Successfully Copied

मेरो संकल्प

जीवनको नयाँ सुरुवात, नयाँ कामको थालनी, नयाँ उमंग, जोस, जाँगर तथा पुनर्ताजगी गराउने माध्यम हो नयाँ वर्ष।

डा. चन्द्रिमा कार्की, काठमाडौं मेडिकल कलेज, सिनामंगल

जीवनको नयाँ सुरुवात, नयाँ कामको थालनी, नयाँ उमंग, जोस, जाँगर तथा पुनर्ताजगी गराउने माध्यम हो नयाँ वर्ष। नयाँ वर्ष आउनेबित्तिकै थप ऊर्जा प्राप्त हुनुका साथै केही नयाँ काम गर्ने इच्छा हुन्छ। जीवनको नयाँ अध्याय सुरु गर्ने अवसर पनि हो नयाँ वर्ष।

आर्थिक संकल्प

अहिले इन्टर्न गरिरहेकीले मेरो सबैजसो आम्दानी पढाइमै खर्च हुन्छ। पछि एमडी पनि गर्नु छ। त्यसमा पनि धेरै लगानी चाहिन्छ। पहिले पढाइ सक्छु। पढाइ सकिएर कमाउने भएपछि आफ्नो कमाइ आमा-बुबालाई पनि दिन्छु र केही आम्दानी जम्मा गर्ने योजनामा छु।

सामाजिक संकल्प

मेडिकल फिल्डमा भएकीले बिरामीको उचित तथा प्रभावकारी ढंगले सेवा गर्नु मेरो दायित्व हो। म यो दायित्व पूरा गर्न हरसंभव प्रयत्नरत रहन्छु। आगामी वर्ष पनि म बिरामीलाई उचित सेवा दिएर उनीहरूको रोग निदानमा लागिरहन्छु।

पारिवारिक संकल्प

चिकित्सा पेसामा संलग्न भएकाले समयको निश्चित रुटिन हुँदैन। कहिले राति, कहिले बिहान ड्युटी परिरहेको हुन्छ। जे भए पनि समय भएसम्म परिवारसँग बिताउँछु। यो वर्ष पनि खाली समय परिवारसँगै बस्छु।  

व्यक्तित्व विकासको संकल्प

स्वास्थ्यको क्षेत्रमा पनि नयाँ-नयाँ कोर्स थपिएका छन्। यो वर्ष बेलायतको ँएमआरसिओजी’ प्रोग्राममा ट्राई गर्छु। आफ्नो क्षेत्रमा थप दक्षता हासिल गर्ने प्रयासमा हुनेछु।  

स्वास्थ्य संकल्प

२४ सै घन्टा व्यस्त रहनुपर्ने पेसा भए पनि केही समय म आफ्नो शरीर फिट राख्ने प्रयास गर्छु। यो वर्ष आधा वा एक घन्टा एक्सरसाइजका लागि समय छुट्याउँछु। तौल केही कम गर्ने योजनामा छु।

नयाँ वर्ष भनेर पूरा नहुने संकल्प लिनुहुँदैन। पूरा गर्न सकिने संकल्प लिनुपर्छ। गर्छु भनेको कुरा पूरा गरेरै देखाउनुपर्छ। मनमा सकारात्मक कुरा मात्र राखौं। नयाँ वर्षको नयाँ बिहानीलाई हर्षोल्लासका साथ स्वागत गरौं। प्रत्येक बिहानीलाई नयाँ वर्षको नयाँ दिनका रूपमा लिऊँ।

प्रतिभा लिम्बू ताम्राकार, बैंकर्स

नयाँ वर्ष आफूलाई रिफाइन गर्ने अवसर हो। नयाँ संकल्प तथा आफूले गरेको गल्ती सच्याउने समय हो। म हरेक वर्ष संकल्प लिन्छु। गत वर्ष लिएको संकल्पमा म शतप्रतिशत खरो उत्रिएँ।

