Successfully Copied

यसरी चढ्यौं केटु हिमाल

'केटुको टाकुरा टेकेपछि हामी यति एक्साइटेड भयौं कि, त्यो अनुभूति म शब्दमा व्यक्त गर्न सक्दिन' यसो भनिरहँदा पासाङ ल्हामु केही भावुक भइन्।

'केटुको टाकुरा टेकेपछि हामी यति एक्साइटेड भयौं कि, त्यो अनुभूति म शब्दमा व्यक्त गर्न सक्दिन' यसो भनिरहँदा पासाङ ल्हामु केही भावुक भइन्। ज्यानलाई दाउमा राखेर केटु आरोहण गरेका पासाङ ल्हामुसहित माया र दावा याङजुम त्यतिबेला आपसमा अँगालो हालेर रोएका थिए। 'थुप्रै हिमाल चढियो तर, त्यति इमोसनल भइएको थिएन' पासाङ ल्हामुले सम्झिइन्-'टाकुरामा पुग्नासाथ अनायासै हाम्रो आँखाबाट आँसु झर्‍यो।'

८ हजार ६ सय ११ मिटर अग्लो उक्त हिमाल सगरमाथापछि दोस्रो अग्लो र प्राविधिक रूपले विश्वकै सर्वाधिक कठिन हिमाल मानिन्छ। त्यही हिमालमाथि तीन नेपाली चेलीले सफलतापूर्वक आरोहण गरेर नयाँ इतिहास रचेका छन्। यसअघि कुनै पनि महिला समूहले सामूहिक रूपमा केटु चढेको थिएन। त्यसैले यसलाई उनीहरूले 'विश्व कीर्तिमान' पनि भनेका छन्। हालसम्म २ सय ४६ जनाले मात्र केटुमाथि विजयको झन्डा फहराएका छन्। बाँकी थुपै्र आरोहीले आरोहण प्रयासमा ज्यानको बाजी हारेका छन्। त्यसैले पाकिस्तानस्थित यो हिमाललाई 'किलर माउन्टेन' को उपमा दिइएको छ।

'केटु एकदमै भयानक छ भन्नेे सुनेका थियौं' दावा याङजुमले भनिन्-'यसपालि स्वयंले त्यो अनुभव गर्न पायांै। दिनहुँ हिमाल चढ्नेहरूलाई पनि त्यो हिमालले अत्याउने रहेछ।' अनपेक्षित रूपमा बदलिइरहने मौसम तथा चट्टाने पहिरोको भयले केटुलाई भयानक बनाएको छ। त्यहाँ सगरमाथाको भन्दा १० गुणा छिटो मौसम परिवर्तन हुन्छ।

केटुको यही तीतो यथार्थलाई बुझेर उनीहरूले मौसम अनुकूल भएपछि यात्रा थालेका थिए, जून २१ मा। 'मौसम राम्रो भएपछि हामी बेसक्याम्पबाट उक्लन थाल्यांै' मायाले भनिन्-'तर, रक फलको भयले हामीलाई तर्साइरह्यो।' वेसक्याम्पबाट ठाडो उकालो उक्लनुपर्ने र माथिबाट चट्टान झर्ने हुँदा यात्रा निकै कठिन भएको उनको अनुभव छ। आरोहणकै क्रममा चट्टानबाट झरेर माया घाइते भएकी थिइन्।

उनीहरूले क्याम्प फोरबाट भने जुन २५ तारिखका दिन यात्रा सुरु गरेका थिए, मध्यरातमा। यो त्यस्तो विन्दु हो, जहाँबाट केटुको अन्तिम यात्रा तय गरिन्छ। त्यहाँबाट हिँडेपछि कहीँ विश्राम गर्न पाइँदैन। यहीबेला 'वोटल नेक' पार गर्नुपर्ने आरोहीहरूले बताए। डेथ जोन पनि भनिने उक्त स्थान केटुको सबैभन्दा कठिन क्षेत्र मानिन्छ।

