Successfully Copied

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा स्वास्थ्य शिविर संचालन

सशस्त्र प्रहरी परिवार महिला संघ तथा नेपाल एपीएफ अस्पतालको आयोजनामा गत माघ १४ गते काठमाडौंको पशुपति स्थित समाज कल्याण केन्द्र

सशस्त्र प्रहरी परिवार महिला संघ तथा नेपाल एपीएफ अस्पतालको आयोजनामा गत माघ १४ गते काठमाडौंको पशुपति स्थित समाज कल्याण केन्द्र वृद्धाश्रमका वृद्धवृद्धाहरूका लागि  एक दिवसीय स्वास्थ्य शिविर तथा लत्ताकपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती ई. रमा वन्त (राजभण्डारी) ले आश्रममा रहेका करिब २ सय २० जना वृद्धवृद्धालाई लत्ताकपडा वितरण गरेकी थिइन्। श्रीमती वन्तले समाजसेवाको पवित्र उद्देश्य लिएर स्थापना भएको संघले स्वास्थ्य, शिक्षा, सरसफाइ तथा जनचेतना अभिवृद्धिजस्ता सेवामूलक क्रियाकलाप संचालन गर्दै आएको कुरा उल्लेख गरिन्। उक्त एक दिवसीय स्वास्थ्य शिविरमा नेपाल एपीएफ अस्पतालका चिकित्सकहरूबाट आश्रमका सबै वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो।

सामाजिक कुरीतिका कारण महिला हिंसा बढ्दो

ग्रामीण क्षेत्रमा हिंसाका घटना बढेको बताउँदै महिला अधिकारकर्मीहरूले सामाजिक कुरीतिकै कारण महिला बढी पीडित भैरहेको दाबी गरेका छन्। द्वन्द्वपीडित तथा एकल महिला समाज ललितपुरका अनुसार जिल्लामा आत्महत्या गर्नेहरूको संख्यामा वृद्धि भएको छ भने त्यसमा पनि महिलाको संख्या बढी छ।

महिला हिंसाविरुद्ध कचहरी नाटक

गत महिना हार्वड गार्डेन थिएटर तथा हार्वड इन्टरनेसनल स्कुलले काठमाडौंको कलंकी र वसन्तपुरमा कचहरी नाटक 'आजै थालौं' प्रदर्शन गर्‍यो। शंकर रिजालको निर्देशन एवं परिकल्पनाको उक्त नाटकमा एउटी स्कुले बालिकाले बसमा यात्रा गर्दा भोग्नुपरेको दुव्र्यवहार, घरमा बाबु र भाइबाट खेप्नुपरेको पीडा, स्कुलमा शिक्षकबाट तथा बाटोमा युवकहरूबाट भोग्नुपरेको दुव्र्यवहारको कथा समेटिएको छ। महिला हिंसा हटाउन सुरुवात आफैंबाट गरौं भन्ने सन्देश दिन नाटक प्रदर्शन गरिएको निर्देशक रिजालले बताए।

स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सिम

नेपाल टेलिकमले सामाजिक उत्तरदायित्वअन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निःशुल्क सिम-रिम कार्ड वितरण गर्ने भएको छ। टेलिकमले गत महिना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता गरी पहिलो चरणमा हिमाली तथा पहाडी जिल्लाका १९ हजार ९ सय ७८ जना स्वास्थ्य स्वयंसेविकालाई कार्ड वितरण गर्न लागेको हो।

समाजसेवामा ललितपुरे ब्युटिसियन

ललितपुरका ब्युटिसियनहरूको एउटा भेला गत महिना ललितपुरको स्टाफ कलेजमा सम्पन्न भयो। प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाद्वारा उद्घाटन गरिएको उक्त भेलाले ब्युटिसियन सहकारीको स्थापना गर्‍यो। मीना न्यौपानेको संयोजकत्वमा गठन भएको सहकारीले जम्मा भएको रकममध्ये आधा रकम समाजसेवामा खर्च गर्ने तथा आधा रकम सदस्य ब्युटिसियनहरूलाई आवश्यकताअनुरूप प्रदान गर्ने बताइएको छ। ललितपुरका ५ सयभन्दा बढी ब्युटिसियन सहभागी भएको उक्त भेलामा उनीहरूले ललितपुरका अनाथ, वृद्धवृद्धा आदिको केश निःशुल्क काटिदिने घोषणा गरे भने छिट्टै वृद्धाश्रम सञ्चालनमा ल्याउने तयारी गरिरहेको पनि बताए।