आर्थिक संकल्प

म निकै खर्चालु छु। विशेषगरी आफ्नो अधिकांश पैसा लुगा, जुत्ता तथा ब्यागमा खर्च गर्छु। यसले गर्दा जत्ति कमाए पनि अपुग नै हुन्छ। त्यसैले यो वर्षदेखि बचत गर्ने बानी बसाल्छु। केही पैसा सीआइटीमा जम्मा गर्छु। अनावश्यक खर्च कटौती गर्छु।

सामाजिक संकल्प

गत वर्ष बालमन्दिरलाई सामान दिएर सहयोग गरें। यसबाट मलाई भित्रैदेखि एक प्रकारको आनन्द प्राप्त भयो। यो वर्षबाट छोरीको जन्मदिन र दसंैमा सामानहरू डोनेट गर्छु। बैंकबाट पनि सामाजिक क्षेत्रमा योगदान दिने योजना छ।

स्वास्थ्य संकल्प

स्वास्थ्य हाम्रो अमूल्य सम्पत्ति हो। यसमा लापरबाही गर्नु हुँदैन।  म आफ्नो स्वास्थ्यप्रति सचेत छु। म सन्तुलित खाना खान्छु। हरियो सागपातमा जोड दिन्छु। फेसबुकले गर्दा आँखा तथा ढाडको समस्या आउनसक्ने भएकाले यो वर्षदेखि फेसबुकमा कम बस्छु।

व्यक्तित्व विकासका लागि

बैंकर्सहरूको व्यक्तित्व प्रतिभाशाली हुनुपर्छ। बोली-बचन, मुस्कान तथा कुराकानी यसको प्रमुख हतियार हो। त्यसैले यो वर्ष धेरै पानी पिउँछु। त्यसले मेरो अनुहारमा निखार ल्याउँछ। वर्क आउट गर्छु। सुत्ने बेलामा सधैं अनुहार धुन्छु ।

सबैको आर्थिक पक्ष बलियो होस्। देशको अर्थतन्त्र सबल बनोस्। सबै नेपालीको आँगनमा खुसी छाओस्। कसैलाई आर्थिक अभाव नहोस्। लगानीको अनुपातमा सबैले नाफा गरून्। बचत गर्ने बानी पहिलो प्राथमिकता बनोस्।

शारदा शर्मा, साहित्यकार

हुन त हरेक नयाँ वर्षले हामीलाई एक वर्ष पुरानो बनाउँदै जान्छ, जीवन क्रमश: सकिंँदै गएको संकेत पनि हो-नयाँ वर्ष। यद्यपि हामी प्राय: यसलाई नयाँ आशा र सम्भावनाका रूपमा हेर्छौं। नयाँ वर्षमा जीवन फेरि एउटा नयाँ सुरुवातमा आइपुगेजस्तो लाग्छ। नयाँ वर्षको आगमन परिवर्तनको कुरा पनि हो।  परिवर्तनबोधले जीवनमा ऊर्जा ल्याउँछ।

नयाँ वर्षको आर्थिक, सामाजिक, स्वास्थ्य,  पारिवारिक तथा व्यक्तित्व विकासका योजना

जीवनमा जहाँ जस्तो भेटिन्छ, त्यसकै सामना गर्ने बानी परेको छ। म लामा-लामा योजना बनाउँदिन। योजना बनाएँ भने पनि अपर्झटमै बन्छन् र अपर्झटमै सकिन्छन्। यो वर्ष पनि त्यसरी नै बित्नेछ।

विगतका कुनै संकल्प

कुनै काम गर्नुपर्छ जस्तो लागे काम गर्छु, संकल्प गर्दिन। मन दिएर गरेका काम प्राय: पूरा भएका छन्। पूरा प्रयत्न गरेर पनि काम पूरा भएन भने त्यसमा त्यति दु:ख पनि लाग्दैन।

नयाँ वर्षले हामीलाई त्यत्तिकै केही पनि दिँदैन, राम्रो सोचौं, मेहनत गरौं र आफूले सकेजति राम्रो काम गरौं।

