Successfully Copied

रोहिणी–गौरवको फिट जोडी

भारत अजमेरकी रोहिणी (डली) राणा र नेपालका ‘आर्मीम्यान’ गौरव शमशेर जबरा ४५ वर्षअघि प्रणयसूत्रमा बाँधिएका हुन् । पारिवारिक जमघटकै बीच भेट हुँदा एक–अर्कालाई मन पराएका हुन् ।

भारत अजमेरकी रोहिणी (डली) राणा र नेपालका ‘आर्मीम्यान’ गौरव शमशेर जबरा ४५ वर्षअघि प्रणयसूत्रमा बाँधिएका हुन् । पारिवारिक जमघटकै बीच भेट हुँदा एक–अर्कालाई मन पराएका हुन् । गौरवले भने, ‘उनको सौन्दर्य, मिजास र व्यवहारले मलाई पहिलो भेटमै हुरुक्कै बनायो ।’ उता रोहिणीलाई पनि त्यस्तै भएको रहेछ । रोहिणीले गौरवलाई देख्नेबित्तिकै आकर्षक कद, गोरो वर्ण, ‘वाह क्या पर्सनालिटी’ भन्दै मन पराएको बताइन् । पछि दुवैका परिवार एकसाथ ‘डिनर’ गरेपछि रोहिणीकी हजुरआमाले मन परे/नपरेको सोध्दा उनले भनिछन्, ‘हजुरहरूले विश्वास गरेर हेरेको मान्छे, हजुर जे मर्जी हुन्छ म तयार छु ।’ त्यसपछि मात्रै भोलिपल्ट बिहान गौरव र रोहिणीलाई एकसाथ ‘ब्रेकफास्ट’ गर्न दिने सहमति भयो । ‘ब्रेकफास्ट’ मा दुवैले एक–अर्काबीच भावनाहरू साटसाट गरे । लगत्तै रोहिणीले गौरवलाई अजमेरका तलाउ–पोखरीदेखि सहर सयर गराइन् । कुरा छिनेर नेपाल फर्केपछि गौरवले रोहिणीलाई आठ वटा चिठी लेखे भने रोहिणीले त्यसभन्दा बढी । उतिबेला गौरव जोमसोममा थिए । काठमाडौं आइपुगेको चिठीलाई सेनाको हेलिकप्टरले जोमसोम पुर्‍याउँदा धेरै समय लाग्थ्यो । एक–अर्काको चिठी पढ्न दुवै आतुर हुन्थे । यसरी चलेको प्रेम आठ महिनापछि विवाहमा परिणत भयो । 