महिला हिंसाविरुद्ध प्रहरी अभियान

नेपाल प्रहरीले सडकमा हुने महिला हिंसा रोक्न कडा नीति अवलम्बन गरेको छ। अस्तित्व फाउन्डेसनसँग मिलेर प्रारम्भ गरिएको उक्त अभियानका कारण अब सडकमा एक्लै युवती देखेर आँखा झिम्क्याउने वा जिब्रो पड्काउहरूले समेत उन्मुक्ति पाउने छैनन्। प्रहरी प्रधान कार्यालयले महिलाहरूका लागि हिंसा वा दुव्र्यवहार भएको खण्डमा सम्पर्क गर्न ९८०३३३९४४९ नम्बर दिएको छ। उक्त नम्बरमा फोन वा एसएमएस गरेर पीडकका सम्बन्धमा उजुरी गर्न सकिन्छ। त्यसरी दुव्र्यवहार गर्नेलाई पक्राउ गर्न एउटा प्रहरी टोली सदैव तैनाथ रहनेछ। पीडकलाई कारबाही गर्ने क्रममा पीडित महिलाको चिनारी गोप्य राखिनेछ।

बेचबिखनमा परेका महिलाको तथ्यांक अपूरो

बेचबिखनमा परेका महिलाको संख्या यति नै छ भन्ने तथ्यांक सरकारी तथा गैरसरकारी कुनै पनि निकायसँग नभएको महिलाका क्षेत्रमा कार्यरत अधिकारकर्मीहरूले बताएका छन्। बेचबिखनमा परेका महिलाका क्षेत्रमा कार्यरत संस्थाहरूले आ-आफूले काम गरेका आधारमा तथ्यांक राख्ने गरेका छन्। विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले समय-समयमा सार्वजनिक गरेको प्रतिवेदनलाई आधार मान्दा नेपालमा बेचबिखनमा पर्ने महिलाको संख्या करिब १० हजार छ तर नेपाल प्रहरीमा भने गत वर्ष देशभरमा जम्मा १ सय १८ उजुरी दर्ता भएका थिए। यसरी तथ्यांकमा हजारौं गुणाको फरक पर्ने, अपूरो तथ्यांकले वास्तविक स्थिति पहिल्याउन नसकिने सम्बन्धित अधिकारकर्मीहरूले बताएका छन्।  

मन्टेश्वरी एसोसिएसन नेपालको स्थापना

मन्टेश्वरी एसोसिएसन नेपाल (मन) गत महिना विधिवत् रूपमा दर्ता भयो। संस्थाको अध्यक्षमा सुषमा लामा, उपाध्यक्षमा संजय फिन्जु लामा, महासचिवमा दीपा थापा, कोषाध्यक्षमा गंगा लामा तथा सदस्यहरूमा नानीमैयाँ शाक्य, मनिता शर्मा तथा ल्हेमी शेर्पा छन्। यसै सन्दर्भमा संस्थाले गत माघ १८ गते नेपालभित्रका मन्टेश्वरी तथा अन्य विधिमा संचालित सम्पूर्ण पूर्वप्राथमिक विद्यालयहरू, शिक्षिका तथा सरोकारवालाहरूलाई 'नेपाली पाठ्यक्रममा मन्टेश्वरी शिक्षाको भूमिका' विषयक एकदिने अभिमुखीकरण तालिम सम्पन्न गर्‍यो। उक्त तालिमबाट देशभरिका २ सय ५० भन्दा बढी मन्टेश्वरी विद्यालयका संस्थापक पि्रन्सिपल तथा शिक्षिकाहरू लाभान्वित भए। संस्थाकी अध्यक्ष सुषमा लामा तथा बेस्ट मन्टेश्वरी ट्रेनिङ सेन्टरको सहयोगमा सम्पन्न अभिमुखीकरण तालिममा सरकारले मन्टेश्वरी शिक्षा प्रणालीलाई पनि शिक्षा नीतिअन्र्तगत समावेश गर्नुपर्ने आवाज उठाइएको थियो।

आमाको नाममा नागरिकता

नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य नरहरि आचार्यले नेपालको अन्तरिम संविधान-२०६३ ले व्यवस्था गरेअनुरूप आमाको नामबाट नागरिकता पाउने विषयलाई महत्वका साथ कार्यान्वयन गराउन आफू प्रतिबद्ध रहेको बताएका छन्। गत महिना सीएसी नेपाल नामक संस्थाको २१ औं वाषिर्कोत्सवका अवसरमा सम्पन्न कार्यक्रममा आचार्यले उक्त कुरा बताएका हुन्। महिला, बालबालिका, दलित तथा अपाङ्गलगायत समाजका पिछडिएका र कमजोर वर्गलाई राष्ट्रिय राजनीति तथा नीतिगत निर्णयको मूलधारमा समेट्नु आजको आवश्यकता भएको चर्चा गर्दै आचार्यले आमाको नामबाट नागरिकता पाउनुपर्ने व्यवस्थाको कार्यान्वयन जरुरी रहेको उल्लेख गरे।

 Image