमिनार, कार्यशालालगायत हरेक क्षेत्र र कार्य सामाजिक सञ्जालका भरमा चलेका छन् । त्यसो नहुँदो हो त अमेरिका बसेको व्यक्ति नेपालमा एटेन्स हुने वेभ कन्फरेन्स सम्भव हुने थिएन । फेसबुक, टुइटर, लिंकडइन, ह्वाट्सएप, युट्युबजस्ता माध्यमबाट आजको संसार आधुनिकताको चरममा पुगेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ ।
गुगल भन्छ–सामाजिक हुन उहिले गाउँसभा, बैठक, मेला, नाचगानजस्ता कार्यक्रम आयोजित गरिन्थ्यो तर जब मानिसहरू आधुनिक हुने क्रममा व्यावसायिक हुन थाले फलस्वरूप एक ठाउँबाट अर्को ठाउँमा छरिएर बस्न थाले । त्यति मात्र होइन आफ्नो अध्ययन, व्यापार–व्यवसाय आदि कामको सिलसिलामा उनीहरू परिवारबाट टाढा हुन थाले । चिठीको माध्यमद्वारा सन्चो–बिसन्चोको खबर थाहा पाउन लामो समय लाग्ने भएकाले टेलिफोन र मोबाइल फोनको व्यापकता बढ्दै जान थाल्यो तर आज जति टाढा भएको व्यक्तिको उपस्थिति पनि आफ्नै अगाडि लाग्ने अवस्था प्रविधिको आविष्कारले सिर्जना गरेको छ । वर्तमानमा डाँडाकाँडामा बसेका मानिस हुन् वा उच्च विकसित मुलुकमा पुगेका हाम्रा आफन्त तथा साथीभाइहरूसँग चाहेका बखत सहजै कुरा गर्न सकिने वातावरण सिर्जना भएको छ । जुन सामाजिक सञ्जालले सम्भव बनाएको छ ।
गाउँ–गाउँमा सामाजिक सञ्जालको लहर
मोबाइल फोन नपुगेका गाउँ–सहर नेपालमा कमै होलान् । नेपाल टेलिकमले दिएको थ्रिजी मोबाइल सुविधाले वाइफाइ नपुगेका गाउँमा पनि सामाजिक सञ्जालको प्रयोग सम्भव भएको छ । मुलुकका मुख्य–मुख्य सहरको त कुरै छाडौं सहर वरपरका अर्ध सहरी गाउँहरूमा पनि वाइफाइ सुविधा उपलब्ध छ । यसका प्रयोगकर्तामा महिलाको संख्या पनि प्रशस्तै देखिन्छ । अधिकांश घरमा पुरुषहरू बाहिर काम गर्ने अनि महिलाले घर सम्हाल्ने गरेका कारण घरायसी कामबाहेक मध्यान्हको समयमा महिलाहरूले सामाजिक सञ्जालको प्रयोग गरेको पाइन्छ । श्रीमान् अफिस र बालबालिका स्कुल गएपछि गृहिणीहरूसँग पर्याप्त समय हुन्छ । यो समयमा अहिलेका महिलाहरू पहिले जस्तो छिमेकीका घरमा गएर गफ गरी बस्ने वा दुईचार जना महिला चोकमा जम्मा भएर अर्काको बारेमा कुरा गरेर समय कटाउने काम गर्दैनन् । उनीहरू भाइबर वा फेसबुकमा देश–विदेशमा भएका आफन्तसँग कुराकानी गर्ने, अपनत्व आदान–प्रदान गर्ने तथा आफ्ना गतिविधि र तस्बिरहरू अपलोड गर्ने काममा आफ्नो समय लगानी गर्छन् । त्यसो त धेरैजसो श्रीमान् अफिसमा सामाजिक सञ्जालको प्रयोग गर्छन् भने बेलुकाको समय उनीहरू टेलिभिजन समाचार र अन्य सामाजिक कार्यक्रममा बिताउँछन् तर हरेकका घर–घर राखिएका राउटर्सले यो प्रमाणित गर्छन् कि यी महिलाका लागि जोडिएका छन् र यसका मुख्य प्रयोगकर्ता पनि महिला नै हुन् । अझ ग्रामीण बस्तीलाई नियाल्ने हो भने त्यहाँका अधिकांश युवा खाडी मुलुकमा कामका लागि जाने हुनाले उनीहरूका श्रीमती मोबाइलबाटै थ्रिजी प्रयोग गरी आफ्ना श्रीमान्सँग सम्पर्कमा बस्छन् ।
प्रयोग कसरी र केका लागि ?