प्रिया अधिकारी, पाइलट

नयाँ वर्ष भन्नासाथ नयाँ योजना र केही गरौं भन्ने भावना आउँछ। पहिले कुनै गल्ती गरिएको भए पनि नदोहोर्‍याउने संकल्पका साथ रमाइलो गर्छु।

आर्थिक संकल्प

पाइलट बन्ने रहर बुबाले जोरेको रकम र एजुकेसन लोनले पूरा भयो। अहिलेसम्म एजुकेसन लोन तिर्दैछु, तैपनि पहिलेदेखि केही रकम जम्मा गर्ने बानी छ। अहिले पनि भविष्यका लागि केही रकम जम्मा गर्छु। यो वर्ष एमफिल ज्वाइन गर्छु। यो वर्ष पढाइलाई बढी फोकस गर्नेछु। पहिले समय खेर फाली साथीभाइसँग बढी घुमेर पैसा खर्च गर्थें तर नयाँ वर्षदेखि त्यसमा आत्मनियन्त्रण गर्नेछु।

सामाजिक संकल्प  

समाजका लागि केही गरौं भन्ने भावना त थियो तर केही गर्न पाइएन। यो वर्ष डोल्पामा बसेर पढाइरहेका काठमाडौंका विनोद भाइलाई डोनेसन गर्दैछु। उनको कथा-व्यथा सुनेर मेरो मन पग्लियो। डोल्पाजस्तो दुर्गम ठाउँमा बसेर सित्तैमा पढाउनु चानचुने काम होइन।

पारिवारिक संकल्प

म पारिवारिक मान्छे हुँ। परिवार र घरलाई बढी प्राथमिकता दिन्छु। यही वर्ष त होइन तर ममी र बुबाका लागि घर बनाइदिन्छु। यो वर्ष बहिनीलाई बैंकक घुमाउन लाने सोच छ।

स्वास्थ्य संकल्प

गत वर्षहरूमा जस्तै यो वर्ष पनि एक्सरसाइज गर्छु, जिउ बलियो बनाउन खानामा जोड दिन्छु। पाइलटहरूको हरेक वर्ष होल बडी चेकअप गरिन्छ तर म हरेक ६-६ महिनामा आफैले होल बडी चेकअप गराइरहन्छु। यो वर्षदेखि स्वास्थ्यको अझ बढी ख्याल गरेर आफूलाई समय दिन्छु।  

आफूलाई जे राम्रो लाग्छ, त्यसको फलो गरौं। ठीक लागेको कुरा गरौं, अरूका पछाडि नलागौं। नयाँ वर्षलाई नयाँ तरिकाले सुरु गर्न सकिन्छ।

कल्पना सोव, सभासद नेपाली कांग्रेस

साल फेरिनेबित्तिकै नयाँ कामको थालनी गर्नुपर्छ। नयाँ वर्षको सुरुवातमा ममा महिला नेतृत्वको जिम्मेवारी थपिएको छ। यो वर्ष आफ्ना तर्फबाट मुलुकका सकेजति समस्याको निकास निकाल्ने सोचमा छु।

आर्थिक संकल्प : आगामी वर्ष खर्च गर्ने बानी घटाई बचत गर्ने योजनामा छु। म सुदूरपश्चिमस्थित डोटी जिल्लाको पिछडिएको ठाउँकी महिला हुँ। त्यहाँका महिलाका लागि यो वर्ष आर्थिक कार्यक्रम लाने योजना छ। म डोटीका महिलाका लागि आयमूलक कार्यक्रम तयार पार्न चाहन्छु।

सामाजिक संकल्प : सभासदको भागमा पर्ने वाषिर्क १० लाख रुपैंयाँले डोटीमा शिक्षा, स्वास्थ्य तथा सीप विकासका काममा लगानी गर्छु। महिला सशक्तीकरणको नेतृत्व गर्नेछु। वृद्धवृद्धाका लागि गास-वासको पहल गर्ने योजनामा छु। महिलामा पनि दलित महिलाका मुद्दा अगाडि सारेर उनीहरूलाई सशक्त बनाउने पहल गर्नेछु।

