बालबालिकाको पहिलो पाठशाला परिवार हो भने आमा पहिलो शिक्षक हुन्। बालबालिकाले आमाकै अनुभूतिबाट धेरै कुरा सिक्छन् र समाजको नियम–स्थितिका बारेमा जान्ने प्रयास गर्छन्। जब बालबालिका स्कुल जान तयार हुन्छन् तब उनीहरूको व्यक्तित्व विकासमा शिक्षकको विशेष महत्व हुन्छ। यस्तोमा आमा र शिक्षकले मिलेर यस्ता अनेकौं कुरामा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ जसबाट बालबालिकाको समुचित विकास सम्भव हुन्छ र उनीहरूले सही दिशामा अघि बढ्ने क्षमता प्राप्त गर्छन्।
जब बालबालिकाहरू पहिलो पटक स्कुल जान्छन् : सानो उमेरमा बालबालिकाहरू अत्यन्त संवेदनशील हुन्छन् । यस्तोमा आमा र शिक्षकको कुरा एवं व्यवहारले तिनको कोमल मनमा बढी प्रभाव पार्छ । अत: बालबालिकाहरूका बारेमा आपसी कुराकानी गर्दा सावधानी अपनाउनु आवश्यक छ । बालबालिकाहरू जब स्कुलमा जान्छन् तब उनीहरूको संसार परिवर्तन हुन्छ । उनीहरूले त्यहाँ आफ्नो उमेरका धेरैजना देख्न पाउँछन्, जान्ने–बुझ्ने मौका प्राप्त हुन्छ । त्यहाँ शिक्षकले उनीहरूकी आमाको स्थान लिन्छन् । शिक्षकले हरेक बालबालिकाको राम्रो–नराम्रो कुरामा ध्यान दिनुपर्ने हुन्छ । यस्तो स्थितिमा अभिभावक एवं शिक्षकबीच संवाद अत्यन्त जरुरी छ जसको अभावमा बालबालिकाहरूमा नकारात्मक प्रभाव पर्न सक्छ । अभिभावक एवं शिक्षकबीच सही कुराकानी भए बालबालिकाका कतिपय समस्या सहजरूपमा समाधान गर्न सकिन्छ।
शिक्षकसित यसरी कुरा गरौं : कुराकानी गर्दा आफ्नो बालबालिकाको शिक्षकसित कुरा गरिरहनुभएको छ भने विशेष ख्याल राख्नुपर्छ । कतिपय अभिभावक शिक्षकसित कर्मचारीका रूपमा व्यवहार गर्छन् । शिक्षकको सहयोगबिना आफ्ना बालबालिकाको सही रेखदेख गर्न सकिँदैन भन्ने कुरा राम्रोसँग बुझ्नुपर्छ। त्यसैले शिक्षकसँग सम्मानपूर्वक कुरा गर्नुपर्छ । उनीहरूलाई बालबालिकाका अभिभावकले आफ्नो सम्मान गर्छन् र योगदानको कदर गर्छन् भन्ने कुरा महसुस गराउनुपर्छ। त्यसैले बालबालिकाका बारेमा शिक्षकको अनुभव बुझेर मात्र आफ्नो समस्या भन्नुपर्छ।
बालबालिकाहरूको बानी–व्यवहार अवगत गराउनुपर्छ : शिक्षकलाई बालबालिकाले के रुचाउँछन्–रुचाउँदैनन् भन्ने जानकारी दिनुपर्छ । उनीहरूसँग आफ्ना सन्तानमा देखापरेको परिवर्तनका बारेमा पनि चर्चा गर्नुपर्छ । बालबालिकाको साथीको राम्रो–नराम्रो बानीका बारेमा पनि कुरा गर्नुपर्छ । बालबालिका जिद्दी हुँदैछन् भने त्यो पनि अवगत गराउनुपर्छ । बालबालिकाका हरेक साना–ठूला समस्याका बारेमा शिक्षकलाई अवगत गराई समाधानका लागि मिलेर पहल गर्नुपर्छ ।