रोहिणी चन्द्रशमशेर खलक बबरमहलकी जेठी बुहारीका रूपमा भित्रिइन् । नेपाल र भारतको धर्मकर्म, खानपान, चालचलन खासै फरक नभए पनि अजमेरमा ‘ब्रेकफास्ट’ खाने तर यहाँ बिहानै नौ बजे भात खाने चलनले पहिलो दिन नै आफू स्तब्ध भएको रोहिणीले बताइन् । ‘सासू मुमाले एकाबिहानै मर्जी भो बाबु खाना खाऊ । सेतो चामलको भात, दाल, तरकारी, मासुको रास देखेर म त छक्क परें’ उनले भनिन्, करबलले खाएँ तर माथि कोठामा गएर डाँको छोडेर रोएँ, हाम्रो अजमेरमा त बिहान ब्रेकफास्ट खाइन्थ्यो ।’ यस्ता स–साना कुराबाहेक उनलाई विवाहपछि अन्य कुरामा कुनै अप्ठ्यारो परेन । संयुक्त परिवार भएकाले श्रीमतीलाई छोडेर काममा जान सजिलो भएको बताउँदै गौरवले भने, ‘म जागिरको क्रममा कहिले शान्ति सेना त कहिले कुन जिल्ला, कहिले कहाँ पुगिराख्नुपर्थ्यो । विवाहको पहिलो पाँच वर्ष हामी प्रायः सँगै बस्न पाएनौं । त्यसो हुँदा पनि उनी मेरो परिवारसँग घुलमिल भएर सबै कुरा व्यवस्थापन गरी बसिन् । उनमा गजब क्षमता, स्मार्टनेस र व्यवस्थापन सीप छ ।’ आफूहरूलाई ‘अपोजिट अट्रयाक्सन’ भन्न रुचाउनेले रोहिणी दुवैमा नितान्त फरक स्वभाव भएको बताइन् । गौरव आर्मीम्यानजस्तै स्वभावका छन् भने रोहिणी लेखक पनि भएकीले भावुक र स–साना विषयलाई पनि भित्रैदेखि महसुस गर्न सक्ने स्वभावकी छन् । त्यसैले माओवादी द्वन्द्वकालमा उनी आफूले गरिरहेका सबै सामाजिक काम छोडेर श्रीमान्सँगै दिपायलमा बसिन् । रोहिणीले भनिन्, ‘रातदिनको चिन्ता । त्यसपछि म यहाँका सबै कुरा छोडेर मरे बरु सँगै मरौंला, कमसे कम आफ्नै आँखाअगाडि त भइन्छ भनेर उतै गएर सँगै बसें जबकि बच्चाहरू साना थिए । त्यतिबेला नेपाल परिवार नियोजन संघमा सेवामूलक काम गर्थें । मठ, मन्दिर, कला र सभ्यता संरक्षणका काममा सासू मुमासँगै सक्रिय थिएँ ।’ 

४५ वर्षे सहयात्रामा यो जोडीले निकै उतारचढाव भोगेको छ । सुख–दुःखका पहाडसँगै उक्लिने–ओर्लिने क्रममा विविध चुनौती पनि सामना गर्नु परेको छ । जेठी छोरीपछि जन्मिएको छोराको दुई महिनामै भएको निधनले दुवैलाई अत्यन्तै विक्षिप्त बनायो । त्यो दुःखद घडीमा एक–अर्काको काँधमा टाउको राखेर रुने र दुवैले एक–अर्कालाई सान्त्वना दिने काम सँगै गर्न पाउँदा ढाडस मिलेको नोस्टाल्जिक हुँदै बताए । प्रेम, सम्मान र विश्वास दाम्पत्य जीवनको कसी भएको रोहिणीले बताइन् । त्यसैगरी गौरवलाई आपसी समझदारीले नै वैवाहिक जीवन खुसीसाथ अघि बढ्छ भन्नेमा विश्वास छ । रोहिणी दाम्पत्य जीवनलाई तरोताजा बनाउन माहिर छिन् । उनले सम्बन्धलाई ‘रिफ्रेस’ गरिराख्नुपर्ने बताइन् । यसका लागि सम्बन्धमा नयाँ कुरा गरेर ‘एक्स्ट्रा इफोर्ट’ हालिराख्नुपर्ने उनको तर्क छ । ‘अब यो बूढो भयो वा बूढी भई, त्यही स्वास्नी अथवा त्यही लोग्ने त हो नि भन्नुहुँदैन’ उनले भनिन्, ‘नौला कामकुरा गरिरहने, नयाँ ठाउँमा सँगै घुम्न जाने, दुवै मिलेर नयाँ परिकार बनाएर खाने, सरप्राइज गिफ्ट दिने गर्दा सम्बन्ध ताजा हुन्छ ।’ गौरवको झनक्क रिसाइहाल्ने बानी भए पनि तुरुन्तै गल्ती महसुस गरेर माफी माग्ने स्वभाव रोहिणीलाई मनपर्छ । गौरव भने श्रीमतीको बुद्धि–विवेक, भद्रपन, सकारात्मक सोच, प्रेमिल व्यक्तित्व र केयरिङ नेचर, जिम्मेवारी लिन सक्ने क्षमताका प्रशंसक हुन् । रोहिणीलाई अहिलेको दाम्पत्य सम्बन्धमा उच्च अपेक्षा र सहनशक्ति कम हुँदा छिट्टै टुट्ने गरेको हो कि जस्तो लाग्छ । प्रेम र विवाहबारे गौरवले भने, ‘लभ म्यारिजमा ग्रो आउट अफ लभ हुन्छ, एरेन्ज म्यारिजमा ग्रो इनटु लभ हुन्छ । तर विवाहभित्र प्रेम र प्रेमभित्र विवाहसँगै जान सक्ने हो भने बेस्ट हुन्छ ।’ 