पारिवारिक संकल्प : खाली भएको केही समय बालबच्चासँग बिताउँछु। व्यस्तताले भेट नभएका परिवारका सदस्यहरूसँग भेट गरी केही समय सँगै बिताउनेछु। यद्यपि यो वर्ष संविधान निर्माणको व्यस्तताले परिवारमा त्यति समय दिन सकिएला जस्तो छैन।

स्वास्थ्य संकल्प : मेरो स्वास्थ्य कमजोर छ। यो वर्ष बेलाबेलामा स्वास्थ्य परीक्षण गराउनेछु। राजनीतिमा लाग्दा कहिले भोकै, कहिले एक कप चियाको भरमा हिँड्नुपर्छ। खानपिनमा केही ध्यान पुर्‍याउनेछु।

व्यक्तित्व विकासको संकल्प : मेरो मात्र भन्दा पनि सुदूरपश्चिमको विकासको योजनामा छु। पश्चिममा सडक बनेको हेर्न चाहन्छु। खप्तड पर्यटन बोर्डको निर्माण होस्, यसतर्फ सरकारको ध्यान पुगोस् भन्ने चाहन्छु। महिलालाई सशक्त बनाउन सर्वप्रथम आफैं सशक्त हुनुपर्छ। त्यसका लागि देश-विदेशका तालिम एवं कार्यशालाहरूमा पनि सहभागी हुने इच्छा छ।

सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धि छाओस्। अब बन्ने संविधान महिलामैत्री होस्।

सविता उप्रेती, सामाजिक अभियन्ता

नयाँ वर्ष भन्नासाथ नयाँ जोस र जाँगरको अनुभूति हुन्छ भने पुराना कुरा बिर्सिएर नयाँ आशा पलाउँछ जसले थप नयाँ काम गर्ने प्रेरणा प्रदान गर्छ। विगतको वर्षमा संस्थाले नसोचेको प्रगति गर्‍यो। नेपालको प्रतिनिधित्व गरेर देश-विदेशका विभिन्न कार्यक्रमका प्रस्तुति दिन पाइयो। अघिल्लो वर्षको संकल्प चाहनाभन्दा बढी पूरा भएको छ।

सामाजिक योजना : स्कुल तथा पुनस्र्थापना केन्द्रलाई आर्थिक रूपले सशक्त बनाउने। यहाँ भएका ३५ जना बालबालिकालाई भैरहेको भन्दा अझ बढी सेवा-सुविधा प्रदान गर्ने र यसको गुणस्तर वृद्धि गर्ने योजना छ। विशेषगरी युवापुस्तामा अटिजमसम्बन्धी सचेतनामूलक कार्यक्रम अर्को प्रमुख योजना हो। स्वास्थ्य सेवाबाट वञ्चित विभिन्न जिल्लामा आँखा, दाँत तथा प्रसूतिसम्बन्धी नि:शुल्क शिविर सञ्चालन गर्ने योजना छ जुन वर्षमा तीन पटक गर्दै आएकी छु। ५० जना आमालाई प्रौढ कक्षाको व्यवस्था गरी साक्षर गराउनेछु।

आर्थिक योजना : समाजसेवाका लागि सहयोग अभियान सञ्चालन गर्नेछु जसका लागि विभिन्न संघसंस्था तथा सरकारी निकायसँग आर्थिक सहकार्य गर्न पहल गर्नेछु। अहिलेसम्म व्यक्तिगत कमाइबाट सामाजिक सेवामा खर्च गरिरहेकी छु अब त्यसले नपुग्ने भएकाले आफ्नै व्यवसाय सुरु गरेर फेरि त्यसलाई सामाजिक सेवामै लगाउने संकल्प गरेकी छु।

प्ाारिवारिक योजना : समाजसेवा तथा स्कुलका बालबालिकाकै सेरोफेरोमा रहनुपर्ने भएकाले परिवारका लागि समय दिन सकेकी छैन। यो वर्ष परिवारका लागि समय छुट्याउनेछु। परिवार तथा अफिसका स्टाफका साथ नेपालका विशेष स्थान घुम्ने योजना पनि छ।

