बहस
स्त्रीशक्ति
प्रस्तुति : लक्ष्मी भण्डारी थापा
सौजन्य–विमेन एक्ट, रूपान्तरणका लागि महिला ऐक्यबद्धता, भाटभटेनी
यत्र नार्यस्य तु पूज्यन्ते, रमन्ते तत्र देवता (मनुस्मृति) । या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: ।। दुर्गासप्तशती (चण्डी) । यी उद्धरणले नारीप्रतिको श्रद्धा, सम्मान र आदर दर्शाउँछन् । स्त्रीशक्ति पूजाको विशेष महत्व रहेको महान् चाड दसैंका अवसरमा स्त्रीशक्ति र धर्मका विषयमा उठिरहेका आवाजका सम्बन्धमा विभिन्न क्षेत्रका महिलाले आ–आफ्नो धारणा व्यक्त गरे :
गीता केशरी, प्राज्ञ
समाज भनेको उत्पादन हो जसलाई ज्ञान र चेतनाले निर्देशित गरिरहेको छ । वैदिक कालमा मातृसत्ता थियो । स्त्रीमा अलौकिक शक्ति रहेको कुरा सबै देवताले बुझेका थिए । राक्षसहरूले दु:ख दिइरहेको अवस्थामा हरेक देवताको तेजद्वारा एउटी दुर्गा उत्पत्ति गराइयो । त्यतिबेला किन एउटै पुरुष निकालिएन त ? यो ठूलो प्रश्न हो । दुर्गालाई युद्धमा पठाइयो । हरेक काम गर्न शक्ति, ज्ञान र अर्थ चाहिने हुँदा दुर्गाले आफ्ना अङ्गबाट सरस्वती, लक्ष्मी निकालिन् यसबाट के देखिन्छ भने सामूहिक प्रयासबाटै सफलता हासिल गर्न सकिन्छ । क्रमश: समाजले अर्को मोड लिँदै जाँदा मानिसहरू सामाजिक जीवनमा खेतीपाती, वस्तुभाउ पाल्न थाले जसका लागि रजस्वला, गर्भवती र आमा हुनुपर्ने नारीको तुलनामा पुरुषको शारीरिक बल बढी देखिन थाल्यो र यस्ता काममा उनीहरू उपयुक्त मानिन थाले । राज्य बिस्तार गर्ने युद्धमा पुरुष नै अघि देखिए । हालको अवस्थामा वैज्ञानिक विकास, सामाजिकीकरण एवं विश्वव्यापीकरणका कारण समान अधिकारमा जान क्षमता विकास अत्यन्त जरुरी कुरा हो । जुन आमाको कोखदेखि नै प्रारम्भ हुन्छ । त्यो युग र आजको युगमा स्त्रीशक्तिको व्याख्या र परिभाषा फरक पर्न सक्छ । जे होस् छोरीको क्षमता विकास नगराए कालान्तरमा आमाबाबुले नै त्यो बोझ उठाउनुपर्छ भन्ने कुरा दिमागमा हाल्नसके नारी स्वत: शक्तिशाली हुन्छन् ।
सीपा रेग्मी, प्रमुख–बजार तथा कर्पोरेट कम्युनिकेसन व्यवस्थापक कुमारी बैंक
हिजोआज स्त्रीशक्ति वुमन इम्पावरमेन्ट शब्दमा बुलन्द छ । मेरो विचारमा देवीको मूर्तिको पूजा मात्र स्त्रीशक्ति होइन । देवीको पूजा गर्नेहरूले पनि नारीप्रति अनुचित व्यवहार नगर्लान् भन्न सकिँदैन । हामी अलिकति एक्सपोजर पाउने नारी भाग्यमानी हौं । कति नेपाली महिला छन् जो घरको चौघेरामै सीमित छन् । शिक्षा, इच्छा, सिक्ने मौका र निर्णायक क्षमताले नै मानिसलाई सशक्त बनाउँछ । स्थान पाए जो पनि शक्तिशाली बन्न सक्छन् । दसैंको सन्दर्भमा यो चाडले हाम्रो व्यस्त जीवनलाई पारिवारिक ऐक्यबद्धताको सूत्रमा बाँधिदिएको छ । आफ्ना मान्यजनको हातबाट टीका–आशीर्वाद लिने, परिवारको महत्व महसुस गराउने कुरा हाम्रो आगामी पुस्तालाई सिकाउने अवसर पनि हो–दसैं । दसैंलाई परिवर्तित ढंगले अगाडि लान भान्सामा समान सहभागितामा जोड दिनुपर्छ । धर्मको मर्म बुझेर पर्व मनाउने हो । आफ्नो विवेकले जे सही भन्छ त्यही धर्म मान्ने हो ।