लमजुङको ग्रामीण गाउँ सिमपानीकी कमला गुरुङ भन्छिन्–मोबाइलमा कम्प्युटर जोड्यो भने साउदी बस्ने श्रीमान्सँग कुरा गर्न पैसा लाग्दैन । उनका अनुसार घाँस काट्न जंगल गएका बेला हरेक दिन श्रीमान्सँग कुरा हुन्छ कम्प्युटर (भाइबर) मार्फत । यसमा गोपनीयता पनि कायम हुन्छ र घरपरिवारका सदस्यले कति बूढासँग कुरा गरेकी पनि भन्न पाउँदैनन् ।
जोरपाटीकी उमा कार्की भन्छिन्–पहिल–पहिले अमेरिका बस्ने भाइहरूसँग कुरा गर्न दसैं कुर्नुपथ्र्यो तर अहिले श्रीमान्ले घरमा वाइफाइ जोडिदिएपछि हरेक दिन बिहान गुड मर्निङ र बेलुका गुड नाइट भन्न पाइएको छ । त्यसका अतिरिक्त उनी अमेरिका, युरोप तथा अस्ट्रेलियामा रहेका आफन्तहरूको गतिविधि फेसबुकमा हेर्दा आफू रिफ्रेस हुने बताउँछिन् ।
अस्ट्रेलिया बसोबास गरिरहेका नारायणी भुसाल दम्पतीका ३ वर्षीय छोरा नेपालमा हजुरबुवा–हजुरआमासँग छन् । उनीहरू प्रत्येक बिहान–बेलुका छोरासँग कुरा गर्न र उसको लाइभ गतिविधि हेर्न छुटाउँदैनन् । नारायणी भन्छिन्–बाबु सँगै भएजस्तो लाग्छ । हरेक दिन ऊसँग भएको महसुस हुन्छ । उसलाई देख्न मन लाग्यो कि स्काइप अन गरिहाल्छु । त्यति न्यास्रो लाग्दैन ।
बेल्जियममा कार्यरत नारायण धितालका परिवारलाई चितवनमा रहेकी बूढीआमाको चिन्ताले काममै डिस्टर्ब हुन्थ्यो आधा दशकअघिसम्म तर अहिले चितवनको घरमा पनि वाइफाइ नेटवर्क जोडिएपछि समय मिलाएर दिनको एकपटक स्काइप वा एचडी कलमा आमासँग कुरा गर्ने मात्र होइन नजिकबाट नियालेर हेर्छन् पनि ।
सामाजिक नेटवर्कले पारिवारिक संगठनलाई मात्र सघाएको छैन व्यापारिक घरानालाई माथि उकास्न पनि उत्तिकै सहयोग पुर्याएको छ । बहुराष्ट्रिय कम्पनीहरू पनि सामाजिक संजालकै आडमा संसारभर फैलन सफल छन् । व्यापारलाई ब्रान्डिङ गर्न होस् वा प्रोफेसनलहरूका लागि आफ्नो क्षमता बढाउन जीवनका हरेक पाइलामा यो सहयोगी छ । कोरियोग्राफर जयन सुब्बा मानन्धर भन्छिन्–म प्राय: कामको असाइन्मेन्ट्स फेसबुकमार्फत नै लिन्छु । फेसबुकले मलाई सक्रिय व्यावसायिक महिला हुन सघाएको छ ।
व्यक्तिगत तवरमा मात्र होइन ठूला व्यवसायीहरूका लागि पनि सामाजिक सञ्जाल निकै उपलब्धिमूलक साबित भएको छ । व्यापार–व्यवसाय बढाउन, ब्रान्डिङ गर्न, आफ्नो व्यवसायलाई अन्तर्राष्ट्रियकरण गर्न, ग्राहक सुविधा बढाउन सामाजिक सञ्जाल उपयुक्त माध्यम भएको छ ।