स्वास्थ्य योजना : ५० किलोसम्म कहिल्यै नपुगेकी म यो वर्ष ५३ सम्म पुग्ने योजना छ। त्यसका लागि समयमा खाने, पानी, जुस बढी पिउने काम थालिसकेकी छु। मैले कहिल्यै आफूले आफूलाई माया गरिन तर यसपटक ७ दिन बिरामी परेपछि संस्थाका बच्चा रोए पनि उठाउन सकिन। त्यसले मलाई अरूलाई माया गर्न पनि आफू बलियो हुनुपर्ने रहेछ भन्ने बोध गरायो। अब प्रत्येक ६ महिनामा आफ्नो स्वास्थ्य परीक्षण गराउने योजनामा छु।

व्यक्तित्व विकासको योजना : आफूले गरिरहेको काममा थप ज्ञान हासिल गर्ने। देश-विदेशका विभिन्न स्थानमा गएर आफ्ना अनुभव सुनाउने र अरूका अनुभवहरू सुन्ने इच्छा छ। शिक्षामा भारतबाट स्नातकोत्तरको प्रक्रियामा छु।

रहरले काम गरौं, हाँसेर सेवा गरौं।

मीना गुरूङ, सौन्दर्यविद् तथा संचारकर्मी

नयाँ वर्ष भनेको नयाँ काम गर्ने समय हो। त्यसैले म नयाँ वर्षमा नयाँ योजना तयार गर्छु। गत वर्ष मैले लिएका संकल्प धेरै मात्रामा सफल भएका छन्। बाँकी रहेका संकल्पलाई यो वर्ष अरु संकल्पका साथमा पूरा गर्नेछु। नयाँ वर्षलाई मैले रचनात्मक सोच विकसित गर्ने अवसरका रूपमा लिएकी छु।

आर्थिक संकल्प

म आर्थिक रूपमा सबल बन्न प्रयासरत छु। जथाभावी खर्च गर्ने मेरो बानी छैन। सकेसम्म बंैकिङ कारोबारमा विश्वास राख्छु। यो वर्ष आम्दानी बढाउने सोच छ। पार्लरलाई अझ परिस्कृत बनाएर लान्छु। महिलालाई आर्थिक स्वतन्त्रताले आत्मविश्वासी बनाउँछ। मेरो विचारमा सबै महिलाले आफ्नो छुट्टै आर्थिक योजना बनाउनुपर्छ।

सामाजिक संकल्प

मैले आफ्नो व्यवसायको माध्यमबाट आफूलाई सामाजिक सेवामा समर्पित गरेकी छु। म सधैं दिदीबहिनीहरूको जीवन उकास्ने विषयमा सोच्छु। महिलाहरूको जीवनमा परिवर्तन ल्याउनु मेरो सपना पनि हो।

स्वास्थ्य संकल्प

स्वास्थ्य जीवनको अमूल्य सम्पत्ति हो। त्यसैले स्वास्थ्यका बारेमा हामी सबै सचेत हुनुपर्छ। यो वर्ष दुई पटक रेगुलर चेकअपको रुटिन बनाएकी छु। खानामा चिल्लो, पिरो तथा मसला कम गर्छु भने योग पनि गर्नेछु।

पुरानो क्यालेन्डर परिवर्तन गर्नु मात्र नयाँ वर्ष होइन पुराना कुरा फालेर राम्रा कुरा ग्रहण गर्ने सुवर्ण अवसर पनि हो-नयाँ वर्ष।

मिलन अमात्य, गायिका

नयाँ जोस-जाँगरका साथ नयाँ काम गरौं, पहिलेको भन्दा यो वर्ष अझ राम्रो गीत गाएर संगीत क्षेत्रमै उन्नति गरी राम्रो सिर्जना गर्न सकूँ भन्ने लाग्छ।