आखिर यस्ता अनेकौं चुनौतीसँग जुध्दै नेपाली महिला समूहले केटुको टाकुरा टेकेरै छाड्यो, जुन २६ को बिहान ३ बजेर ३५ मिनेटमा। त्यहाँ पुग्दा आकाश खुला थियो तर, सतहको भागलाई डम्म कुहिरोले ढाकिसकेको थियो। टाकुरामा उनीहरूले आपसमा खुसी साट्दै र फोटो खिच्दै आधा घन्टा बिताए। 'हामी त्यहाँ पुग्दा ढिला भैसकेको थियो' पासाङ ल्हामुले भनिन्-

'अलि चाँडै नओर्लिए हिउँ पग्लिएर खस्ने डर हुन्थ्यो।'

भनिन्छ, हिमाल चढ्नभन्दा ओर्लन गाह्रो हुन्छ। यही भनाइ दोहोर्‍याउँदै पासाङ ल्हामुले ओर्लंदा निकै समस्या भएको अनुभव सुनाइन्। 'खाने, पिउने केही पनि थिएन, त्यसमाथि एकदमै थाकिएको थियो' उनले सुनाइन्-'शरीरको इनर्जी सकिएको बेला ओर्लंदा कम गाह्रो भएन।'

केटु चढ्नु एकदमै चुनौतीपूर्ण रहेको पासाङको अनुभव छ। पासाङ भन्छिन्-'तर, जति ठूलो चुनौती पार गर्न सक्यो, उति नै बढी आनन्द महसुस हुँदो रहेछ।' उनले सगरमाथासहित एक दर्जन बढी हिमाल आरोहण गरिसकेकी छिन्। 'क्लाइम्बिङ इन्स्ट्रक्टरका' रूपमा केही वर्ष अमेरिका बसेर फर्किएकी पासाङ व्यावसायिक आरोही हुन्। ओखलढुंगाकी मायासँग सगरमाथा, आमादब्लम, मनास्लु, लाङटाङ, अन्नपूर्ण, पुमरी, चोयु, वरुन्चे आदि हिमाल आरोहणको अनुभव छ। त्यस्तै, दोलखाकी दावाले सगरमाथासहित आमादब्लम, चोकी गो, यालाजस्ता हिमाल चढिसकेकी छिन्। आरोहणकै क्रममा उनीहरूले केटु चढ्ने योजना बनाएका थिए। 'माया र म एउटै आरोहण दलमार्फत लाङटाङ पुगेका थियौं' पासाङले भनिन्-

'त्यही बेला हामीले केटु चढ्ने सोच बनायौं।' पछि, अमेरिकामा भएको भेटमा पनि दुवैले रातभर यही विषयमा छलफल गरे। तेस्रो सहयात्रीका रूपमा दावा जोडिएपछि उनीहरूको टिमले पूर्णता पायो।

ख्यालख्यालैमा उनीहरूले केटु चढ्ने निधो त गरे तर त्यो सोचेजस्तो सजिलो थिएन। तीनैजना विवाहित भएकाले सबैभन्दा पहिले त परिवारबाट स्वीकृति लिनुपथ्र्यो। जीवनलाई हत्केलामा राखेर गरिने आरोहणलाई परिवारले सजिलै मञ्जुरी दिने कुरा पनि थिएन। 'धेरै कन्भिन्स गरेपछि परिवारलाई मनाउन सफल भयांै' दावा याङजुम भन्छिन्। त्यसपछि उनीहरूसामु आर्थिक व्यवस्थापनको अर्को चुनौती थियो। उनीहरू विभिन्न संघसंस्थालाई गुहारेर केही रकम जोरजाम गरी पाकिस्तानतर्फ प्रस्थान गरे। आरोहणका लागि करिब ६० लाख रुपैयाँ खर्च भएको उनीहरूको भनाइ छ।

'विभिन्न संघसंस्थाबाट सहयोग लिएर केटु आरोहण अभियान थालिएको हो' मायाले भनिन्-'रकम अपुग भएकाले हामी ऋणमा छौं।'

 Image