फूलमाया न्यौपाने, फलित ज्योतिष
धर्मशास्त्रमा शक्तिशाली नारीहरूको वर्णन जसरी सुनिन्छ अहिलेका हामी नारी पनि चाहेको खण्डमा उनीहरूभन्दा कम छैनौं । मात्र दृढ इच्छाशक्तिको आवश्यकता छ । ब्रह्मा, विष्णु, महेश्वरको तेजद्वारा उत्पन्न दुर्गा भगवतीले जसरी महिषासुरलाई परास्त गरेकी थिइन्, अहिलेका हामी नारी पनि स्वयं भगवती हौं । हामीले चाहनुपर्छ जे पनि गर्न सक्छौं, यही हो वास्तविक नारीशक्ति । अष्टमातृकाका रूपमा पूजा गरिने नारीको महिमा जति गाए पनि कम हुन्छ । अहिले धर्मका बारेमा चलिरहेको बहसका विषयमा मेरो यत्ति भन्नुछ कि आफ्नो इच्छाअनुसार चाडपर्व एवं धर्म मान्न पाउनुपर्छ ।
अल्का राई, स्टाफ नर्स, कान्ति बाल अस्पताल
शिक्षाले नै महिलालाई सशक्त बनाउँछ । एउटी नारी शिक्षित भए परिवार अनि समाज शिक्षित हुन्छ भनेझैं शिक्षा एवं रोजगारी भनेका नारी शक्तिका मूल आधार हुन् जसले सशक्त, सचेत र अधिकारमुखी बनाउन सहयोग गर्छ । सचेत व्यक्तिले चाडवाड मनाउने मात्र नभएर हरेक कुरामा बुद्धिमत्तापूर्वक काम गर्छन् । दसैंलाई स्वस्थ तरिकाले मनाऔं । सन्तुलित तर स्वस्थ र पोषणयुक्त खानामा जोड दिनुपर्छ जसले पर्वलाई तनावपूर्ण बनाउँदैन । यदि हामीले दसैंमा हरिया सागपात, फलफूल, गेडागुडी नखाएर मासु मात्र खायौं भने बिरामी हुने त निश्चित छ नै पर्व उल्लास होइन तनावमा परिणत हुन्छ । यस्ता अवसरमा सन्तुलित एवं पोषणयुक्त भोजनलाई प्राथमिकतामा राख्नुपर्छ । खानामा मासु नै दसैं हो भन्ने धारणा पनि हटाउनुपर्ने देखिन्छ भने बली प्रथा र अरूको देखासिकी पनि रोकिनुपर्छ । धर्म मान्ने विषयमा हामीजस्ता युवाहरूमाथि दबाब दिनु वा हस्तक्षेप गर्नु हुँदैन ।
विनु श्रेष्ठ, व्यवसायी
नारीशक्तिको महिमा पौराणिक समयदेखि नै सम्माननीय छ । नारीभित्रका करुण, रौद्र, धैर्य, ममताजस्ता गुणको जति वर्णन गरे पनि कम हुन्छ । हिजो धार्मिक युगका नारीको शक्ति र अहिलेका आधुनिक नारीको क्षमतामा भलै समानता नहोस् तर स्त्रीशक्तिको महिमा परापूर्वकालदेखि आजसम्म उत्तिकै उच्च छ । शक्ति स्वरूपा दुर्गा भगवतीको पूजा गरिने दसैंमा नारीशक्तिलाई विशेष महत्वका साथ हेरिन्छ । जुन कुरा अहिलेको समाजमा कार्यान्वयन हुुनु जरुरी छ । त्यसो हुन सकेको खण्डमा आज कुनै पनि नारीले जिउँदै जल्नुपर्ने र दिनदहाडै एसिड प्रहारबाट जीवन बर्बाद गर्नुपर्ने थिएन । दसैं भनेको पारिवारिक मिलन, मान्यजनको आशीर्वाद, टीका–जमरा तथा नारी शक्तिको पूजाको संगम हो जुन हाम्रो संस्कार र संस्कृतिको अत्यन्त सुन्दर पक्ष हो । यसलाई हाम्रो आगामी पुस्ताले निरन्तरता दिनैपर्छ । यही हाम्रो सम्पत्ति हो । जहाँसम्म धर्मको विषयमा उठेको विवाद छ धर्म–कर्म भनेको इच्छा र क्षमताअनुसार ग्रहण गर्ने कुरा हो । धर्ममा दबाब मान्य हुँदैन । स्वेच्छापूर्वक धर्म मान्न पाउनु सबैको नैसर्गिक अधिकार हो ।