आर्थिक संकल्प

अहिले दैनिकजसो रेकर्डिङमै व्यस्त छु। त्यहाँबाट कमाएको पैसा घर र पकेट खर्च छुट्याएर बचत गर्छु। सधैं अहिले जस्तै राम्रो हुन्छ भन्ने छैन त्यही भएर म अहिले भविष्यलाई सोचेर अलिअलि आएको पैसा पनि जम्मा गर्ने बानी बसाल्दै छु।

सामाजिक संकल्प

केही समयअघि एक कार्यक्रममा हेटौंडा जाँदा बालबालिका तथा वृद्धाहरूको आश्रममा पुगें। त्यहाँको अवस्था देखेर मन विह्वल भयो। त्यहाँ केही सहयोग गरें। अब नयाँ वर्षको आगमनसँगै त्यस्तै अवस्थामा देखेभेटेकाहरूलाई सकेसम्म केही न केही सहयोग गर्छु।

स्वास्थ्य संकल्प

म अहिलेसम्म ठूलो बिरामी भएकी छैन तर मैले सुनेअनुसार ३० पछि स्वास्थ्यको बढी केयर गर्नुपर्छ र चेकअप गराइरहनुपर्छ। म खानपिनमा सचेत छु, सागपात नियमित खान्छु, पानी प्रशस्त पिउँछु। चिल्लो बढी खान्न। गत वर्ष कामको चापले योग र एक्सरसाइजका लागि समय दिन पाइन तर यो वर्ष नियमित योग अभ्यास गर्छु।

पारिवारिक योजना

परिवारमै बस्छु, काम नहुँदा घरमै समय बिताउँछु। मैले जम्मा गरेको पैसा घरको काममा खर्च गर्छु र परिवारको खुसीका लागि सक्दो प्रयास गर्छु।

व्यक्तित्व विकासको संकल्प

स्टेजमा गाउन गैरहनुपर्ने हुँदा आफूलाई ग्रुमिङ गर्न जरुरी हुन्छ। कसरी स्टेजमा गाउँदा दर्शक रमाउँछन्, कसरी प्रशंसकहरूसँग कुरा गर्नेजस्ता कुरा सिक्दैछु। त्यसैले म अरूका कार्यक्रम धेरै हेर्छु।

नयाँ वर्षको सुरुवातसँगै हामी सबैले प्रण गरौं, राम्रो बनौं, राम्रो सोचौं र राम्रै काम गरौं जसले हामीमा सकारात्मक सोच वृद्धि गर्छ।

रीस्ता बस्नेत, नायिका

सानैदेखि नयाँ वर्षमा जे  गर्‍यो सालभर त्यही कुरा दोहोरिन्छ भन्ने कुरा दिमागमा भएकाले हरेक नयाँ सालको पहिलो दिन सकेसम्म कुनै नयाँ कामको थालनी गर्छु।

आर्थिक संकल्प

अहिलेसम्म मैले जति  पैसा कमाउँथें मम्मीलाई नै दिन्थें।  एकदमै खर्च गर्ने बानी छ, केमा खर्च भैरहेको हुन्छ, आफैलाई थाहा हुँदैन। त्यसैले नयाँ वर्षदेखि आफूलाई आवश्यक रकम झिकेर बाँकी पैसा आफ्नै खातामा जम्मा गर्ने योजना बनाएकी छु। जसले गर्दा आफूले चाहेको काम गर्न सकिन्छ।

सामाजिक संकल्प

मैले अहिलेसम्म समाजका लागि केही गर्न सकेकी छैन तर फर्निचर किन्न जाँदा बूढो मान्छेले बोकेको तथा मन्दिरहरूमा मागेर बसेका असहायहरू देख्दा मन दुख्छ। त्यसैले आफूले जम्मा गरेको रकमले यो वर्ष वृद्धवृद्धाहरूका लागि केही गर्छु।

पारिवारिक संकल्प

परिवारका सबै जनालाई आफ्नै पैसाले आउट अफ भ्याली लगेर केही समय बिताउने सोच छ। सबैको मोबाइल अफ गरेर परिवारसँग मात्र समय बिताउने मेरो यो वर्षको पारिवारिक संकल्प छ। भर्खरै मम्मीले रेस्टुरेन्ट खोल्नुभएको छ, उक्त पारिवारिक व्यवसायमा मेरो पूरै सपोर्ट हुनेछ।