प्रधानसेनापतिबाट अवकाश लिएपछि गौरवलाई जीवन अझ फक्रिएझैं लागेको छ । हरक्षण उनी श्रीमतीको साथमा रमाउन पाएका छन् । एक–अर्कामा प्रेम अझ गाढा भएको महसुस भएको छ । एक–अर्कामा नभै नहुनेजस्तो भएको छ अहिले यो जोडीलाई । रोहिणीले भनिन्, ‘हामी श्रीमान्–श्रीमती भन्दा पनि बेस्ट फ्रेन्ड हौं । आजसम्म एक–अर्कामा कुनै कुरा लुकेको छैन र लुकाउन जरुरी कुरा पनि छैन । कुनै कुरा सेयर गर्दा निर्धक्क भन्न सक्ने सम्बन्ध छ हाम्रो । जीवनको यात्रामा जति नै कठिन समय आइपरे पनि उहाँ साथै रहँदा कहिल्यै डर लागेन, कहिल्यै कमजोर भइन ।’ श्रीमान्को रिटायर्डमेन्टपछि यात्रामा खुब रमाइलो गरेको रोहिणीको अनुभव छ । सन् २०२१ को अन्त्यतिर गौरव शमशेरमा अचानक क्यान्सर देखा पर्‍यो । त्यो समय रोहिणीले आफूलाई सम्हाल्न कठिन भएको बताइन् । तर उनले हिम्मत नहारी हरक्षण गौरवसँगै रहेर भारतमा उपचार गराइन् । रोहिणीको हेरचाह र डाक्टरहरूको राम्रो उपचारले अहिले उनी ठीक भइसकेका छन् । प्रेम, विवाह र सम्बन्धबारे दुवैले एकै स्वरमा भने–‘विवाह एक प्रतिबद्धता हो सम्मान गर्न जान्नुपर्छ । यो सहयात्रामा सुख, खुसी र रमाइलो मात्रै हुँदैन, दुःख, अप्ठ्यारा र कठिनाइ पनि आइपर्छन् । यस्तो बेला हतोत्साही नभई–नगराई एकले अर्कालाई बलियो साथ दिनुपर्छ, एकले अर्कालाई क्षमा दिन सक्ने आँट पनि राख्नुपर्छ । एक–अर्कामा प्रेम, विश्वास र समझदारी अपनाउन सके जीवनको यो एउटा सुन्दर यात्रा हो । 

राहिणीको नजरमा गौरव

राम्रो पक्ष : आत्मविश्वास ।

सुधार्नुपर्ने : धैर्य एवं संयम हुनुपर्छ ।

बलियो पक्ष : नैतिकवान् ।

आकर्षक पक्ष : असल स्वभाव ।

मनपर्ने पुस्तक र संगीत : गीता र ज्याज म्युजिक ।

कस्ता श्रीमान् : साथी तथा बेस्ट हसवेन्ड ।

अब के भएको हेर्ने रहर छ : स्वस्थ भएर बाँचेको । 

गौरवको नजरमा रोहिणी

बलियो पक्ष : सहनशक्ति ।

कमजोरी : अत्यन्तै संवेदनशील ।

आकर्षक पक्ष : उनको सुन्दरता र स्वभाव ।

मनपर्ने खाना र चलचित्र : खानामा चाट तथा रोमान्टिक लभ स्टोरी चलचित्र ।

कस्ती श्रीमती : आइडल वाइफ ।

के भएको देख्ने इच्छा छ : लेखकका रूपमा ख्याति कमाएको, अझै सफल भएको ।

 

 Image