Successfully Copied

अंग्रेजी शोमा रमाउने सहारा

बाल्यकालमा एफएम सुनेर पढ्न बस्ने सहाराले आरजे बन्ने सपना पालेकी थिइन्। एफएम सुन्ने क्रममा चिराग वाङ्देलको स्वर एवं प्रस्तुतिबाट

बाल्यकालमा एफएम सुनेर पढ्न बस्ने सहाराले आरजे बन्ने सपना पालेकी थिइन्। एफएम सुन्ने क्रममा चिराग वाङ्देलको स्वर एवं प्रस्तुतिबाट प्रभावित सहारा ऐना हेरेर बोल्ने अभ्यास गर्थिन्। पछि उनले संयोगले टेलिभिजनमै भिजेका रूपमा काम पाइन्। साढे ३ वर्षदेखि तराई टेलिभिजनमा विभिन्न कार्यक्रम चलाइरहेकी सहारा अंग्रेजी कार्यक्रम चलाउन बढी रुचाउँछिन्। सहाराले सुरुमै टेम्पल टाउन हलिउड शोको प्रस्तुतिका साथ त्यसलाई प्रोड्युस पनि गरिन्। अहिले उनी अंग्रेजी म्युजिक भिडियो प्रोग्राम, डेली एसएमएस शो, तराई टिभी टक शो तथा यू एण्ड मी आदि कार्यक्रम चलाउँछिन्। भविष्यमा अंग्रेजी टिभी शोमा केही नयाँ काम गर्ने सोच बनाएकी सहारा हिजोआज मनोरञ्जक स्टेज शोहरूमा समेत व्यस्त छिन्। उनले भारतीय गायक मिका सिंहको गत महिना काठमाडौंमा सम्पन्न कार्यक्रमको उद्घोषण पनि गरिन्। सहारा फुर्सदमा चलचित्र हेर्नुका साथै क्याजुयल वेयरमा हिँड्न रुचाउँछिन्। मनमा लागेको कुरा भनिहाल्ने सहारा आफू टमब्वाइजस्तै भएको बताउँछिन्।

छोटोमीठो कुराकानी : हषिर्का श्रेष्ठ, नायिका

अहिले केमा व्यस्त हुनुहुन्छ ?

चलचित्र मुखौटामा व्यस्त छु जहाँ मैले राजेश हमालदेखि कर्मा, सौगात मल्ल आदि सँग काम गर्न पाएकी छु।

चलचित्र क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

१२ कक्षामा पढ्दा नै विपिन मल्लसँग एडिटिङ सिकेर चलचित्र सम्पादनतिर लागें। सन् २००८ मा फेसन शो पनि आयोजना गरेकी थिएँ। पछि सम्पादन टेबुलमै सिक्किमको परिवेशमा आधारित 'अंगालो यो मायाको' चलचित्रबाट अफर आयो।

बाल्यावस्थामा के बन्ने चाहना थियो ?

पाइलट भएर आकाशमा उड्ने चाहना थियो।

त्यो सपना पूरा गर्ने प्रयास गर्नु भएन ?

१२ कक्षापछि पाइलट बन्न सक्दिन जस्तो लागेर आकाशमा उड्ने चाहना पूरा गर्न एयर होस्टेजको तालिम लिएँ। म केही समयपछि अन्तर्राष्ट्रिय उडानतिर पनि देखापर्न सक्छु।

 केमा रुचि छ ?

घुमघाम र खाना बनाउने काममा रुचि छ।

के मीठो पकाउनुहुन्छ ?

चिकेनका हरेक परिकारका साथै बफ छोयला र अचार एकदम मीठो बनाउँछु।

पकाउन कसरी सिक्नुभयो ?

घरमा भोजहरू भैरहन्छन्। त्यसैले मम्मी, माइजूहरूलाई सघाउँदा-सघाउँदैं मीठो पकाउन सिकें।

गर्न मन लाग्ने घरायसी काम ?

बगैंचा स्याहार।

गर्न मन नलाग्ने घरायसी काम ?

भाँडा माझ्न र लुगा धुन अल्छी लाग्छ।

मन परेको ठाउँ ?

बैंककको पटाया तथा नेपालको सौराहा।

भगवान्प्रति कत्तिको आस्था छ ?

एकदम छ। विगत ९ वर्षदेखि मंगलबार गणेशको व्रत लिँदै आएकी छु।

ग्याजेटमा कति खर्च गर्नुहुन्छ ?

बरु लुगा-जुत्ता जे पनि लगाइदिन्छु तर मोबाइल, ल्यापटप, चस्मा र घडी भने ब्रान्डेड नै प्रयोग गर्छु।

कस्ता पहिरन मन पर्छन् ?

 त्यति मतलब राख्दिन। सजिलो जे हुन्छ, जे अगाडि छ त्यही लगाउँछु तर पार्टीतिर गाउन लगाउन मन पराउँछु।

पुस्तकहरू कत्तिको पढ्नुहुन्छ ?

म सानैदेखि उपन्यास एवं कथाहरू पढ्थेंे। भर्खरै फूलको आँखामा र ज्याक्सन हाइट पढिसिध्याएँ।  

तपाईंको कमजोरी ?

अरूलाई आवश्यकताभन्दा बढी विश्वास गर्छु जसले गर्दा धेरै पटक अप्ठ्यारोमा पनि परेकी छु।

 Image