पीडालाई साहसले जित्ने आमाहरू
अनेक दुःख र चुनौतीका बाबजुद आफैलाई माक्रै होइन ‘एक्स्ट्रा क्रोमोजोम’ लिएर जन्मिएका आफ्ना मुटुका टुक्रालाई सम्हाल्दै अघि बढिरहेका साहसी आमाका कथा

थाई नागरिक भए पनि उनले बुद्ध जन्मस्थल लुम्बिनीको माटो राम्ररी बुझेका छन् । उनी सहयोगी, उपकारी र विकासप्रेमी छन् । त्यसैले उनको नाम लुम्बिनी र आसपास नसुन्ने कोही छैनन् । सबैले श्रद्धा र आस्थाले सम्मान गर्छन् ।
उनी हुन्, ५४ वर्षे फ्रा राजबोधी विदेश वजिराशुद्धि । उनको गृहस्थी नाम सुपोत किबिवन्नो भए पनि शान्ति, सद्भाव र करुणाप्रतिको लगावले उनलाई थाइल्यान्ड सरकारले २०२५ मा उपल्लो स्तरको भिक्षुको उपाधि फ्रा राजबोधी विदेश वजिराशुद्धि दिएको हो । उक्त उपाधि थाई राजा महावजिरालोन कोर्नले प्रदान गरेका हुन् ।
उनै भिक्षु लुम्बिनीमा २१ वर्षदेखि लगातार वर्षाबासमा छन् । वर्षाबास बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व हो । यो असार पूर्णिमादेखि असोज पूर्णिमासम्म तीन महिना हुन्छ । बुद्धकालीन समयदेखि नै चलिआएको यो परम्परामा भिक्षुहरू कतै नगई एकै ठाउँ वा विहारमा ध्यानसाधना र देशना गरी बस्ने परम्परालाई वर्षाबास भनिन्छ । बौद्ध धर्मको मेरुदण्ड विनय कर्म पालन गर्दा नजानेर भए–गरेका कमजोरीबाट पाप नलागी क्षमादान पाउने हुँदा भिक्षु–भिक्षुणी वर्षाबास बस्छन् ।
वर्षाबासका बेला साँझ–बिहान ध्यान बस्ने र परित्राण पाठ गर्ने गरिन्छ । त्यसबेला बुद्ध धर्म र संग गुन तथा धर्म देशना गर्दै पूजाआजा गरिन्छ । स्थानीय बासिन्दासँग भिक्षा मागेर सकेसम्म बिहान एक छाक खान्छन् । साँझ झोलिलो कुरा खान्छन् ।
२००३ मा लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीमा थाई सरकारले मिसल सचिवालयका रूपमा पठाएका उनी २००४ देखि यहीँ वर्षाबास बस्न थालेका हुन् । लुम्बिनीमा सबैभन्दा धेरै वर्षाबास बस्ने विदेशी भिक्षु उनै हुन् । वर्षाबासका बेला उनी ध्यानसाधना, पूजा, परित्राण पाठ, देशना र भिक्षाटन गर्छन् । हरेक साता उनी भिक्षाटन गर्न गाउँगाउँ पुग्छन् । भिक्षाटन गर्दा पाएको खाने कुरा पकाएर खाई वर्षाबास बस्छन् । उनी भिक्षाटन जाँदा आफ्ना चेला र अन्य भिक्षुलाई पनि लैजान्छन् ।
उनको शान्तिप्रतिको समर्पण र लगनले थाई सरकारले लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीको प्रमुख भिक्षु बनाएर राखेको छ । ‘लुम्बिनीमा वर्षाबास बस्न आउन थाई भिक्षु मरिहत्ते गर्छन्,’ उनी भन्छन्, ‘किनकि लुम्बिनीमा जीवनकै महत्वपूर्ण पुण्य संचय गर्ने अवसर पाउँछन् । त्यही भएर आफू यहीँ बसेकाले सबै कुरा छाडेर अन्यत्र गए पनि फर्केर आई लुम्बिनीमै वर्षाबास बस्छु ।’
रोयल थाई मोनास्ट्रीका प्रमुख भिक्षु उनी राजधानी बैंककमा रहेको वाट महाथट रंगसरित विहारका उपप्रमुख र थाई धम्मदूत भिक्षु एसोसिएसन भारत नेपालका उपाध्यक्ष पनि हुन् । थाइल्यान्डमा सन् १९७० मा जन्मिएका सुफोत अहिले लुम्बिनी आफ्नो दोस्रो घर भएको र आफ्नो अन्तिम सास पनि लुम्बिनीमै फेर्ने चाहना रहेको उनले बताए ।