स्वास्थ्य संकल्प

म खासै बिरामी नहुने भएकीले स्वास्थ्यमा त्यति ध्यान दिन्न। यो वर्षको सुरुमै फुल बडी चेकअप गराउँछु।

व्यक्तित्व विकास

सिनियर नायिकाहरूको दाँजोमा म बच्चै छु। म उहाँहरूको लवाइ-खवाइ एवं बोलीबाट प्रभावित छु। त्यसैले यो वर्ष इन्टरनेटको माध्यमबाट आफूलाई थप निखार्ने योजनामा छु।

हामी सबैले एउटा सोच बनाएर नयाँ वर्षमा केही गलत काम नगरी, कसैको मन नदुखाई, माया-प्रेमका साथमा यो वर्ष बिताऊँ।

उमा भँडेल, आर्किटेक्ट

आर्किपल्स इन्जिनियरिङ कन्सल्टेन्सी, दाङ

नयाँ वर्ष भन्नासाथ मीठो खाने, राम्रो लगाउने, रमाइलो गर्ने, घुम्न जाने भन्ने कुरा दिमागमा क्लिक हुन्छ। नयाँ वर्ष अघिल्लो वर्ष भएका नराम्रा कुरा बिर्सेर नयाँ सुरुवात गर्ने अवसर पनि हो।

आर्थिक संकल्प

पहिले पढ्दा आमाबुबाको लगानीमा पढंे। अब घर हेर्ने जिम्मा मेरो हो। घरकी जेठी छोरी भएकीले पनि ममा बढी जिम्मेवारी छ। आफ्नै कन्सल्टेन्सी पनि खोलेकी छु। दाङको राप्ती कलेजमा पनि पढाउँछु। त्यहाँबाट प्राप्त केही रकम बचत र परिवारका लागि खर्च गर्दै आएकी छु।

सामाजिक संकल्प  

समाजका लागि केही गर्ने योजना त छ तर अहिले खासै केही गर्न सकेकी छैन। मैले दाङमा मन्दिरको नक्सा बनाइदिएकी छु। यसैगरी आफ्ना विद्यार्थीलाई अटो क्याड सफ्टवेयर पनि नि:शुल्क सिकाइदिने गरेकी छु। यो वर्ष पनि यस्ता कार्यलाई निरन्तरता दिनेछु।  

पारिवारिक संकल्प

म पूर्णत: पारिवारिक मान्छे हुँ। मलाई परिवार एकदम प्यारो लाग्छ। काठमाडौंमा पढाइ सकेपछि पनि म मेरो परिवार एवं गाउँको मायाले गर्दा यहीँ बसेर काम गर्न थालेकी छु। सायद यो वर्षभित्र विवाह होला। विवाहपछि मेरा केही जिम्मेवारी थपिनेछन्। दुवै घरलाई सन्तुलनमा राखेर जीवनयात्रा अघि बढाउँछु।

व्यक्तित्व विकासको संकल्प

अहिले आफूले गरिरहेको कामलाई थप परिमार्जन गर्न नयाँ-नयाँ तालिम पनि लिँदै आएकी छु। यो वर्ष यस्ता कार्यलाई निरन्तरता दिनेछु।

स्वास्थ्य संकल्प

राम्रो फिगर सबैको चाहना हुन्छ। मलाई पनि यसको मोह छ। मेरो शरीर केही मोटो छ। आगामी वर्षदेखि समयले भ्याएसम्म वाकमा निस्कने तथा मोटाइ घटाउन क्लब जाने योजनामा छु।

आजको काम भोलिलाई थाती नराखौं। ठूलो पोखरीमा सानो माछा खोज्नुभन्दा सानो पोखरीमा ठूलो माछा खोज्नु राम्रो हो। त्यसैले आफू जुन काममा लागिएको छ त्यसैमा दत्तचित्त हौं।

 Image