आपसी तनावबाट जोगिनुपर्छ : कतिपय अवस्थामा बालबालिकाको बिग्रदो बानी र कमजोर पढाइका कारण आमाबुवा र शिक्षकबीच तनाव बढ्छ । मानिसहरू आफ्ना सन्तानबाट आवश्यकता भन्दा बढी अपेक्षा राख्छन् र त्यसमा उनीहरू खरो उत्रन नसके शिक्षकमाथि दोष थोपरिन्छ । त्यस्तोमा शिक्षक र अभिभावकबीच तनाव बढ्छ जसले बालबालिकाको विकासमा बाधा पुर्याउँछ । स्कुलमा धेरै बालबालिका हुन्छन्, सबैलाई शिक्षकले पर्याप्त समय दिन पाउँदैनन् । त्यसैले केही समस्या देखिए सबै दोष शिक्षकमा थुपार्ने काम ठीक होइन । बालबालिकालाई पढ्न मन लाग्दैन, बानी बिग्रने क्रममा छ भने शिक्षकलाई दोष दिनुको साटो, उनीसित मिलेर यो समस्याको समाधान खोज्ने प्रयास गर्नु राम्रो हुन्छ ।
सकारात्मक वातावरण बनाउनुपर्छ : घरको वातावरण सकारात्मक राख्ने प्रयास गर्नुपर्छ । शिक्षकसित कुरा गरेर स्कुलको वातावरण पनि सकारात्मक बनाउने प्रयास गर्नुपर्छ । बालबालिकालाई कहिल्यै तिमीलाई केही आउँदैन भन्नुहुँदैन । घर र स्कुलमा उसको गुणको प्रशंसा गर्नुपर्छ । यसबाट बालबालिकाको आत्मविश्वास अझ बढ्छ । त्यसैगरी उनीहरूलाई गाली गर्नुको साटो कुरा बुझाउने प्रयास गर्नुपर्छ । घर तथा स्कुलको वातावरण तब सकारात्मक हुन सक्छ जब शिक्षक तथा अभिभावकबीच सही तालमेल हुन्छ ।
सल्लाहमा ध्यान पुर्याउनुपर्छ : कतिपय अभिभावक आफ्नो गुनासो शिक्षकसामु व्यक्त गर्छन् तर शिक्षकको सल्लाहलाई कुनै महत्व दिँदैनन् । अभिभावकलाई लाग्छ कि बालबालिकालाई स्कुल पठाउनेबित्तिकै उनीहरूको शिक्षासम्बन्धी आफ्नो सबै दायित्व पूरा भयो र अब काम स्कुल र शिक्षकको मात्र हो । यद्यपि त्यसो नगरी शिक्षकसँग सल्लाह लिएर आफ्नो जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्नुपर्छ ।
घरमा पनि ख्याल राख्नुपर्छ : बालबालिकाको पढाइको सम्पूर्ण जिम्मेवारी शिक्षकको मात्र हुँदैन । बालबालिकाले गृहकार्य गर्छन् कि गर्दैनन् अभिभावकले ध्यान दिनुपर्छ । अभिभावकले आफ्नो सन्तान कुन विषयमा कमजोर छ भन्ने कुरामा विचार पुर्याउनुपर्छ । कुनै समस्या छ भने उसलाई सम्झाउनुपर्छ, सहयोग गर्नुपर्छ र समस्या समाधान गर्नुपर्छ । शिक्षकसित मिलेर बालबालिकालाई उनीहरूको शैक्षिक कमजोरी एवं गुण–विशेषताका बारेमा विस्तारपूर्वक बुझाउनु राम्रो हुन्छ ।
धन्यवाद दिनुपर्छ : ध्यान दिनुपर्ने कुरा के भने, जब शिक्षकसित भेट गरिन्छ, बालबालिकाको विकासका लागि उनलाई धन्यवाद दिनुपर्छ । आफ्ना बालबालिका कसरी अघि बढ्दैछन्, उनीहरूको कमी–कमजोरी तथा सबल पक्षका बारेमा जानकारी लिनुपर्छ । घरमा कसरी पठाउने शिक्षकसित सल्लाह गर्नुपर्छ । शिक्षकसित भेटेर कुराकानी गर्नुबाहेक समय–समयमा फोनमा सम्पर्क गरी आफ्ना बालबालिकाका बारेमा जानकारी लिनुपर्छ । शिक्षकसित राम्रो सम्बन्ध कायम राखेर उनैमार्फत आफ्ना बालबालिकाको विकासमा योगदान पुर्याउन सकिन्छ ।